राजनीति

बालकुमारी घटनाका दोषी मन्त्री ज्वालालाई कारबाही गर्न प्रधानमन्त्री प्रचण्ड असक्षम 

 काठमाडौं । गत पुस १३ गते  ललितपुरको बालकुमारी घटनमा दोषी  ठहर भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाही गर्न नसकेपछि प्रधानमन्त्री प्रचण्ड असक्षम देखिएका छन् । प्रधानमन्त्री प्रचण्डले केही दिनअघि प्रतिनिधि सभाको बैठकमा सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रममा जाँचबुझ आयोगको प्रतिवेदनले हेरेर कारबाही गर्ने बताएका थिए । तर अहिलेसम्म प्रधानमन्त्रीले उक्त घटनाका दोषीलाई कारबाही गर्न सकेका छैनन् ।

देशको एक असल प्रधानमन्त्रीले कुनै पनि घटनाका दोषीलाई पूर्वाग्रह  नराखी तत्काल कारबाही गर्न सक्षम हुनुपर्ने हो तर प्रधानमन्त्रीमा त्यो देखिएको छैन । मन्त्री ज्वालालाई अनुसन्धानका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगले दोषी  ठहर गरी सकेको छ । कुनै पनि घटनामा दोषी  ठहर भएका व्यक्तिहरूलाई प्रधानमन्त्रीले समयमा नै पारदर्शी तवरले कारबाही नगर्दा दोषीले उत्प्रेरणा पाउने र एकपछि अर्का घटनाहरू बल्झिने खतरामा छन् । दिनप्रतिदिन समाजमा विभिन्न  प्रकृतिका घटनाहरू घट्ने गरेका छन् । यसको निराकरणका लागि सरकारले कडा कदम चाल्न आवश्यक छ ।  

ललितपुरको बालकुमारीमा कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने मागसहित युवाहरू आन्दोलनमा उत्रिएका थिए । आन्दोलनको क्रममा दुई युवाहरूकाे प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । कोरियन भाषा परीक्षामा अदालतको आदेशबाट सुरु भएको विवादको क्रममा आन्दोलन नै चलेको थियो । प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

बालकुमारी घटना  प्रकरणमा मन्त्री ज्वालालाई बचाउ गर्न प्रधानमन्त्री, एककृत समाजवादी पाटी अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरूले उनलाई बर्खास्त नगर्ने बताउँदै आएका छन् । नेकपा एकीकृत समाजवादी पाटी गठबन्धनमा रहेकाले पनि प्रधानमन्त्री  प्रचण्डले उनलाई कारबाही नगरेको हल्ला चलेको छ । अहिले बालकुमारी घटनाले सडक देखी संसद्मा समेत कुरा उठ्ने गरेको छ । प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनमा दोषी ठहर भएका मन्त्री ज्वालालाई कारबाही नगरेको भन्दै कारबाहीको माग गर्दै बिहीबार अनेरास्ववियुले देशैभरका क्याम्पस अगाडि थाल बजाएर  प्रदर्शन थालेको छ  । बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उनीहरुले  मन्त्री ज्वालालाई तत्कार पदबाट बर्खास्त गर्नुपर्ने समेत माग राखेका छन् ।

अनेरास्ववियुले ललितपुर स्थित पाटन क्याम्पस अगाडि गरेकाे प्रदर्शनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा  समेत माग गरेको छ ।  यस्तै मन्त्री ज्वालाले नैतिक हिसाबले पनि दोषी ठहर भएपछि इमानदारीपूर्वक राजीनामा दिनुपर्ने विभिन्न राजनीति दलका नेताहरूले बताएका छन् । मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने भन्दै विपक्षी दलका सांसदहरूले आवाज उठाएका छन् । नेकपा एमालेका सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने वा राजीनामा दिनुपर्ने भन्दै यी काम नभए संसद् अवरोध समेत हुनसक्ने चेतावनी नै दिएका छन् ।

  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि विरोध जनाएका छन् । यस्तै रास्वपा सभापति रवि लामिछानेले पनि नैतिक जिम्मेवारी सम्हालेको मन्त्रीले दोषी ठहर भएपछि राजीनामा दिनुपर्ने बताए । उस्तै काँग्रेस महामन्त्री गगन थापाले मन्त्री ज्वालाको लापरबाहीका कारण देशका हुनाहार दुई युवाको ज्यान गएको बताउँदै सरकारले घटनाका दोषी ज्वालालाई तत्काल कारबाही गर्नुपर्ने बताएका छन् ।

बालकुमारीमा डेढ महिना अघि दुई युवाको ज्यान जाने गरि घटेको घटनामा छानबिन गर्न बनेको पूर्व न्यायाधीश शेखर पौडेल नेतृत्वको जाँचबुझ आयोगले शुक्रवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाउँदै यातायात मन्त्री प्रकाश ज्वालाको गैरजिम्मेवारपन र प्रहरीले वस्तुस्थितिको सही मूल्यांकन नगरी गोली चलाएको औँल्याएको छ, भने आयोगले फिल्डमा खटिएका डिएसपी उमेश लम्साल तथा मन्त्री ज्वालाका पिएसओ सइ बोधराज दनुवारलाई विभागीय कारबाहीको सिफारिस गरेको छ । दुवै जना हाल निलम्बनमा छन् । डिएसपी लम्सालले तहगत रूपमा बल प्रयोग गर्न अनुमति दिनुपर्नेमा मन्त्री ज्वालाको गाडीमा आगजनी हुनु अगावै गोली चलेको निष्कर्ष आयोगले निकालेको छ । 

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा कानुन मन्त्रीको जिम्मेवारी सम्हालेका शेरबहादुर तामाङले बङ्गलादेशमा अध्ययन गर्न जाने युवतीबारे दिएको अभिव्यक्तिकै कारण पदबाट राजीनामा दिएका थिए भने, ओलीकै क्याबिनेटका तत्कालीन सञ्चार मन्त्री गोकुल बास् कोटाले पनि घुस रकम माग गरेको आरोप लागेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा गरेका थिए । प्रचण्ड अघि शेरबहादुर देउवा नेतृत्वको सरकारका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले समेत छानबिनको समयसम्म पदबाट राजीनामा दिएका थिए । तर, ज्वाला राजीनामा नदिने अडानमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *