काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस गरिएका चारवटा प्रस्ताव सर्वसम्मतिले पारित भएका छन्।
उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएका हुन् ।महामन्त्री थापाले चारवटै प्रस्ताव पारित गरिदिन आग्रह गरेपछि कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चारवटै प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
चार दिनदेखि ललितपुरको गोदावरीमा चलेको महासमितिको बैठकले वर्तमान सात दलीय गठबन्धनलाई निरन्तरता दिने निष्कर्ष निकालेको हो। महासमितिको बैठकपछि पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले ११ बुँदे वक्तव्य जारी गर्दै नेकपा माओवादी केन्द्रसहितको गठबन्धनलाई निरन्तरता दिने जानकारी दिए । ‘नेपाली कांग्रेसको महत्वपूर्ण उपस्थितिसहित निर्माण भएको गठबन्धनलाई निरन्तरता दिई वर्तमान सरकारमार्फत भ्रष्टाचार, बेथिति र विसंगतिविरुद्ध वैधानिक रुपमै अभियान संचालन गरि सुशासन र राष्ट्रिय सदाचार पद्धति स्थापित गर्न सम्पूर्ण रुपले कृतसंकल्पित रहने अठोट गर्दै, अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतीहरूलाई समाधान गर्ने जिम्मेवारी बोध गर्ने विश्वकर्माले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
महासमितिका निर्णयहरु
१ नेपाली राजनीतिको महत्वपूर्ण ऐतिहासिक दिन फागुन ७ अर्थात प्रजातन्त्र दिवसको अवसर पारेर २०८० फागुन ७ गते ललितपुरको गोदावरीमा पार्टी सभापती श्री शेरबहादुर देउवाले समुद्घाटन गरी १० गते सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले,
२ नेपालको राष्ट्रिय स्वाधीनता र नागरिक स्वतन्त्रताका लागि पटक–पटकका क्रान्ति, संघर्ष र आन्दोलनमा सहादत प्राप्त गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण एवं सम्पूर्ण अग्रज नेताहरू तथा देश, लोकतन्त्र र कांग्रेसकालागि जीवन अर्पीत गर्ने सबै पार्टी सदस्य प्रति उच्च सम्मान प्रकट गर्दै,
३ नेपाली जनताले गरेको पटक पटकको क्रान्ति, संर्घष र आन्दोलनवाट प्राप्त उपलव्धी एवं हरूको रक्षा गर्दै संस्थागत विकास एवं संविधानले निर्दिष्ठ गरेका विषयलाई आत्मसाथ गरि,
४ नेपालको संविधानको रक्षा, संघीय समावेसी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको तथ्य हृदयङ्गमसाथ नागरिकको अवस्था रुपान्तरण गर्ने प्रण गर्दै
५ शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालिन न्यायका विषय चाँडै टुङ्याउँने प्रतिवद्धता जाहेर गर्दै,
६ नेपाली कांग्रेसको महत्वपूर्ण उपस्थितिसहित निर्माण भएको गठवन्धनलाई निरन्तरता दिई वर्तमान सरकार मार्फत भ्रष्ट्राचार, बेथिती र विसंगतिविरुद्ध वैधानिकरुपमै अभियान संचालन गरि सुशासन र राष्ट्रिय सदाचार पद्धति स्थापित गर्न सम्पूर्ण रुपले कृतसंकल्पित रहने अठोट गर्दै, अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतीहरूलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै,
७मुलुकमा विद्यमान सवैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैङ्गिक विभेद र हिंसा विरुद्ध कार्यक्रमिक अभियान संचालन गर्ने प्रतिवद्धता गर्दै,
८ तीनै तहका सरकार संचालनमा देखिएका समस्याहरूलाई समाधानका लागि नेतृत्वदायी भूमिका प्रति सचेत रहँदै,
९ किसान, सहकारी बचतकर्ता, मिटरव्याज र लघुबित्त पीडितहरूले भोग्दै आएका पीडालाई अबिलम्व समाधान गरि पीडितलाई न्याय दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै,
१० महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाले प्रस्तुत गर्नु भएका सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको समसामयिक राजनीतिक प्रस्ताव नेपाली कांग्रेसको नीति, सांगठानिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्किोण निर्माण गरेको छ। बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरूबाट अत्यन्तै महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन्। प्राप्त सुझावहरूका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जनसहित अन्तिम रुप दिने गरि तीनवटै प्रस्ताव महासमितिको यो बैठक सर्वसम्मतिले पारित गर्दछ। नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थ मन्त्री डा। प्रकाशसरण महतले प्रसतुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझावसहित ग्रहण गर्नुका साथै लेखा समितिका संयोजक श्याम प्रसाद घिमिरेले प्रस्तुत गर्नुभएको लेखा परिक्षण प्रतिवेदन बैठकले अनुमोदन गरेको छ।
११ राजनीतिक स्थायित्व, रुपान्तरण नविनता। स्वतन्त्रता, न्याय र समानता। नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता। उद्घोषका साथ प्रारम्भ भई उत्साहकासाथ सम्पन्न यो बैठकबाट हासिल नवीन ऊर्जालाई सम्पूर्ण एकताका साथ संगठन निर्माण र विस्तारमा जुट्दै नेपाल र नेपालीको उज्यालो भविष्यका लागि समर्पित हुने साझा प्रतिवद्धताका साथ यो ऐतिहासिक महासमितिको बैठक सम्पन्न भएको छ।