देश

सन्दीप लामिछानेलाई जेलबाहिर बसेर मुद्दा लड्न उच्च अदालतको आदेश

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । बिहीबार उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जेल बाहिर बसेर नै मुद्धा लड्न आदेश दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए ।

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । बिहीबार सन्दीपले उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन निवेदन र जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउँ भनी अर्को निवेदन दिएका थिए । सन्दीपलाई काठमाडौं जिल्ला अदालतले तोकेको ८ वर्ष कैद सजायमध्ये ३ महिना ८ दिन समय उनले यसअघि मुद्दाको पुर्पक्षका जेलमा विताइसकेका छन् । अब उनले ७ वर्ष ८ महिना २२ दिनको दैनिक ३०० रुपैयाँका दरले हुन आउने रकम ८ लाख ४५ हजार १०० रुपैयाँ, जिल्ला अदालतले तोकेको ३ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा बुझाउनुपर्ने १२ हजार रुपैयाँ र पीडितलाई भराइदिनुपर्ने राहत २ लाख रुपैयाँ गरी १३ लाख ५७ हजार १०० रुपैयाँ अदालतलाई बुझाउनुपर्ने थियो । सन्दीपले यसअघि नै काठमाडौं जिल्ला अदालतमा धरौटीबापत २० लाख रुपैयाँ बुझाइसकेकाले अदालतले अहिले उनीसँग थप रकम नलिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *