धर्म/सस्कृति

महाभारतकालीन समाजमा सन्तान प्राप्तिका वैकल्पिक विधि

महाभारतका अनेकानेक पात्रहरूको यसरी संरचना गरिएको छ कि कुनै पनि पात्रको अनुपस्थितिमा कथाको भावले बाटो समाउँदैन। यदि यसलाई कुरुवंशीहरूको इतिहास नै मान्दा पनि त्यहाँ के भएको थियो, के हुनुपथ्र्यो र यदि कुनै खास घटना खास समयमा नभएको भए कुरुवंशीहरूको पछिल्लो अवस्थाको इतिहास कस्तो हुन्थ्यो ? विवेचनाको विषय बनेकै छ। अनुसन्धानको विषय बनेकै छ।

के साँच्चै १८अक्षौहिणी सेनाका बिचमा युद्ध भएको थियो, त्यो पनि आजको अवस्थामा देखिने कुरुक्षेत्रमा ? कुरुक्षेत्र भनेर दाबी गर्ने ठाउँहरू अरु पनि छन् होला तर हस्तिनापुरका नजिक भएको कारणले आजको कुरुक्षेत्रको ठुलो भागलाई लिइएको थियो होला भन्न पनि सकिन्छ। साँच्चै त्यो भयानक युद्ध भएको  थिएन पनि भन्न सकिँदैन, थियो भन्न पनि सकिँदैन।

भीमको बल र भीमले आकाशतिर हुत्त्याएको हात्ती अझै पनि आकाशमा घुमिरहेको छ भन्ने उक्तिप्रति अविश्वास गर्ने प्रश्न वैशस्पायनसँग गरिरहेका महाराज जन्मेजयको पटाङ्गिनीमा एउटा हात्ती खस्यो। कुरा के रहेछ भने अविश्वास गर्नु नहुने रहेछ रे। त्यसो त  आज पनि अनुसन्धानको विषय बनेको महाभारतको युद्ध अझै पनि अन्तरिक्षमा कतै न कतै गुन्जिरहेको छ भन्ने मान्यता राखिन्छ। सायद नासाले यसमा पनि अनुसन्धान गर्दैछ भनिन्छ।

तर पञ्चम वेदको रुपमा मानिएको जय नामक ग्रन्थ,जसलाई पछि गएर भारतवर्षको महायुद्धका रुपमा मानियो र भनियो महाभारत। महाभारतलाई लोकभाषामा अहिले पनि नकारात्मक युद्ध या अनावश्यक झगडाको रुपमा हेरिन्छ र त्यसले भयानक युद्धको मात्र झझल्को दिन्छ। छन पनि त्यो महाकाव्यको सम्पूर्ण रचनाको आधार नै पछिल्लो पुस्तालाई कुरुवंशको इतिहासको जानकारी दिनु नै थियो। स्वयं महाभारतका एउटा अभिन्न पात्र श्रीकृष्ण द्वैपायन व्यासले तयार गरेर संसारलाई दिनु भएकोले आज हामी कम्तीमा द्वापर युगको अन्तमा भएका घटनाहरूलाई सुन्न,पढ्न र त्यसका सम्बन्धमा छलफल गर्न पाएका छौँ। त्यतिमात्र नभएर पौरस्त्य साहित्यमा सबैभन्दा महत्वपूर्ण र इतिहासका आधारमा लेखिएको ग्रन्थको रुपमा हामीले पाएका छौँ।

राजनीति भनेको जनताको प्रत्यक्ष सकारात्मक सेवाको नीति मात्र नहुने रहेछ। भीष्म पितामहले राजनीतिको ज्ञान पनि महाभारतको महायुद्धपछि मात्र, महाराज युधिष्ठिरलाई दिएको पाइन्छ आफू शरशय्यामा सुतिरहेकै बेलामा। पाण्डवहरू शिष्ट हुनुमा पाण्डु महाराजले आफूसँग राखेर आफू तपस्यारत रहेको ठाउँमा नै शिक्षादीक्षा दिएर पोख्त पारेको देखिन्छ।  त्यसो त ऋषि किन्दमले दिएको श्रापबाट श्रापित राजा पाण्डुलाई के कुराको सबैभन्दा ठुलो डर थियो भने आफू सन्तानविहीन भएरै मर्ने भएँ किनभने एक रतिप्रणयमा रहेका मृगजोडीमध्ये स्त्रीलाई राजा पाण्डुले मृग नै सम्झेर मारे। ती बाँचेका मृग चाहिँ ऋषिकुमार किन्दम थिए। उनले यसरी रतिसुखको समयमा मारेकाले तिमी राजाको पनि रतिसुख लिँदा मृत्यु होस् भन्ने श्राप परेको थियो। ऋषि किन्दमले दिएको श्राप मोक्ष हुने नै थिएन। त्यसको अर्थ हो, चक्रवर्ती राजा पाण्डु निःसन्तान हुने भए।

राज्यको सिद्धान्तमा त्यसबेला दृष्टिविहीन व्यक्तिलाई राजाको पदवी दिइँदैन थियो। आफू जेठो हुँदाहुँदै पनि भीष्म पितामह र व्यासले उनलाई राजगद्दी नसुम्पी भाइ पाण्डुलाई सुम्पेकोमा धृतराष्ट्रमा कुण्ठा पलाएको थियो। परिस्थिति कस्तो बन्दै गयो भने पाण्डुलाई श्राप परेपछि झन पाण्डुमा सन्तानको तीब्र इच्छा देखियो र उनी तपस्याका लागि भनेर, बच्चा पाउनका लागि लुक्न जंगलमा गएका थिए। दुई दुईओटा महारानी थिए कुन्ती र माद्री। रतिसुख लिने बेलामा नै राजा मर्ने श्राप थियो। यदि दरबारमा भएको भए नियोग गर्ने पात्रको नाम खुल्ने थियो। त्यो श्रापको ताप र रापले महाराज पाण्डु आफ्नो सम्पूर्ण राजपाठ दाजु धृतराष्ट्रलाई सुम्पिई हिमालयको दक्षिणी खोँचमा तपस्याका लागि भनेर हिँडे दुईओटी रानी लिएर। कहाँ चक्रवर्ती राजा पाण्डु, कहाँ श्रापित घुमन्ते तपस्वी पाण्डु। तर अन्तमा गन्धमादेन पर्वतमा आएर उनले आफ्ना रानीहरू कुन्ती र माद्रीलाई नियोगमार्फत् सन्तानोत्पत्ति गर्न बाध्य पारे।

महाभारतकालको प्रचलित व्यावहारिक नियममा के रहेछ भने पतिको आदेश पाएपछि, पतिले भनेको पुरुषसँग पत्नीले नियोग गरेर बच्चा पाउन सक्ने थियो। यो पनि एउटा गणितको सूत्र जस्तै बन्यो, कुन्तीसँग त्यस्तो मन्त्र ऋषि दुर्वासाले दिएका थिए जुनकुरा राजा पाण्डुलाई थाहा थिएन। र पनि राजाको अनुरोधमा उनले त्यो मन्त्रमार्फत् धर्मराजलाई बोलाएर पहिलो सन्तान युधिष्ठिर पाइन्, दोस्रो सन्तान वायुबाट भीम पाइन्, स्वर्गका राजा इन्द्रबाट अर्जुन पाइन्।

त्यसो त पतिको आदेशमा जति पनि बच्चा पाउन सक्ने थियो तर तीनओटाभन्दा बढी बच्चा पाउनचाहिँ वर्जित थियो। अनि कुन्तीका त चारओटा बच्चा भइसकेको अवस्थामा उनले अब अरु बच्चा पाउन आनाकानी गरिन्। राजा पाण्डु चाहन्थे, कुनै ऋषि या चक्रवर्ती राजाबाट सन्तान  जन्मियोस् र त्यसले राज्य गरोस्। जब कुन्तीले सविनय बच्चा फेरि पाउन अस्वीकार गरिन्, अनि माद्रीले आफू पनि आमा हुन चाहेको इच्छा व्यक्त गरिन्।

आफ्नै मन्त्रमार्फत् कुन्तीले माद्रीका लागि जुम्लाहा अश्विनीकुमार बोलाइन् र उनीहरूबाट जुम्लाहा छोरा नकुल र सहदेव पाइन्। पटरानीका नाताले ती पाँचवटै बच्चाहरूको रेखदेख, शिक्षादीक्षाको जिम्मा कुन्तीले लिएकी थिइन् तर गन्धमादेन पर्वतमा रहेका ऋषिहरूले राजनीति, युद्धनीति, कूटनीति र आचार नीति सिकाएका थिए।

ऋषिहरूलाई पनि थाहा थियो, राजाका सन्तान हुँदैनन् र नियोगका लागि फिरन्तेजस्तै भएर हिँडेका हुन्। यदि सन्तान हुने थाहा भएको भए धृतराष्ट्रले अनेक प्रतिवन्ध लगाउन सक्ने थिए। तर फिरन्ते जीवन बाँचेका पाण्डुका बारेमा भने हस्तिनापुरका गुप्तचरहरूले खबर दिइरहेका थिए।

पाण्डुका सन्तान नहुने गरी किन्दमको श्रापका बारेमा हस्तिनापुर दरबार जानकार थियो र ढुक्क थियो पाण्डुका सन्तान हुने छैनन्। यता श्री महादेवको आशीर्वादले सुबल नरेशकी छोरी गान्धारी १०० छोराकी आमा हुने वरदान पाएकी थिइन्। अचम्म के भयो भने गान्धारी गर्भिणी भएको दुई वर्षसम्म पनि पेटबाट बच्चा बैढिएन तर फिरन्ते जीवनमा रहेका महाराज पाण्डुको भने दुईओटा छोराहरू जन्मेको खबर हस्तिनापुरसम्म एककान दुईकान मैदान भनेजस्तै गरी आएको थियो। हस्तिनापुरले त्यसको सत्यापन गर्‍यो र हो भन्ने निधो भयो। यसरी पाण्डुको नियोगबाट जन्मेको  सन्तान कुरुवंशको पहिलो हकदार हुने भयो जबकि कुन्तीभन्दा पहिले नै गर्भिणी भएका गान्धारीबाट सन्तान उत्पत्ति हुनै सकेको थिएन।

राजनीतिको त्यो दाउपेचले एउटा यस्तो अवस्था सृजना भयो कि गान्धारीले आफ्नो बच्चा पहिले नजन्मेकाले पेटमा दबाब दिएर बच्चा पाइन् तर रगत मासुको सुम्लो। तत्काल वेदव्यास आएर भने—महादेवले गान्धारीलाई दिएको १०० छोराको आशीर्वादस्वरुप यो रगत मासुको सुम्लो जन्मिएको हो, यसैभित्र १०० ओटा छोराको सूक्ष्म भ्रुण जीवित छ, यसलाई तामाको घडामा घिउसँग राखेर बचाउन र बढाउन सकिन्छ, यी सबै बहादुर राजकुमारका रुपमा प्रख्यात हुनेछन्।

यसरी त्यो बेलाका महान तपस्वी विद्वान वेदव्यासले १०० टुक्रामा विभक्त गरेर राख्दै जाँदा अलिकति रगत मासुको टुक्रा बाँकी रह्यो। गान्धारीलाई फेरि बच्चा पाउने इच्छा भएन र त्यहीँबाटै एउटी छोरी पनि भए हुन्थ्यो भनेर वेदव्यासलाई अनुरोध गरेपछि एउटी छोरी पनि भइन् जसलाई दुर्योधनादि १०० भाइकी बहिनीको रुपमा दुःशला भनेर भनिन्थ्यो।

महाभारतकालीन समाजमा अहिले भन्दा धेरै प्रगतिशील कानुन रहेछन् भन्ने बुझ्नु पर्ने हुन्छ। नियोगको मात्र कुरा होइन, यज्ञबाट पनि सन्तानोत्पादन भएको पाइन्छ। द्रौपदी र धृष्टद्युम्न त्यसका प्रमाणहरू हुन् भने द्रुपद महाराजका पहिलो सन्तान शिखण्डिनी पछि गएर शिखण्डी भएको कुराले लिंग परिवर्तन गर्नसक्ने क्षमता पनि त्यो बेलामा रहेछ भन्ने बुझ्नु पर्ने हुन्छ। क्रमशःINS

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट