देश

मिटरब्याज पीडित भन्छन्, ‘दुःखको कुरा नगरौँ, हामीले न्याय पाउने कि नपाउने भन्ने चिन्ता हो’

काठमाडौं । पर्सागढी नगरपालिका–२ का गरिबमुखिया बिन दम रोगी छन् । उनी छिटो हिड्न सक्दैनन्, बोल्न सक्दैनन् । हिउँदको कठ्याग्रिंदो चिसोले दम झन् बढेको छ । औषधि खाएर घरमा आराम गर्नुपर्ने बेला उनी २३ दिन पैदल हिडेर काठमाडौं आइपुगेका छन् । २५ दिनदेखि उनको दिन र रात सडकमै बितिरहेको छ । चिसोले उनका खुट्टा सुन्निएका छन् पाइताला फुटेका छन् ।

‘दमको बिरामी छु, बुढ्यौली लागेर हिड्न सक्दिनँ, यति टाढासम्म आउने पैसा पनि थिएन,’ छिटो–छिटो श्वास फेरिरहेका ६६ वर्षीय गरिबमुखियाले भने, ‘तैपनि साहुबाट मुक्ति पाइने आशाले आन्दोलनमा आएँ, हिड्दा–हिड्दै खुट्टामा फोका उठेका छन् । पैसा थिएन, कहिले खाइयो, कहिले भोकै हिडियो । कति दुःख पाइयो ? त्यो कुरा नगरौँ, बरू यहाँसम्म आइपुगेका हामीलाई सरकारले न्याय दिने हो कि होइन ?’

सामान्य खेतीपाती गरेर जीविकोपार्जन गर्ने गरिबमुखियाका दुई छोरा र दुई छोरी छन् । उनको दैनिकी त मजदुरी गरेर पनि चलेकै थियो । तर छोरीको बिहे गर्ने बेला पैसाको अभाव भएपछि उनी साहु सँग ऋण माग्नुपर्ने बाध्यतामा परे ।

साहुले धितोबिनै ऋण नदिने भनेपछि आफ्नो भएको १० कठ्ठा जमिन धितो राखेर दुई लाख रुपैयाँ ऋण लिए । २०७० सालमा ऋण लिएर उनले छोरीको बिहे त गरे, तर त्यहीबाट उनको जायजेथोमाथि साहुको शोषण सुरू भयो । बुढ्यौली लाग्दै गरेका उनको अब कमाइ दोब्बर हुने कुरै थिएन । तर साहुले ऋणको रकम कति बेला दोब्बर बनाए, उनले पत्तै पाएनन् ।

एकैपटक पैसा माग्न साहु घरमा आएपछि मात्रै साहुले ठगी गर्ने नियत राखेको चाल पाएको उनी बताउँछन् । ‘एक बेला साहुले ब्याजसहित साढे ३ लाख रुपैयाँ मागेका थिए,’ उनी भन्छन्, ‘तर मैले ३ लाख ६० हजार रुपैयाँ तिरिसक्दा पनि जग्गा फिर्ता दिएनन् । मलाई लेखपढ गर्न आउँदैन । मैले पैसा तिरिरहेँ, साहुले रकम बढाउँदै लगे । पछि त म घरमा नभएको बेला मेरी श्रीमतीलाई १० लाख रुपैयाँ दिएपछि मात्रै जग्गा फिर्ता दिने भन्ने कागजमा सही गराएछन् ।’

ऋणको रकम तिरिसकेका उनको जग्गा साहुले कब्जा गरिदिएका छन् । उनी भन्छन्, ‘हामी पढेलेखेको छैन, त्यही भएर हामीमाथि ठगी भयो । सरकारले न्याय दिन्छ कि भनेर हामी यहाँसम्म आएका छौँ ।’

आइतबार भृकुटीमण्डप क्षेत्रमा विरोध ¥याली निस्किदै गर्दा गरिबमुखियाजस्तै पीडा बोकेर लाइनमा उभिएका थिए,महोत्तरीको बग्दागोणीका नगरपालिकाका ६८ वर्षीय लक्ष्मी राउत भेडियार । घरमा छोराछोरीको साथ लागेर आराम गर्ने बेला लक्ष्मी भने साहुको ठगीबाट न्याय माग्न र आफ्नो हकको रक्षा गर्न लौरो टेकेर यहाँसम्म आइपुगेका छन् ।

उनले पनि गाउँकै साहुबाट छोराको विवाह गर्न र विदेश पठाउन भनेर दुई लाख रुपैयाँ ऋण लिएका थिए । त्यसको ब्याजसमेत उनले ७ लाख रुपैयाँभन्दा धेरै तिरिसके । तर, साहुले धितोमा जम्मा गरेको तीन कठ्ठा जग्गा अझै फिर्ता गरेरन्, उल्टै पैसा मागिरहेका छन् । ‘भएको जायजेथो सबै जग्गा साहुले हडप्यो । म त बुढेसकालमा न यताको, न उताको भएँ,’ उनी भन्छन्, ‘अब मर्ने बेला भइहाल्यो, सरकारले न्याय दिए घर फर्किन्छौँ, नभए यही मर्ने हो ।’

२५ दिनसम्म सडकमा बिताउनुको दुःख उनी व्याख्या गर्न चाहदैनन् । ‘दुःख त सधैँ छ, हामी त सधैँ सडक दुःखमै छौँ,’ उनी भन्छन्, ‘मुख्य कुरा हामीले साहुको गैरकानूनी ठगीबाट मुक्ति पाउने कि नपाउने भन्ने हो ।’

रौतहटको गरुडा नगरपालिका–१ की ४० वर्षीय सेहेरा खातुन पनि पैदलै काठमाडौं आइपुगिन् । श्रीमान विदेश छन् । घरमा नाबालक दुई छोराछोरी छोडेर अन्यायविरुद्ध लड्न काठमाडौं आएको उनले बताइन् । उनले गाँउकै जनमल महत्तोबाट ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् । त्यसको साँवा र ब्याजवापत् उनले चार वर्ष अघि नै २ लाख ५० हजार रुपैयाँ तिरिसकेकी छिन् ।

तर ऋण तिरिसकेपछि उनलाई अर्को कागजमा हस्ताक्षर गर्न लगाए । लेखपढ गर्न नजान्ने उनलाई कतिबेला साहुले ऋण थपे, थाहै भएन । साहुले भने अहिलेसम्मको ११ लाख रुपैयाँ तिर्नुपर्ने भन्दै मुद्दा लगाएका छन् ।

‘सबै पैसा तिरिसक्दा पनि मलाई झुक्याएर कागज गरिदिए, साहुले अहिले ११ लाख रुपैयाँ ऋण तिनुपर्ने भन्छन्, जुन मैले खाएकै छैन, त्यत्रो ऋण कहाँबाट ल्याएर तिर्ने ?’ उनी भन्छिन्, ‘अहिले मुद्दा लगाएपछि त्यही खेपिरहेकी छु ।’ साहुले पैसा नतिरे जेल पठाउने, बाहिरै रहे ज्यान मार्ने धम्की दिने गरेको उनी गुनासो गर्छिन् ।

गरिबमुखिया, लक्ष्मी र सेहेरा त प्रतिनिधि पात्र मात्रै हुन्, अहिले यस्तै अनैतिक र गैरकानूनी ठगी र साहुकरहरूको अत्याचारबाट दिक्क बनेका चार हजारभन्दा धेरै किसान र मजदुर कठ्यांग्रिदो चिसोमा कष्टपूर्ण सडक संघर्ष गरिरहेका छन् । माघ १६ गते पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलयात्रा थालेर शुक्रबार काठमाडौं आइपुगेका उनीहरूले शनिबार र आइतबार पनि निरन्तर धर्ना दिए,साहुकरको विरुद्धमा नारा लगाए । आफूहरूको आवाज, साहुकरले गरेको ठगी र अत्याचार सिंहदरबारलाई बुझाउन उनीहरू निरन्तर प्रदर्शनमा उत्रिएका छन् ।

ऋण लिएको रकम र ब्याज तिरिसक्दा समेत साहुले धितो लिएको जग्गा फिर्ता नदिएर हडपेको देखि साहुले लगाएको झुटो मुद्दामा जेल बसेकाहरू समेत सडकमा उभिएर न्याय मागिरहेका छन् ।

मिटरब्याजबाट पिल्सिएपछि बृद्धाबृद्धा, महिला, सुत्केरी महिलाहरू समेत न्याय माग्दै लामबद्ध बनेका छन् । कोही खाली खुट्टै दौडिरहेका छन् त कोही अर्धनग्ग भई न्यायको भिख मागिरहेका छन् । उनीहरूको मुहारमा देखिएको निराशा र तडपले सिंहदरबारमा बस्नेहरूलाई गिज्याइरहेको छ । तर, उनीहरूको फाटेको पैतलाले काठमाडौंका चिल्ला सडकमा करोडौँको गाडी चढ्नेहरूलाई भने छोएको छैन ।

समाजका बुद्धिजीवी र सामाजिक न्यायका पक्षधर भनिनेहरूले उनीहरूको पक्षमा बोलेका छैनन् । सडकमा मिटरब्याजपीडितहरू कष्टपूर्ण संघर्ष गरिरहेका छन्, तर त्यो आवाज सदनमा चर्को गरी सुनिनुपर्नेमा मधुर छ ।

त्यसो त मिटरब्याजपीडितहरूको आन्दोलन यो पहिलोपटक भने होइन, न त सरकारले कुनै प्रयास नै नगरेको । यसअघि पनि पटक–पटक पीडितहरूले संघर्ष गरेपछि सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगमा देशभरिबाट २८ हजार बढी मिटरब्याजपीडितले जाहेरी दिएका छन् । तर आयोगले भने ५ हजार पीडितको समस्या समाधान गरेर बाँकी उजुरीहरु सरकारलाई नै हस्तान्तरण गरेको छ । पीडितहरुका समस्या सम्बोधन गर्न आयोगले दर्जनौँ सुझावहरू समेत दिएको छ, तर सरकारले भने आयोगको प्रतिवेदन नै दराजमा थन्क्याएर बसेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट