राजनीति

बालकुमारी घटनामा जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन

काठमाडौं । गत पुस १३ गते दुईजना युवकको ज्यान जानेगरी भएको ललितपुरको बालकुमारी घटना जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्यन गर्न सरकारले अर्को समिति गठन गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन अध्ययन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत सदस्य रहेको दुई सदस्यीय समिति बनाएको हो।

दुईजना मन्त्री सम्मिलित उक्त अध्ययन समितिलाई जाँचबुझ आयोगको उक्त प्रतिवेदन अध्ययन गरी आगामी फागुन २० गतेभित्र सिफारिस पेश गर्ने समय दिएको छ । बालकुमारी घटनाबारे जाँचबुझ आयोगबाट जुन प्रतिवेदन प्राप्त भएको छ, अब दुई सदस्यीय समितिले यसको अध्ययन गर्ने छ। समितिले फागुन २० गतेसम्म जाँचबुझ आयोगको सिफारिस कार्यान्वयनका सम्बन्धमा सरकारलाई सिफारिस गर्नेछ् ।

बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले गत फागुन ४ गते उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेद बुझाएको थियो। जसमा बालकुमारी घटनाको मुख्य दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई देखाएको थियो। बालकुमारी क्षेत्रमा युवाहरूको प्रदर्शन भइरहेका बेला भौतिकमन्त्री सरकारी गाडीमा सवार भएर गएकै कारण दुईजना युवकको ज्यान जाने गरी घटना हुन पुगेको निष्कर्ष प्रतिवेदनमा निकालिएको थियो।

बालकुमारीस्थित ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी, अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो। उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्ने गरी नेपाल सरकार (मन्त्रिपरिषद्ले) पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो।

उक्त जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई दोषी ठहर गरेको थियो । उक्त घटनामा मन्त्री ज्वाला दोषि भएपछि चौतर्फी विरोध भइरहेको बेला सम्म पनि सरकारले उनलाई पदबाट बर्खास्त गर्न सकेको थिएन् । विभिन्न राजनीति दलहरुले मन्त्री ज्वालाले उक्त घटनामा दोषी भएकाले तत्काल राजीनामा दिनुपर्ने बताउँदै आएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *