राजनीति

संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गरेपछि बोलाए गृहमन्त्रीले सुरक्षा प्रमुखको आकस्मिक बैठक

काठमाडौं । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुलाई आकस्मिक बैठकमा बोलाएका छन् ।

मन्त्रालयमा जारी बैठकमा गृहसचिव दिनेश भट्टराई, नेपाली प्रहरीका प्रमुख आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहभागी रहेको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँग सोमबार संसद् भवनमा भएको घटनाबारे जानकारी मागेका छन् । सुरक्षा निकायमा भएको कम्जोरी पत्ता लगाउन उनले सुरक्षाका निकायहरुसँग जानकारी लिएका हुन् । गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका इन्स्पेक्टरसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको छ । सोमबार दिउँसो भएको घटनाबारे छानबिनका लागि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन भइसकेको छ । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य रहेका छन् ।
प्रहरीले ४९ जना लघुवित्त पीडितलाई निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र छिरेको आरोपमा नियन्त्रणमा लिएको छ । सभामुख देवराज घिमिरेले पनि प्रहरी प्रमुख वसन्त कुँवरलाई फोनमार्फत सुरक्षामा भएको कम्जोरीबारे जानकारी लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *