राजनीति

राष्ट्रिय सभामा अबको अध्यक्ष को ?

काठमाडौ। राष्ट्रिय सभाका अध्यक्षको कार्यकाल यही फागुन २० गते सकिंदै छ । अध्यक्षको कार्यकाल सकिने मिति नजिकिदै गर्दा अबको अध्यक्ष कुन पार्टीको र को हुने भन्ने विषय यसबेला चर्चाको विषय बनेको छ ।

राष्ट्रिय सभामा ठूलो दल नेकपा माओवादी केन्द्र र मुलुकको ठूलो दल नेपाली कांग्रेसले अध्यक्षमा आ-आफ्नो दाबी प्रस्तुत गरेका छन् । आफ्नो छ बर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना फागुन २० गते बाहिरिदै छन् । त्यसअघि नै दलहरु राष्ट्रिय सभाको अध्यक्ष कुन दलबाट कसलाइ बनाउने भन्ने विषयमा छलफल गरिरहेका छन् ।

सत्ता गठबन्धनमा रहेका दलहरुले आ-आफ्नै दलले अध्यक्ष पाउनुपर्ने दाबी गरिरहेका छन् । राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल माओवादी केन्द्रको बुधबार बसेको स्थायी समितिको बैठकले त आउँदो निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।

चार बर्षपछि आउने आम निर्वाचन मात्र होइन नजिकिँदै गरेको राष्ट्रियसभाको अध्यक्षको निर्वाचनमा पनि माओवादी केन्द्रले कसैसँग गठबन्धन नगरी उम्मेदवारी दिने निर्णय गरेको छ ।

कोशी प्रदेशको राष्ट्रिय सभाको निर्वाचनबाट देखिएको असन्तुष्टी बुधवारको माओवादी स्थायी समितिको बैठकबाट बाहिर आएको हो । अन्य दलहरुले निर्णय गरिनसकेको भएपनि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगाएतले समेत दाबी प्रस्तुत गरिरहेका छन् ।

सत्ता गठबन्धनमा रहेका दलहरुले सहमतीको आधारमा राष्ट्रिय सभा अध्यक्ष चयन गर्ने यसअघि अनौपचारिक सहमती गरेका थिए । नेपाली कांग्रेसले भने अहिले दलहरुले आ-आफ्ना उम्मेद्वार अघि सारेपनि सहमतीका आधारमा गठबन्धनमा रहेका दलहरुले उमेद्वार तय गर्ने जनाएको छ ।

जम्मा ५९ सदस्य राष्ट्रिय सभामा फागुन २० गतेदेखि २० जना सदस्यहरु बाहिरिदै छन् । त्यस्तै सातै प्रदेशबाट १९ जना सदस्यहरु निर्वाचित भएर राष्ट्रिय सभामा जाने तयारी अवस्थामा बसेका छन् ।

नेपाली कांग्रेसबाट १०, माओवादी केन्द्रबाट पाँच, एकीकृत समाजवादीका दुइ, जसपाका एक, नेकपा एमालेका एक जना नयाँ सदस्य निर्वाचित भएका छन् । पुराना २० जना बाहिरिएपछि बन्ने राष्ट्रिय सभाको संरचनामा नेकपा माओवादी केन्द्र १७ सदस्यसहित सवै भन्दा ठूलो पार्टी बन्दैछ ।

त्यसपछि नेपाली काग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन, लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक जना सदस्य रहेका छन् । राष्ट्रिय सभाका अध्यक्षसँगै दुइ वटा समितिका सभापति नयाँ चयन गर्नुपर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *