नेपालको आर्थिक विकास यथाशक्य चाँडो गर्नलाई के–के गर्नपर्दछ, त्यसको तुरुन्त रूपरेखा तयार गर्नू भन्ने श्री ३ जुद्धशम्शेरबाट १९९९ साल मार्गमा मे.ज. विजयशम्शेरलाई अनौपचारिक निर्देशन भयो– विकास सम्बन्धी काम हुन लागेको सुइँको पाए ती वरिष्ठ रोलवाला राणाहरूले बीचबीचै भाँजी मारी दिने हुँदा । अनि मे.ज. विजयशम्शेर र प्रो. भीमबहादुर पाँडे जो १९९८ सालमा कलकत्ता विश्वविद्यालयबाट एम् ए, एम् कम् पास र मैसूर रियासतमा इण्डष्ट्रियल स्ट्रक्चर एण्ड इट्स डिभ्लपमेण्ट विषयमा तालीम प्राप्त गरी १९९९ साल भाद्रको शुरुमा नेपाल फर्केका थिए । यीनै दुई जनाले १९९९ साल पौषदेखि नेपालको भावी आर्थिक विकासको रूपरेखा कोर्न थाले । योजनाबद्ध तरिकाले नेपालको आर्थिक विकास गर्ने कल्पना भएको नेपालको इतिहासमा यो हो सबैभन्दा पहिलो बाजि । त्यसअघि एकाध पटके विकासले आर्थिक विकासका काम हुन्थे ।
श्री ३ जुद्धशम्शेरको अभिप्राय थियो, अङ्ग पुगेका आर्थिक योजना तयार भएपछि मात्र उपयुक्त बेलामा अरू सत्र भाइ राणाजीहरूलाई जम्मा गरी सो सुनाउने । प्रस्तावित आर्थिक योजना कसरी बनाउने भन्ने कुराको रूपरेखा अनौपचारिक ढङ्गबाट मे.ज. विजयशम्शेरले १९९९ सालको फागुनमा श्री ३ जुद्धशम्शेरका जुनाफमा पेश गरे । अङ्ग पुगेको आर्थिक योजना तयार गर्नलाई आवश्यक प्रारम्भिक केही काम तुरुन्त थाल्न ’इण्डष्ट्रियल सर्भे र को–अपरेटिभ सोसाइटी’ भन्ने अड्डाको तुरुन्तै गठन गर्ने निर्णय भयो । त्यसैमा प्रो. भीमबहादुर हाकिम र मे.ज. विजयशम्शेर तालुकवाला नियुक्त भए ।
यस अड्डाको खास काम थियो अङ्ग पुगेको राष्ट्रिय योजना तयार गर्नलाई नितान्त आवश्यक पूर्वाधारको यथाशक्य चाँडो जाँचबुझ र तर्जुमा गर्ने, देशव्यापी औद्योगिक सर्भेको साथै अत्यावश्यक सानातिना उद्योग धन्धाहरू देशका विभिन्न भागमा खोल्ने र खोल्न लगाउने । श्री ३ जुद्धशम्शेरले भित्रीसञ्चो मनले नेपालको योजनाबद्ध तरिकाले आर्थिक विकास गर्न खोजेकोले नै यो अड्डा सम्बन्धी कामको झटाझट निकासा हुन थाल्यो ।
गठित ’इण्डष्ट्रियल सर्भे’ र ’को अपरेटिभ सोसाइटी’ अड्डाले आफ्नो देशव्यापी सर्भेको कार्यक्रम तयार गर्न के–कस्ता कुरामा विचार पुरÞ्याउनुपर्दछ भनी बुइन एक बृहत् प्रश्नावली ने.क.घ.ई. को बोर्डमा १९९९ को चैत्र ४ गते पेश भयो । त्यस सभाका अध्यक्ष थिए मे.ज. विजयशम्शेर र सदस्यहरू काजी माणिकलाल बी.ए, सुब्बा वीरेन्द्रसिंह खत्री बी.ए., मीरसुब्बा मानबहादुर एम्.ए., मीरसुब्बा गुञ्जमानसिंह बी.ए र बी.एल्., सुब्बा स्वमप्रसाद बास्तोला बी.ए., सुब्बा योगेन्द्रबहादुर श्रेष्ठ, प्रो. रत्नबहादुर विष्ट एम्.ए., बी.एल्., मेजर तिलकशम्शेर थापा एम् ए., बी.एल्, प्रो. भीमबहादुर पाँडे एम् कम्, तुलसीमेहर श्रेष्ठ, क.प. केशरबहादुर के.सी. एम्.ए, सदस्य सचिव थिए । त्यस बेलाको निजामती सेवामा धेरै अङ्ग्रेजी पढेका प्रशासकहरू शायद यति नै हुँदा हुन् ।
१९९७ सालपछि नेपालमा भएका साना–ठूला विकास सम्बन्धी योजनाहरू या त उद्योग परिषद् अथवा यही सभामा पेश गरिन्थे । सो सभा र परिषद् गठन भए तापनि निकै वर्ष हुँदासम्म पनि नेपालको योजनाबद्ध तरिकाले आर्थिक विकास गर्ने सम्बन्धी कुनै योजना (आजकलको पञ्चवर्षीय योजनाजस्तो) ती दुवैमा पेश भएका थिएनन् ।
हुनत सो बोर्ड र परिषद् गठन भएपछि र हुनुअघि पनि नेपालमा पटके सनदबाट एकाध आर्थिक विकासका फाटफुट कामहरु जस्तै १९६८ मा फर्पिङ्गमा मि. पोण्टेटले पाँच सय किलोबाट बिजुली, १९८४ मा मि. अण्ड्रिर हिलले धुर्सिङ्ग–मातातीर्थ चौध माइल लामो रोपवे, मार्टिन एण्ड वरनले रक्सौल–अमलेखगञ्ज २३ माइल रेल र १९९४ सालमा मि. किलवरनले ६ लाख बाईस हजार तीन सय दश रुपैयाँको लागतमा सुन्दरीजलबाट सात सय पचास किलोवाट पैदा हुने पनीबिजुली, १९९९ सालमा पद्मसुन्दर मल्लले विराटनगरमा बाह्र सय किलोवाट बिजुली, १९९४ सालतिर मि. मलहोत्रा र कपुरबाट नेपालको कृषि, मि. वावर र मि. क्लिवरनले खानी विकास सम्बन्धी सर्भे, प्रो. खडानन्द शर्माले वनस्पति र मि. स्मिथिजबाट वन विकास सम्बन्धी काम नभएका हैनन् ।
ने.क.घ.इ.अड्डाबाट मे.ज. ब्रह्मशम्शेर र तुलसी मेहरको भगीरथ प्रयासको फलस्वरूप १९९०–१९९५ सालतिर घरेलु कपडाको निकै विकास भएको थियो । १९९४ सालमा नेपाल बैङ्क लि, विराटनगरमा जूट मिल र त्यसपछि अनेक पब्लिक लिमिटेड कम्पनी निजी क्षेत्रमा खुलेका थिए ।
तर त्यस बेला धेरैजसो विकासका काम पटके सनदबाट हचुवा किमिसले हुन्थे । योजनाबद्ध तरिकाले देशको आर्थिक विकास गर्न सकिन्छ र गर्नपर्दछ भन्ने विचार त्यस बखतसम्म नेपालमा नौलो र थोरै नेपालीको मनमा चढेको थियो । यस्ता फाटफुटे कामबाट श्री ३ जुद्धशम्शेर सन्तुष्ट नभएको तथ्य त उनको २००२ सालको बिदाइ– भाषणले प्रमाणित गर्दछ ।
अरू राष्ट्रमा अङ्ग पुगेका योजनाले देश विकास भएको थाहा पाउने थोर–बहुत बुजुकहरू पनि त्यस्तै काम नेपालमा पनि हुनुपर्दछ भनी मुख फोरेर श्री ३ महाराजलाई बिन्ती गर्न त्यस बेलासम्म हिम्मत गर्दैनथे । कारण, जान्ने भएर नेपालमा यसो गर्नुपर्दछ र उसो गर्नुपर्दछ भन्ने त्यो जमाना र अवस्था थिएन । अलि प्रगतिशील देखिएका मानिसलाई तत्कालीन धेरैजसो दिग्गज रोलवाला राणाले दागा धर्दथे र दुई आँखाले देखिसहँदैनथे । त्यस बखत धेरै मानिसहरूलाई प्रधानमन्त्रीको भन्दा पनि रोलमा माथि चढेका (मुख्तियार, जङ्गीलाठ, पू.क.ज., द.क.ज. र उ.क.ज.) वरिष्ठ राणाजीको बढी डर र धक मान्नपर्दथ्यो– समयान्तरमा यिनीहरू नै नेपालको भाग्य विधाता हुने हुँदा ।
ज. ब्रह्मशम्शेरले त्यस ताका तुलसी मेहरको सङ्गत गरेको, खादीको विकास गर्नपर्दछ भनेको, ‘हरिजन छाप’ (माहात्मा गान्धीले वार्धाबाट सम्पादन गर्ने खबर कागज) पढ्ने गरेको र खादीको लुगा लगाएकोले उनी उच्चस्तरीय राणाका आँखाका कसिङ्गर बनेका थिए । ज. ब्रह्मशम्शेरको आफ्ना बाबु पूर्वतर्फका कमाण्डिङ्ग जर्नेल बबरशम्शेरसँग त्यसैकारणले खटपट पर्दा उनलाई अरू मानिसले उस्तो गन्दैनथे– उनको चाकरी गर्यो, उनीसँग हेलमेल देखायो भने बबरशम्शेर नाराज होलान् भन्ने डरले । त्यसैले दिलभित्रैबाट प्रगतिशील बन्नको त के कुरा त्यस्तो देखिन पनि जो पायो त्यो रोलवाला राणाजी सत्र भाइहरूसमेतको त्यस बेला हिम्मत थिएन्, दुनियाँदारको त के कुरा । देश विकास गर्न खोज्ने मानिस गनिन्थ्यो राणा व्यवस्था विरोधीजस्तो । विकास र राणाव्यवस्था गनिएका थिए कुकुर बिरालाजस्ता ।
उनी पनि आफ्नो आर्थिक योजनाको पहिलो चरण अर्थात् योजना बनाउन अति आवश्यक तथ्याङ्क सङ्कलन गर्ने काम चाँडो कार्यान्वयन गर्न अति उत्सुक थिए– बरु उनले सम्झिएका थिए त्यो ’इण्डष्ट्रियल सर्भ एण्ड को–अपरेटिभ सोसाइटी’ को कामको शुरुवात नयाँ शताब्दी सरेको दिनलाई नयाँ ठूलो उपहार हुनेछ भन्ने । त्यसैले नयाँ कामको सनदमा २००० नलाग्दै १९९९।१२।४।४ मा खड्ग निशाना लाग्यो । अर्थात्, आजकलको हिसाबमा, प्रोजेक्ट पास भयो । योजनाबद्ध तरिकाले नेपालको आर्थिक विकास गर्ने कामको नेपालमा श्रीगणेश भयो ।
श्री ३ जुद्धशम्शेरको हुकुम शिरोपर गरी यसरी हाँसको बथानमा बकुल्लोजस्तो बनी, मे.ज. विजयशम्शेरले नेपालको चाँडो आर्थिक विकास योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्न त्यस बखत कम्मर कस्नाका अनेक कारण थिए । प्रथम, उनलाई लागेको थियो आफू प्रधानमन्त्रीको विश्वासपात्र छु भन्ने (राणा व्यवस्थामा प्रधानमन्त्रीको मन परेको मानिसलाई बाह्र हातको टाँगोले पनि कसैले छुन सक्दैनथ्यो) । दोस्रो, उनी रोलवाला राणाजीहरूमा सबैभन्दा बुजुक र कट्टर दक्षिणपन्थी कहलिएका जङ्गीलाठ मोहनशम्शेरका मन परेका कान्छा छोरा थिए (त्यसकारणले जो पायो त्यसले उनलाई हिक्न सक्दैनथ्यो)। तेस्रो, नेपालको तरक्की हुन्छ भने अरूको त के कुरा आफ्नै बाबुको पनि कति डर नमान्ने मे.ज. विजयशम्शेरको प्रवृत्ति थियो । चौथो थियो, उनको नेपाल र नेपालीप्रति अगाध प्रेम, ममता, भरोसा र नेपालको भलो हुन्छ भने जस्तोसुकै खतराको पनि खुसीसाथ सामना गर्न हरहमेसा तयार रहने मनोवृत्ति र पाँचौ, योजनाबद्ध तरिकाले नेपालको चाँडो आर्थिक विकास हुन सक्दछ, गर्नपर्दछ र सो गरिएन भने नेपाल डुब्दछ भन्ने कुरामा उनको अटल धारणा ।
यी सब कुराका साक्षी छन्, उनको छोटो तर अति गतिशील, घटनापूर्ण उत्कृष्ट जीवनी र उनका समकालीन सहपाठी नेपालीहरू । २० वर्षको उमेरमा उनले कलकत्ता विश्वविद्यालयबाट एम.ए. पास गरे । मे.ज. विजयशम्शेरको यही खुबी, बुद्धि र आँटले गर्दा श्री ३ जुद्धशम्शेरको मनले उनलाई खाएको हो । मानका उनी त्यस बखत श्री ३ का हजुरिया जर्नेल नभए तापनि, विकास सम्बन्धी काममा उनी एक्का थिए र १९९९ सालदेखि २००२ सालसम्म श्री ३ जुद्धशम्शेर र मे.ज. विजयशम्शेरको अति घनिष्ठ सम्बन्धले पनि प्रमाणित गर्दछ ।
प्रधानमन्त्रीको त्यत्रो भरपत्यारले पनि युवक मे.ज. विजयशम्शेरको हौसला त्यस बखत जरुर बढाएको थियो । तर त्यसभन्दा पनि उनी बढी प्रेरित भएका थिए उनको १९९३–९४ सालतिर कलकत्ताको पठन–पाठन र त्यहाँ जवाहरलाल नेहरू, सुभाषचन्द्र बोस, के.एफ. नरिमन, मिनो मसाने, जेड्.ए. अहमद, आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण, अच्युत पटवर्धनहरू, कमलादेवी चट्टोपाध्यायजस्ता वामपन्थी विचार भएका नेतासँगको कताकति सम्पर्क र उनीहरूको लेख र भाषणले ।
डि.एफ. करक्काका पुस्तक उनी खूब मन पराउँदथे र पढ्दथे । योजनाबद्ध तरिकाले स्वतन्त्र भारतको आर्थिक विकास गर्ने तत्कालीन भारतीय राष्ट्रवादी नेताले चलाएको अभियान र सन् १९४०-४१ तिर भारतमा पं. जवाहरलाल नेहरूको अध्यक्षतामा गठित राष्ट्रिय योजना आयोगको प्रतिवेदन र भारतका प्रमुख उद्योगपतिले तयार गरेको भा.रु. १०,००० करोडको मस्यौदा योजनाले“ मे.ज. विजयशम्शेर र प्रो. भीमबहादुर पाँडे खूबै प्रभावित भएका थिए र त्यस्तै विचार मनमा राखी उनीहरूले नेपालमा त्यस्तै खालको मस्यौदा आर्थिक योजना तयार गर्न १९९९ सालको हिउँदमा शुरु गरे ।
नाटीकुटीमा विश्वास गर्ने कर्मचारीहरूले, २००० सालको पछाडि तीन शून्य परेकाले त्यसलाई अति बिच्छुकी साल गनेका थिए । त्यही तत्त्वले २००० साल नलाग्दै ’इण्डष्ट्रियल सर्भे औ को–अपरेटिभ सोसाइटी’ को काम नेपाल अधिराज्यमा शुरु गर्ने प्रस्ताव ने.क.घ.इ. समितिबाट पास गराई श्री ३ महाराजका जुनाफमा जाहेर गर्ने सुझाव मे.ज. विजयशम्शेरलाई दिए ।
उनी पनि आफ्नो आर्थिक योजनाको पहिलो चरण अर्थात् योजना बनाउन अति आवश्यक तथ्याङ्क सङ्कलन गर्ने काम चाँडो कार्यान्वयन गर्न अति उत्सुक थिए– बरु उनले सम्झिएका थिए त्यो ’इण्डष्ट्रियल सर्भ एण्ड को–अपरेटिभ सोसाइटी’ को कामको शुरुवात नयाँ शताब्दी सरेको दिनलाई नयाँ ठूलो उपहार हुनेछ भन्ने । त्यसैले नयाँ कामको सनदमा २००० नलाग्दै १९९९।१२।४।४ मा खड्ग निशाना लाग्यो । अर्थात्, आजकलको हिसाबमा, प्रोजेक्ट पास भयो । योजनाबद्ध तरिकाले नेपालको आर्थिक विकास गर्ने कामको नेपालमा श्रीगणेश भयो ।
आफूले तयार गर्न लागेको त्यो मस्यौदा योजना अधुरो र अपरिपक्व छ, रोलमा माथि चढेका बाबु, काका र सबैजसो दाजुभाइ र भारदार योजनाबद्ध तरिकाले नेपालको आर्थिक विकास चाँडो गर्न तयार छैनन्, नेपालको राजनीतिमा परिवर्तन छिटो हुँदैन, योजना कार्यान्वयन गर्न ठूलो खर्च रकमको सङ्कलन र प्राविधिज्ञ र आँकडाको जोरजाम सजिलो छैन र देशको आर्थिक विकास राणा व्यवस्थाको विपरीत छ भन्ने कटुसत्यसँग मे.ज. विजयशम्शेर खूब परिचित थिए । तर त्योभन्दा पनि उनी त्यस बेला बढी परिचित थिए, नेपालले सबै योजनाका पूर्वाधारहरू जुटाई अनुकूल बेला र वातावरण पर्खेर मात्र अङ्ग पुगेको आर्थिक विकास गर्न खोज्यो भने देश अवश्य सदा अविकसितको अविकसित रही कमजोर हुन्छ भन्ने कटुसत्यसँग । त्यसैले २००० साल वैशाख लाग्दा नेपालमा सर्वप्रथम ’औद्योगिक सर्भे तथा को–अपरेटिभ सोसाइटीको काम त्यति हडबडसाथ शुरु हुनको खास कारण पनि त्यही हो ।
एकप्रकारले त्यो २००० सालको ’औद्योगिक सर्भे र को–अपरेटिभ बैङ्क योजनाको प्रारम्भलाई नेपालमा आर्थिक विकासको भतखरु भने हुन्छ– कारण नयाँ शताब्दी शुरु हुने दिनदेखि नै नेपालको आर्थिक विकासले पहिलो फट्को चालेको हुनाले ।