कला/साहित्य

पिताको अपमानको बदला लिने कार्यभार

अचानक कर्णको जन्मले कुन्तीको जीवनमा आएको नयाँ अनुभवको उथल पुथलले औपचारिकरुपमा महाराज पाण्डवका लागि नियोगबाट सन्तान जन्माउँदा पनि फेरि कर्ण नै सम्झनामा आयो। श्रीकृष्ण द्वैपायन व्यासका अनुसार नियोगको चलन महाभारतकालीन समाजमा सामान्य थियो। स्वीकृति भने चाहिन्थ्यो आधिकारिकरुपमा। जस्तो कि स्वयं श्रीकृष्ण द्वैपायन, मत्स्यगन्धासँग महर्षि पराशरको सहमतिमा भएको सम्पर्कबाट शुक्ला गण्डकीको द्वीपमा जन्मेका थिए।

महाभारतका अनुसार कालो वर्णका ती महर्षि पुत्र वयस्क थिए र वेदका ज्ञाता थिए, त्यसैले उनलाई वेदव्यासको रुपमा मानिएको हो। उनी पराशर पछि व्यासको रुपमा स्वीकृत भएका हुन्। त्यो बेलामा व्यास हुनु भनेको लामो अनुभव र अभ्यासको पारदर्शी प्राज्ञिक अनुष्ठानबाट मात्र सम्भव थियो। थुप्रै गुरुकुलका कुलपतिहरूको प्राज्ञिक प्रतिस्पर्धाबाट छानिने भएकाले व्यासका रुपमा प्रतिष्ठित पराशर पुत्र भएकाले नै मत्स्यगन्धापुत्र कृष्ण व्यास भएका थिएनन्। त्यसो त पराशरका पिताजी, पितामह, प्रपितामहजीहरू पनि व्यासका रुपमा पूजित थिए।

सबै नै कठिन परीक्षाबाट बनेकाले र पुर्खाहरूसमेत व्यासको आसनका बसेकाले मत्स्यगन्धाका पुत्रलाई पनि वेदको अध्ययन गर्न मुस्किल भएन र वेदलाई सरलीकरण गर्दै अनेक स्मृतिहरूको व्याख्या र रचना गर्दै उनी व्यासका रुपमा यति प्रख्यात भए कि आज पनि, करिब पाँच हजार वर्षपछि पनि संसारले वेदव्यासका रुपमा उनैलाई मान्ने गरेको छ। उनको व्यासको पदवी एकप्रकारले अक्षुण्ण नै रहेको छ।

त्यसैले कर्णको जन्मले उब्जाएको उथलपुथल त आफ्नो ठाउँमा थियो कुन्तीको अन्तर्मनमा तर कुन्तीले त्यो कुरालाई भित्री मनमा राखेर तीनओटा छोराहरू पाएपछि बल्ल भन्न सकिन्—महाराज, म अब अन्य सन्तान पाउन असमर्थ छु। मसँग उर्वरता नभएर त होइन तर नियोगमा तीनओटाभन्दा बढी पुरुषसँग सम्बन्ध राख्दा हाम्रो प्रचलनमा त्यो गणिकाको रुपमा मानिन्छे, र म महारानी कुन्ती गणिकाको रुपमा परिचित हुन र देखिन चाहन्न। भित्री मनमा, मनमनै भगवान भाष्करसँग क्षमा पनि माग्दै थिइन् र आफूले जन्माएको र बगाएको त्यो बालकसँग पनि माफी माग्दै थिइन्।

महाराज पाण्डु चाहन्थे, कुनै महर्षिसँगको नियोग होस् या कुनै बलवान तथा सौर्यवान राजासँगको सहकार्य होस्, नियोग गरेर भावी राजाको नयाँ खाका तयार गर्न सकियोस्। तर मनमा के पनि रहेको थियो भने स्वयं नियोगका लागि प्रयुक्त भएका ऋषि वेदव्यास नै थिए जसका उनी आफैँ सन्तान थिए र राज्याधिकार पाउने क्षमता राखेका थिए। उनी विचित्रवीर्य महाराजको मृत्युपछि पनि उनकै क्षेत्रबाट उब्जेर पनि कुरुवंशका आधारशिला राजा हुन पाएका थिए।

अम्बिका माताबाट जन्मेका दाजु धृतराष्ट्र दृष्टिविहीन भएकाले अम्बालिकाको गर्भबाट जन्मेका महाराज पाण्डु राजा हुन पाएका थिए। जुनकुराले दाजु धृतराष्ट्रलाई सधैँ पोलेको थियो, उनको मनमा राजमाता सत्यवती, उनका पुत्र जसले उनलाई जन्म दिएका थिए र देवब्रत जसले कुरुवंशीय परम्परालाई आफू विवाह नगरी धान्नका लागि विचित्रवीर्यको क्षेत्रमा पुत्र जन्माउने काम गराएका थिए महर्षि वेदव्यासबाट, जो सत्यवतीका पुत्र थिए।

कर्णप्रति कुन्ती मोहले त्यो बेलामात्र फुल्ने, फल्ने मौका पायो, जब उनले थाहा पाइन् कि उनले यमुनामा बगाएको बच्चासहितको बाकस हस्तिनापुरका सारथि अधिरथले फेला पारेका छन् र उनकी अर्धाङ्गिनी राधाले आफ्नै कोखबाट जन्मेको बच्चा जस्तै गरी हुर्काउँदै छिन्। अनि उनी त्यो सुनको छालासँगै टाँसिएको अभेद्य कबच र कानमा छालासँग टाँसिएर रहेको कुण्डलसहितको बालकको अनुहार हेर्न यति लालायित भइन् कि सपना, विपनामा पनि त्यही किलकिलाउँदै चरण हल्लाउँदै जन्म दिने आमाको अनुहार हेरेको बच्च सम्झिन थालिन्।

त्यही कर्ण द्रुपद महाराजको आह्वानमा काम्पल्य आएका थिए अरु स्वयंवरका लागि आएका राजा, महाराजा र राजकुमारहरूसँग। कुरुवंशी राजकुमारहरू दुर्योधनादि बन्धुहरूसँग। अनुमान गर्दा हजारौँ राजाहरू त्यहाँ थिए र सबैको परिचय अद्यावधिक गरिएको हुन्थ्यो परिचारिकाहरू मार्फत्। को कुन देशबाट, कुन राज परिवारको तर्फबाट अनि के विषयमा विशेष क्षमता र विज्ञता छ? त्यसो त महाराज द्रुपदलाई एउटा साह्रै ठुलो समस्या परिसकेको थियो कि पाण्डु कुमार अर्जुनको लाक्षागृहमा जलाएर हत्या गरिइसकेको छ र उनीहरू अब जीवित छैनन्।

महाराज द्रुपदको द्वेष महर्षि द्रोणाचार्यसँग थियो किनभने द्रोणले आफ्नो जीवनको मुख्य लक्ष्य नै महाराज द्रुपदको विरुद्धमा शिक्षादान जस्तो अपूर्व दानलाई दुरुपयोग गरेर कुरुवंशी राजकुमारहरूसँग, त्यसमा पनि त्यो समयका महान युवा धनुर्धर अर्जुनजस्ता योद्धासँग एउटै गुरु दक्षिणा लिने कामना राखेका थिए, जसरी हुन्छ महाराज द्रुपदको घमण्ड तोड्ने, उनलाई पाता कसेर द्रोणाचार्य सामु ल्याउने र पाञ्चाल राज्य आफ्नो कब्जामा लिएर आफू त्यहाँको राजा हुने। जसरी हुन्छ, महाराज द्रुपदले गरेको अपमानको बदला लिने। अब द्रुपदको कृपाले होइन, उनको दानबाट होइन, आफूले सिकाएको शिक्षाको सिपबाट पराजित गराएर, आफ्ना चेलाहरूबाट पाता फर्काइएको अवस्थामा हेर्न मन लागेको थियो र त्यसरी बदला लिएर आफ्नो मनको अन्तरकुन्तरमा रहेको बदला पूरा गर्नु थियो।

अन्य कुरुवंशी कुमारहरूले सकेनन् तर अर्जुनले एक्लै पाञ्चाल सेनासँग लडेर, आफैँले समाएर, पाता कसेर गुरु द्रोण सामु ल्याएका थिए। द्रुपद चाहन्थे, त्यस्ता वीरसँग छोरीको बिहे गराउन पाए हुन्थ्यो किनभने यज्ञमा गर्दा नै द्रोणाचार्यको नाश गर्ने पुत्र यज्ञ गरिएको हो र सौभाग्यवश एउटामात्र बच्चा प्राप्तिका लागि गरेको यज्ञबाट जुम्लाहारुपमा वयस्क छोराछोरी पनि जन्मेका हुन्।

सँगै जन्मेकी कृष्णामा पनि त्यही कुरुवंशको नाश गर्ने गुण कमबेस थियो जसले कुरुवंशको नाश गर्ने कामको अभिभारा नियतिले दिएको थियो, जुनकुराको जानकारी महाराज द्रुपदलाई नहुने कुरै भएन। धृष्टद्युम्न त जन्मँदै कबच र तरबार लिएरै जन्मेका हुन् र नियतिले महाभारतको महान युद्धमा पाण्डवका तर्फबाट सेनापतिको कार्यभार पाउने जिम्मा पाएका थिए। उनको कार्यभार भनेको गुरु द्रोणको हत्या गरेर आफ्ना यज्ञकर्ता पिताको अपमानको बदला लिनु थियो। त्यस्तै स्वर्गका राजा इन्द्रकी इन्द्राणी शचिको अवतारका रुपमा जन्मेकी कालीको अंश लिएकी याज्ञसेनी द्रौपदी पनि आफ्नो त्यो कार्यभार पूरा गर्न आएकी थिइन् जसले महाभारतको विश्वयुद्धको कारण बनेर अन्ततः दुर्योधनादि १०० भाइसँगको बदला लिएर आफ्नो चीरहरणको र अपमानको बदला लिनु थियो।

यो नियतिको चक्रले दिएको कार्यभार थियो। तर आधार त उनको बिहेमा स्वयंवरका लागि आएका पात्रहरूसँग विवाह हुनु थियो जहाँ पाण्डवहरू ब्राह्मणका भेषमा त्यो स्वयंवरमा भाग लिन आएका थिए। साँच्चै भन्ने हो भने नियतिले अर्जुनबाहेक अरुलाई त्यो प्रतिस्पर्धाका बारेमा थाहा पनि थिएन होला किनभने अरुले त्यो प्रतिस्पर्धाका बारेमा सुनेका पनि थिएनन् होला र राखिएको सर्त पूरा गर्नेतर्फ पनि कसैले ध्यान दिएको देखिँदैन।

सानैदेखि महाराज पिता द्रुपदले छोरीको लागि योग्य वरचाहिँ पाण्डु पुत्र अर्जुनमात्र हुन् भन्ने सुन्दै आएकी थिइन्। स्वयंवरणको राजकीय चलन त आफ्ना ठाउँमा थियो तर पाण्डवहरूको असामयिक निधनका कारणले राजा द्रुपद चिन्तित थिए। र पनि वयस्करुपमा नै यज्ञबाट जन्मेकी र उनको क्षमताप्रति निर्धक्क रहेका राजाले तर त्यो सर्तहरूको बाढी यसरी राखेका थिए कि तत्कालमा छोरीको  लागि वर प्राप्त नहोस्। अनि कल्पनामा अर्जुनमात्र थिए र त्यो तत्कालका लागि असम्भव देखिएको थियो।

अचानक अप्रतिस्पर्धीका रुपमा गोकुल निवासी, वसुदेव पुत्र वासुदेवको आगमनले नयाँ उत्साह भने महाराज द्रुपदमा थियो र अयोनिजा वयस्का कृष्णामा पनि उनको आगमनले स्वयंवरको रौनक बढेको ठानेकी थिइन्।

आमन्त्रित र प्रतिस्पर्धामा सहभागिता जनाउन आउने मध्ये कर्ण पनि थिए। त्यतिबेलासम्म कर्णको क्षमता भारतवर्ष र छिमेकी राज्यहरूमा फैलिई सकेको थियो। कर्ण सूतपुत्र हुन्  र राजकुमार दुर्योधनले पिताका तर्फबाट  कर्णलाई अंग देशको राजामा पदोन्नति गरेको सबैलाई थाहा थियो। स्वयंवरमा आउने भित्री कारण त याज्ञसेनीलाई सर्त पूरा गरेर आफ्नी रानीका रुपमा जित्ने र पुरस्कारका रुपमा आफूलाई राजाको पदोन्नति गर्ने राजकुमार दुर्योधन युवराज भइसकेको मान्यतामा स्वयंवरमा आएका थिए।

(लाक्षागृहमा जलेर मारिएका भनेर मानिएका युधिष्ठिरसमेत पाँचै भाइको सट्टा) युवराजका रुपमा स्वयंवरमा भाग लिन आएका भए पनि उनीबाट सर्त पूरा हुने सम्भावना नभएकाले आफ्नो छोरो सहित लडाकु लिएर आएका थिए कर्ण। कर्णलाई के पनि थाहा थियो भने अर्जुनको लाक्षागृहमा मृत्यु भइसकेपछि अब यो भारतवर्षमा आफूबाहेक कोही पनि आकाशजस्तै माथि माथि घुमिरहेको गतिशील माछाको आँखामा वाण सन्धान गरेर निसाना लगाउने अब कोही पनि छैन। द्रुपद कन्या जित्ने छु र यदि अरु राजाहरूले आक्रमण गरेमा युद्ध जित्ने गरी सेनाहरूको व्यवस्था गरेका थिए।

कारण थियो, पहिलेको अपमानलाई न त द्रुपदले बिर्सेको जस्तो लाग्थ्यो, न त हस्तिनापुरले नै द्रुपदको यज्ञबाट जन्मेका जुम्लाहाका बारेका सुनेका कुराहरू बिर्सिएका थिए। अयोनिजा भए पनि उनी उर्वर छिन् भन्ने कुरामा महर्षि वेदव्यासबाट थाहा पाएका थिए। महर्षि वेदव्यास त नियतिको चक्र थाहा पाउने र त्यसको व्यवस्थापन गर्नका लागि लागेका बुझिन्थे। क्रमशःINS

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *