काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भूमिका गठबन्धन सरकारमा निकै बलियो छ । विगतको काँग्रेससँगको गठबन्धन र नयाँ गठबन्धनमा समेत अध्यक्ष नेपालको भूमिका निकै बलियो देखिँदै आएको छ । नेकपा एमाले साँसद विघटन गरेपछि एमाले अध्यक्ष ओली र नेपालबीचको सम्बन्ध पानी बाराबार नै भएको थियो । तर प्रधानमन्त्री प्रचण्डले काँग्रेससँगको सत्तागठबन्ध विघटन गरेर नयाँ गठबन्धन कायम गरेपछि ओली र नेपालको सम्बन्धमा सुधार आएको छ । एकीकृत समाजवादीसँग १० सिटको सङ्ख्या भए पनि अध्यक्ष नेपालको सर्पोट गठबन्धन सरकारलागि एक विशाल पहाडको रूपमा चर्चामा छ ।
अध्यक्ष ओली र नेपालको सम्बन्धमा सुधार आउँछ भन्ने कुरा नेपाली जनताले विश्वास नै गरेका थिएनन् । प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गर्ने क्रममा उनीहरूबिचको सम्बन्धमा माधुर्यता ल्याइदिए । उनीहरूले त्यसलाई सहजै स्वीकार गर्न बाध्य भए । गठबन्धन सरकार टिकाउने अर्थात् भत्काउने भन्ने विषयमा अध्यक्ष नेपालको मुठ्ठीको विषय हो । अहिले नेपालले भनेको कुरामाथि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली सहजै स्वीर्कानु बाहेक अन्य विकल्प छैन ।
एमाले उपाध्यक्ष एवं इलाम–२ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौमा र बझाङ–१ (१) का प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वैशाखमा निधन भएपछि साबिक क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ । उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने बाध्यता सिर्जना भएपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्रले इलाम २ मा हुने उपनिर्वाचनमा उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । नेकपा एमालेले सुहाङ नेम्वाङलाई इलाम क्षेत्र न. २ मा उम्मेदवारी बनाएको छ । यस्तै माओवादी केन्द्रले बुधवार इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को उप–निर्वाचनका लागि चार जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
प्रदेश समिति कार्यालय विराटनगरले जिल्ला समन्वय समिति इलामको सिफारिसको आधारमा चार जनाको नाम सिफारिस गरेको थियो । प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङ (मिक्सो) का अनुसार धिरेन्द्र शर्मा तिम्सिना (रमण) उर्मिला तामाङ (चन्दा)ओम बहादुर गुरुङ (सौरभ )कुमार बराइली (अनिल) को नाम सिफारिस गरिएको हो । उपनिर्वाचनमा गठबन्धनबाट साझा उमेदवार उठाउने पहिले छलफल भएको तर पछि गठबन्धभित्रका दलहरूसँग छलफल नगरी आ–आफ्नै उम्मेदवार उठाएपछि अहिले गठबन्धनभित्र विवादको अवस्था सिर्जना भएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादी पाटीले वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आफ्नो उम्मेदवार टुङ्ग्याएको छ । नेकपा एसले प्रतिनिधिसभाअन्तर्गत इलाम २ मा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।इलाममा राई र बझाङमा सिंह उम्मेदवार बन्ने निश्चित भएको तर पार्टीले औपचारिक निर्णय भने गरेको छैन ।
उपनिर्वाचन बाहेक पनि अन्य विषयमा पनि गठबन्धनको सरकारमा नेकपा एस शक्तिशाली खम्बाका रूपमा उभिएको छ । विगतमा भएका सहमतिका आधारमा आफूले नेतृत्व नपाए गठबन्धनको सरकारबाट बाहिरिने सम्भावना समेत रहेकाले अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीलाई आँफुलाई अनुकूल हुने किसिमको निर्णयबाट अगाडी बढ्नुपर्ने बताउँदै आएका छन् । विशेष गरी पाँच वर्षको अवधिमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपालबीच पालैपालो प्रधानमन्त्री बन्ने सहमतिसमेत भइसकेकाले अध्यक्ष नेपालले गठबन्धन सरकारको केन्द्रमा उभिएर अन्य दलले दाबी गरेको अवस्थामा जुनसुकै ठाउँमा आफ्नो सहमति आवश्यक रहेको उल्लेख गर्दै आएका छन् ।
समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षमा पनि आफ्नो दाबी पेस गरेको छ । हाल माओवादी कोटाबाट राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र उपाध्यक्षमा उर्मिला अर्याल छन् । गठबन्धनमा भएको सहमतिअनुसार अर्यालले राजीनामा दिने फागुन २१ मा समझदारी भएको थियो । त्यसपश्चात् समाजवादीले उपाध्यक्ष दाबी गरेपछि ‘निर्वाचनका बेला टुङ्गो लगाउने’ भन्दै उक्त बुँदा हटाइएको थियो । समाजवादी पाटीले सङ्घीय सरकारमा आलोपालो प्रधानमन्त्री, मधेस र वाग्मतीमा पनि आलोपालो सरकारको नेतृत्वका साथै उच्च तहका राजनीतिक नियुक्तिमा आफ्नो पनि कोटा हुनुपर्ने बताउदैँ आएको छ ।
सङ्घीय मामिला र सहरी विकास मन्त्रालय लिएर सरकारमा सहभागी भए पनि समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्रीको पद नपाए गठबन्धनको सरकारबाट बाहिरिने समेत निर्णय पहिल्यै गरिसकेका छन् । राष्ट्रिय दल बन्न नसके पनि समाजवादी गठबन्धन सरकारलाई भने दबाब दिन सक्ने हैसियतमा उभिएको छ । समाजवादी पाटी रहेको अवस्थामा गठबन्धन संम्भवभ छ । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गठबन्धन बलियो बनाउन आफ्नो भूमिका आवश्यक रहेकाले समाजवादी सरकारमाथि दबाब दिने अवस्थामा भएको टिप्पणी गर्दै आएका छन् । समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले विगतका भद्र सहमति कार्यान्वयन नभएकाले अब व्यवहारमै लागू हुनुपर्ने बताएका छन् । माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विचार नजिक भएका दलहरू सहकार्य गर्न तयार भएकाले नयाँ समीकरण बनेको बताए ।
अबको कम्तीमा एक वर्षसम्म दाहाल सरकार सफल बनाउने र त्यसपछि मात्र नेतृत्व आलोपालो गर्ने ओली, दाहाल र नेपालबीच मौखिक समझदारी भएको छ । उक्त कुरा व्यवहारमा लागू नगरे अध्यक्ष नेपालले सरकारको समर्थन गर्न नसक्ने टिप्पणी गर्दै आएका छन् । ओली र दाहाल नागरिक उन्मुक्ति, लोसालाई पनि सरकारमा ल्याउने पक्षमा छन् । प्रतिनिधिसभामा ५ सिट भएको उन्मुक्ति र ४ सिट भएको लोसालाई सरकारमा ल्याउन सके नेपालको दबाब पनि कम हुने ओली दाहालको आन्तरिक रणनीति रहेको बुझिएको छ । नयाँ गठबन्धन बनाउने विषयमा एकीकृत समाजवादी पाटीका अध्यक्ष नेपाल प्रधानमन्त्री प्रचण्डको एकतर्फी निर्णय देखेर रिसले आगो बनेपछि अध्यक्ष नेपाललाई फकाउन प्रधानमन्त्री प्रचण्ड र ओलीले निकै सङ्घर्षपूर्ण कसरत गरेका थिए ।