रिबन

बस्न योग्य सहरको सपना

खस्यौली, बटौली, बुटौल जस्ता नामले चिनिने ठाउँ अहिले बुटवलका नाममा स्थापित छ । अहिलेको बुटवल सयौँ वर्षअघि गणराज्यको राजधानी र व्यापारिक नाका थियो । जितगढी किल्लामा नेपालले अङ्ग्रेजहरूलाई दुई सय वर्षअघि हराएका थिए । सेन वंशीय राजाहरूले यहीँ शीतकालीन राजधानीका रूपमा प्रयोग गरेका थिए । नुन र कपडाको व्यापारसँग जोडिएको महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गको विस्तारपछि बुटवलले एक सय वर्ष अघिदेखि मात्रै आधुनिक स्वरूप पाएको हो ।

बुटवल पहिलेदेखि नै विविधताले भरिपूर्ण सहर हो । ५ सय वर्ष अगाडि पाल्पा राज्यका राजा मणिमुकुन्द सेनले काश्मीरबाट कशौधनहरुलाई व्यापारका लागि यहाँ ल्याए भने नेवारहरू पनि त्यसै सेरोफेरोमा यहाँ आएका थिए । १९९५ सालतिर मुस्ताङबाट थकालीहरू यहाँ आए । व्यापार विनिमयमा तत्कालीन समयमा यो क्षेत्र प्रख्यात थियो । पहाडबाट ल्याएको घिउ प्रशोधन गरेर भारतसहितका मुलुकमा पठाइन्थ्यो । ल्हासाको नुन, सुन, पहाडको जडीबुटी, घिउ, तेलजस्ता सामग्री बेच्ने थलो बटौली थियो ।

वि.सं. २०१६ सालमा बुटवल खस्यौली नगरपालिकाको स्थापना भएको थियो । २०१७ सालमा बहुदलीय व्यवस्था विघटन भएपछि यसलाई बुटवल खस्यौली नगर पञ्चायत बनाइयो । बहुदलीय व्यवस्था पुनः स्थापना भएपछि यसको नाम बुटवल नगरपालिका राखिएको थियो । २०७१ मङ्सिर १६ गते बुटवल नगरपालिकाबाट उप–महानगरपालिकामा स्तरोन्नति भएको हो । बुटवल उप–महानगरपालिकाभित्रको जनसङ्ख्या  करिब २ लाखको हाराहारीमा छ । औपचारिक बसोबासको संख्या करिब २ लाख भए पनि अनौपचारिक रूपमा यहाँ बसोबास गर्नेको सङ्ख्या करिब २ लाख रहेको छ ।

बुटवलले लोकतन्त्र बहालीसँगै विकासमा फड्को मार्दैछ । देशकै मध्य भागमा पर्ने र सहज पहुँच भएकाले बुटवल सबैतिरको रोजाइमा पर्छ । सबैतिरको रोजाइमा पर्ने बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्न योग्य सहर बनाउने हाम्रो योजना छ । यो सामरिक र ऐतिहासिक दृष्टिले मात्रै हैन, पर्यटकीय र व्यावसायिक दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण थलो हो । विकासमा बुटवल क्षेत्रले काठमाडौँलाई पछि पार्ने गरी अगाडि बढेको छ । वास्तवमा, बुटवल भूगोलमा मात्रै सीमित छैन । बर्दघाटदेखि दाङसम्मको भेग बुटवलको प्रभावित क्षेत्र हो । यो क्षेत्रको नेतृत्व बुटवलले गरिरहेको छ । चाहे त्यो विकासमा होस्, चाहे मानव संसाधनका क्षेत्रमा, बुटवलले अगुवाइ गरिरहेको छ ।

विकासका दृष्टिकोणले बुटवल काठमाडौँ उपत्यका बाहिरका अग्रणी सहरहरू मध्येको एक हो । नवलपरासीदेखि दाङसम्म र उत्तरका पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्युठान, बागलुङ, पर्वतसम्मको बुटवलको व्यापारिक साइनो शताब्दी पुरानो हो । भौतिक पूर्वाधारको विकास र मानव संसाधनको विकासमा पनि बुटवलले राष्ट्रिय रूपमै नेतृत्व गर्ने क्षमता राख्दछ । देशमा भएका महत्त्वपूर्ण परिवर्तन र उपलब्धिहरूमा बुटवलले नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।

अन्तर्राष्ट्रिय सभा हल तथा प्रदर्शनी केन्द्र, झन्डै ६ अर्बको लगानीमा स्तरोन्नति हुँदै गरेको लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा, व्यवस्थित अटो भिलेज, ढुवानी ग्राम, खेल पूर्वाधार, शैक्षिक पूर्वाधार, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थल जस्ता भौतिक तथा सेवामूलक क्षेत्रको विकास र विस्तारले बुटवललाई अग्रणी नगरको रूपमा उभ्याउने प्रयास गरेका छन् ।

भौतिक विकास सँगसँगै मानव संसाधनको विकास

बुटवल उपमहानगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ । सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम, बजेट र योजनाहरू अगाडि बढाइएको छ । विकास सँगसँगै नगरको सौन्दर्यीकरण, सहरी व्यवस्थापन र सेवा–सुविधामा सुधार ल्याउनका लागि हामी सङ्घ र प्रदेश सरकारसँग साझेदारी गर्दै अगाडि बढिरहेका छौँ । सेवा प्रवाहलाई जनमुखी बनाउन घरदैलो सेवाहरू सुरु गरेका छौँ । बा आमासँग नगरप्रमुख कार्यक्रम मार्फत  ६० वर्ष माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, अपाङ्गता परिचय पत्र वितरण, सुत्केरी महिलाको स्वास्थ्य जाँच, पशु चौपायाको स्वास्थ्य परीक्षण तथा औषधी वितरण लगायतका कार्यक्रमहरू नागरिकको घरदैलोमै पु¥याइएको छ ।

गुणस्तरीय शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्दै नगरवासीलाई आत्मनिर्भर बनाउने योजनाहरू अगाडि सारिएको छ । स्वरोजगार सिर्जना गर्दै नगरवासीलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षा र सीपयुक्त तालिमहरू सञ्चालन भइरहेका छन् । हामीले भौतिक विकासले मात्रै पुग्दैन, मानिसको सर्वाङ्गीण विकास जरुरी छ भन्ने मान्यताका साथ सबैजसो उमेर अवस्थाका बासिन्दालाई लक्षित गरेर कार्यक्रमहरू अगाडि बढाएका छौँ ।

बुटवलले गृहिणी महिला तथा युवाहरूलाई स्वरोजगार बनाउँदै विदेश पलायन रोक्ने उद्देश्यले गृहिणी महिला स्वरोजगार कार्यक्रम, महिला उद्यमशीलता, युवा इलमजस्ता कार्यक्रममार्फत सीप र रोजगारसँग जोड्दैछौं । हामीले कफी बनाउने सीपदेखि प्लम्बिङ, वायरिङ, कम्प्युटर नेटवर्किङ, कपडा सिलाउने, सुनचाँदीका गहना बनाउने, टपरी बनाउने, चुरापोते बनाउनेजस्ता तालिम सञ्चालन गर्ने र स्वरोजगार हुन चाहनेहरूलाई थप प्रोत्साहन गर्ने काम गरिरहेका छौँ । यस वर्ष १ हजार जना महिलालाई विभिन्न सीपमार्फत उद्यममा जोड्ने गरी काम भइरहेको छ ।

यस्तै, बुटवलमा अस्पतालमा चाहिने जनशक्ति उत्पादनका लागि बुटवल उपमहानगरपालिका स्थानीय समितिको संयोजक रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा पारामेडिकलको अध्ययन सुरु गरेका छौँ । यहाँबाट उत्पादन हुने जनशक्ति बुटवलमै खपत हुनेछ । त्यसका लागि आम्दालाई स्तरोन्नति गरी ३ सय बेडमा पुर्याउँदैछौं । प्राविधिक शिक्षातर्फ कोरियन टेक्निकल इन्स्टिच्युट बुटवलमा तालिमहरू सञ्चालन भइरहेका छन् । बुटवल टेक्निकल इन्स्टिच्युट बीटीआईलाई समयानुकूल बनाउँदै टनेल इन्जिनियरिङजस्ता अहिले माग भइरहेका विषयहरूको अध्ययन सुरु गर्ने गरी तयारी गरेका छौँ ।शिक्षा र स्वास्थ्यमा अग्रणी

बुटवल यसै पनि शिक्षामा अब्बल क्षेत्र हो । माध्यमिक स्तरमा देशमै उत्कृष्टमध्येका कालिका मावि, नवीन औद्योगिक मावि, कान्ति माविजस्ता सार्वजनिक विद्यालयहरू छन् । जहाँ विद्यार्थीलाई भर्नाका लागि पालो कुर्नुपर्ने अवस्था छ । निजी क्षेत्रबाट पनि उत्तिकै स्तरीय शिक्षा प्रदान भइरहेको छ । एसइई होस् वा उच्च शिक्षा बुटवलले देशमै ख्याति कमाएको छ । हामीले आन्तरिक श्रोतबाट मात्रै यो वर्ष शिक्षामा साढे ८ करोड भन्दा बढी बजेट छुट्टाएका छौँ ।

प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको छ । बुटवल १६ मा कृषि विज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । विद्यालयहरूको भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलापमा जोड्दै विद्यार्थीहरूको क्षमता विकास गर्न नगर स्तरीय फुटबल प्रतियोगिता, लोकनृत्य प्रतियोगिताजस्ता विद्यालयलक्षित प्रतियोगिता सञ्चालन गरिरहेका छौँ ।

स्वास्थ्यमा हामी निर्वाचित भएर आएदेखि विशेष कार्यक्रमहरू सञ्चालन गरेका छौँ । टोल टोलमा प्राथमिक उपचार कार्यक्रम, पोषण, सुरक्षित मातृत्व, ज्येष्ठ नागरिक तथा किशोर किशोरी लक्षित कार्यक्रम, स्वास्थ्य संस्थाहरूको स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ । ६० वर्ष माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन बा आमासँग नगरप्रमुख कार्यक्रममार्फत चिकित्सकसहितको स्वास्थ्य टोली घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र औषधि वितरण गर्ने कार्यक्रम सञ्चालनमा रहेको छ ।

गर्भवती महिलाहरूको जाँच तथा निःशुल्क औषधी वितरण, सुत्केरी महिलालाई १४ दिन भित्रमा तीन पटक स्वास्थ्यकर्मीहरू घरमै पुगी स्वास्थ्य जाँच गर्ने, दुग्धवद्र्धक जडीबुटी प्रदान गर्ने जस्ता कार्यक्रम सञ्चालित छन् । स्वस्थ शिशु पोषण कार्यक्रम अन्तर्गत  नगरभित्रका सरकारी तथा सामुदायिक अस्पतालमा बच्चा जन्माउने आमाहरूलाई प्रोत्साहन स्वरूप दुई हजार रुपैयाँ र एचआइभी सङ्क्रमित बालबालिकालाई मासिक ३ हजार पोषण खर्च प्रदान गर्दै आएका छौँ । नगरमा अहिले १५–१५ बेडका अक्सिजन सुविधासहितका दुई वटा अस्पताल निर्माणाधीन छन् । बुटवल उपमहानगरपालिकाकै स्थानीय व्यवस्थापनमा रहेको आम्दा अस्पताललाई विशिष्टकीकृत अस्पतालका रूपमा स्तरोन्नति गर्न ३ सय बेडमा स्तरोन्नति हुँदैछ । आगामी वर्ष बुटवलमा पीपीपी मोडेलमा १ सय शय्याको अस्पताल स्थापना गर्ने योजनासहित छलफल चलाइरहेका छौँ ।

कृषि र उद्योगको प्रवर्द्धन 

२०१० सालमा स्थापना भएको बुटवल औद्योगिक क्षेत्र पर्याप्त नभएपछि डेढ दशक अघि मोतीपुर औद्योगिक क्षेत्र स्थापना सुरु भयो । लामो समय विवादमा परेको त्यही मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भएर अलपत्र छ । औद्योगिक क्षेत्रको जग्गा विवादलाई मध्यमार्गी समाधान खोज्न बुटवल उपमहानगरपालिकाले समन्वयकारी भूमिका खेल्दै आएको छ । जग्गा यकिन गरी व्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नाप जाँच गर्ने काम सकेर मन्त्रालयमा पुगिसकेको छ । सङ्घ सरकारले जुनसुकै बेला पनि यो काम अगाडि बढाउने गरी सहजीकरण भएको छ । बुटवल–१५ मा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने काम अगाडि बढेको छ ।

झन्डै दुई अर्ब लगानीको यो आयोजना सम्पन्न हुँदा बुटवल मात्रै हैन, लुम्बिनी प्रदेशका तराइ र पहाडी जिल्लाका किसानका उत्पादनले बजार पाउने छ भने कृषिजन्य उत्पादन निर्यात समेत गर्न सकिने छ । यहाँ उत्पादन भएका वस्तु भैरहवाको विमानस्थलबाट विदेश निर्यात गर्ने योजना छ ।

भौतिक पूर्वाधारमा अब्बल

बुटवल भौतिक पूर्वाधारमा अगाडि छ । हामीसँग राष्ट्रिय स्तरका संरचनाहरू छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी हल छ । ढुवानी ग्राम, व्यवस्थित अटो भिलेज, खेल मैदानहरू बनेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पतालका नयाँ भवनहरू बन्दै छन् । सपिङ महलहरू, ठूला ठुला तारे होटलहरु सञ्चालनमा छन् भने केही निर्माणका क्रममा छन् । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर पशु वधशाला सञ्चालनमा आउँदै छ । विद्यमान पार्किङको समस्या समाधान गर्न बुटवल उपमहानगरपालिका, नगर विकास कोष र मल्टी डेफोर्ट हार्मोनिक जेभीसँगको सहकार्यमा नगरले बहुतले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता भइसकेको छ । राजमार्ग चौराहादेखि गोल पार्क सम्मको ६ लेन सडक छिट्टै सकिने अपेक्षा छ । बुटवल–नारायणघाट ६ लेन सडक स्तरोन्नति हुँदैछ ।

बुटवल–चन्द्रौटा सडक पनि ४ लेनमा स्तरोन्नति हुदैछ । पूर्वपश्चिम राजमार्ग र सिद्धार्थराजमार्गको मिलन बिन्दु पर्ने बुटवलबाट कुनै पनि क्षेत्रका लागि यातायात सुविधा लिन सकिन्छ । नगरका अधिकांश भित्री सडकहरू पक्की र फराकिला बनेका छन्, केही निर्माणकै चरणमा छन् । बुटवलबाट लामो तथा छोटो दुरीका हरेक क्षेत्रका लागि गाडी छुट्छन ।

जसका लागि हालको बसपार्क साँघुरो भएकाले प्रदेश स्तरको हरियाली बसपार्क बनाउने योजना ल्याइएको छ । अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माणका लागि बुटवल १२ मा जग्गा प्राप्तिको चरणमा रहेको छ । बुटवलको विकासमा सरसफाइ र खानेपानी आयोजनाका लागि  विश्व बैङ्क लगायतका ठुला लगानीकर्ताहरू लगानी गर्न इच्छुक देखिएकाले छिट्टै यी आयोजनाहरू पनि अगाडि बढ्ने तर्फ उन्मुख छन् ।

बुटवलको खानेपानीका लागि २२ बर्षअघि सुरु गरिएको झुम्सा खानेपानी आयोजना अहिले पनि सुषुप्त अवस्थामा छ । मिनी मेलम्चीसरह बनेको यो आयोजनाको काम छिटो सक्न सङ्घीय सरकारलाई पटक पटक ध्यानाकर्षण गराइएको छ । छाडा चौपायाको समस्या निराकरणका लागि बुटवलको शिव नगर सामुदायिक वनमा गौचरण सहितको गौशाला हालै सञ्चालनमा ल्याइएको छ ।

उत्कृष्ट पर्यटकीय विश्राम स्थल बनाउने लक्ष्य

बुटवलका ऐतिहासिक, धार्मिक, पर्यटकीय सम्पदाहरूको प्रचार प्रसार गर्दै अन्य पर्यटकीय स्थलहरूसँग तिनलाई जोडेर पर्यटकीय विश्राम स्थलको रूपमा बुटवललाई विकास गर्ने लक्ष्य छ ।  बुद्ध जन्मस्थल लुम्बिनीदेखि बुटवलको जितगढी किल्ला, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, आदिम मानव रामापिथेकसको अवशेष फेला परेको स्थल, सिद्ध बाबा मन्दिर हुँदै बुटवललाई मुक्तिनाथसम्म जोड्ने पर्यटकीय रुट निर्माण गरी पर्यटन प्रबद्र्धनका योजना छन् ।

बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्राम स्थलका रूपमा स्थापित गर्न नगरको सौन्दर्यीकरण, सरसफाइ, हरियाली र उज्यालो सहर निर्माण अभियान चलाइएको छ । उज्यालो बुटवल कार्यक्रम अन्तर्गत नगरका २३ स्थानमा हाइमास्ट लाइट जडान गर्ने काम अगाडि बढेको छ ।
बुटवलमा हाल सञ्चालनमा आइसकेको बुटवल–बसन्तपुर जोडने लुम्बिनी केबलकार  र सञ्चालनको तयारीमा रहेको बुटवल–नुवाकोट जोडने सिद्धार्थ केबलकारले यो क्षेत्रलाई अझ चलायमान बनाउने अपेक्षा लिइएको छ ।

निजी क्षेत्रले पनि आर्थिक केन्द्रको रूपमा रहेको बुटवल भविष्यमा सुन्दर पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुने अपेक्षा सहित ठुला, स्तरीय तथा  तारे होटलहरुमा लगानी गरिरहेका छन् ।

स्मार्ट सिटीको सपना

कोभिड १९ ले हामीलाई प्रविधिको उपयोग गर्न सिकायो । आर्थिक कारोबार गर्न, बिजुली बत्ती र पानीको महसुल बुझाउन, रेस्टुरेन्ट, होटेलको बिल तिर्न मोबाइलबाटै अभ्यस्त भइसक्यौँ । बिस्तारै समाज स्मार्ट जीवनशैलीतर्फ अग्रसर भइरहेको छ । तर, हाम्रा सरकारी संयन्त्रहरू अझै पनि स्मार्ट बन्नका लागि पूर्णतः तयार नभइरहेको अवस्था देखिन्छ । सार्वजनिक वित्त व्यवस्थापनमा केही सुधार आइरहेको छ । पैसाको हिसाबकिताब जति छिटो डिजिटल रूपमा हुन थाल्छ, त्यति कम चुहावट हुन्छ । भ्रष्टाचार कम हुन्छ । यस्तै यस्तै कारणले पनि सरकारी संयन्त्रबाट हुने सबै काम डिजिटल बनाउने योजना हाम्रो छ । अझै पनि राजश्व तिर्न कार्यालयमै आउनुपर्ने अवस्थालाई अन्त्य गर्नु छ । मेरो बुझाइमा सूचना, सञ्चार र प्रविधिको उपयोगमार्फत प्रशासनिक सेवा प्रवाहदेखि सहरको अर्थ व्यवस्था, वातावरण, यातायातलाई चुस्त बनाउनु स्मार्ट सहरका आधारभूत कुरा हुन् । ‘स्मार्ट सिटी’का लागि चौबीसै घण्टा खानेपानी, बिजुली, ढल निकास, सार्वजनिक यातायात सञ्जाल, प्रशस्त बाल तथा वृद्ध मैत्री खुला क्षेत्र र संरचना अनिवार्य हुन्छ । हामीले यी कुराहरूमा हर सम्भव प्रयत्न गरिरहेका छौँ ।

प्रशासनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउन हाम्रा सामाजिक सञ्जाल, वेभसाईट, डिजिटल डिस्प्ले, नागरिक बडापत्रहरूलाई व्यवस्थित गर्दैछौं । एआईको प्रयोग गरी च्याटबट सञ्चालन गरेर जनताका राय लिने, सेवा प्रवाहका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने काम गरिरहेका छौँ । बाँकी कामका लागि हामी सङ्घ र प्रदेशसँग समन्वय र सहकार्यका लागि प्रस्ताव गरेका छौँ । हाम्रो आन्तरिक श्रोतले मात्रै सबै कुरा सम्भव नहुने भएकाले अत्यावश्यक क्षेत्रमा आन्तरिक श्रोतको उपयोग गर्ने र थप सेवा सुविधाका लागि सङ्घ र प्रदेशसँग सहकार्य गर्ने हाम्रो नीति छ ।

अन्त्यमा,
उल्लेखित विषयहरूले बुटवललाई बस्न योग्य सहर बनाउनका लागि भूमिका निर्वाह गर्नेछ भन्ने हाम्रो विश्वास हो । बुटवललाई आम मानिसको रोजाइको सहर बनाउने, सबै खालका सेवासुविधाहरु सहज र सर्वसुलभ रूपमा उपलब्ध हुने अवस्थाको सिर्जना गर्नतर्फ हामीहरू लागेका छौँ । यसमा बुटवलका बासिन्दा, उद्योगी व्यवसायी, विभिन्न पेसामा संलग्न व्यक्तित्वहरू, कर्मचारी, सामाजिक अगुवा, विकासका अगुवाहरूसहितको सहयोगको खाँचो रहन्छ । हामी सधैँ सबै पक्षलाई समेटेर अगाडि बढ्ने पक्षमा रहेका छौँ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *