राजनीति

हत्या अभियोगमा पक्राउ परेका माओवादी नेता खाम को हुन् ?

काठमाडौं । हत्या अभियोगमा मंगलबार काठमाडौंँ ठमेलबाट १५ वर्षपछि पक्राउ परेका माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार हुनु । माओवादी लडाकूका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् । लामो समयसम्म शक्तिको आडमा उन्मुक्ति पाउँदै आएका माओवादीका पूर्वकमान्डर कालीबहादुर खामविरुद्धको अब मुद्दा अगाडि बढ्ने भएको छ। चितवन जिल्ला अदालतमा मुल्तबीमा रहेको खामबिरुद्धको पक्राउ परेपछि मुद्दा ब्युँतिएको हो।

काठमाडौँ, कोटेश्वरका व्यापारी श्रेष्ठलाई २०६५ वैशाखमा अपहरण गरेर चितवन लगी हत्या गरेको अभियोग खाममाथि अनुसन्धान अगाडि बढाउन आजै उनलाई चितवन पठाउने काठमाडौँ प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । श्रेष्ठ कोटेश्वरको सरस्वती मार्गस्थित तत्कालीन माओवादी जनमुक्ति सेनाको तेस्रो डिभिजन सम्पर्क कार्यालयका घरधनीसमेत रहेका थिए । उनलाई कब्जामा लिएर चितवनको शक्तिखोरस्थित लडाकु शिविरमा लगेर हत्या गरिएको थियो। १७ लाख रुपैयाँ र कालीबहादुर खामकै अंगरक्षकको पेस्तोल चोरी गरेको भन्दै श्रेष्ठलाई ‘सोधपुछका लागि’ चितवन लगिएको थियो। उनकी पत्नी रमिलाले खामलाई चितवन लान अनुमति भएको कुरा जाहेरीमा समेत उल्लेख गरेकी थिइन् ।

प्रहरी अनुसन्धानका अनुसार चोरीबारे कुरा खोलेको भन्दै श्रेष्ठलाई कुटपिट गरेको र कुटपिटबाट गम्भिर घाइते भएको भन्दै उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो । २०६५ वैशाख २८ गते राति श्रेष्ठको मृत्यु भएको थियो । उनको मृत्य्ु भएपछि शव शव भालुढुंगास्थित त्रिशूलीको झोलुंगे पुलबाट फालिएको थियो। अनुसन्धानका क्रममा शव चितवनस्थित नारायणी नदी किनारमा फेला परेपछि उनकी श्रीमती रमिला श्रेष्ठले खामसहितका आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय, चितवनमा अपहरण तथा हत्याको कसुरमा जाहेरी दर्ता गरेकी थिइन् ।

जिल्ला अदालत चितवनमा उक्त जाहेरीपछि तेस्रो डिभिजनका ब्रिगेड कमान्डर गोविन्दबहादुर बटलासहित तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीलाई घटनामा संलग्नताको अभियोग लगाउँदै मुद्धा दायर भएको थियो । सो मुद्दामा २०६८ जेठ १७ गते जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले बटालालाई तीन वर्ष कैद हुने फैसला सार्वजनिक गरेपछि खाम, अधिकारी र थापा फरार रहेको भन्दै उनीहरूको मुद्दा मुल्तवीमा राख्ने आदेश भएको थियो।

२०६४ चैत १२ गते राति १२ बजे कालीबहादुर खामका अंगरक्षकलाई ३ जनाले नियन्त्रणमा लिएर १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरेको आरोप थियो। सोही वर्षको चैत १७ गते श्रेष्ठको घरको शौचालयको खाल्डोमा टिसर्टमा पोको पारेको अवस्थामा १७ लाख रुपैयाँ र भर्‍याङमुनि पेस्तोल फेला परेपछि सोही घटनाको अनुसन्धानका लागि भन्दै श्रेष्ठलाई २०६५ वैशाख ७ गते सोधपुछ गरेर तेस्रो डिभिजनको टोली फर्किएको थियो। वैशाख १५ गते पुनः काठमाडौँ रामहरि श्रेष्ठ, केशव अधिकारी र गंगाराम थापालाई शिविरमा ल्याएर सोधपुछ गर्ने क्रममा रामहरिले हतियार र नगद चोरी गरेको स्वीकार गरेपनि अन्य दुई जनाले भने घटना अस्वीकार गरेका थिए।

श्रेष्ठको घरमा घटनाको दुई वर्ष पहिलेदेखि विविध भनिने कालीबहादुर खाम मगर दोस्रो तलामा बस्दै आएका थिए। कालीबहादुर खामले श्रेष्ठलाई घरबाट लैजाने बेलामा चितवन लगेर सोधपुछ गरेर घर फर्काउने बचन दिएका थिए । २०६५ जेठ २ गते रमिलालाई श्रेष्ठलाई लिन बोलाएपछि रमिलासहित शक्तिखोरमा जाँदा कालीबहादुर खामले कुटपिटबाट रामहरि श्रेष्ठको मृत्यु भएर शव नदीमा फालिदिएको जवाफ पाएपछि उनले कालीबहादुर खामसहितले हत्या गरेको भन्दै जेठ ८ गते जाहेरी दिएकी थिइन्। २०६५ जेठ १२ गते बिहान नारायणी नदीको पुलबाट किनारमा शव देखिएको थियो। स्थानीयले शव देखेपछि जुगेडीस्थित प्रहरी कार्यालयमा खबर गरेरे अनुसन्धान गर्दा रामहरिको शव भएको पुष्टि भएको थियो। श्रेष्ठको शरीरका विभिन्न भाग काटिएको र नीलडाम रहेको अवस्थामा फेला परेको थियो ।

फैसला भइसकेका बटलालाई जिल्ला अदालतले तीन वर्ष कैदको सजाय सुनाउँदै उनीविरुद्ध पनि जन्म कैदको सजाय माग गर्दै मुद्दा दायर भएपछि बटालाविरुद्धको फैसला उच्च अदालतले सदर गरेको थियो। उच्च अदालत हेटौँडाका तत्कालीन न्यायाधीश तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा (हाल सर्वोच्चका न्यायाधीश) को संयुक्त इजलासले २०७० माघ ५ गते सदर गरेको र जिल्ला र उच्चबाट एउटै फैसला भएपछि दोहोर्‍याएर हेरिपाऊँ भन्दै सर्वोच्च अदालतमा दुवै पक्षबाट निवेदन परेको परेपछि सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासले बटलालाई पनि सफाइ दिने फैसला गरेको थियो।तर खामविरुद्धको मुद्दा अब सुरु जिल्ला अदालतबाटै फैसलाको प्रक्रिया सुरु हुनेछ । बुधबार प्रहरीले अदालतबाट म्याद थप गरेर पक्राउ परेका खामको अनुसन्धान अगाडी बढाउनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *