राजनीति

 समाजवाद उन्मुख समाजवादी मोर्चाभित्र नै अविश्वास,प्रधानमन्त्रीको अभिव्यक्ति पुरातनवादी

काठमाडौं ।  समाजमा धनी गरिब कोही हुनुहुन्न । देशका नागरिकहरूको सामाजिक आर्थिक अवस्था सम्मान कायम गर्दै धनी र गरिब बिचको खाडल मेटाउन गठन गरिएको चार दलीय समाजवादी मार्चभित्र नै अविश्वासको पहाड पैदा भएको छ । मोर्चाको नाम समाजवादी भएको तर व्यवहारिक रूपमा त्यसलाई परिभाषित गर्न नसक्दा अहिले समाजवादी मोर्चाभित्रका नेताहरूले नै देशलाई सुशासन, सम्मान विकास र सामाजिक आर्थिक अवस्थाका कारण समाजमा पैदा भएको विकृतिको अन्त्य हुन नसकेको निष्कर्ष निकालेका छन् ।

  समाजमा दिनप्रति दिन द्वोन्दका घटना घटी रहेको, हत्या अहिंसा पैदा भइरहेको, धनीको दायरा फरक,गरिबको परिस्थिति फरक, भ्रष्ट्राचार, बेरोजगारी, विदेश पलायन लगायतका थुप्रै परिस्थितिका कारण नागरिकको अनुहारमा बादल लागेको भन्दै समाजवादी मोर्चामा आबद्ध नेकपा एकीकृत समाजवादी , जनता समाजवादी पाटी, नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्वका पाटीका नेताहरूले देशलाई समाजवादी पथमा हिँडाउन परिस्थिति परिवर्तन  गर्न आवश्यक रहेको बताएका छन् । 

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मङ्गलवार काठमाडौँमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पैसा हुनेले मात्र निर्वाचनमा निर्वाचित हुने भएकाले यस्ता किसिमका विकृतिको अन्त्यका लागि निर्वाचन प्रणालीलाई परिवर्तन गरेर अगाडी बढ्नुपर्ने बताए । निर्वाचनमा क्षमता र देशलाई परिवर्तनको बाटोमा लैजान वृहत् भिजन भएकालाई समेत समेटेर लानका लागि निर्वाचनमा पैसाको चलखेलका आधारमा निर्वाचनमा विजय हुने परम्पराको अन्त्य गर्नमा निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले अहिलेको अवस्थामा संविधान सबै काम गर्नका लागि बाधक नभई सहयोगी रहेको जिकिर गरे । अध्यक्ष नेपालले निर्वाचन प्रणालीमा मुख्य समस्या रहेकाले आठ वर्षको अनुभवको प्रकाशमा पनि विगतका कुरालाई सुधार्नुपर्ने बताए । उनले भने,‘कानुन निर्माण गर्ने कुरामा ध्यान दिनुपर्छ । त्यसपछि आवश्यकता परे कुन संविधानको कुन धारा हो जस्तो सङ्घीय प्रणाली, स्थानीय निकायहरूसँगका कुराहरू पनि । यी सबै कुराको बारेमा बहस र छलफल गर्न सकिन्छ ।’

अध्यक्ष नेपालले जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले आत्म समीक्षा गर्दै जनता र देशको परिस्थिति परिवर्तनका लागि जनताका समस्या केन्द्रित भएर काम गर्न आवश्यक रहेको बताए । जनताको अवस्था र उच्च स्तरका मानिसकहरुबीच बढेको हरेक किसिमको दुरी छोटो पार्न जनताका समस्या केन्द्रित भएर काम गर्नु बाहेक अन्य विकल्प नरहेको उल्लेख गरे ।  वरिष्ठ नेता झलनाथ खनालले विगतको नकारात्मक र सकारात्मक अनुभवबाट शिक्षा लिए मात्रै समाजवादको सफल कार्यान्वयन गर्न सकिने बताएका छन् ।समाजवादी मोर्चाले आज यहाँ आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले २०७४ को निर्वाचनपछि प्राप्त भएको जनमतलाई जोगाउन नसक्दा नेपालको वामपन्थी आन्दोलन र समाजवादी यात्रा अगाडि बढ्न नसकेको बताए ।

पूर्व प्रधानमन्त्री खनालले पछिल्ला दिनमा बनेको गठबन्धनले जनतामा नयाँ विश्वास पैदा गरेको उल्लेख गर्दै जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी नेपाली विशेषताको समाजवादी कार्यक्रम अगाडि बढाउनुपर्ने स्पष्ट पारे ।उनले स्वास्थ्य, शिक्षा र रोजगारी अभिवृद्धि गर्ने गरी वर्तमान सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्रबन्ध गर्नुपर्ने र त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।सही नीति र कार्यदिशा बनाएर वामपन्थी र समाजवादी शक्तिबीच एकता कायम गर्दै मुलुकलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

वामपन्थी समूहबिच सहकार्य गर्ने ठाउँमा आइपुगेको स्पष्ट पार्दै उनले सङ्गठन र संरचना विकास गरेर जनताका बीचमा जानुपर्नेमा जोड दिए ।“नयाँ ढङ्गले एकताको मञ्च खोजौँ । सडक, संसद् र सरकारबाट प्रगतिशील नीति ल्याएर कार्यान्वयन गर्ने सङ्कल्प गरौँ” उनले भने ।

 यस्तै उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न प्रस्ताव गरेका छन् ।  यादवले समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अहिले संविधानमा संविधान उन्मुख लेखे पनि शासकीय स्वरूप र निर्वाचन प्रणाली नफेरेसम्म समाजवादमा पुग्न नसकिने बताए ।

संविधानमा समाजवाद उन्मुख उल्लेख गरे पनि नेपाली समाजमा संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको उल्लेख गर्दै समाजवाद उन्मुख समाज निर्माणका लागि संविधानलाई परिवर्तन गरेर मात्र अघि बढ्न सकिने बताए । अहिलेको शासकीय स्वरूपबाट देश समाजवाद उन्मुख कसरी हुन्छ भन्दै उनले प्रश्न गरे । करोडौँ खर्च गरेर एउटा उम्मेदवार संसद्म पुग्ने निर्वाचन प्रणालीले तीनबाट समाजवादको आशा कसरी गर्न सकिन्छ ? उनले भने,‘ निर्वाचन प्रणाली र शासकीय स्वरूप बदल्नुपर्छ । लोकतन्त्रलाई समावेशी, समानुपातिक लोकतन्त्रमा रुपान्तरण गर्नुपर्छ । संविधानमा उन्मुख लेखेर मात्रै हुँदैन । संविधान संशोधन गर्नुपर्छ ।’ सामाजिक असमानता, अन्याय, जात, लिङ्गको बीचमा आधार रहेको, बहुराष्ट्रियता भएको, सहभागिता र उनीहरूको पहिचानलाई चिनेर त्यहाँ राज्यद्वारा सैकरोडौँ वर्षमा सिर्जना गरिएका विभेदलाई उखेलेर नफालेसम्म कस्तो खालको समाजवाद हुन्छ भन्दै यादवले प्रश्न गरे ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकलाई अस्थिरताबाट स्थिरता तिर ढाल्न समाजवादी मोर्चाको आवश्यकता भएको बताएका छन् । चन्दले मुलुकमा देखिएको सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्र सम्भव रहेको बताएका हुन् । आफ्नो अधिकारका लागि कोही पनि चुप लागेर बस्न मिल्दैन । बसेको छैन । यस अवस्थामा समाजवादी र कम्युनिष्टहरुको कुन धारा र विचार बोकेर अघि बढ्ने भन्ने कुरा स्पष्ट हुन आवश्यक छ ।’नेपालमा उत्पन्न भएको सङ्कटबाट निराशा मात्र होइन सम्भावना समेत देखिएको भन्दै चन्दले दलाल पुँजीवादले राजनीतिको आडमा कब्जा गरेको अर्थतन्त्रको सुधारका लागि कम्युनिस्ट एकताको आवश्यकता परेको  औँल्याए ।

तर प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादका विषयमा २१ औँ शताब्दीमा आएर दिएकाे परिभाषा भने पुरातवादी शैलीको छ । प्रधानमन्त्री प्रचण्डले जनताको बलमा सडकबाट समाजवाद  जन्मिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिका आधार जनता आफ्ना अधिकारका लागि सडकमा आन्दोलनका लागि दिन रात उत्रिएर मात्र देशमा समाजवाद उन्मुख हुँदैन । 

अहिले पनि दिन रात सडकमा जनताहरू सामाजिक आर्थिक अवस्था सुधारका लागि राज्यले जनताका हितमा काम  गर्न आवश्यक रहेको बताउँदै आएका छन् । तर सर्वसाधारण जनताको माग सम्बोधन गर्न नागरिकले सडकमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ । देशमा जन्मिएको विकृतिको अन्त्यको लागि जनताले आवाज उठाउँदा जिउँदै नागरिकको छातीमा गोली बज्रिनुको पिडा राज्यले बुझ्नुपर्छ । सडकमा दिन रात आफ्नो अधिकार र सेवा सुविधाका लागि बेरोजगार जनतालाई सडकमा उतारेर झन् बेरोजगारी बनाउने गरेको कुरालाई राजनीति वृत्तमा छलफल गरेर आन्दोलनरहित वातावरणबाट  जनताको सामाजिक आर्थिक अवस्था सुधार गर्दै सुशासन कायम गर्न आवश्यक छ । 

‘ प्रधानमन्त्री प्रचण्डले देशमा समाजवाद कायम गर्नका लागि देशमा सम्भावना भएको स्रोत र साधनको पहिचान गरी अर्थतन्त्रलाई बलियो बनाउनु  आजको आवश्यकता हो । राज्यले आफ्नै देशमा उत्पादन हुने स्रोत र साधनको थप पहिचान गरी उत्पादनमुखी ,व्यवसायमुखी, उद्योगधन्दामा नागरिकलाई जोड्नुपर्छ ।  प्रधानमन्त्री प्रचण्डले  सडकबाट समाजवाद जन्माउने कुरामा केन्द्रित हुनुपर्ने बताए  ।अहिले समाजवादी मोर्चामा रहेका दलबीच राम्रो संयोजन रहेको उनले दाबी गर्दै मोर्चामा सहभागी दलमध्ये तीन दल सरकारमै सहभागी रहेको र एउटा सडकमा रहेकाले यस्तो संयोजनले ब्यालेन्समा राख्ने बताए ।समाजवादको तयारी गर्नका लागि सदन, सडक र सरकारलाई अधिकतम उपयोग गर्दै अन्ततः सडकबाट   निर्णय ढङ्गले समाजवाद जन्माउने कुरामा मोर्चा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *