राजनीति

संवैधानिक दायरामा आएर राजनीतिक गतिविधिलाई अघि बढाउन राप्रपालाई एमाले अध्यक्ष ओलीको सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक दायरामा आएर राजनीतिक गतिविधिलाई अघि बढाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सुझाव दिएका छन् । गणतन्त्रमा नागरिकका अधिकार सुरक्षित रहने भएको र संवैधानिक बाटोबाटै समस्या समस्याको समाधान गर्न सकिने भएकाले सोही अनुसारको गतिविधि अघि बढाउन अध्यक्ष ओलीले राप्रपालाई सुझाव दिएका हुन् । नेपालमा देखिएका समस्या समाधानका लागि सबै राजनीति दलहरु एक भएर जानुपर्ने धारणा व्यक्त गर्दै ओलीले एक पटक सबैले फालेको राजालाई बोकेर जनताका माझमा विभिन्न किसिमका प्रोपोगाण्डा रचेको भन्दै संवैधानिक प्रक्रियाबाट अघि बढन् सुझाएका हुन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संविधान नै नमान्ने, परिवर्तन नै नमान्ने, जनताको सर्वोच्चता नै नमान्ने र एउटा मालिक चाहियो भनेर कुद्ने गतिविधि सबैका लागि सही नहुने बताए । गणतन्त्रमा नागरिक सर्वोच्चता हुने भएकाले कुनै मालिकलाई स्थापना गरेर राज्य अघि बढ्न नसक्ने उनको भनाइ छ । ओलीले कुनै पनि माग सम्बोधन गर्न नेपालको संविधानले प्रतिबन्ध नलगाएकोतर्फ पनि राप्रपालाई सचेत गराए । उनका अनुसार राप्रपाले नेपालको संविधानले नमानेको कुरालाई अगाडी बढाएर सडकमा आन्दोलन गर्दैछन् । सडकमा आन्दोलन गरेर जनता–जनताबीच द्धोन्द ल्याउने रणनीति गरेकाले त्यस्तो कार्यलाई नेपाली जनताले स्वीकार गर्न नसक्ने उनले बताए ।

उनले भने,‘ संवैधानिक र शान्तिपूर्ण दायरा भित्र आउनुस् र त्यस भित्रका माग र चिन्तन जे छन्, संविधान भित्रबाट गर्नुस् । अहिले संवैधानिक बाटोबाट कुनै पनि माग पूरा गर्न कतै प्रतिबन्ध छैन । निरङ्कुशताका समयमा राजतन्त्र भएका बेलामा त्यसले प्रतिगमन गर्थ्यो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *