कला/साहित्य

विष्णुबहादुर सिंह र उनको कृति ‘खुलदुली’

काठमाडौं । नेपाली साहित्यमा हाइकुको विकासक्रम वि.सं २०१९ सालदेखि प्रारम्भ भएको मानिन्छ । हाइकु कविता विकास क्रममा जापानी प्रसिद्ध कवि कावाहिगासी बासोको नाम अगाडि आउँछ । हिजोआज नेपाली भाषासँगै नेपाल भाषा, हिन्दी, अङ्ग्रेजी लगायत विविध भाषाहरुमा समेत हाइकु लेखिएका पाइन्छ । सूक्ष्म तर पूर्ण तथा सघन संरचनात्मक सुगठनको संरचना भएको हाइकु एक लघुतम साहित्यिक विधामा पर्दछ । यसको हास्यव्यङ्ग्य शैलीलाई ‘सेन्यु’ भनिन्छ । सचित्र हाइकुलाई ‘हाइगा’ भनिन्छ ।

छोटो समय र छोटो आवरणमा व्यापक विचारको सूत्रात्मक प्रस्तुति दिने विधा नै हाइकु हो । यसकारण हाइकु विधा लेखन संरचना र भावगत आधारमा परिभाषित भएको पाइन्छ । जापानका कवि शिकिका अनुसार हाइकु कविता झन्डै १७ अक्षरमा लेखिएको, एउटा मौसम सम्बन्धी शब्द भएको तर परम्परागत मान्यताबाट मुक्त काव्य हो । हाइकुको मूल स्वभाव वाग्वैदग्ध्य र हास्यलाई जोड दिने रूपको भए तापनि हाइकुको एउटा स्वरूप ऋतुबोधक शब्दको चयन हुनु हो । वास्तवमा हाइकु कविता संक्षिप्ततामा पूर्ण संरचनात्मक स्वरूपको साहित्यिक विधा हो भन्न सकिन्छ ।

हाइकु विधाा लामो समयदेखि कलम चलाउँदै आउनु भएका बौद्धिक साहित्यकार पुष्कर लोहनी हाइकुको बारेमा धारणा यसरी राख्छन् – “लयात्मक रूपमा लघुगुरूको सिद्धान्तलाई अपनायर प्रतिकात्मक रूपमा लेखिने तीन हरफे छोटो कवितालाई हाइकु भनिन्छ । प्रतिकात्मक रूपमा प्रवृmतिका साथसाथै मानिसको स्वभाव र प्रवृत्तिलाई नै संसार भरिका जुनसुकै विधामा कविता लेख्नेले अपनायरै आएका छन् र कवितालाई सुकुटी भन्ने गरेकोछ ।” त्यस्तै हाइकुका एक प्रतिभा कवि क्षेत्रप्रताप अधिकारीका अनुसार ‘हाइकुमा एउटा चित्र र त्यो चित्रले सङ्केत गरेको सम्भावित दृश्य हुन्छ ।

एउटा अनुभव जसमा एउटा विम्बले औँल्याउन खोज्छ, त्यो सम्भावित दृश्य हाइकु हो ।’ हाइकुमा रहेका तीन हरफमा १७ अक्षरमध्ये पहिलो हरफमा रहेको पाँच अक्षरले चित्र प्रस्तुत गर्छ, बाँकी दुई हरफहरूले त्यसलाई पुष्टि गर्दछन् । जापानमा चार ऋतुमा ‘किगो’ खोतल्दा हाम्रो परिवेशभित्र छ वटा ऋतुबाट प्रशस्त ‘किगो’ सँग मितेरी गाँस्छौँ । नेपाली साहित्यमा भने मौलिक एवम् अनुवादित दुबैखाले हाइकु भेटिन्छन् ।

हाइकु तन्काबाट जन्मिएको विधा मानिन्छ । तन्का जापानको परम्परागत लघुकविता जसलाई ३१ अक्षरमा ५–७–५–७–७ मात्रा मिलाएर रचिन्छ । पहिलो कविले तन्का कविता लेख्दा ५–७–५ अक्षरको कविता ‘कामि–नो–कु’ लेख्ने गरिन्थ्यो । दोस्रो कविले ७–७ अक्षरको कविता थपेर ३१ अक्षरमा उक्त कवितालाई पूर्ण बनाउँथे । यसैलाई ‘सिमो–नो–कु’ भनिन्थ्यो । यसको विकासक्रमलाई नियाल्दा जापानी कवि बासोको योगदान विशेष रहेको देखिन्छ । यसमा संरचनाको मिलान अनिवार्य माने पनि भाव पक्षलाई सबल मानिन्छ । कम शब्दमा नै धेरै भाव प्रकट गर्ने प्रमुख विशेषता बोकेको हाइकु जापानी शैलिको कविता हो । पूर्वी एसियाली साहित्यको विश्व साहित्यलाई उदाहरणीय योग्दानको रूपमा हाइकुलाई लिइन्छ । हाइकु पूर्ण रूपमा शास्त्रिय संरचनामा बाँधिएको हुन्छ । कलात्मक ढंगबाट प्राकृतिक किगोको प्रयोग हाइकुमा गरिनु पर्दछ । 

जापानमा ‘होक्कु’ हुँदै हाइकुको थालनीको रूपमा विकसित भइरहँदा नेपालमा पुष्कर लोहनी, रामकुमार पाँडे, क्षेत्रप्रताप अधिकारी, डा.मधुसूदन गिरी, अभि सुवेदी, मोहनबहादुर कायस्थ, शितल गिरी, बैरागीजेठा, रत्नसमसेर थापा, शशी भण्डारी, वि.के पाल्पाली, वसन्त अज्ञात, भावना न्यौपाने, अञ्जना पौडेल, रामकृष्ण अमर, किरण पौडेल, प्रकाश पौडेल, चेतनाथ धमला हुँदै प्रवासी क्षेत्रमा केदार सङ्केत, असफल गौतम, केशवराज आमोदी लगायतका व्यक्तित्वले हाइकु सिर्जनामा सक्रियता देखाउँदै आइरहेका छन् । हाइकु सिर्जनामा सक्रिय भूमिका निभाईरहेका यिनै स्रष्टाहरुको लहरमा हाइकुकार विष्णुबहादुर सिंह पनिसँगै अघि बढीरहेका सर्जक हुन् ।

विष्णुबहादुर सिंहका हालसम्म कविता, कथा, हाइकु, तन्का, गीत, गजल, चोका, नियात्रा, सिजो, डोडोइट्सु, बुसोकुसेकिका, आदि विधामा मौन बतास, अनुभूतिका सङ्ला पानाहरू, तीस पाइला, इन्देणी, इमान बेच्न पाइदैन, खुसीको यो आँसु, सलबलाउछन् ओठहरू, आफ्नो बिरानो, ठाडोको दहमा, देशको माटो, मुटुको ज्वाला, फूलको वर्षा, समयका चस्काहरू, स्मृतिका छालहरू, ऐना, पिपलबोट, मैनबत्ति, सुर्यग्रहण, चौतारी, काठमाडौं किलयोपेट्रा, सरलरेखा वक्ररेखा, सम्झनाका झिल्काहरू, भुकम्पको चाङ, कविताको रङ, रूखकटहर, मौनता, खुुलदुली, चुपचाप, चञ्चलमन, सम्झनामा रूस, सिसाको घर, पहिरोसँगसँगै, समयको सुस्केरा, प्रेमप्रणय आदिगरी तीन दर्जनभन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन् ।

सिर्जना, सम्पादन र अनुवादमा समेत उनी निरन्तर क्रियाशील रहँदै आएका पाइन्छन् । उनले गरेका कामको उच्च मुल्याङ्कन स्वरूप उहाँ हरिभक्त कटवाल गीतिकविता सर्वोष्कृट अन्तराष्ट्रिय पुरस्कार, तन्नेरी प्रतिभा सम्मान, बगर सम्मान, कपिलबस्तु साहित्य सम्मान, सिम्पल सम्मान, हाम्रो मझेरी साहित्य सम्मान, राष्ट्रिय नागरिक सेवा सम्मान, दोभान सम्मान, ज्योति साहित्य सम्मान, सयपत्री राष्ट्रिय सम्मान, राष्ट्रिय नागरिक स्वर्ण सम्मान, बिशेष सेवा सम्मान, नेपाल टाइगर साहित्य सम्मान, लुम्बिना प्रदेश प्रतिभा पुरस्कार जस्ता मान—सम्मान विभुषीत भइसक्नु भएकोछ ।

उनी नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक समेत हुन् । हाइकु लेखनको क्षेत्रमा धेरै हाइकु रचना गर्ने सर्जकको रुपमा समेत चिनिएका सिंहको अहिलेसम्म करिव चारवटा हाइकुसङ्ग्रह प्रकाशित भइसकेका छन् । उनको वि.सं २०६२ सालमा प्रकाशित ‘मौन बतास’ पहिलो हाइकु सङ्ग्रह थियो । त्यसपछि संयुक्त हाइकु सङ्ग्रहहरु ‘चौतारी’ २०६४, र भुकम्पको चाङ २०७३ प्रकाशनमा आएको थियो । त्यसपछि पछिल्लो हाइकु सङ्ग्रहको. रुपमा २०७५ सालमा प्रकाशित हाइकु सङ्ग्रह हो –‘खुलदुली’ । यसै कृति र कृतिभित्रका हाइकुका विविधतायुक्त परिवेशहरुलाई संक्षेपमा नियाल्ने प्रयास गर्दैछु । ‘खुलदुली’ भित्र हाइकुकार सिंहले एक हजार एक हाइकुहरु सङ्ग्रहीत गरेका छन् । सिंहका हाइकुमा सामाजिक परिवेश, प्रेम, विकृति– विसंगति जस्ता सामाजिक परिवेशलाई मनो भावनाका शब्दहरुले पोखिएका छन् ।

सिर्जना भनेकै परिवेश र पात्रहरुको घटनाक्रम अनुसारको भोगाइ, अनुभव र अनुभूतिबाट प्रस्फुटित हुने शब्द विन्यास हो । जसको मूलस्रोत भाव, भावना र आवेग उन्माद र विषाद नै मुख्य कारक हुन्छन् । केवल प्रवृत्ति कोमल त कहिले विष्फोटक शैलीमा अवतरण हुने गर्दछ । ‘खुलदुली’ भित्र जीवनको सत्य र अध्यात्मिकता, प्रेममय भावना र सामाजिक परिघटनाका प्रवृत्तिका भावना बोकेका मुख्य तीन किसिमका हाइकुहरुलाई मुख्य रुपमा समेटिएको छ ।
खरानी बन्छ
नश्वर यो शरीर
कर्म बाँच्दछ !

मायाको डोरी
तन्काइरहनू है
म बाँचुन्जेल !

माकुरी जाल
आफ्नै त्यो घेराभित्र
कैदमा बस्छ !

मृत्युको घण्टी
यमराजको हात
सुन्दैन मान्छ्रे !

माथिका केही हाइकुमा हाइकुकार जीवन र मृत्युसँग मानव जीवनका दैनिकीसँग जोडर हाइकुमा उजागर गर्ने प्रयास गर्छन् । सुख र दुःखमा तरङ्गीत हुने जीवनको एक मात्र सत्य मृत्यु मात्र हो । मायामोहको जालमा जीवन घुमिरहन्छ तर कर्म जीवन पर्यन्त मात्र नभएर मृत्युपछि पनि जीवित रहन्छ भन्ने भावना यहाँ पाइन्छन् । जीवनको शाश्वत् सत्यको उजागर माथिका हाइकु पङ्त्तिहरुले गरेका छन् । ‘खुलदुली’ भित्रका हाइकुमा प्रेम, मनोभावना र हृदयका तरङ्गहरुलाई पनि समेटिएको छ । केही प्रेमिल भाव बोकेका हाइकुहरु हेरौं ः
मुटु कमायो
सिमसिमे पानीले
मन रमायो !

प्रेम प्रस्ताव
मेरो आकांक्षासँग
विचलित छ !

बैसालु मन
जवानीको रंगमा
होली खेलिन्छ !

प्रेमको भाषा
आँखाहरु माझमा
लुक्न कठिन !

प्रेमको आफ्नै किसिमको मर्यादा हुन्छ । प्रेमीहरु खोज्नु, प्रेमीको कल्पनामा डुब्नु्, जीवनका मिठा सपना र कल्पनाहरुलाई मनभरी साँचेर राख्नु, अव्यक्त भावनाहरु आँखामा तैरिनु प्रेमिल मनोभावनाका विम्बहरु नै हुन् । माथिका हाइकुहरुमा यस्तै भावनाहरुलाई व्यक्त गरिएको छ । माया प्रेमका भावना मात्र होइन, ‘खुलदुली’ भित्र देश, काल परिस्थिति, समाजिक पक्षलाई पनि उतारिएको छ । 

धूलो र धूवाँ
जबर्जस्ती बाँड्दै छ
यो राजधानी !

सत्यको खोजी
समाचारपत्रमा
प्रश्नवाचक !

आँखाको तारो
भविष्यको सपना
सन्तानहरु !

माकुरी जाल
आफ्नै त्यो घेराभित्र
कैदमा बस्छ !

हामी बसेको समाज रीतिरिवाज तथा संस्वृmतिले सु—सम्पन्न रहेको छ । बर्ष पिच्छे अनेकन चाडपर्वहरू जातीय आधारमा मनाउदै आएका छौ । समाजमा रहेका पृथक जातीय आधारमा गरिने आफ्नै खाले संस्कारले एक आपसमा मेलमिलाप र भाइचारा सम्बन्धलाई कसिलोका साथै आ–आफ्नो जिम्मेवारी बोध गर्ने नैतिक शिक्षाको प्रसयले मानवतावादी सोचको विकसित समाजमा रूपान्तरित भएको अनुभूत सहज रूपमा गर्न सकिन्छ । तथापि संस्कृतिको नाममा हुने गरेको सकारात्मक वा नकारात्मक बिषयलाई कवि सिंहले हाइकूमार्फत यसरी पोखेका छन् ः
शिवरात्रीमा
नागाहरूको हूल
शिव संस्वृmति !

पुर्खाहरूको
बिँडो थाम्न खोज्दै छु
जनै फालेर !

लोकसंस्वृmति
सभ्यताको निसानी
गौरव हाम्रो !

हजारौँ वर्ष
हाम्रो संस्वृmति यात्रा
वृmतिमतामा !

कवि विष्णुबहादुर सिहं यात्रमा रमाउने व्यक्ति हुनु हुन्छ । निकै अगाडिदेखि स्वदेश र बिदेशका धेरै भु—भागमा आत्मीयक स्पर्श गर्न भ्याएका छन् । घुमफिरमा देखिएका अँध्यारो –उज्यालो दृश्यलाई लिपिवद्ध गरी हाइकूको पूर्णता यसरी दिएका छन् ।

आजको यात्रा
हवाइजहाजमा
हावामा नाच्दै !

माथि हिमाल
कालीगण्डकी तल
रङ्गीन दृश्य !

काली गण्डकी
आज शान्त भएर
गन्तब्य खोज्छ !

सूर्य दर्शन
दिनको बाह्र बजे
नर्वे देशमा !

मुलुकमा देखिएको राजनीतिक दाउपेचलाई घुमाउरो पाराले कवि सिंहले झटारो यसरी हानेका छन् ः

हाम्रो सभासद
समयको खेलमा
चव्रmव्यूहमा !

दुःखको कथा
खुसी जिन्दगी भित्र
भब्य नाटक !

पार्टीको खेती
जनताको सपना
दिवास्वप्नझैँ !

शक्ति र भक्ति
वरदान पाउन
भागदौडमा !

प्रवृmतिको आफ्नै नियम हुन्छ । समयको बदलीसँगै खुसी र त्रास बराबर जसो प्रवृmतिको उपस्थित रहन्छ । प्रवृmतिले धेरै जसो खुसी दिलाउछन् । एकाध बाहेक धेरै जसो त्रास मानवीय गलत चेतका कारण हुने गर्छ । यावत पीडा व्यथालाई कवि बिष्णुबहादुर सिंहले व्यक्त गरेका छन् ।

बङ्गाल खाडी
वायूको प्रभावमा
वर्सातसँगै !

समुन्द्री छाल
सुनामीको सङ्केत
तटीय व्यथा !

असिनापानी
भीषण वर्षासँगै
डुव्यो शहर !

असिना वर्षा
किसानको बेखुसी
दुःखीत मार्का !

हाइकुमा हर्ष उल्लास सुख, उन्मक्तका भावहरू पनि पोखेका छन् ः

हिउँको वर्षा
चिसो महासागर
सेताम्मे रूप !

एउटा फूल
लजालु नजरमा
पिरती आँखा !

सौन्दर्य छर्छ
घरको चारैतिर
आरूको फूल !

डाँडाडाँडामा
ढकमक्क फुलेको
लालिगुँरास !

देशको राजनीतिक सामाजिक प्रवृत्तिमाथि माथिका हाइकुहरुले बोल्न खोजेका छन् । यस्तै प्रकृति र अन्य विविध भावका हाइकुहरु ‘खुलदुली’ भित्र समेटीएका छन् । समग्रमा कृतिभित्र हाइकु एकै विषय र प्रवृत्तिको नभएर फरक विषय र भावहरु बोकेका छन् । त्यसैले ‘खुलदुली’ विविधतायुक्त हाइकुहरुको सङ्ग्रह बनेको छ । भाव विम्ब र शब्द विन्यासको दृष्टिकोणले पनि हाइकुहरु ज्यादै उत्कृष्ट छन् । ‘खुलदुली’ जति हेर्दै गयो उतिकै कौतुहलता जाग्रीत गर्ने किसिमका राम्रा र मन छुने हाइकुहरु सङ्ग्रहित गरेर कृतिको नाम ‘खुलदुली’ चयन गरिनु पनि शीर्षकले सार्थकता ग्रहण गर्दछ । हाइकुहरु स्वतन्त्र, आडम्बर रहित सिदा, सरल र रसिला छन् । कृतिकार विष्णुबहादुर सिंह आफै हाइकु क्षेत्रका सफल प्रतिभा हुन् । 

हाइकुका विषयमा उनको धारणा यस्तो छ —‘हाइकु एउटा यस्तो लघु कविता हो, जसले पाठकलाई स्वन्त्र रुपले आ–आफ्नो सोच, धारणा र चेतनाअनुसार बुझ्न र डुब्न सिकाउँछ । समय र परिस्थिति अनुसार समयको चक्र हामीमा भिन्नभिन्न सोचसहित पलाइरहन सक्छ । त्यसैले हाइकुमा कुनै आडम्बर हुन्न । सही स्वतन्त्रताको पक्षधर हुन्छ– हाइकु ।’ यिनै विचार भावनासहित हाइकुकार सिंहले आफ्नो कृतिमा उत्कृष्ट एक हजार एक हाइकुहरु सङ्ग्रहीत गरेर ‘खुलदुली’ भरेका छन् । हाइकु सङ्ग्रह ‘खुलदुली’ नेपाली साहित्यको हाइकुमा एउटा महत्वपूर्ण कृतिको रुपमा रहेको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *