राजनीति

उपनिर्वाचन केन्द्रित तीन शीर्ष नेताहरू इलाममा !

काठमाडौं ।  आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि  अहिले विभिन्न दलका नेताहरू निर्वाचन क्षेत्रमा गएर स्थानीयवासीहरुसंग अन्तर्क्रिया जुटिरहेका छन् । शीर्ष नेताहरू आ–आफ्ना उमेरवादलाई जिताउन प्रचारप्रसारमा निर्वाचन क्षेत्रमा खटिएका छन् । अहिले निर्वाचन केन्द्रित कार्यक्रमहरू पनि आ–आफ्ना दलले फरक फरक ठाउँमा राख्ने तयारी गरेका छन् ।  नेकपा एमाले, नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ठुला चुनावी आमसभाको तयारी गरिरहेका छन्।  निर्वाचन क्षेत्रमा शीर्ष नेताहरू खटिएर मतदाताहरूलाई प्रभावित पार्न प्रचार प्रसारमा व्यस्त भएका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वैशाख ५ गते निर्वाचन केन्द्रित वृहत् सभाको कार्यक्रम तय गरेका छन् । उक्त कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित शीर्ष नेताहरूले सहभागिता जनाउने भएका छन् । निर्वाचन केन्द्रित कार्यक्रम सकेर अध्यक्ष ओली सोही दिन काठमाडौँ फर्कन कार्यक्रम रहेको छ । 

एमाले इलामका उपाध्यक्ष उदय राईका अनुसार  देउमाई नगरपालिकामा पर्ने मङ्गलवारे बजारमा कार्यक्रमको आयोजना गरिने भएको छ । एमाले सचिव एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ समेत उक्त कार्यक्रममा सहभागिता जनाउने उनले बताए ।  यस्तै एमालेका प्रदेश र जिल्ला तहका अन्य नेताहरू समेत कार्यक्रममा सहभागी हुनेछन्। इलाममा एमाले र माओवादीको तर्फबाट सुहाङ नेम्बाङ उम्मेदवार छन्। सुहाङलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समेत सहयोग गर्ने जनाएको छ । 

 माओवादीले पनि गठबन्धनको तर्फबाट आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको थियो  । तर एमाले अध्यक्ष ओली माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालबिच सहमति भएपछि माओवादीले चयन गरेको उम्मेदवार पछि हटेका थिए । माओवादीले इलाममा हुने निर्वाचनका लागि धीरेन्द्र शर्मालाई सिफारिस गरेको थियो  । अहिले एमाले र माओवादीका नेताहरू साझा उमेरवादलाई विजयी गराउने दिशामा केन्द्रित भएर व्यापक प्रचारमा जुटेका छन् ।

त्यस्तै,  इलाममा हुने निर्वाचनमा नेपाली काँग्रेसका शीर्ष नेताहरू पनि उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई विजय गराउन चुनावी मैदानमा छ । नेपाली काँग्रेसले इलाम –२ हुने निर्वाचनका लागि डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ। खड्का विगत देखी नै सामाजिक सेवामा लागेको हुनाले इलामका जनताले खड्कालाई जिताउँछन् भन्ने पक्षमा काँग्रेस ढुक्क छ । 

खड्काका चुनावी सहयात्री शिव थापाले  ८ गते काँग्रेसले विशेष सभा गर्ने तयारी रहेको जानकारी दिए । उनका अनुसार इलाम नगरपालिकामा पर्ने इलाम चोक बजारमा काँग्रेसले उक्त सभा गर्नेछ । उक्त सभामा नेपाली काँग्रेसका केन्द्रीय नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा, सहमहामन्त्री भीष्मराज आङ्देम्बेलगायत शीर्ष नेताहरूले सहभागिता जनाउनेछन् । विशेष गरी उक्त सभामा केन्द्रीय नेताहरूले विशेष सम्बोधन गर्नेछन् । यस्तै  उपनिर्वाचनलाई केन्द्रित गरेर नेपाली काँग्रेसले १०, ११ र १२ गते विभिन्न ठाउँमा चुनावी सभाहरू राख्ने कार्यक्रम तय गरेको छ । अहिले उपनिर्वाचन केन्द्रित मुख्य भूमिकामा रहेका अर्का महामन्त्री विश्वप्रकाश शर्मा इलाममैँ छन्  । शर्मालाई पार्टीले इलामको चुनावी कमान्डर बनाएर पठाएको हो। 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावी कार्यक्रमको तालिका तय गरेको छ । फिल्डमा खटिएका नेताहरूले एक चरणमा कार्यतालिका बनाएर केन्द्रका नेताहरूसमक्ष पठाएका छन्। सोही कार्यतालिका ध्यानमा राखेर सांसद, मन्त्री र नेताहरू इलाम पुग्ने प्रदेश सभापति राजेश तिमिल्सिनाले जानकारी दिए।  उनका अनुसार, वैशाख ७ गतेका लागि सभापति रवि लामिछानेलाई इलाम बोलाइएको छ। ७ गते इलाम चोक बजारमै आमसभा गर्ने तयारी गर्ने रास्वपाले तयारी गरेको छ ।  उक्त सभालाई सम्बोधन गर्न उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछाने जानेछन् । 

तीन दिन इलाम–२ का सबै पालिकामा सभापति लामिछानेलाई नै घुमाउने रास्वपाको तयारी छ।  ६ र ७ गते शिक्षामन्त्री सुमना श्रेष्ठ इलाम पुग्ने कार्यक्रम तय भएको छ। श्रेष्ठ दुई दिन चुनावी अभियानमा सहभागी जनाउनेछिन् । त्यस्तै, ८ गते श्रममन्त्री डोलप्रसाद अर्याल इलाम पुग्नेछन्। सांसद सोविता गौतम पनि ८ गते नै इलाम पुग्ने कार्यक्रम छ।  ९, १० र ११ गते विभिन्न पालिकामा कोणसभाहरू आयोजना हुने तिमिल्सिनाले बताए। १० र ११ गते चुलाचुली र माई नगरपालिकाका वडामा प्रचार प्रसारका कार्यक्रम तय भएको जनाइएको छ। 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *