राजनीति

काँग्रेसका महामन्त्री गगन थापाले कहाँ के भने ? 

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले समुदायमा काँग्रेस अभियान अन्तर्गत सुरु गरेको संवाद यात्रा आज समापन्न गरेका छन् । महामन्त्री थापाले माघ १३ गते झापाको मेची पुलबाट सुरु गरेको संवाद यात्रा बुधवार कञ्चनपुरस्थित महाकाली पुलमा सम्पन्न गरेका हुन् । उनले यात्राको क्रममा हुलाकी राजमार्ग अन्तर्गत १४५० किमी २१ वटा जिल्ला हुँदै यात्रा गरेको बताए । महामन्त्री थापाले यात्राको सुरुआत अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू कृष्णप्रसाद सिटौला, प्रदीप पौडेललगायत नेताहरूका उपस्थितिमा झापाबाट यात्रा थालेका थिए।

संवाद यात्राका क्रममा खुला संवाद, स्थानीय समस्या र सम्भावनामा केन्द्रित संवाद, सेवा प्रवाह गर्ने ठाउँको अवलोकनको कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएर स्थानीय तहमा काम गरिरहेको मान्छेसँग व्यक्तिगत कुराकानी लगायतका कार्यक्रमहरू गरी नेपाली काङ्ग्रेसलाई समुदायमा फर्काउने र पार्टी रूपान्तरणको अभियानको थालनी गरेको महामन्त्री थापाले बताए ।

महामन्त्री थापाले संवाद यात्राका क्रममा संवाद यात्राको अन्तिम दिन सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल धनगढी स्थित नैनादेवि मन्दिर दर्शन सँगै, नेपाली क्रिकेट क्षेत्रमा अतुलनीय योगदान दिइरहेको सुदूरपश्चिम र सुदूरपश्चिमको क्रिकेटका लागि विशेष योगदान र सम्भावना भएको फाप्ला क्रिकेट मैदान सुधार, स्तरोन्नति र आवश्यकता पहिचानका लागि अवलोकन गरेको उल्लेख गरेका छन्।

महामन्त्री थापाले अभियानका क्रममा पार्टी नेताहरूसँग छलफल गर्दै नेता कार्यकर्ताको सुझाव, जनताका सवाल जनतासँगै रहेर सुन्ने प्रयत्न र खुला संवाद, जनप्रतिनिधिसँग छलफल गरेका थिए। महामन्त्री थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सम्बन्धमा काँग्रेसले उठाएको विषय पुष्टि भएको बताएका छन् ।

संवाद यात्राका क्रममा वैशाख ४ गते  कञ्चनपुरको पुनर्वासमा बोल्दै उनले प्रहरीले छानबिन गर्न नसक्ने भनेपछि संसदीय छानबिन समिति आवश्यक भएको जिकिर गरे । थापाले जुनसुकै काण्डमा मुछिएका व्यक्तिले अनुसन्धान पुष्टि नहुदाँसम्म सरकारको जिम्मेवारीपूर्ण पदमा बस्न नमिल्ने बताउँदै गृहमन्त्री लामिछानेको राजिनामा मागेका थिए ।

महामन्त्री  थापाले आफूहरूसँग मिलेर सरकार बनाउन नेकपा (एमाले)लाई प्रस्ताव गरेका छन् । मङ्गलवार पार्टीको संवाद यात्राका क्रममा धनगढी पुगेका महामन्त्री थापाले साना दोकान बन्द गराएर एमाले–काँग्रेस मिलेर सरकार बनाउन उपयुक्त हुने धारणा राखेका हुन् । उनले आगामी ०८४ को निर्वाचनमा एमाले–काँग्रेस कसैले पनि गठबन्धन गर्न नहुने बताए ।

थापाले कसैले आरोप लगाएको भरमा पार्टीका नेता तथा कार्यकर्ताले शीर निहुराउन आवश्यक नरहेको बताएका थिए  । वैशाख ३ गते संवाद यात्राको क्रममा कैलाली पुगेका थापाले कुनै नेताले राज्यको जिम्मेवारीमा रहँदै गर्दा गलत गरेको खण्डमा त्यसको भारी आफैँ बोक्नुपर्ने बताए । उनले एउटा नेताले गरेको गलत कर्मको भागिदार पार्टी नहुने प्रस्ट पारे । गलत गर्नेहरूलाई पार्टीले कठोरतापूर्वक कारबाहीको आँट गर्नुपर्ने उनको भनाइ थियो  । ‘नयाँ–नयाँ खुलेको पार्टीहरूमा दुईचार जना ठग आएर हाम्रोबारेमा दश वटा कुरा भनिरहँदा साथीहरू शीर निहुराएर बस्नुपर्छ । त्यो शीर निहुराएर बस्नुपर्ने कारण के छ ?’ उनले प्रश्न गरे ।

महामन्त्री  थापाले अब काँग्रेसले देशमा व्याप्त भ्रष्ट्राचार शून्य पार्ने दिशामा केन्द्रित हुने बताएका छन् । शुद्धीकरण र सुदृढीकरणमा केन्द्रित भएर अघि बढ्ने उनले बताए । समुदायमा काँग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित संवाद यात्राका क्रममा वैशाख १ गते  नेपालगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । महामन्त्री थापाले नयाँ वर्षमा नयाँ अठोटका साथ पार्टी पङ्क्ति अगाडि बढ्नुपर्ने बताए ।

उनले काँग्रेसले अब सरकारमा जाने कुरामा ध्यान नदिएर प्रतिपक्षमै रही पार्टी बनाउने अभियान थाल्ने बताए । भ्रष्टाचार र बेथितिलाई टक्कक्याएर काँग्रेसलाई अब नयाँ उत्साहका साथ अगाडि बढ्ने मौका आएको थापाको भनाई छ । नयाँ बर्ष २०८१ लाई अवसरका रूपमा विकास गर्न पार्टी पङ्क्ति लाग्नुपर्नेमा उनको जोड थियो  ।

यस्तै महामन्त्री थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि शिक्षामन्त्री सुमना श्रेष्ठको प्रशंसा गरेका छन् । चैत्र २९ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि महामन्त्री गगन थापाले विगतमा आयोग बन्ने गरेको तर प्रतिवेदन सार्वजनिक नगरेर कार्यान्वयनमा नहुने प्रवृत्तिको अन्त्य भएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक हुनु सकारात्मक भएको उल्लेख गरे ।

महामन्त्री थापाले भने,‘प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन् त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ । यससँगै प्रतिवेदनले आधार र कारण खुलाएरै जजसलाई कारबाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ।’ उनले शिक्षामन्त्रीको प्रयासमा साथ र सहयोग प्रतिबद्धता जनाउँदै शिक्षा मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग २०७४ को प्रतिवेदन ६ वर्षपछि सार्वजनिक गरेको उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *