कोशी प्रदेश

कोशी र गण्डकी प्रदेश सर्वोच्च अदालतको आदेशको पर्खाइमा 

 काठमाडौं ।  गण्डकी प्रदेश र कोशी प्रदेश सरकार यतिबेला सर्वोच्च अदालतको पर्खाइमा रहेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई काम गर्न रोक लगाउने सहितको आदेश माग गर्दै नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका छन्। सर्वोच्च अदालतले दुबै प्रदेश सरकार विरुद्ध परेको रिटको पेशी शुक्रबारलाई तोकेको छ ।

यस्तै कोशी प्रदेश सरकारमा पनि एमाले संसदीय दलका नेता एवम् हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध काङ्ग्रेसबाट निर्वाचित कोशी प्रदेशका निर्वमान मुख्यमन्त्री केदार कार्कीले आफ्नै नेतृत्वमा सरकार चल्नुपर्ने माग सहित बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्  । 

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि सुरु गरेको प्रक्रिया र हिक्मतबहादुर कार्कीले लिएको शपथ बदरको माग गर्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन् । कार्कीले आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफू नै मुख्यमन्त्रीमा निरन्तर काम गर्न पाउनु पर्ने जिकिर गरेका छन् ।

संविधानको उक्त धाराअनुसार नै पहिले कोशी प्रदेश सरकार गठन गरेको बताउँदै कार्कीले एक पटक विश्वासको मत लिएकाले पुनः विश्वासको मत लिनु नपर्ने बताएका छन् । तर गठबन्धन पक्षले कार्कीले विश्वासको मत एक महिनासम्म लिन असक्षम भएको भन्दै कोशीमा एमालेको नेतृत्वमा सरकार गठन बिहीबार नै गरिसकेको छ । 

 गण्डकी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सभामुखको मतसहित बहुमत पाएको घोषणा गरेपछि असंवैधानिक तवरबाट सरकार गठन गरेको भन्दै सर्वोच्चमा रिट परेको हो  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले  ६० सदस्यीय प्रदेश सभाको बहुमत ३१ हुनुपर्ने तर ३०  सांसदलाई बहुमत देखाएर विश्वासको मत लिएपछि गण्डकी प्रदेश काँग्रेस सर्वोच्च जान बाध्य भएको हो । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *