धर्म/सस्कृति

रुपवती गङ्गाका श्रापित आठ पुत्र

स्वयं स्वर्गबाट गङ्गा पृथ्वीमा आइन् र कुरुवंशीहरूलाई यति पराक्रमी, तेजस्वी र वचनका पक्का राजकुमार देवव्रतलाई जन्म दिइन्। ती देवव्रतको दृढ प्रतिज्ञा आज पनि उदाहरणीय मानिन्छ भनेर महाभारतमा कथाक्रम विकसित हुन्छ। उनको शिक्षा गङ्गाको अभिभाकत्वमा भएको थियो र सायद त्यो बालकले आफू किशोर हुँदा या युवा वयमा पदार्पण हुँदा पनि आफू कुरुवंशी उत्तराधिकारी हुँ भन्ने थाहा पनि पाएको जस्तो लाग्दैन।

त्यसो त त्यति पराक्रमी युवालाई आफू कसको सन्तान हुँ भन्ने पक्कै जानकारी थियो होला तर महारभारतकालमा धेरैजसो नाम आमाको अस्तित्व स्वीकार गर्दै बोलाइएको पाइन्छ। जस्तो कि शन्तनु पुत्रको रुपमा शान्तनवे पछि मात्र भनियो होला तर बालककाल, किशोरावस्था र युवावस्थामा पनि गङ्गापुत्रको रुपमा नै देवव्रतको अस्तित्व स्वीकार गरिएको पाइन्छ।

कारण हो, पृथ्वीका राजाहरूका महाराज प्रतीपको जत्ति अस्तित्व र प्रताप थियो, त्यो भन्दा बढी त स्वर्गको अस्तित्व महान मानिन्थ्यो। स्वर्गबाट आएकी गङ्गाको अस्तित्व स्वर्गका राजा देवेन्द्रसँग जोडिन्थ्यो। जब प्रतीप महाराजले संयमित भएर गङ्गालाई विवाह गर्नका लागि आफ्नो छोरो जन्मने र त्यसकी महारानी भएरमात्र श्रापमुक्त गराउने काम हुने बताए पनि गङ्गाले महाराज प्रतीपको सन्तान जन्मेर युवा हुने बेलासम्म पर्खनु परेको थियो।

महाभारतको पूर्णताका लागि पनि शन्तनुको विवाह गङ्गासँग हुनु नै पर्थ्यो। अत्यन्त राम्री युवतीतर्फ आकर्षित भएका महाराज शन्तनुले उनका जुनसुकै सर्त पनि मान्न तयार भए। शन्तनुलाई महाराज प्रतीपको वचन थाहा थिएन तर गङ्गाले त्यो समय पर्खेर बसेकी थिइन् किनभने श्रापमुक्त हुन पनि र स्वर्गमा आफ्नो पुरानो हैकम कायम गर्न पनि उनले महाराज प्रतीप या उनको इच्छा बमोजिमको केटासँग विवाह गर्नु नै पर्थ्यो। छिटोभन्दा छिटो श्राप मुक्त हुनका लागि श्राप पर्ने बित्तिकै उनी महाराज प्रतीप ध्यानस्थ भएकै बेलामा दाहिने काखमा बस्न पुगेकी थिइन्।  कारण थियो, छिटोभन्दा छिटो छोराहरूको रुपमा श्रापित वसुहरूको जन्म गराउनु।

अत्यन्त रुपवती कन्या देखेपछि युवा महाराज शन्तनु ती अपूर्व सुन्दरीसँग विवाह गर्न आकर्षित भए र ती नभए उनी मर्न तयार भएका थियो। शन्तनुलाई श्राप, महाराज प्रतीपसँगको वार्तालापका बारेमा कुनै जानकारी थिएन तर स्वर्गको आदेश बमोजिम उनी महाराज प्रतीपसँग हुन नसकेको विवाह र बच्चा जन्माउने काम प्रतीप पुत्र शन्तनुबाट गराउन चाहन्थिन्।

विधिको विधान त्यस्तो थियो कि महाराज शन्तनुलाई भने पुराना कुराहरू र उनीसँग गङ्गाको विवाह हुनै पर्ने पूर्ववर्ती आधारभूमिका बारेमा केही पनि थाहा थिएन। त्यसैले गङ्गा महाराज शन्तनुलाई आफूतर्फ आकृष्ट गर्न र विवाह गर्नका लागि योजना बनाउँदै थिइन्। त्यहीक्रममा अचानक भेट भएजस्तो गरी गङ्गाले भेटेकी हुन् र यसरी लठ्याइन् कि उनका जुनसुकै सर्त पनि मान्न राजा तयार भए। वसुहरूले पनि गङ्गापुत्रका रुपमा जन्मेर तत्कालै आफ्ना आफ्ना कर्तव्यमा फर्कनु पर्ने थियो। त्यसका लागि जन्मने बित्तिकै मर्नु पर्ने थियो।

आठओटा वसुहरूमध्ये सातवटा वसुहरू तत्काल फर्कने र एकजना द्यौ नामका वसुको भने अलि बढी नै गल्ती भएकाले र पृथ्वीमा भार हरण गर्ने तर कुनै सन्तान नपाउने वरदान पाएका थिए। पृथ्वीमा जन्मनु पर्ने भए माता गङ्गाको कोखबाट मात्र जन्मन पाउँ भन्ने सर्त मन्जुर गरिएको थियो वशिष्ठ ऋषिबाट। महर्षि वशिष्ठको श्रापमोचनका लागि आठओटै वसुले एकपटक पृथ्वीमा जन्मनु नै पर्ने र सबैभन्दा बढी द्यौ नामका वसुले यो संसारमा धेरै वर्ष बाँचेर आफ्नो श्राप मोचन गराउने सर्त पूरा गर्नु थियो।

जब महाराजका सुपुत्र महाराज शन्तनुसँग प्रेमालाप भयो, ती बिछट्टै रुपवती महिला विना राजा बाँच्न पनि नसक्ने भएपछि बल्ल गङ्गाले विवाह गर्ने हो भने आफूले जे गरे पनि राजाले केही भन्न नपाउने र जुनदिन राजाले रानीको क्रियाकलापमा विरोध जनाउने छन्, त्यसपछि रानी तत्काल राजदरबार छोडेर, राजासँग सम्बन्ध बिच्छेद गर्ने सर्त राखिन्।

वास्तवमा राजालाई ती रुपवती कसकी छोरी हुन् भन्ने पनि केही थाहा थिएन। मात्र उनको रुपमा राजा मोहित थिए। कामान्ध राजाले कुनै परिणामका बारेमा वास्ता नै नगरी रुपवतीको सर्त माने। पहिले नै तय थियो, सातवटा वसुहरू जन्मने बित्तिकै पानी डुबेर मर्नु पर्थ्यो र आफ्ना काममा उनीहरू फर्कनु पर्ने थियो। त्यो त विधिको विधान नै थियो। पहिले नै त्यस्तै हुने भनेर मात्र गङ्गा आएकी थिइन् तर राजालाई मात्र केही थाहा थिएन।

राजा र रानीको प्रेम अपूर्व थियो, अपूर्व मिलनको रुपमा सबैले लिएका थिए। राजाका सन्तान जन्मने खुसीले उनी गद्‌गद् थिए। तर रानीसँगको सर्त र प्रतिज्ञाका कारणले राजा चुपचाप थिए। अचानक रानी सुत्केरी भइन् तर सालनालसहितको छोरो लिएर गङ्गाजीमा गइन् र बगाइन्। राजा चुपचाप हेर्दै रहे किनभने रानीका कुनै पनि काममा राजाले दख्खल नदिने सर्त जो  थियो। राजालाई के पनि थाहा थिएन भने उनका सर्त के थिए। मात्र यत्ति थाहा थियो, रानीले जे गर्छिन्, राजाले त्यसमा विरोध गर्न पाइँदैनथ्यो।

राजा उत्तराधिकारीको तृष्णामा थिए किनभने कुरुवंशीहरूको राज्यमा पूर्ण विराम लाग्न सक्थ्यो। त्यसैले राजा निरीह बनेर जन्मेको बच्चाको अनुहार हेर्थे तर रानी कुनै माया ममता विना सालनाल सहितको छोरो लिएर गङ्गाजीमा समाहित गराउँथिन्। बोलुँ रानीले राजदरबार छोडेर जानेछिन् अर्थात् सम्बन्ध बिच्छेद गरेर हिँड्ने छिन्।

अर्कोतिर जन्मेका उत्तराधिकारी एकएक गरेर नदीमा बगाउँदै छिन्। राजा निरीह बनेर टुलुटुलु हेरिरहेका थिए। सातओटा छोराहरू बगाउन्जेलसम्ममा राजाको धैर्यताको बाँध टुट्नै लागेको थियो। जब आठौँ छोरो पनि जन्मने बित्तिकै सालनाल सहित लिएर जान लागिन्, अनि राजाले खप्नै सकेनन् र भने —महारानी, अब त अति भयो।  म अब मेरो उत्तराधिकारीलाई मार्न दिन्न। यो बच्चालाई लिएर जान दिन्न। क्रमशःINS

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *