काठमाडौं। प्रतिपक्षी दलहरूको बैठक सकिएको छ । आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलहरूको बैठक बोलाएका थिए । बैठकमा राप्रपा, लोसपा, जसपा नेपाललगायत दलका नेताहरूको उपस्थिति थियो ।
बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा प्रतिपक्षी दलहरू एकजुट भएको प्रतिक्रिया दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने, ‘राप्रपाको तर्फबाट गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने माग राखेका छौँ। गृहमन्त्रीले बोल्न पाउनुपर्छ। छानबिन समिति बन्नुपर्ने कुरामा हामी पछि हट्दैनौँ।’
यदी गृहमन्त्रीको भनाई सुनिसकेपछि चित्त नबुझ्दा त्यसको प्रतिवाद गर्न सकिने तर्क उनले पेस गरे।
‘सुनिसकेपछि चित्त बुझेन भने प्रतिवाद गर्ने अर्को कुरा भयो,,’ उनले भने।
नेपाली कांग्रेसले सहकारीको रकम घोटालाका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग उठाउँदै आएको थियो । तर, सत्ता पक्ष त्यसमा सहमत नहुँदा सदनको बैठक अवरुद्ध हुँदै आएको छ ।
अब संसदीय समिति बनाउनुपर्नेमा प्रतिपक्षी दलहरू एक ठाउँमा उभिएपछि सत्तापक्षमाथि दबाब बढेको छ । यही विषयमा बिहीबार संसदमा धकेलाधकेलको स्थितिसमेत सिर्जना भएको थियो ।
त्यस्तै बिहीबारको घटनाका सम्बन्धमा प्रतिपक्षीहरूले सभामुखको ध्यानाकर्षण गराउने भएका छन् । प्रतिपक्षी दलहरूको बैठक सकिएसँगै प्रमुख सचेतकहरू सभामुखलाई भेट्न गएका छन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेसँग छलफल गरेका थिए ।