हस्तिनापुरका अभिभावकका रुपमा रहेका भीष्म पितामहका धेरै कर्तव्यहरू थिए यस धराधाममा। सायद उनलाई पूर्व जन्मको पनि ज्ञान थियो, उनमा त्यस्तो क्षमता थियो भन्ने अनुमान गर्न सकिन्छ कि भविष्यको परिणामका बारेमा उनी जानकार हुन्थे। त्यो दैवी कृपा पनि हुन सक्थ्यो या उनमा रहेको विवेचनात्मक चेतका कारणले पनि हुनसक्थ्यो। उनी स्वयं द्यौ नामका वसुका अवतार थिए मृत्युलोकमा। उनको शिक्षादीक्षा श्रद्धेयमाता गङ्गाको रेखदेखमा भएको थियो र उनलाई आफ्नो कर्तव्य पूरा गर्नका लागि पनि दीक्षित गराइएको हो भन्ने कुरा उनले महाराज शन्तनुलाई युवा पुत्र हस्तान्तरण गर्दा भनेकी थिइन्—नासो फिर्ता गरेकी छु।
त्यसबेलामा यदि नासो फिर्ता नभएको भए भरतको भारत उत्तराधिकारी राजाविहीन हुँदै थियो। पक्कै पनि राजाविहीन अर्थात् नेतृत्वविहीन राज्यमा अराजकता फैलिने कुरा त्यसबेलामा पनि राजनीतिक सिद्धान्तको विषय बनेको थियो। कुन बेलामा राज्य अराजक हुने छ भन्ने तत्कालीन राजनीतिक भाष्यमा नेताको रुपमा राजा नभएको देश, वहु नेता अर्थात् दरबारका धेरै राजकुमारहरूको आदेशले चल्ने देश, स्त्री नेता भएको देशमा अराजक स्थिति बारम्बार आउँछ भन्ने मान्यता थियो।
त्यसैले एउटा जीवित बच्चा पनि कता कुन ठाउँमा लगेर गङ्गाले लुकाएकी छिन् भन्ने चिन्तामा राजा थिए। एकदिन एउटा युवाले आफ्नो धनुषकलाका माध्यमबाट गङ्गा प्रवाह नै अन्यत्र मोड्ने क्षमता प्रदर्शन गरिरहेका थिए। एक्लै , एउटा धनुषका भरमा, हजारौँ वाणहरूले गङ्गा प्रवाहलाई एक ठाउँमा जम्मा गरेर अन्यत्र मोड्दै अन्तै अर्को नदी तयार गर्न सक्ने क्षमता एक्लै प्रदर्शन गर्ने युवाको परिचय जान्न चाहे राजाले। राजालाई यो युवा देख्ने बित्तिकै अचानक ममता ओइरियो।
अपरिचित युवालाई हेर्दै आफ्नो पनि सन्तान बाँचेको भए यही उमेरको हुने कल्पना गर्दै थिए, त्यसबेलामा गङ्गा त्यो प्रवाहबाट अचानक बाहिर आइन् र भन्न थालिन्—महाराज, वास्तवमा तपाईँको मनमा उठेको उद्वेगको उत्तर स्वयं यही युवा हो जो तपाईँको पुत्र देवब्रत हो। देवब्रतले महर्षि वशिष्ठसँग, महर्षि शुक्राचार्यसँग र महान योगी परशुरामसँग शिक्षादीक्षा प्राप्त गरेर भावी राजाको रुपमा तयार भएको यो युवा साँच्चै हजुरको छोरो हो जो भारतको उत्तराधिकारी हो।
गङ्गाको अभिभावकत्व र रेखदेखमा पाएको शिक्षाको परिणाम नै राजा शन्तनुले अचम्म मानेर देख्दै थिए धनुषको भरमा गरिएको क्रियाकलाप। अनि राजालाई छोरो बुझाएपछि गङ्गा मैयाँ फेरि आफ्नो प्रवाहमा निरन्तर गइन्। तर भारतवर्षले युवराज पाएको थियो र चिन्तित महाराज शन्तनुले भावी राजा अचानक पाएका थिए। शिष्ट युवा देवब्रतले आफ्ना पिताको परिचय पाएपछि साष्टाङ्ग दण्डवत् गरी राजाको आज्ञा शिरोपर गर्ने भावमा आज्ञाको प्रतीक्षा गर्न थाले।
महाराज शन्तनुले भने माया मारेको छोरो पाए, भारतले युवराज पायो र हस्तिनापुरले अचानक खुसी पायो। तर महाराज शन्तनुको लागि एउटा कुरा भने अनुत्तरित प्रश्नको रुपमा मनमा सदैव खट्कन्थ्यो, किन मलाई गङ्गाले छोडेर गइन् र पनि हस्तिनापुरप्रति भने यति धेरै अनुराग राख्छिन् ? भावी राजाको लागि यति धेरै चिन्तित किन छिन् ? एकप्रकारले सर्तअनुसार सम्बन्ध विच्छेद गरिएकी नारीले त्यही पुराना राज्यप्रति अनुराग देखाउनुको कारण के थियो होला?
वास्तवमा अन्य अप्सरा या स्वर्गकन्याहरूको बानी भन्दा अत्यन्त पृथक स्वभाव गङ्गामा देखियो। एकातिर अरु सात जना छोराहरूलाई जस्तै देवब्रतलाई पनि गङ्गाले आफूमा प्रवाहित गर्न सक्थिन्। त्यसो त जति समय देवब्रत गङ्गाका समीपमा बसे, सम्भवतः नदीमा माछा बसेजस्तै आमा गङ्गाको काखमा नै बसे होलान्। गङ्गाको प्रवाहमा नै खेले होलान्, रमाए होलान् र साथी पनि त्यही गङ्गाको भेल र शान्तपन नै थिए होलान्। आमासँग बसेको छोरो अन्त कता पो गएर बसेको थियो होला र ?
त्यसो त गङ्गामा स्वयं दैवी शक्ति थियो या स्वयं श्राप र वरदान दिन सक्ने क्षमतामा थिइन् भन्ने कुरा उनको स्वर्गमा देखिएको क्षमता र स्वयं शिवको जटामा बस्न पाउने सम्मानले पनि देखिने नै भयो।
शिखण्डीको पूर्व जन्ममा रहेकी अम्बाको छनक र जन्मदा पुत्रीको रुपमा जन्मिएका द्रुपद सन्तति शिखण्डिनीबाट स्थूणाकर्ण यक्षसँगको सम्पर्कबाट प्राप्त पुरुस्त्वका आधारमा पुरुष भएर शिखण्डी बनेका महारथीलाई महान योद्धा तथा भारतवर्षका अन्तिम कुरु राजकुमार देवब्रतले उनलाई न त पुरुषको दर्जा दिए, न त महारथीको सम्मान नै दिए।
अब शिखण्डीको प्रश्न आउँछ जब देवब्रतको जीवनमा, अनि अर्को प्रश्न पनि स्वतः तेर्सिन्छ जेहेनमा कि शिखण्डीको पूर्वजन्म र महाभारत युद्धमा उनको अवस्था। उनी पुरुष हुन् कि महिला ? या उभयलिङ्गी ? अनि द्रौपदीका दाजुको रुपमा, पाञ्चाल नरेश द्रुपदको ज्येष्ठ सन्तानका रुपमा, युद्धमा पाण्डवका तर्फबाट महायुद्धमा लड्ने महारथीको रुपमा, उनी स्वीकार्य छन्।
एकातिर द्रौपदीको हरिएको राज्य फिर्ता लिनका लागि हुन लागेको महायुद्धमा सहयोगका लागि उनी महारथीको रुपमा आएका छन् भने शिखण्डीको पूर्व जन्ममा रहेकी अम्बाको छनक र जन्मदा पुत्रीको रुपमा जन्मिएका द्रुपद सन्तति शिखण्डिनीबाट स्थूणाकर्ण यक्षसँगको सम्पर्कबाट प्राप्त पुरुस्त्वका आधारमा पुरुष भएर शिखण्डी बनेका महारथीलाई महान योद्धा तथा भारतवर्षका अन्तिम कुरु राजकुमार देवब्रतले उनलाई न त पुरुषको दर्जा दिए, न त महारथीको सम्मान नै दिए। बरु स्त्री जातिसँग कुनै पनि प्रकारको युद्ध नगर्ने नीतिलाई देवब्रतले कडाइसँग पालना गर्ने नीति लिए।
अचम्म छ, शिवजीको वरदानले शिखण्डीलाई पनि याद थियो आफ्नो पूर्वजन्म र यो जन्मको अन्ततः पछिल्लो कर्तव्य। अर्थात् उनको हातबाट हानिएको वाणबाट भीष्म पितामहको शरीर क्षत विक्षत हुनु थियो जुनकुरा जानकारी राख्ने जम्मा तीन जना मात्र थिए महाभारतको युद्धमा। ती थिए, शिखण्डी स्वयं जसलाई आफ्नो जन्मको उद्देश्य थाहा थियो, भीष्म जसलाई इखिएकी अम्बाले बदला लिने कुरा थाहा थियो र यो गणितको परिणामसँग यदुकुल शिरोमणि श्रीकृष्णलाई जानकारी थियो।
कतै केही नभने पनि पाण्डवहरूमध्येका कान्छा कुमार सहदेवलाई सबै कुराको भनक थियो तर उनलाई कहिले सम्झे जस्तो , कहिले भ्रममा परेजस्तो र कहिले भीष्मलाई शिखण्डीले पछिल्तिरबाट वाण हान्दै गरेको झल्याकझुलुक जेहेनका तरङ्ग पैदा हुन्थ्यो। त्यसको कारण थियो, पाण्डु मृतावस्थामा रहेपछि ऋषिहरूको सल्लाहमा सहदेवले क्षमतावान पाण्डुको गिदी घिन नमानीकन खाएका थिए जसले गर्दा त्रिकालदर्शीको रुपमा सहदेव गणना भए। क्रमशःINS