रिबन

त्रिभुवन विमानस्थलमा विपद व्यवास्थापन तथा दुर्घटनासम्बन्धी सचेतनामुलक कार्यक्रम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो विमान दुर्घटना तथा विपद व्यवस्थापन सम्बन्धी अभ्यास कार्यक्रम गरेको छ । दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गरेर अभ्यासको आयोजना गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा विमानस्थल सङ्कटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरू मध्ये विमानस्थलमा विमान दुर्घटना सम्बन्धी पूर्णकालीन अभ्यास गरेको जानकारी दिए ।

अभ्यासको मुख्य उद्देश्य सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरू बिच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरूले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको छ । यो अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि बढेको थियो ।

विमानस्थल सङ्कटकालीन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा यस विमानस्थलको एयरपोर्ट इमर्जेन्सी प्लानअनुसार गरिने योजनाबद्ध अभ्यास भएको कार्यालयले जनाएको छ । अभ्यासको अवलोकन गर्न पर्यटन मन्त्री हितबहादुर तामाङ लगायत अधिकारीहरू विमानस्थलमा पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *