काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको गुणस्तर र कार्यमुल्याङकणलाई ध्यानमा राख्दै नयाँ आयोजहरु नथप्न र दुई लेन भन्दा साना सडक निर्माण नर्गन निर्देशन दिएका छन् । आइतबार सडक विभागले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले थालेको काम सक्ने सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै सडक निर्माण गर्दा गुणस्तरमा ध्यान दिन निर्देशन दिएका हुन् ।
रणनीतिक महत्वको रुपमा चित्रण गरिएका सडकको अवस्था र उपलब्धीलाई ध्यानमा राखेर हेर्दा एकदम न्युनतम काम भएको र अन्य विकास निर्माणका लागि विभाजन गरिएको रकमको दुरुपयोग हुने गरेकाले सडको गुणस्तरमा कमी आएको प्रधानमन्त्री ओलीको भनाइ छ । सडक निर्माणका क्रममा सडकको गुणस्तर र दिर्घकालीन सोचलाई ध्यानमा नदिइ बनाइएका सडकहरुले बेलाबेला आम नागरिकहरुलाई पीडा दिएको छ । कतिपय सडकहरु छोटोसमयमा भत्किने र कतिपय सडकहरु मापदण्डविपरित निर्माण गरिएकाले पुनः निर्माण गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने प्रधानमन्त्री ओलीको आशय रहेको छ ।
निर्माण व्यावसायीहरुले दिगो विकास र दिगो सोचलाई केन्द्र विन्दुमा राखेर विकास निर्माणका कार्यलाई अगाडी बढाउनुपर्ने अहिलेको परिवेश बनेको छ । स्थानीयत तह देखि विभिन्न राजमार्गमा समेत मापदण्डलाई नियाल्न नसक्दा समस्या पैदा हुने गरेका छन् ।