बागलुङ । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्ड पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिए । लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौँलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन् भने काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा समस्यामा छन् ।
पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौँबाट आएका रात्रि बस बुर्तिबाङमै रोकिएको उनको भनाइ छ । अहिले पनि निरन्तर भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन समय लाग्ने वडाध्यक्ष पौडेल बताउँछन् । उनले भने, ‘रातिदेखि ठूलो वर्षा भइरहेको छ, धेरै ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका छन्, अहिले सवारी पूर्ण रुपमा ठप्प भएको अवस्था छ, वर्षा रोकिएपछि खुलाउने प्रयास गर्छौं, साना ठाडोखोलामा ठूलो बाढी आउँदा लोकमार्गको धेरै ठाउँ अवरुद्ध छन् ।’
पहिरोले जयपृथ्वी राजमार्ग पनि अवरुद्ध
बझाङको छबिसपाथिभेरा गाउँपालिका १ जालीबगरमा सुक्खा पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन शुक्रबार बिहानबाट पहिरो पन्छाउन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका इन्सपेक्टर किशोर जोशीले पहिरो ठूलो भएकाले राजमार्ग खुलाउन केही घण्टा लाग्ने बताए ।
‘हिजो निरन्तर ढुंगामुढा झरिरहेकाले पहिरो पन्छाउन सकिएन, आज बिहानैबाट डोजरको सहायताले पहिरो पन्छाउन थालिएको छ,’ इन्सपेक्टर जोशीले भने, ‘ठूलै पहिरो भएकाले बाटो खुल्न समय लाग्छ ।’ पहिरो झर्न नरोकिएपछि स्थानीय प्रशासनले सो क्षेत्र नजिक जान रोक लगाएको थियो । बाटो पूर्णरुपमा बन्द भएकाले बझाङ–अत्तरीया खण्डमा चल्ने सवारी साधन चल्न सकेका छैनन् ।