नेपाली साहित्य जगत्मा चर्चित एवं सफल व्यक्तित्व महामानव विश्वेश्वरप्रसाद कोइराला साहित्यका एक चम्किला ध्रुवतारा हुन् । विशेषतः आख्यान विधामा कलम नचाएका कोइरालाले मनोविज्ञानअन्तर्गत पनि यौन मनोविज्ञानलाई आधार मानेर नेपाली साहित्यमा नयाँ आयाम थपे । उनका साहित्य कर्मको जति नै चर्चा गरे पनि अपुरो हुन्छ ।महामानव विश्वेश्वरप्रसाद कोइराला (वि.सं. १९७१–२०३९) नेपाली साहित्यमा कथा विधामा मनोविज्ञानलाई सर्वप्रथम प्रवेश गराउने अगुवा प्रयोक्ता हुन् ।
वि.सं. १९७१ भाद्र २४ गते तदनुसार सन् १९४१ सेप्टेम्बर ८ का दिन भारतको बनारसमा बुबा कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट जन्मेका हुन् – विश्वेश्वरप्रसाद कोइराला । कृष्णप्रसाद कोइरालाकी प्रथम पत्नीको मृत्यु प्रसवकालमा भएको थियो । त्यही घटना विश्वेश्वरकी आमा दिव्या कोइरालामा पनि घट्न पुग्दा शल्यचिकित्सा गर्नु परेको थियो । शल्यक्रिया पद्धतिद्वारा विश्वेश्वर जन्मेका थिए । यसबारे विश्वेश्वरले ‘आफ्नो कथा’ मा यसरी लेखेका छन्– “आमाको प्रसव अत्यन्त जटिल हुन गयो र प्राण रक्षाको लागि जनकप्रसाद दाइको ढिपीले बडा आमाले तुरुन्त डाक्टरी सेवा प्राप्त गर्ने अनुमति दिनुभयो । तत्काल एउटी सिपालु डाक्टरनी नआइपुगेर शल्य चिकित्साको मद्दतले त्यहाँ उद्धार कार्य नगरेको भए मैले त प्रकाश नै देख्न पाउने थिइनँ, आमा पनि जीवित रहनु हुने नै थिएन ।
मैले संसारमा प्रवेश गर्दा परिवारको एउटा परम्परालाई तोडेंँ, प्रसव कोष्ठमा आधुनिक चिकित्सा विज्ञानको प्रकरणलाई पु¥याएँ” शल्यक्रियाबाट जन्मेको हुनाले विद्रोही स्वभाव उनीमा देखापरेको हो कि भन्ने हल्ला राजनैतिक वृत्तमा चलिरहने कुरा हो । काशीका आदिदेव महादेवको प्रसाद हो भनेर विश्वेश्वरका ठुलो बाबुले यिनको नाम विश्वेश्वरप्रसाद कोइराला राखिदिए । यही नामबाट परचित भएको व्यक्ति संसारभरि नै प्रख्यात हुन पुगे । हुन त उनको न्वारनको नाम चूडामणि थियो । विश्वेश्वरलाई कसैले सानुबाबु र कसैले सानदाजु भनेर पनि बोलाउँथे ।
तत्कालीन राणा शासकहरूद्वारा आफ्ना पिताको सर्वस्वहरणसहित देश निकाला गरिएपछि पुख्र्यौली जन्मथलो मोरङ, अर्थात् नेपाल छाडी विश्वेश्वरका परिवार भारतको बनारस प्रवासिएका हुन् । विश्वेश्वरले बनारसबाट नै औपचारिक शिक्षाको थालनी गरेका हुन् भने हरिश्चन्द्र हाइस्कुबाट एस.एल.सी., बनारस हिन्दु विश्वविद्यालयबाट वि.सं. १९९१ मा बी.ए. उत्तीर्ण, कलकत्ता विश्वविद्यालयबाट वि.सं. १९९४ मा बि.एल. उत्तीर्ण गरेका थिए । त्यस्तै उनले अर्थशास्त्रमा एम.ए.सम्मको अपूर्ण अध्ययन गरेका थिए । उनी वि.सं. १९९४ तिर सुशीला दाहालसँग वैवाहिक सम्बन्धमा बाँधिएका थिए भने जसबाट तीन छोरा र एक छोरीको जन्म भएको थियो ।
साहित्यिक तथा राजनैतिक व्यक्तित्व भएका महामानव विश्वेश्वरप्रसाद कोइरालाका बारेमा सामान्य चर्चा गर्न त्यत्तिकै मात्रामा अध्ययन गर्नुपर्ने हुन्छ । उनलाई साहित्य र राजनीति दुवै पक्षमध्ये एक पक्षीय रूपमा मात्र अलग्याउन खोजिएमा बुझ्नलाई झन् गाह्रो पर्छ । त्यसैले विश्वेश्वरप्रसाद कोइराला भन्छन्– “वास्तवमा म आफूलाई साहित्यिक सम्झन्नँ । मेरो क्षेत्र त राजनीति हो, राजनीतिमा म यौटा अन्तप्र्रेरणाले उकासिएको छु भने साहित्यमा ठीक विपरीत ।
म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी । कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ ।” विश्वेश्वरप्रसाद कोइराला साहित्य र राजनीतिक दुवैतिरबाट मानवीय मूल्य तथा मान्यताप्रतिको आस्थालाई विश्वास गर्दै वकालत गरिरहने व्यक्तिको रूपमा विश्व मै परिचित भइसकेका छन् । अराजकतावादी साहित्यकार र प्रजातन्त्रवादी राजनीतिज्ञ भएर उठेको व्यक्तित्वको जति चर्चा गरे पनि, जति अध्ययन गरे पनि कहिले पनि टुङ्गो नलाग्ने भइसकेको छ ।
खोतल्नेले खोतलिरहेका छन्, दुवै पक्षको आआफ्नो वजन घट्नुको सट्टा बढ्दै गएको देखिन्छ । राजनीतिमा बन्दुक समात्नसमेत पछि नपर्ने व्यक्तिले साहित्यमा कलम समाएर आफूलाई सजिलैसँग प्रस्तुत गरे । राजनीतिमा विश्वेश्वर काँडा हुन् भने साहित्यमा गुलाफको फूल हुन् । विशेष रूपले भन्ने हो भने माक्र्सको भौतिकवादी दर्शन र फ्रायडको मनोवैज्ञानिक चिन्तनको आधारमा केन्द्रित रहेर विश्वेश्वरले कथा र उपन्यास लेखे । आफ्नो व्यक्तिगत जीवनलाई विश्वेश्वरले दुई पाटाबाट अध्ययन गर्दथे । पहिलो पाटो–शरीरभित्र सुषुप्त बिजको रूपमा रहेको आत्मा र मन । दोस्रो पाटो हो – स्थूल रूपमा इन्द्रियले देख्न सकिने मन र आत्माको खोलरूपी शरीर ।
विश्वेश्वर सानै उमेरदेखि अध्ययनशील व्यक्ति थिए, सानै उमेरदेखि भारतीय लेखकहरूका कथा र उपन्यासहरू खोजी खोजी अध्ययन गर्दथे । उनका बुबाले नेपाली भाषामा प्रकाशित साहित्यिक पत्रपत्रिकाहरू चन्द्रशमशेरमार्फत आफ्नो घरमा ल्याउँथे । त्यही पत्रपत्रिकाहरू खुब उत्सुकतापूर्वक अध्ययन गर्दथे । बाल्यकाल भारतमा बिताएका हुँदा उनको लेखनको थालनी भारतीय प्रवासबाट भएको देखिन्छ । सर्वप्रथम उनको लेखन हिन्दी भाषाबाट नै भएको हो ।
उनको ‘वहाँ’ शीर्षकमा हिन्दी भाषामा १९८७ मा ‘हंस’ पत्रिकामा लघु कथा प्रकाशित भएको थियो । यो नै विश्वेश्वरको पहिलो रचना हो । त्यसपछि वि.सं. १९९२ मा शारदा पत्रिकामा ‘चन्द्रवदन’ कथा प्रकाशन भएपछि नेपाली भाषामा कथा लेखन प्रारम्भ मनोवैज्ञानिक देखिन्छ । त्यस्तै वि.सं. १९९५मा सूर्यविक्रम ज्ञवालीद्वारा सम्पादित कथाकुसुम नामक सङ्ग्रहमा विश्वेश्वरका तीनओटा कथाहरू समावेश छन् । भारत बसाइको क्रममा भारतीय साहित्यकारहरू शान्तिप्रिया द्विवेदी, प्रेमचन्द, मैथिलीशरण, रामकृष्ण दास, जयशङ्कर आदिको सङ्गतले नै यिनी साहित्य क्षेत्रमा होमिएका हुन् ।
त्यस्तै, रसियन साहित्यकारहरू टल्सटाय, एन्टन चेखव, मेक्सिम गोर्की तथा पाश्चात्य साहित्यकारहरू सिग्मन्ड फ्रायड, अल्बर्ट कामु जस्ताका साहित्य लेखनको प्रभावबाट कोइराला प्रभावित थिए । उनी साहित्यमा लाग्नुको मुख्य कारण आफ्नो विचारलाई अन्ततोगत्वा टिकाई राख्नु हो भने राजनीतिमा लाग्नुको कारण राजनीतिक उतारचढावका कारण विचार टिकाउनु हो ।
विश्वेश्वरले भाषा र साहित्यका क्षेत्रमा विविध विधामा सशक्त रूपमा कलम चलाएका थिए । ती हुन्– कथा, कविता, उपन्यास, आत्मकथा र निबन्ध । उनका हालसम्मका कृतिहरू क्रमागत रूपमा यसरी हेर्न सकिन्छ ः
१. दोषी चश्मा (कथासङ्ग्ह–२००६)
२. नरेन्द्र दाइ (उपन्यास–२०२५)
३. तीन घुम्ती (उपन्यास–२०२६)
४. सुम्निमा (उपन्यास–२०२७)
५. मोदिआइन (उपन्यास–२०३७)
६. श्वेतभैरवी (कथासङ्ग्रह–२०३९)
७. आफ्नो कथा (आत्मकथा–२०४०)
८. हिटलर र यहुदी (उपन्यास–२०४२)
९. बाबु, आमा र छोरा (उपन्यास–२०४५)
१०. विश्वेश्वरका कविता (२०४९)
११. जेल जर्नल (२०५४)
१२. आत्मवृत्तान्त (२०५५)
विश्वेश्वर विशेषतः कथाकार नै हुन् । वि.सं. १९९२ मा शारदा पत्रिकामा ‘चन्द्रवदन’ शीर्षकको कथा छपाएर आधुनिक कथाको मनोवैज्ञानिक धाराका पहिलो कथाकार बन्न सफल भए । प्रकाशित भएका कथासङ्ग्रहतर्फ दोषी चश्मामा १६ ओटा र श्वेत भैरवीमा ४ ओटा कथाहरू समावेश छन् । उनले आफ्नो कथामा कथाको बारेमा “जीवनका घटनाको अटुट प्रवाहबाट अँजुलीमा झिकेको जस्तो सानो प्रसङ्गयुक्त घटनाको वर्णन हो – कथा, सानो अर्थ दिइएको । कथाको ओर र छोर हुँदैन, किन भने त्यो त एउटा जीवनको बृहत् अनन्तव्रmमबाट टिपेको सानो टुव्रmा हो” भनेका छन् ।
आधुनिक नेपाली कथामा महान् कथाकार दुईमध्ये एक हुन्– विश्वेश्वरप्रसाद कोइराला । गुरुप्रसाद मैनालीले सामाजिक कथाहरू लेखे भने विश्वेश्वरले मनोवैज्ञानिक कथाहरू लेखे । मानिसको मनोवैज्ञानिक पक्षलाई स्त्री–पुरुष फरक लिङ्गीबिच परस्परमा हुने यौनिकतालाई विषयवस्तु बनाएर कथा लेखे । ती कथाहरूमध्ये कर्णेलको घोडा चर्चायोग्य नै रहेको छ । कथाको पात्रमध्ये कर्णेल प्रमुख हुन् । उनी सामन्त हुन् । ४५ वर्षीय कर्णेल र १९ वर्षीय कर्णेल्नीको वैवाहिक सम्बन्ध जोडिन्छ । कर्णेल्नीलाई आफ्नो श्रीमान्बाट यौनसन्तुष्टि प्राप्त हुँदैन । कर्णेलले आफ्नी श्रीमतीलाई खुसी पार्न सबै भौतिक सुविधा दिन्छ ।
जवानी कर्णेल्नी उदासिन हुन्छे । विवाहपूर्व गाउँकै एक युवकले विवाहको प्रस्ताव राखेको झलझली सम्झन्छे । यौनका कारण लोग्ने र स्वास्नीबिच द्वन्द्व भएको देखिन्छ । कर्णेल्नी आफ्नो मनमा गुम्सेका कुरा व्यक्त गर्न सक्दिनन् । एक दिन कर्णेलले आफ्नी श्रीमतीलाई खुसी पार्न तबेलातिर लग्छन् । तबेलामा जवान बलवान् घोडा देखिन्छ, त्यसैप्रति कर्णेल्नी आकर्षित हुन्छे । घोडालाई एक जवान पुरुषको रूपमा कर्णेल्नीले लिन्छे । आफ्नो श्रीमती घोडाप्रतिको आकर्षणले गर्दा कर्णेल रिसले चुर भई पेस्तोलले हानी घोडालाई मारिदिन्छ । कर्णेल्नी रोइकराई मूच्र्छित बनी भुइँमा ढल्छे । यसरी दुःखान्तमा कथा टुङ्गिएको छ ।
‘फेरि सुन्दरीजल’, राष्ट्रिय मेलमिलापको नीति लिएर वि.सं. २०३३ साल पौष १६ गते कोइराला भारतबाट नेपाल फर्कने क्रममा सुन्दरीजल बन्दीगृहमा रहँदा लेखिएको पुस्तक हो । यो पुस्तक एक दैनिकी, डायरी वा संस्मरण हो । बन्दीको बेला बी.पी.ले अति कष्टकर रूपमा जीवन व्यतीत गर्नुपरेको कुरा लेखेका छन् । एउटा लेखकलाई बाहिरी संसारबाट सम्पर्कविच्छेद गरी लेखन र पठन सामग्रीहरूसमेत उपलब्ध नहुँदा कति पीडाबोध होला ? जेलमा उपलब्ध गोरखापत्र र राइजिङ नेपाल पत्रिकाको खाली ठाउँमा उनले आफ्नो दैनिकी लेख्नुप¥यो ।
विनाकारण काल कोठरीमा बन्दी बनाइएको र कुनै न्यायिक सहयोगको लागि सम्पर्क गर्नसमेत नदिएको खुलासा बीपीले गरेका छन् । मेलमिलापको नीति लिएर जुन साहसिक काम गरेकाले बी.पी.लाई राजनेताको रूपमा लिइन्छ । त्यसताकाका उनका विचार सान्दर्भिक रह्यो–“प्रजातन्त्रको प्राप्ति र राष्ट्रको रक्षा दुवै जिम्मेवारी नेपालीले लिनुपरेको छ । यदि हामीले एउटै जिम्मेवारी मागको कुरा ग¥र्यौँ भने हामी एकपक्षीय भएर गलत बाटोतिर लागेका हुनेछौँ र यदि हामीले प्रजातन्त्र प्राप्ति मात्र जोड दियाँै भने राष्ट्रिय सङ्कटको निवारणमा हाम्रो योगदान रहँदैन । राष्ट्रिय सङ्कटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ । राष्ट्र रहेन भने हामी रहन्नौँ भन्ने भावनाले, प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ ।”
कोइरालाको जेलजीवन नेपाली साहित्यका लागि उर्वर समय बन्यो । किनभने उनले जेलमा बसेर अधिकांश कथा र उपन्यास सिर्जना गरे । जुन नेपाली साहित्यका लागि अनुकरणीय बन्यो । २०१७ भन्दा अघि राजनीतिमा सक्रिय जीवन बिताएका कारण साहित्यलाई सहायक बनाउन बाध्य थिए । तर सुन्दरीजल जेलमा रहँदा उनको साहित्य वा सिर्जना कलाहरू निरन्तर फुरे ।
बी.पी.ले वि.सं. २०२२ सालतिर आफ्नै जीवनमा आधारित भएर लेखेका ‘आफ्नै कथा’ २०४० सालतिर पुस्तकको रूपमा प्रकाशन भयो । गद्य साहित्यिक रचना आफ्नो कथा नेपाली वाङ्मयमा प्रकाशित कथामध्ये उत्कृष्ट ग्रन्थको रूपमा लिइन्छ । प्रस्तुत कथामा उनको बाल्यकालदेखि किशोर अवधिसम्म घटेको घटनाको इतिवृत्तान्त झल्काएको छ ।
विशेषतः यिनले आफ्नो कथामा कोइराला वंशदेखि राणाकालीन कालक्रमको व्याख्या गरेका छन् । ‘आफ्नो कथा’ कथाकार बी.पी.को आत्मकथा मात्रै होइन, नेपाली राजनीति एवम् सामाजिक जागरणको विगुल फुक्ने कार्य भएको छ । समाज परिवर्तनका लागि उल्लेखनीय भूमिका खेल्ने मानुषहरूका लागि आत्मवृत्तान्त लेख्नका लागि यो पुस्तक सहयोगी सिद्ध हुन जान्छ । आफ्नो कथा बी.पी. कोइरालाको सत्य घटनामा आधारित सामाजिक उपन्यास हो ।
उनको बाबु, आमा र छोरा उपन्यास नेपाली समाजमा अपाच्य घटनामा केन्द्रित रहेको छ, यस उपन्यासमा छोराकी प्रेमिकासँग बाबुले विवाह गरेर छोरा जन्मेको छ । भारतमा पढ्न बस्दा छोरासँग सहवास चल्दै थियो अचानक केटीको घरमा आमा सिकिस्त बिरामी छन् भनी घरमा बोलाएर एक अधबैँसे मानिससँग विवाह गरिदिन्छन् । ती केटीलार्इं थाहा हँुदैन । त्यो उसले विवाह गरेको मानिस आफ्नै प्रेमिकाको बाबु हो भन्ने । भारतमै गर्भिणी भएकी केटीले घरमा आएर विवाह गर्छे र छोरा जन्माउँछे । पछि केटो घरमा आउँदा आमाको रूपमा आफ्नी प्रेमीलाई पाउँछ र आफ्नो रगतको रूपमा छोरो देख्छ । अब त्यो छोरा बाबुको कि छोराको ?
उनको हिटलर र यहुदी उपन्यास उच्च कोटिमा दरिन पुगेको छ ।
यौनमनोविश्लेषणात्मक उपन्यासमा म पात्रले क्यान्सर उपचारका क्रममा विदेश जाँदा जहाजको यात्रा क्रममा अनुभूति गरेका कुराहरूलाई उपन्यासमा लिपिबद्ध गरिएको छ । नेपालदेखि भारतको बम्बई, लन्डन, जर्मनी, फ्रान्स, इजरायल यात्राको क्रममा देखे, सुनेका कुराहरूको सेरोफेरामा उपन्यास लिपिबद्ध गरेका छन् । जहाजमा यात्रा गर्ने क्रममा बम्बइमा म पात्रसँग इसाई धर्मावलम्बी लेबनानी पत्रकार मिस मार्गरेटसँग भेट हुन्छ । मार्गरेट यहुदीका कट्टर विरोधी हुन्छे । अन्तर्राष्ट्रिय सङ्गठन यहुदीको प्रतिनिधि डेभिटसँग पनि म पात्रको परिचय हुन्छ ।
आपसी विरोधी मिस मार्गरेट र डेभिडसँग परिचय गराउन खोज्दा म पात्र असफल हुन्छ । मार्गरेटले डेभिडलाई हत्यारा, अभद्र मान्छे भनी घृणा गरिन्छ । हिटलर र यहुदी दुई साम्प्रदायिक युद्धमा विपरीत दिशामा उभिएको हुन्छ । एघार दिनको जहाजयात्रामा म पात्रले विविध चरित्रका व्यक्तिहरूसँग परिचय गर्छ । जस्तै ः रेवा देसाई, यहुदी बाबुछोरा गोल्डवर्ग, भारती लेखक नारायण, मराठी दम्पती, मिसेज म्याकडोनाल्ड, बुढी मेयरनी आदि ।
रेवा देसाइ एक विवाहित हुँदा पनि परपुरुषसँग स्वतन्त्रपूर्वक यौनसम्पर्क गर्नमा कुनै बाधा अड्चन नभएको खुलासा गरिए तापनि साँच्चै नै रेवालाई एउटा पतित नारीको रूपमा चित्रण गरिएको छ ।
रेवाजी, तपाईंले यो कदापि बिर्सिन हुन्न कि तपाईं हिन्दू नारी हो ।
भारतीय संस्कृतिमा नारीको रूप जहिले पनि आमाको छ ।
आमाको प्रतीकको हो, थाहा छैन ? पृथ्वी ।
चञ्चलताको आग्रह के पृथ्वीलाई सुहाउँछ ?
रेवाले भनी–
त्यसो भए के हिन्दू नारीलाई
पश्चिमी नारी सरह स्वतन्त्र आचरणको अधिकार छैन ?
… हिन्दू नारीको प्राचीन रूप जहाँ पनि देख्नमा आएको छ,
मन्दिरमा होस् या पत्थरमा या चित्रलिपिमा ।
अल्पवासना, यौन पयोधरी, गुरु निताम्विनी
र त्रिवली चित्रित उदरधारिणी …।
विश्वेश्वरका नरेन्द्र दाइ दुःखान्त कथामा आधारित चरित्रप्रधान उपन्यास हो । यो उपन्यास कोसीतटवर्ती गाउँको पृष्ठभूमिमा रहेको छ । सत्य घटनामा आधारित यथार्थवादी उपन्यासमा सानुबावुको बाल्य लीला र नरेन्द्र, मुनरिया र गौरीको त्रिकोणात्मक प्रेमलीला प्रस्तुत गरिएको छ । स्त्री र पुरुषको यौनजीवन र यौन प्रसङ्गको चर्चा गरिएको यस उपन्यासमा बाबुले नरेन्द्रको सहमतिविना गरिएको विवाह, लोग्ने र स्वास्नी बिचको बेमेल, बाबु छोरा बिच भएको मतभेदका कारण देखिन्छ ।
उपन्यासमा नरेन्द्रद्वारा व्यक्त विचार :
‘मुनरिया, सुखमा स्वार्थ छ । दुःखलाई मात्रै
सार्वजनिक वस्तु बनाउन सकिएला तर दुःख
पनि त एक्लै भोग्नुपर्छ । तर मुनु, दुःख
दुःख भएकोले त्यसको एक्लो भोगाइले
स्वार्थभोगको संज्ञा पाउँदैन । सुखको भोग एकान्तको
वस्तु हो, त्यसमा स्वार्थ निहित छ । सुख प्राप्त
गर्न सक्छौ भने अाँखा चिम्लेर त्यसलाई
भोग्नेबाहेक अरू केही बाटो छैन । अरूको
दुःखपट्टि आँखा उठायौँ भने सुखको भोगको
सम्भव हुन्छ र ?
विश्वेश्वरले निबन्ध विधामा पनि कलम चलाएका थिए । उनले प्रेमको व्यवहार शीर्षकमा निबन्ध लेखेका थिए भने कवितातर्फ बारीको कुरो, बस्टापुष्प, छोरी र छाया, एउटा सन्धि एक सम्झौता, नखिचिएको तस्वीर सुन्दर, पोखरा, बादल ः गोल गोल, कोमल कोमल, वर्षाले पोतेको दृश्य, कोसी कौशिकी, बगरको घोचो र टाढाको कल्पना शीर्षकमा जम्मा १३ ओटा गद्य कविता लेखेका छन् । उक्त कविताहरू सङ्कलन गरी हरिप्रसाद शर्माको सम्पादनमा प्रकाशित छन् । सन् १९६४ मा रचित ‘टाढाको कल्पना’ शीर्षक कविताको अंश ः
धरतीलाई बन्ध्याकरण गरेर
उसको उर्बरताको कैद गरेर
सिमेन्ट र बालुवाले रोकेको छ
यहाँ धरतीको स्निग्धतालाई बन्द गरेको छ ।
यो चार दिवारमा
धरती पनि टाढाको कल्पना
केही वर्ष पहिलेको सम्झना
खेतको आली
धान लहलहाउँदै
धरती टाढाको कल्पना
धरती अनादि कालमा कतैबाट निस्किएर
धरती मनुष्यले पाइला टेकेको आँगन ………
उनको पहिलो कविता ‘बम्बईप्रति’ हो । बम्बई सहरमा हुने गरेको कहालीलाग्दो राजनीतिक अवस्थाको चित्रण यसरी गरेका छन् :
बम्बाई ¤ ए बम्बाई ‼
एक दिन तेरो विपुल वैभव,
विशाल अट्टालिकाहरूको झ्यालबाट चिहाईचिहाई
दुःखीहरूलाई उपेक्षाले हेर्दथ्यो–
उन्मुक्त अट्टहास गर्दथ्यो
ती गरिबीहरूको फाटेको कपडालाई
श्रमजीवीहरूको दुर्बल हड्डीलाई
पर्खालकिल्लाहरू खडा भएका थिए ।
तेरो ढोकामा ऐश्वर्यको कोलाहल मच्चिरहन्थ्यो
त्यसको भीषण रवमा ती सन्त्रस्तहरूको क्षीणपुकार
तेरो मस्त कानमा पुग्न पाउदैनथ्यो ।
उनले १५–२० ओटा नेपाली अङ्गे्रजी र हिन्दी भाषामा कविता लेखे । विश्वेश्वरको रुचिको विषय कविता नभए तापनि कवितालाई मन पराउँथे । कविताको बारेमा उनी यसो भन्थे “जीवनको अनन्त ज्वालाबाट टिपेको, शब्दमा बाँधिन सकेको भावको नाजुक फिलिङ्गो कविता, जसले कुनै निहित अर्थको सङ्केत हाम्रो अन्तरचेतनामा झल्काउँछ ।”
त्यसैगरी, बी.पी.को कृतित्व, व्यक्तित्वको बारेमा अन्य विभिन्न विद्वान्हरूले हजाराँैंको सङ्ख्यामा लेख÷रचना प्रकाशित गरेका छन् ।वि.सं. २०३८ मा नेपाली साहित्यिक क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गर्दै साहित्यिक पत्रकार सङ्घले सम्मान स्वरूप नागरिक अभिनन्दन गरेको थियो ।
हेर्दा साधारण रूपमा विश्वेश्वरप्रसाद कोइराला समाजमा देखा परे । दिगो रूपमा आफूलाई उभ्याउन त्यति सजिलो छैन । नझुक्ने स्वभावका थिए विश्वेश्वर । झुकेको भए अरू नेताजस्तै फालिन्थे कि । एउटा सिङ्गो युगको प्रतिनिधित्व जसले पायो उसले गर्न सत्तैmन । बी.पी. कोइरालाको नाम सुन्ने बितिक्कै शिर झुकाउनुपर्ने हुन्छ । बौद्धिक रूपमा विश्वेश्वरले देखाएको अडानको आफ्नै भूमिका छ । ठुलो हुन खोजेनन्, झुकेर वीरत्वको प्रदर्शन गर्न चाहेनन् बन्दुक उठाए विश्वेश्वरले । जति दुःख सहनुपरे पनि कम्मर कसे विश्वेश्वरले । असल मानिस बन्ने विश्वेश्वरको धोको थियो ।
साधारण खालका चरित्रका मानिस नभएको कारणले नै होला साधारण खाले राजनीति कहिले पनि खेलेनन् । त्यस्तै साहित्यमा पनि उनले साधारण खालका चरित्रलाई महŒव नदिएर विशेष खालको चरित्रलाई समाजको अगाडि उभ्याइदिए । राजनीतिमा जति चर्चित छन्, उत्ति नै साहित्यमा पनि चर्चित हुनु कम कुरा होइन । नेपाली पृष्ठभूमिका आफ्नै खाले दार्शनिकको रूपमा पनि हेर्नेले हेर्ने नै छन्–विश्वेश्वरप्रसाद कोइरालालाई ।
विश्वेश्वरको साहित्यिक व्यक्तित्वलाई लिएर कतिले विद्यावारिधि उपाधि प्राप्त गरिसकेका छन् । विश्वविद्यालयका स्नातक र स्नातकोत्तर तहमा समेत उनको आख्यानकारिताको गहन पठनपाठन हुँदै आएको छ । तसर्थ, उनले साहित्य फाँटमा छाडेका रचना÷कृति कालजयी छन् । भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन् भने उनले राजनीतिक क्षेत्रमा प्रतिपादन गरेका समाजवादी दर्शनको बाटोमा सम्पूर्ण नेपाल र नेपालीहरू उन्मुख हुनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।
अन्ततः वि.सं. २०३९ साउन ६ गते साँझ घाँटीको क्यान्सर रोगबाट पीडित विश्वेश्वरप्रसाद कोइरालाको मृत्यु भयो । उनको शवयात्रामा विशाल मान्छेहरूको उपस्थिति थियो । नेपाली जनताका आँखाबाट आँसुका थोपा बरबरी झरेका थिए । यो नै विश्वेश्वरप्रसाद कोइरालाप्रति ठुलो सम्मान थियो ।