मौसम पूर्वानुमानमा जस्तै असोज १०गते रातीदेखि परेको अविरल वर्षामै मुलुक छ । अहिले मुलुक तहस नहस भएको छ । बाढीको बितण्डाले सयौँ मानिसहरूको ज्यान गएको छ । खर्बौँको सम्पत्ति नष्ट भएको छ । सडक सञ्जालको बेहाल छ । राजधानी सहर नै मुलुकका अन्य भागसँग जोडिन अझै कति दिन पर्खनु पर्ने हो , थाहा छैन । हजारौँ बेघरबार भएका छन् । सयौँ घाइते भएका छन् र कति बेपत्ता भएका छन् भन्ने गणना हुन सकेको छैन , बिस्तारै तथ्याङ्क आउँदै गर्ला ।
मौसम विभागले वर्षाको अभिलेख राख्न थालेपछिको सबैभन्दा बढी पानी परेको रहेछ काठमाडौँ उपत्यकासहित मुलुक १०० भन्दा बढी स्थानमा । अझै विपद् टरिसकेको छैन । तर मौसम विभागले दिएको सूचनालाई जस्ताको तस्तै सम्प्रेषित गर्ने बाहेक विपद् प्रतिकार्यप्रति तयारी भएन । त्यसका जोसुकै जिम्मेवार भए पनि अन्ततः सरकारको दायित्व मानिन्छ ।
विपद् प्रतिकार्यका लागि तयारी नहुनु, सचेतना कम हुनु र नदीका क्षेत्रहरू च्यापेर बस्ती बस्नु, जथाभाबी कच्ची सडक सञ्जालको विकास गर्नु र तिनमा पिच नगर्नु आदि कमजोरीलाई विकासको नाम दिएर प्रकृतिमाथि खेलाँची गरिएको छ । अनि जलवायु परिवर्तनको कारणलाई आधार मान्दा पनि कतिपय मानवीय तयारीले पनि ती विपद्जन्य अवस्थाबाट पार पाउन सकिने थियो भन्ने विपद् विज्ञहरुको छ ।
विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका फौजलाई प्रतिकार्यका लागि तयार गरे पनि कता जाने, के गर्ने र के प्रयोग गर्ने भन्नेमा फौज रह्यो । आवश्यक सामान पुग्दो देखिएन । ७५३ स्थानीय तह, ७७ जिल्ला प्रहरी र त्यसका सञ्जाल, सशस्त्र प्रहरी र त्यसका सञ्जाल, नेपाली सेनाको बन्दोबस्तीको तयारी सबै अपुग भए । सक्रियता त त्यसबेलाका देखियो जब वर्षाले कहर कटाउन थाल्यो । बाढी सोचेभन्दा ठुलो आयो । बाटा घाटा सबै पहिरोको चपेटामा परे, बाटाहरू तथा बस्तीहरू साना तिना खोलाको समेत मारमा परे । अहिलेसम्म विपद्को लेखाजोखा हुन सकेको छैन र त्यो पनि बिस्तारै हुँदैगर्ला ।
तर मुलुकका सबै सरकारहरू र सामाजिक संस्थाहरू तत्काल राहत दिनका लागि ै सक्रिय हुनुपर्ने हो । तर स्थानीय सरकार नै यसका लागि बढी सक्रिय हुनु जरुरी छ । स्थानीय तहका खातामा आवश्यक रकम केन्द्र सरकार र प्रदेश सरकारले तत्काल पठाउनु पर्छ र राहत तत्काल पु¥याउनु पर्छ । विपद् कोषमा अबौँ रुपैञा सञ्चित छ । राज्य त राज्य हो नि , जहिले पनि तयारी अवस्थामा बस्नुपर्छ । तीन तहका सरकार अलमलमा किन परेको हो ? अझै राहत र सहयोगका खोजीमा हजारौँ नागरिकहरू छन् । कम्तीमा पनि विपद् व्यवस्थापन गर्दा स्याल मार्न जाँदा बाघ मार्ने खजाना चाहिन्छ भन्थे बुढापाका, तर अहिले देखियो ,बाघ आउँदै छ भनेर मौसम विभागले भनी रह्यो, हामीले मुसा मार्ने समेतको व्यवस्था गरेनाँै ।
विपद् जनतालाई परेको हो, राज्यलाई परेको हो । यसमा कसको दोषका कारणले भन्ने खोट नदेखाई हालको परिस्थितिसँग मुकाबिला गरौँ र भावी समयका लागि अझ तयारीमा रहनु जरुरी छ । अन्ततः केन्द्रीय सरकार विपद् प्रतिकार्य गर्न चुकेकै हो । केन्द्र सरकारसहित सबै स्थानीय सरकार माथि नै जबाफदेहिता आउँछ । बेलामा विपद्सँग सामना गर्न तयारी नपुगेको नै हो । विपद्को सम्भावित खतरा अनुमान गर्न नसक्नुमा सरकारमात्र होइन, हामी जनताको पनि कमी भएकै हो । तयारी नगरेकोमा को बढी जबाफदेही भन्ने प्रश्नले मात्र अहिलेको समस्या समाधान हुँदैन , त्यसो नगरौँ ।
पहिले जलउत्पन्न प्रकोपको निदान गरौँ, भोलिको तयारी पनि गर्न थालौँ । सबैको सहयोगको जरुरत छ । यसबेलामा सबैको एकीकृत कार्यको जरुरत छ र सबैको हातेमालोले मात्र विपद्सँग आजको समस्या पनि समाधान गर्न सकिन्छ र भोलिको तयारी पनि हुनसक्छ । निरन्तर सतर्क र सजगता नै विपद्को जोखिम न्यूनीकरण गर्न सकिन्छ । अनि यो बेलामा अनेक चन्दा उठाउने र ठग्ने प्रवृत्ति रोक्न आधिकारिक कोषमा बाहेक कसैले कसैलाई चन्दा दिनु नपर्ने नीति पनि सरकारले घोषणा गर्न जरुरी छ ।