काठमाडौं । बिहीबारदेखि शनिबारसम्म लगातार परेको अविरल वर्षाका कारण २१ जिल्लाहरू प्रभावित भएका छन् । बाढी, पहिरो र डुबानले काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार प्राकृतिक विपत्तिबाट हालसम्म २ सय २४ जनाको मृत्यु, २४ जना बेपत्ता, १५८ जना घाइते भएका छन् । यस्तै उच्च जोखिममा रहेका ४ हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्रीका अनुसार हालसम्ममा खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिचाइ पूर्वाधारतर्फ १ अर्बको क्षति भएको छ ।यसैगरी ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा राजमार्गमा अवरोध हटाइ सञ्चालनमा ल्याइएको जनाइएको छ ।