रिबन

विपद्का बिचको दसैँ

नेपालीहरूको महान् चाडका रुपमा मनाइने बडा दसैँ नेपालीहरूको घर आँगनमा पसेको छ तर असोज १०, ११र १२को अविरल वर्षा र त्यसबाट सिर्जित बाढी पहिरोको बितण्डाले मुलुक आक्रान्त छ । बाढी पहिरोका कारणले धनजनको क्षति भएको छ । मुलुकका एक ठाउँबाट अर्को ठाउँ जोड्ने सडक सञ्जालहरू तहस नहस भएका छन् । यात्राका क्रममा हिँडेका यात्रुहरू बाटा घाटामा अझै अलपत्र परेका छन् । कतिपय सडकहरू कहिले बन्ने हुन् भन्ने कुनै टुङ्गो छैन । एकातिर परिवारहरू विच्छिन्न भएका छन्, अर्कोतिर महान् चाड घर आँगनमा प्रवेश गरेको छ । महँगीले सगरमाथा छोएको छ ।

संघीय राजधानी सहर काठमाडौँ उपत्यका मुलुकका अन्य भागहरूसँग जोडिन सकेको छैन र आयातीत सामानहरू पनि बाटाको कमीले उपभोक्ताहरू समक्ष आउन सकेको अवस्था छैन । जे छ , सामानहरू कालो बजारियाहरूको मारमा परेर अचाक्ली महँगोमा विक्री गरिँदै छ र कृत्रिम अभाव सृजना गरिँदै छ । सरकार किंकर्तव्य विमूढ देखिएको छ । सरकारका मन्त्रालयहरू र मन्त्रीहरूका बिचमा पनि समन्वय देखिँदैन । बजार अनुगमन हुनै सकेको छैन । यस्तो बेलामा जनताले सरकारविहीनताको अनुभव गरिरहेका छन् । कसको के दायित्व भन्ने नै स्पष्ट भएको छैन ।

अविरल वर्षाका बेलामा त्यसबाट सिर्जित जलउत्पन्न प्रकोपको प्रतिकार्यमा न त सक्रियता देखियो, न त राहत वितरणमा तदारुकता देखियो । कसले के गर्नु पर्थ्यो भन्ने कुरा जनताको सरोकारको विषय होइन, दसैँ जस्तो चाडमा पनि घरबारविहीनहरुको चीत्कार, खान लाउन नपाएको अवस्थाले राज्यको उपस्थितिको कमी देखिएको बेलामा सरकारले जेजे भने पनि जनता पत्याउने पक्षमा छैनन् । जनता सेवा देखिने गरी प्राप्त गर्न चाहन्छन् ।

दसैँमा यसै पनि महँगी बढ्थ्यो नै प्रत्येक वर्ष । यसबेलामा यातायातको अराजक चर्तिकला भोग्दै आएका नेपालीहरू यसपटक झन घर जाने बाटो पनि छैन, यातायातका साधनहरूको अराजक चाल चलनले दुर्घटना बढ्थ्यो । यसपटक कसरी यसबाट मुक्ति पाउने ? झन अवस्था विकराल देखिन्छ । बाढी पीडितको सङ्ख्या थपिन सक्ने भविष्यवाणी मौसमविद्हरूले चेतावनीका रुपमा जानकारी गराएका छन् । करिब २० लाख व्यक्तिहरू राजधानी छोडेर आफ्ना आफ्ना गन्तव्य तर्फ जाने अनुमान गरिएको थियो । बाटो एकतर्फी चलेका छन् कतै त कतै तिहार अघि बाटो बन्ने अवस्था नै छैन । हवाई भाडाको अनियन्त्रित वृद्धि र सडकको कमीले आकाश मार्गबाट आवत जावत गर्ने बाध्यताले हवाई जहाजमा चाप बढेको छ । अझै यसको सहज व्यवस्थापन गर्ने चालचुल देखिँदैन ।

दसैँ दशाको रुपमा परिणत नहोस् भनेर सरकारले उचित व्यवस्थापन गर्नुपर्छ । प्रिय परिवारका सदस्य गुमेकाहरूका लागि राहत सहित मायाको मलम आवश्यक छ । अहिले त सरकार पनि तीनतीनवटा छन् । गाउँ पालिका, नगर पालिकासहितको प्रदेश र संघीय सरकारले एकीकृतरुपमा जनताका आवश्यकता पूरा गर्न लाग्नुपर्छ । सरकारले जनताको सेवा गर्ने बेला आएको छ । तीनै तहका सरकारले मौकामा हीरा फोड्ने बेला आएको छ । जनताले सरकारको परीक्षा गर्ने भनेको नै यस्तै विपद्का बेलामा हो ।

बाढी पहिरोको वितण्डापछि सङ्क्रामक रोगहरूको संक्रमण बढ्ने सम्भावना हुन्छ । बाढीले खाने पानीको व्यवस्थालाई खलबल्याएको छ । सरुवा रोग तथा खाद्यान्नको आपूर्तिका बारेमा पनि आउने समस्याको समाधानका लागि कुनै तयारी देखिँदैन । सरकारमात्र होइन, सामाजिक संस्थाहरू र नागरिक समाजहरूको पनि तदारुकता देखिँदैन ।

यी सबै कुराहरूप्रति सरोकारवालाहरू सजग र सतर्क हुनु आवश्यक छ । बाटाका फसेकाहरूलाई शीघ्र वासस्थानका पु¥याउने, महान् चाडमा आफ्ना आफ्ना प्रियजनहरूसँग घरमा बसेर चाड मनाउन पाउने अवस्था तत्काल सृजना गर्नुपर्छ । सरकारसँग हजारौँ गाडीहरू छन्, विद्यालयहरूका गाडीहरूको सदुपयोग गर्न सकिन्छ , सेना प्रहरी र साझा यातायातको सदुपयोग गर्नु जरुरी छ । सरकारले हवाई रुटमा भाडा तोकेर दुर्गमस्थानमा सेवा पु¥याउन बाध्य पार्नुपर्छ किनभने व्यवसायमा नाफा मात्र हुँदैन, मानवीय सेवा पनि आवश्यक हुन्छ । कालो बजारलाई निर्ममताका साथ नियन्त्रण गर्नुपर्छ ।

जस्तो अवस्था आए पनि खप्नैपर्छ र प्राकृतिकरुपमा अचानक भएका घटनाहरूमा सबैको सहयोग र सहकार्यले समाजमा प्रेम, माया र सहिष्णुता बढेर आउँछ । यसमा सरकार सहयोगी र सहजकर्ताको भूमिकामा देखिनु पर्छ । महान् चाड दसैँको उपलक्ष्यमा विश्वभर छरिएर रहेका सबै नेपाली दाजुभाइ दिदी बहिनीहरूमा दुर्गा भवानीले रक्षा गरुन् र सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ । साथै हामी आफ्ना पाठक, शुभचिन्तक तथा विज्ञापनदाताहरूमा पनि बडा दसैँको शुभकामना व्यक्त गर्दछौँ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *