राजनीति

आयोगको निर्देशनमा सात राजनीतिक दलकाे नाम परिवर्तन

काठमाडौं । निर्वाचन आयोगको निर्देशनमा ७ वटा राजनीतिक दलले आफ्नो नाम परिवर्तन गरेका छन् । २०८० फागुन ३ गते बसेको आयोगको बैठकले १९ वटा राजनीतिक दललाई पालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐनको मर्म र भावना अनुरूप नभएको भन्दै नाम परिवर्तन गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार सात राजनीतिक दलहरुले आफ्नो पार्टीको नाम परिवर्तन गरेका हुन् । नाम परिवर्तन गर्नेहरुमा दलहरूमा नेपाल खम्बुवान साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल दलित पार्टी, नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक), ताम्सालिङ लोकतान्त्रिक पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र आमूल परिवर्तन मसिहा पार्टी नेपाल रहेका छन् ।

पार्टीहरूले क्रमशः नाम परिवर्तन गरेर राष्ट्रिय साझा पार्टी, नेपाल जनमुक्ति पार्टी, नेपाल मानवतावादी पार्टी, नेपाल जनता संरक्षण पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, जनसेवा लोकतान्त्रिक पार्टी र आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल राखेका छन् । आयोगले असोज २२ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको १८ औँ वार्षिक प्रतिवेदनमा उक्त विषय उल्लेख छ ।

आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दर्ता भएका दलहरूलाई नाम परिवर्तनका लागि निर्देशन दिइएको थियो । तीमध्ये आयोगको निर्देशनपछि आयोगमा दर्ता भएका सात वटा राजनीतिक दलको नाम परिवर्तन भएको आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

आयोगका अनुसार निर्देशन दिइएका मध्ये मुस्कान सेना नेपाल पार्टी‚चुरे भावर लोकतान्त्रिक पार्टी‚मधेस तराई फोरम‚ मधेसी जनअधिकार फोरम मधेस‚शिव सेना नेपाल‚खम्बुवान् राष्ट्रिय मोर्चा नेपाल‚ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)‚अखण्ड सुदूरपश्चिम पार्टी नेपाल‚पिछडा वर्ग निषाद दलित जनजाति पार्टी‚राष्ट्रवादी युवा मोर्चा‚ मङ्गोल नेशनल अर्गनाइजेशन लगायत दलले नाम परिवर्तन अझै परिवर्तन गरेका छैनन् ।

गरिएअनुसार देशभक्त जनगणतान्त्रिक मोर्चा नामक राजनीतिक दलको दर्ता भने आयोगले खारेज गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल सद्‌भावना पार्टी, राष्ट्रिय साझा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी लगायत १३ दलको विवरण हेरफेर र संशोधन गरेको छ। नेपालमा हालसम्म ११९ वटा राजनीतिक दल दर्ता भएको उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *