देश

कांग्रेस एक्लै लडेर ल्याएको स्थान सन्तोषजनक: महामन्त्री शर्मा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लडेर जितेको भन्दै नतिजालाई सन्तोषजनक भनेको छ । पार्टी महामन्त्री एवं स्थानीय तह उपनिर्वाचन– २०८१ केन्द्रीय संयोजन समितिका संयोजक विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै एक्लै लडेर प्राप्त गरेको नतिजालाई सन्तोषजनक भनेका हुन् ।

‘उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मतमार्फत प्राप्त सन्देशको विश्लेषण र समग्र समीक्षा हामी गर्नेछौं नै, प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’लाई, हामीले सन्तोषजनक एवं उत्साहवर्धक संकेतका रूपमा लिएका छौं,’ शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शर्माले मुख्य दलप्रति मतदाताको समर्थनले अहिलेकै प्रणालीमा ऐक्यबद्धता देखिएको पनि बताएका छन् ।

‘उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र ऐक्यबद्धता फेरि एकपटक बलियो रूपमा प्रदर्शित भएको छ । मुलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणालीमार्फत प्रगतिको दिशामा प्राप्त ऐक्यबद्धताका रूपमा लिएर तीनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी छ’, शर्माले भनेका छन् ।

उनले भनेका छन्, ‘रिक्त ४४ मध्ये १९ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । समग्रमा यो ४३.१८ प्रतिशत हो । ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनैतिक, सांगठनिक र गुणात्मक रूपले बढी महत्वपूर्ण छ । यो परिणाम हासिल गर्न मैदानमा जुटेका सबै तहका सबै आदरणीय साथीहरूमा बधाई र सम्मान छ ।’ केही स्थान गुमाए पनि चुनावी रणनीतिका लागि यी नतिजा महत्त्वपूर्ण रहेको शर्माले बताएका छन् ।

‘०७९ मा विजय पाएको केही स्थान हामीले गुमाएका छौं भने त्यसबेला अन्य दलले जितेका केही स्थानमा विजय हासिल गरेका छौं । लोकतन्त्रमा शतप्रतिशत स्थानमा जीतको अपेक्षा लोकतान्त्रिक सोच हुन्न,’ शर्माले भनेका छन्, ‘तर जीत र हार ब्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्त्वपूर्ण रहने हाम्रो निष्कर्ष छ, हामी यो गर्नेछौं ।’

उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति देखिएको भन्दै यसलाई चिर्नुपर्ने उनले बताए । ‘उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पनि मैदानमा देखियो । गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जीत्न सकिने भ्रम आम रूपमा परास्त भएको छ,’ शर्माले भनेका छन्, ‘निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काममार्फत विश्वास जगाउन र सामाजिक सञ्जालमार्फतका भ्रमहरू चिर्न पार्टी पङ्क्तिको विशेष सतर्कता र क्रियाशीलता जरुरी देखिएको छ । यो उपनिर्वाचनमा सामाजिक सञ्जाल मार्फत सक्रिय भूमिका निभाउने युवा पंक्तिलाई पार्टी सम्मान गर्दछ।’

चुनावी दौड सकिएको भन्दै शर्माले अब सबै तीता-नमिठा भुलेर काममा जुट्न आग्रह गरेका छन् । ‘सबै विजयीलाई आग्रह–पूर्वाग्रह मुक्त भएर जनताको सच्चा प्रतिनिधिका रूपमा कार्य गर्न शुभकामना,’ शर्माले भनेका छन्, ‘निष्पक्ष निर्वाचन सम्पन्न गराउने सरकार, निर्वाचन आयोग, अहोरात्र खटेका राष्ट्रसेवक कर्मचारी, समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीलगायत सबैप्रति नेपाली कांग्रेस सम्मान प्रकट गर्दछ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *