संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

भदौ १९ गते मंगलबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमा नेपालले चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ ः सभापति देउवा देखी कोशी सरकारविरुद्धको रिटमाथि आज पनि भएन सुनुवाई सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

नेपालले चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले सधैँ दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताए । सभापति देउवाले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताए ।

उनले नेपालसँग विद्युत किन्ने भनेको भारत मात्रै भएकाले नेपालले की विद्युत नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरुमा सहमति जनाउनुपर्ने बाध्यता रहेको बताए । उनले भनेका कुरा नमान्ने हो भने विद्युत नकिन्ने हुँदा थोरै लचिलो भएर भएपनि देशको हीतमा काम गर्नुपर्ने बाध्यता रहेको बताए । उनले भने , ‘बिजुली नेपालमा सबैभन्दा बढी छ, बायर को छ एउटै छ, को छ बायर इण्डिया, की हामी बिजुली बेच्दै बेच्दैनौँ भन्नुप¥यो, नत्र उसको कुरा मान्नुपर्ने हुन्छ हेर्नुस् । त्यही कुरा हो । बायरले बिजुली किन्ने हो, त्यसको कुरा सुन्नुपर्ने बाध्यता छ हामीलाई । नत्र कोही आउँदैन, बिजुली किन्दैन, हामीसँग बिजुली बढी भएपनि बिजुली उसले किन्दै किन्दैन ।

किन्नु त पर्ने हो नि, त्यसकारण हाम्रा केही बाध्यता र अफ्ठ्यारा छन् । यी सबैकुरा बुझ्नुपर्छ । हामीले सबैलाई मिलाउनुपर्छ । चीन र भारत दुई वटा हाम्रो छिमेकी हुन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने हाम्रो बाध्यता छ । आवश्यकता छ । कोसँग कति बोल्ने कति कुरा राख्ने भन्ने हुन्छ । चीनलाई र भारतलाई दुवैलाई सम्झाउन सकिन्छ ।

हत्या अभियोगमा पक्राउ परेका सांसद यादवलाई थुनामा राख्न अदालतको अनुमति

हत्या अभियुक्त मधेश प्रदेशका सांसद अनिरुद्धसिंह यादवलाई सप्तरी जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सांसद यादव सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित भएका थिए । उनलाई सोमबार प्रहरीले राजविराज नगरपालिका– ७ बाट पक्राउ गरेर अदालतमा पेश गरेको थियो ।अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रका अनुसार सांसद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश पश्चात उनलाई थुनामा लगिएको हो । सांसद यादवले १६ वर्षअगाडि माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या गरेको आरोपमा उनलाई तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ ।

जुनसुकै पार्टीका नेता भ्रष्टाचारमा मुछिए पनि जोगाउन लागिन्न ः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन् । नेपाली कांग्रेस बाग्लुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले कांग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए जोगाउनतर्फ नलाग्ने बताए ।

‘कांग्रेस भ्रष्टचारमा मुछिएका कसैलाई पनि संरक्षण गर्ने पक्षमा छैन, हामी भ्रष्टाचाररहित राष्ट्र चाहन्छौँ, अहिले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरण अभियानमा कांग्रेसको पूर्ण समर्थन छ’, महामन्त्री थापाले भने,‘जनप्रतिनिधिले राम्रोसँग काम गर्नुस्, पार्टी आफैं मजबुत बन्दै जान्छ, तपाईंहरूले काम गर्नुभएन भने समस्या हुने हो ।’ महामन्त्री थापाले अहिले तीन वटै सरकारमा कांग्रेसको प्रतिनिधित्व रहेको हुँदा जनगुनासो आउने काम गर्न नहुने बताए ।

फोहोर व्यवस्थापनका निम्ति संघीय, प्रादेशिक र स्थानीय सरकार गम्भीर बन्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्रीले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष र निकायहरूसँग छलफल गरेका हुन् ।

बैठकमा फोहोरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले आफ्नो धारणा राखेका थिए । बैठकमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीय प्रभावित जनताले उठाएका मागहरू, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयहरूमा छलफल भएको थियो। यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र सोका लागि कानुनी प्रबन्ध आवश्यक रहेकोमा जोड दिइएको छ।

बैठकमा बोल्दै प्रधानमन्त्रीले आउँदो मन्त्रिपरिषदको बैठकबाट देशभरिको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुनेगरि ठोस निर्णय गरिने जानकारी गराए । प्रधानमन्त्रीले भने , “संघीय सरकार काठमाडौँ उपत्यका लगायत देशभरिको फोहोर व्यवस्थापनका निम्ति गम्भीरतापूर्वक लागिरहेको छ। त्यसका लागि मन्त्रिपरिषदको बैठकबाट ठोस निर्णय गर्नुपर्दछ। आउँदो मन्त्रिपरिषद बैठकमा देशभरिको फोहोर व्यवस्थापनको कार्यादेश सहरी विकास मन्त्रालयलाई दिनेगरि निर्णय लिन्छौँ।”

प्रधानमन्त्रीले फोहोर व्यवस्थापन संघीय, प्रादेशिक र स्थानीय सरकारको साझा दायित्व भएकोमा जोड दिँदै फोहोरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने बताउँदै त्यसका लागि ठोस गृहकार्य गर्न समेत निर्देशन दिए ।

प्रचण्ड र बालेनका अभिव्यक्ति अराजक ः शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नेपाल निजामती कर्मचारी युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कोइरालाले प्रधानमन्त्री प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेनको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने ठोकुवा गरे ।

जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्रीले बोल्न नहुने उनको भनाइ थियो । उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्नेसमेत बताए। केही दिनअघि प्रचण्डले आफू जातीय पहिचानको पक्षमा रहेको भन्दै सबैलाई सोही किसिमको प्रदेश छुट्याउनुपर्ने अभिव्यक्ति दिएका थिए । नेता कोइरालाले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर पार्टी निकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिए ।

कागबेनी बाढीको अवलोकनमा गृहमन्त्री,तत्कालको राहत बढाउँदै

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(कागबेनी) बाढीबाट भएको क्षतिको मंगलबार स्थलगत अवलोकन गरेका छन् ।

अविरल वर्षासँगै साउन २८ गतेको स्थानीय कागखोलाको बाढीले घर, कृषि उपज, सार्वजनिक एवम् व्यापारीक संरचना, होटल, पुल, विद्यालय, प्रहरी चौकी, पशुपंक्षी, सवारीसाधन, गुम्बा, कागबेनी श्राद्दस्थल, खानेपानी, सिंचाइ र नगद तथा अन्य भौतिक वस्तुसहित अर्बौंको क्षति गरेपछि तत्काल राहतमा वृद्धि र कागबेनी जस्तो ऐतिहासिक तिर्थस्थलको दीर्घकालीन पुनर्निर्माणको प्रतिबद्धता समेत गृहमन्त्री श्रेष्ठले जनाएका छन् ।

समयमै बाढीको सूचना पाएपछि यहाँ कुनै मानवीय क्षति भने भएन। क्षतिको अवलोकनपछि प्रभावितसहित जनप्रतिनिधि र स्थानीय प्रशासनलाई संक्षिप्त सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले तत्कालीन प्राथमिक आवश्यकलाई समाधान गर्दै प्राविधिक र योजनावीद् अध्ययन आधारित निष्कर्ष निकालेर कागबेनीको पुनर्निर्माण गरिने, रणनीतिक रुपले व्यवस्थित बस्ती बसाइने बताएका हुन् । त्यसक्रममा उनले खानेपानी, गुणस्तरीय खाद्यवस्तु र बसोबासमा कुनै कमजोरी हुन नदिन समेत स्थानीय प्रशासनलाई निर्देशन दिए ।

संघीय, प्रदेश र स्थानीय सरकार वा संघसंस्थामार्फत सामान्य तत्कालीन राहत पुगे पनि त्यो पर्याप्त , व्यवस्थित र एकद्वार हुन नसकेको जनप्रतिनिधि तथा स्थानीयको गुनासो थियो। जनताको यस्तो दुःखबाट आफु पनि उत्तिकै दुःखित भएको र संघीय, प्रदेश र स्थानीय सरकारको उचित समन्वयमा आधारभूत सेवा, राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाइने गृहमन्त्री श्रेषले बताए ।

दुर्गा प्रसाईँ भन्छन् – केपी शर्मा ओली मारवाडीका पार्टनर हुन्

विवादीत व्यवसायी दुर्गा प्रसाईँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मारवाडीको पार्टनर भएको आरोप लगाएका छन् ।मंगलबार हङकङ जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग उनले मारवाडी विरुद्ध आफूले अभिव्यक्ति दिएपछि ओलीले आफूलाई पागल भनेको भन्दै उनी पनि मारवाडीको पार्टनर भएको आरोप लगाएका हुन् ।

‘केपी ओली हजुरबुवा मारवाडीका पार्टनर हुन् । नेताहरू सबै मारवाडीका पार्टनर हुन् । केही मारवाडीहरू आईजीपीकोमा पनि गएका थिए रे दुर्गा प्रसाईँलाई थुन्न प¥यो भनेर म हङकङबाट फर्केर आएपछि मैले जानेको छु,’ उनले भने ।उनले प्रत्येकको घरघरमा जाने चेतावनी दिदैँ मारवाडीसँग मिलेर नेताले देश सकेको आरोप लगाए । ‘ललिता निवास खाने यिनै मारवाडी , देशको अर्थतन्त्र सकाउने यिनै मारवाडी, सुनको, केटीको, सुपारी र रक्तचन्दनको तस्करी गर्ने सबै यिनै मारवाडी हुन् । कालले छोड्ला तर मैले छोड्नेवाला छैन्,’ उनले भने ।

संसद सचिवालयले होटलमा राखेको कार्यक्रमाथि लेखा समितिमा प्रश्न

संघीय संसद सचिवालयले होटलमा कार्यक्रम गर्ने गरेको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा प्रश्न उठाएको छ । सरकारी खर्च कम गर्न सरकारले नीति निर्माणमा ध्यान दिने बताए पनि त्यसको अवज्ञा गरेर संसद सचिवालयले नै स्टार होटलमा कार्यक्रम गरेर सरकारी खर्च जथाभावी बढाएको भन्दै नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले प्रश्न खडा गरेका हुन् ।

मंगलबार लेखा समितिको बैठकमा मैनालीले संसद सचिवालयको आयोजनामा बसेरामा मंलबार कार्यक्रम रहेको बताए । संसदले कार्यक्रम गर्दा स्टार होटल नै किन भन्दै उनले सरकारको ध्यानाकर्षण गराएको छ । उनका अनुसार संसद सचिवालयले संसद बाहेकका कार्यक्रम आयोजनाका क्रममा होटल बुकिङ गर्ने गरेको छ ।

स¥यो एमालेको मधेस प्रदेश अधिवेशन

नेकपा एमालेको मधेस प्रदेशको अधिवेशन सरेको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो । नेकपा एमालेको २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो ।

मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको छ । लुम्बिनी प्रदेशमा भने मंगलबार मतदान भइरहेको छ । चार दिनअघि प्रदेश अधिवेशन सुरू भए पनि निर्वाचनमार्फत् नेतृत्व चुनिने भएपछि अधिवेशन लम्बिएको छ ।

कोशी सरकारविरुद्धको रिटमाथि आज पनि भएन सुनुवाई

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई आज पनि फैसला हुन सकेन । निवेदकको तर्फबाट जवाफी बहस बाँकी रहेकाले सुनुवाइ हेर्दाहर्दैमा सिमित बन्न पुगेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापामाथि नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमाथि मंगलबार विपक्षीका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । विपक्षीका तर्फबाट बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । बुधबार सार्वजनिक विदा परेका कारण बिहिबार मात्र सुनुवाई हुनेछ ।

सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्णइजलासमा सोमबारबाट पुर्ण इजलासमा सुनुवाई जारी राखेका छन् । सोमबार निवेदकका तर्फबाट बहस भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *