मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

कार्तिक १ गते बुधबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमा कोशीका मुख्यमन्त्री कार्कीलाई अभूतपूर्व समर्थन, पाए ८६ मत देखी पाँचथरमा सवारी दुर्घटना, आठ जना घाइतेसम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

कोशीका मुख्यमन्त्री कार्कीलाई अभूतपूर्व समर्थन, पाए ८६ मत

एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरी कोशीको मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले प्रदेश सभामा अभूतपूर्व समर्थन पाएका छन् । मुख्यमन्त्री कार्कीले बुधबारको प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव राख्दै मध्यावधिबाट कोशीलाई बचाउनुपर्ने बताउँदै विश्वासको मत दिन आग्रह गरेका थिए ।

‘प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भएको छ । प्रदेश सभा विघटन र मध्यावधि निर्वाचनमा जानुहुने छैन भन्ने विश्वास प्रकट गर्दछु,’ उनले भने ।९३ सदस्यीय रहेको कोशी प्रदेश सभाका ६ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य दलले कार्कीलाई विश्वासको मत दिएका छन् । प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको मत चाहिन्छ । कार्कीले भने ८६ मत पाएका छन् । उनले दुई तिहाइभन्दा बढी मत पाएका हुन् ।

कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एकजना सांसदले विश्वासको मत दिएका छन् । केन्द्रीय सत्तागठबन्धनको निर्णयको अवज्ञा गर्दै मुख्यमन्त्रीमा दाबी गरेका कार्की संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विश्वासको मत पाएपछि कार्कीलाई सरकारलाई पूर्णता दिन भने सकस पर्ने देखिएको छ । एमाले पनि सरकारमा सामेल भएकाले माओवादी र एकीकृत समाजवादी सरकारमा जाने नजाने टुंगो छैन । बुधबारको बैठकमा एमाले र कांग्रेस सांसद सत्ता पक्ष र बाँकी चार दल विपक्षी कुर्सीमा बसेका थिए ।

नेपालको विजयी सुरुवात, युएई ७ विकेटले पराजित

त्रिकोणात्मक टि २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई)लाई सात विकेटले पराजित गर्दै विजयी भएको छ । युएईले नेपाललाई जितको लागि एक सय ४१ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा नेपालले १८ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ४० बल खेल्दै पाँच चौकाको मद्दतमा अविजित ५१ रन जोडेका हुन् । त्यसैगरी दीपेन्द्र सिंह ऐरीले ३४, आशिफ शेखले २३, कुशल भुर्तेलले १४ तथा कुशल मल्लले ११ रन बनाए ।

बलिङतर्फ युएईका निलन्स केशवानी र अलि नसिरले समान एक एक विकेट लिए । त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ४० रनको योगफल बनाएको थियो ।

युएईका लागि बासिल हामिदले ५१ रनको योगदान दिए । उनले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएका हुन् । त्यस्तै अली नासिरले ३२ रन बनाए । उनले ३० बलमा ३ चौका र १ छक्काको मद्धतमा ३२ रन बनाएका हुन् । कप्तान मोहम्मद वासिमले १७ रन जोड्दा आसिफ खानले १५ रन बनाए । युएईलाई एक सय ४० रनमा समेट्नेक्रममा नेपालका लागि करण केसीले तीन विकेट लिए । त्यस्तै गुल्सन झाले दुई विकेट लिँदा सोमपाल कामी र अविनाश बोहराले समान एक एक विकेट लिए । अब नेपालले आफ्नो दोस्रो खेल भोलि हङ्कङसँग खेल्नेछ । उक्त खेल दिउँसो ११ बजे हुनेछ ।

पाँच महिनामा ११ अर्ब ८० करोडको विद्युत भारत निर्यात

नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपियाँको विद्युत भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०÷८१ को साउन, भदौ र असोज ३ महिनामा नौ अर्ब ६४ करोड ५४ लाख रुपियाँको विद्युत भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र चार अर्ब दुई करोड ३५ लाख रुपियाँको विद्युत निर्यात गरिएको छ ।

तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रुपियाँ २७ पैसा रहेको छ । गत जेठ महिनाका पाँच दिनमा ४० करोड पाँच लाख र असारमा एक अर्ब ७५ करोड ७० लाख रुपियाँको विद्युत भारतर्फ निर्यात भएको थियो । जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट नौ रुपियाँ ६७ पैसा थियो ।

साउनमा दुई अर्ब १४ करोड ३३ लाख, भदौमा तीन अर्ब ४७ करोड ८५ लाख र असोजमा चार अर्ब दुई करोड ३५ लाख रुपियाँको विद्युत भारतीय बजारमा निर्यात भएको छ । तीन महिनामा नौ अर्ब ६४ करोड ५४ लाख रुपियाँको विद्युत निर्यात भएको हो । साउन, भदौ र असोजमा भारतर्फ निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रति युनिट क्रमशः ः ८ रुपियाँ ४३ पैसा, ११ रुपियाँ ९७ पैसा र १० रुपियाँ २० पैसा रहेको छ । तीन महिनाको विद्युत समग्र औसत बिक्री दर प्रति युनिट १० रुपियाँ २७ पैसा छ । विद्युत निर्यातबाट नेपाल र भारतबिचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थालाई हेर्दा यस वर्ष करिब १६ अर्ब रुपियाँको विद्युत निर्यात हुन सक्ने देखिएको बताए । ‘‘करिब १ सय मेगावाट थप विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणसँग प्रस्ताव गरेका थियौँ, तर अहिलेसम्म स्वीकृति नपाएपछि केहीअघि पुनः प्रस्ताव पठाएका छौँ,’’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘‘चाडपर्व सुरु भइसकेको छ, यसअवधिमा कलकारखाना बन्द हुँदा र काठमाडौँमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युतको माग घट्छ, भारतबाट थप विद्युत निर्यात स्वीकृति नपाउने हो भने विद्युत गृहहरू बन्द गर्नु पर्ने अवस्था आउन सक्ने छ, यस्तो अवस्थामा छिट्टै थप विद्युत निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौँ ।’’

२० वाणिज्य बैंकको नाफा १६ अर्ब ६४ करोड


नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नाफा कमाउने २० वटा वाणिज्य बैंकहरुको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्याङ्कअनुसार २० वाणिज्य बैंकहरुले साउन र भदौ महिनामा १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ नाफा कमाएका छन् । दुई महिनाको अवधिमा ५ वटा वाणिज्य बैंकले १ अर्बभन्दा बढी नाफा कमाएका छन् ।

ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र कुमारी बैंकले एक अर्बभन्दा बढी नाफा आर्जन गरेका हुन् । सबैभन्दा बढी नाफा गर्ने बैंक ग्लोबल आइएमई बनेको छ भने सबैभन्दा कम नाफा कमाउने बैंक भने नेपाल एसबिआई बैंक रहेको छ । ग्लोबलले सबैभन्दा बढी १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ बराबरको खुद नाफा गरेको छ ।

एसबिआईले सबैभन्दा कम जम्मा २७ करोड २९ लाख ९० हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । यस्तै, दोस्रोमा नबिल बैंकले भदौमा १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बढी नाफा गर्ने बैंकको तेस्रो नम्बरमा नेपाल इनभेष्टमेन्ट मेगा बैंक रहेको छ । यस बैंकले १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख रुपैयाँ, कुमारीले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले ८७ करोड रुपैयाँ, प्राइम कमर्सियलले ८३ करोड ६५ लाख रुपैयाँ, लक्ष्मी सनराइजले ८१ करोड ४० लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ८० करोड रुपैयाँ खुद नाफा गरेका छन् । एनएमबि बैंकले ७६ करोड ७० लाख रुपैयाँ, एभरेष्ट बैंकले ७१ करोड २५ लाख रुपैयाँ, नेपाल बैंकले ७० करोड ७१ लाख रुपैयाँ, प्रभु बैंकले ६६ करोड ४१ लाख रुपैयाँ, कृषि विकास बैंकले ६१ करोड ५६ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

सानिमा बैंकले ५१ करोड २० लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४८ करोड ४५ लाख रुपैयाँ, सिटिजन्स बैंकले ४४ करोड ३१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ३७ करोड ६३ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले २७ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

बीआरआई फन्डिङमा एक सय अर्ब डलरभन्दा बढीको घोषणा

चीनले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा एक सय अर्ब अमेरिकी डलरभन्दा बढी नयाँ लगानी गर्ने भएको छ । बीआरआईको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले उक्त घोषणा गरेका हुन् । बीआरआई विदेशमा चीनको प्रभाव विस्तार गर्ने राष्ट्रपति सिको केन्द्रीय स्तम्भ हो जसमा बेइजिङले विश्वभर २० खर्ब अमेरिकी डलरभन्दा बढीको सम्झौता गरेको बताएको छ । ग्लोबल साउथमा संसाधन र आर्थिक विकास ल्याउनका लागि समर्थकहरूले यसको सराहना गरेका छन् ।

तर गरिब मुलुकहरूमा यसले ऋणको भारी बोकाउने भन्दै यसको आलोचना पनि हुँदै आएको छ । बीआरआईको प्रमुख ऋणदाता चाइना डेभलपमेन्ट बैंक र एक्स्पोर्ट–इम्पोर्ट बैंकले अतिरिक्त एक सय अर्ब डलर ऋण प्रस्ताव गर्ने राष्ट्रपति सिले बुधबार घोषणा गरे । उनले दुवै बैंकले बीआरआई परियोजनाहरूका लागि तीन खर्ब ५० अर्ब युआन (४७ अर्ब ९० करोड अमेरिकी डलर) को वित्तीय अवसर स्थापित गर्ने बताए । उनका अनुसार परियोजनाको आधिकारिक ऋण संस्था सिल्क रोड फन्डमा अर्को ८० अर्ब युआन लगानी गरिने छ । सन् २०१३ मा बीआरआई सुरु भएयता बेइजिङले आयोजना गरेको आफ्नो किसिमको यो तेस्रो ठूलो शिखर सम्मेलन हो । सम्मेलनमा एक सय ३० मुलुकका प्रतिनिधि सहभागी भएका थिए ।

हिमालको संरक्षण सिंगो विश्वको साझा दायित्व हो ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिंगो विश्वको साझा दायित्व भएको बताएका छन् । बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

आफूले अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको समेत उनले बताए । प्रधानमन्त्रीले भने, ‘पछिल्लोसमय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ। हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ। मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें। मैले संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु।’

‘हिमालको संरक्षण भएन भने विकसित भनिएका मुलुकहरूसमेत सुरक्षित रहँदैनन्। जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा हो’ प्रधानमन्त्रीले भने, ‘कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राख्नेछ। विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले बेहोरेको क्षतिवापत हामीले अनुदान पाउनुपर्छ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘मुस्ताङ जिल्ला बहुआयमिक विशेषता बोकेको जिल्ला हो। स्याउ उत्पादन र अन्य उत्पादनका दृष्टिले पनि यो महत्वपूर्ण छ, मुक्तिनाथ लगायत धार्मिक एवं सांस्कृतिक पर्यटनका केन्द्रहरू पनि यहाँ छन्। कोरला नाकाको विशेष रणनीतिक महत्व छ। तसर्थ यहाँको जलवायु संरक्षण सरकारको प्राथमिकतामा छ।’ प्रधानमन्त्रीले कार्यक्रममा जलवायु संरक्षण वापत नेपालले अन्तर्राष्ट्रवाद क्षेत्रबाट प्राप्त गर्ने रू ५० करोड मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरे ।

कोजाग्रत पूर्णिमामा चियापान गर्दै काँग्रेस

नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान गर्ने भएको छ। दसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा काँग्रेसले चियापान गर्न लागेको हो। कात्तिक ११ गते शनिबार सानेपामा चियापान गर्ने कार्यक्रम भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। कात्तिक ११ गते दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म चियापान चल्नेछ । काँग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू लगायतलाई चियापानमा बोलाउने गरेको छ।

पूर्वराजा शाहलाई माधव नेपालको चुनौती ः पार्टी खोलेर चुनाव लड्नुस्

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौति दिएका छन् । भक्तपुरमा बुधबार आयोजित दसैँ शुभकामना कार्यक्रममा नेपालले नेपालमा कुनै वंशको शासन नेपाली जनतालाई स्वीकार्य नहुने बताए । अध्यक्ष नेपालले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन पूर्व राजालाई चुनौती दिए ।

नेपालले भने, ‘विगतमा उनीहरूले कसरी यो मुलुक चलाएका थिए, तिनीहरूका पनि हामीलाई एकएक कुराहरू सबै थाहा छ । त्यसो हुनाले संविधानलाई मास्न खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने, पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने त्यस्ता तत्त्वप्रति सबै होसियार हुनुपर्छ । कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य छैन ।’ अध्यक्ष नेपालले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताए । गठबन्धन भत्काउने कोसिस कुनैपनि हालतमा सफल नहुने उनको दाबी छ ।

सशस्त्र प्रहरी नै ठगी धन्दामा, कम परिमाणमा डिजेल बिक्री गरेपछि पम्प सिल

केन्द्रीय अनुगमन टोलीले सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वयम्भुस्थित हलचोक फ्युल सेन्टर पम्प सिल गरेको छ । बुधबार गरिएको अनुगमन क्रममा उपभोक्तालाई कम परिमाणमा डिजेल दिएको भन्दै र हलचोक फ्युल सेन्टर पम्प र कलङ्कीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको हो । उपभोक्ताको गुनासोपछि प्रधानमन्त्री कार्यालयको हेलो सरकारबाट एक टोली अनुगमनमा खटिएको थियो । ‘उपभोक्तालाई कम मात्रामा डिजेल बिक्री गर्ने दुई वटा पम्प सिल गरेका छौं,’ अनुगमनमा खटिएका प्रद्युम्न उपाध्यायले भने,‘ सशस्त्र प्रहरीको पम्पबाटै कम मात्रामा डिजेल बिक्री गरिने गरेको पत्ता लागेको छ । कलङ्कीको श्यामा पम्प पनि सिल गरेका छौं थप अनुसन्धान हुँदैछ ।’

दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तालाई डिजेल बिक्री गरेको अनुगमन टोलीको प्रारम्भिक निष्कर्ष छ । मंगलबार मात्रै अनुगमन क्रममा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरीगाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो ।

पाँचथरमा सवारी दुर्घटना, आठ जना घाइते

पाँचथरमा बुधबार दिउँसो ३ बजेतिर सवारी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। झापाको बिर्तामोडदेखि पाँचथरको ओयाम हिँडेको को१ज ५१३३ नम्बरको ट्याक्सी हिलिहाङ गाउँपालिका–७ टाहारीमा दुर्घटना भएको हो। दुर्घटनामा याङवरक–३ की ३९ वर्षीया जुनिता लावती, २३ वर्षीया भिमा नुगो, १६ वर्षीय पृथीराज चौहान, २० वर्षीया सुजा लिम्बू, १८ वर्षीया प्रतिक्षा न्यौपाने, झापाको दमक–७ निवासी ४ वर्षीय दिपशन मैनाली र उनकी आमा ३० वर्षीय बिनिता मैनाली घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

घाइतेमध्ये जुनिता लावती र पृथ्वीराज चौहानको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि झापा रेफर गरिएको पाँचथर अस्पतालले जनाएको छ। अन्य घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ। ट्याक्सी अनियन्त्रित भएर सडकदेखि करिब २५ मिटर तल खड्कबहादुर राईको घरको छानामा खसेको थियो। ट्याक्सी चालक नरेन्द्र न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *