मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

कार्तिक ४ गते शुनिबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । शनिबार तयार पारिएको मुख्य १० समाचारमा डा. शशांक भन्छन् – नागरिकको अपेक्षालाई सार्थक बनाउन आवश्यक छदेखी दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

डा. शशांक भन्छन् – नागरिकको अपेक्षालाई सार्थक बनाउन आवश्यक छ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा। शशांक कोइरालाले नागरिकको अपेक्षा तराई–पहाड–हिमाल, खुशी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन आवश्यक रहेको बताएका छन् । बडादसैँको शुभकामना आदानप्रदान गदैं महान् पर्वले नेपाल र नेपालीहरूमा आपसी एकता, सहिष्णुता, सद्भाव र समभावसहितको आत्मियतालाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

‘नागरिकको अपेक्षा तराई–पहाड–हिमाल, खुशी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन यि महान् पर्वहरूले आशीर्वाद दिने विश्वास लिँदै सबै नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दछु’, शशांकद्वारा जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

हनुमान ढोका दसैँ घरमा फूलपातीको झलक

काठमाडौं । हनुमान ढोकास्थित दसैँ घरमा फूलपाती भित्र्याइएको छ । नेपालीहरुको महान् चाड बडा दसैँ अन्तर्गत शनिवार फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दसैँ घरमा फूलपाती भित्र्याइएको हो।

गोरखा दरबारबाट पठाइएको फूलपाती साईतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित शनिवार अपरान्ह दशैँ घरमा भित्र्याइएको हो। गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ।

फूलपातीको अवसरमा नेपाली सेनाले शनिबार सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा फूलपाती बढाइँसमेत गरेको थियो। बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए। सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिह्नबाट बढाइँ प्रश्तुत गरिएको थियो।

सरकार चाडपर्वको समयमा पनि जनताप्रति सचेत नभएको भन्दै राप्रपा सांसद जबराको असन्तुष्टि

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले दसैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। विजयादशमी, दीपावली एवम् छठ पर्वको शुभकामना व्यक्त गर्दै जबराले बजार भाउले नागरिकलाई उठ्नै नसक्ने गरी थला पारिसके पनि सरकारलाई प्रर्वाह नभएको समेत बताएका हुन् । जबराले दसैँको बेलामा पनि सरकारले जनतालाई सुख र शान्ति नदिएको भन्दै सरकारप्रति प्रश्न उठाएका छन् ।

‘नेपाली जनतालाई हर सुख, हर शान्ति मेरो हृदयदेखि अत्यन्त ठूलो शुभकामना दिन चाहन्छु । तर सन्दर्भ गतिलो छैन । नेपालको जनतालाई अहिले ठूलो दुःख र पीडा भइरहेको छ । अहिले भाउ व्यापक बढेको छ । अर्थतन्त्र गिरेको छ । भुईं छोला जस्तो भइसक्यो’ जबराले भने, ‘यो अवस्थामा सरकार के हेरेर बसेको छ रु किन नेपाली जनताको सुख र शान्ति दसैँको बेलामा पनि दिन सक्दैन रु’

जबरा थप्छन्, ‘हामी संसद्मा छौँ । हामी सरकारलाई भन्न चाहन्छौँ– दसैँ, तिहार र छठको बेला अविलम्व नेपाली जनताप्रति सजग र सचेत होउ । यो दश्सैँमा अलिकति भए पनि नेपाली जनतालाई चैन देउ । मुलुक र नेपाली जनता तपाईँहरूबाट अलिकति सुख खोजिरहेका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष बद्री केसीले पद तथा गोपनीयताको सपथ लिएका छन् । काठमाडौंमा भएको ११ औँ महाधिवेशनबाट शनिबार निर्वाचित अध्यक्ष केसीले संघको केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

महाधिवेशनमा निर्वाचनको परिणामका विषयमा विवाद सिर्जना भएपछि शु्क्रबार निर्वाचनको बाँकी प्रक्रिया स्थगित हुन पुगेको थियो । बहालवाला अध्यक्ष केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। सो निर्वाचनबाट सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनिकट अधिकांश उम्मेदवार पराजित भएका छन्। पराजित उम्मेदवारको एक समूह निर्वाचनमा विषयलाई लिएर प्रधानमन्त्रीसमक्ष गुनासो गर्न पुगेपछि सो निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।

यसअघि निर्वाचनमा धाँधली भएको भन्दै अध्यक्षका प्रत्यासीद्वय आरके शर्मा र महेश श्रेष्ठले निर्वाचन परिणाम अस्वीकार गरेका थिए । शुक्रबार नै श्रेष्ठ र शर्मा पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी दिनुका साथै यसबारे छानबिनका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पनि निवेदन दिएको थियो । उनीहरुले अध्यक्ष बद्री केसीले भेरो नामक विद्युतीय भोटिङ मेसिनको दुरुपयोग गरेर निर्वाचन आफ्नो पक्षमा पारेको आरोप लगाएका छन् । निर्वाचनमा केसी अध्यक्षमा विजयी भएका थिए ।
शुक्रबार नै अध्यक्ष कुल आचार्य, बद्री केसी र रविना थापाले विज्ञप्ति जारी गरेर अर्को निर्णय नभएसम्मका लागि शुक्रबार तय भएको सम्पूर्ण कार्यक्रम रद्ध भएको जानकारी दिएका थिए । तर, शनिबार केसी पक्षले कार्यक्रम राखेर शपथ सम्पन्न गरिएको हो ।

शनिबार शपथपछि केसीले निर्वाचन पारदर्शी भएको दाबी गर्दै केही प्राविधिक समस्या उपाध्यक्ष पदको उम्मेदवारको हकमा देखिएको भएपनि त्यसलाई सच्याइसकेको बताए । उनले एनआएनए अभियानमा सबैलाई साथमा लिएर अघि बढ्ने भन्दै आफूले सबै एनआरएनएको वास्तविक एकता गर्नका लागि प्रयास गर्ने पनि बताए । आजै नवनिर्वाचित कार्यसमितिको बैठक पनि केन्द्रीय सचिवालय बालुवाटारमा राखिएको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा बद्री केसी, उपाध्यक्षमा विनोद श्रेष्ठ, हेमराज शर्मा, केशव पौडेल, राजु रेग्मी ९राज०, रामशरण सिम्खडा र रोबिन प्रसाद शेरचन, महासचिवमा गौरीराज जोशी विजयी हुँदा महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा रोशन थापा विजयी भएका छन् ।

यसैगरी उपमहासचिवमा प्रविन गुरुङ र सोम सापकोटा तथा सचिवमा भीम केसी कमल, ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, नवराज रोस्यारा, पारसमणि पोखरेल र स्वतन्त्र प्रताप शाह निर्वाचित भएका छन् । यस्तै महिला सचिवमा राधिका गुरुङ, कोषाध्यक्षमा सुदन कुमार थापा तथा सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सेना, तिलक गैरे र अभिमन्यु बस्नेत निर्वाचित भएका छन् ।

पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दसैँ सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान बढेको हो ।

मुलुकको पुरानो र अति व्यस्त त्रिभुवन विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्ला दिनमा दैनिक दुईतर्फी एक सय १० देखि एकसय १३ उडान–अवतरण भएको विमानस्थल कार्यालयको भनाइ छ ।

विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार दसैँको घटस्थापनायता दैनिक घटस्थापनायता हवाई उडानमार्फत १६ हजारदेखि १७ हजार हवाई यात्रु आवतजावत गरिरहेका छन् । उनका अनुसार गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ एक सय १३ उडान भएका थिए । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान सङ्ख्या हो । गत असोज ३० गते एक सय १० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक एकसय १० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइरहेका छन् ।

“विमानस्थलको उडान इतिहासमा यो सबैभन्दा बढी उडान हो । चाडपर्व र पर्यटकीय सिजनले पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडान चाप बढिरहेको छ”, विमानस्थलका महाप्रबन्धक तिवारीले भने । अन्तर्राष्ट्रिय उडानतर्फ ‘वीन्टर सिजन’का लागि बढी उडानको माग रहेको उहाँले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

विमानस्थल कार्यालयका अनुसार अहिले आन्तरिकतर्फ दुईतर्फी दैनिक तीन दुई सय ७० उडानमार्फत करिब १४ हजार यात्रुले सेवा लिइरहेका छन् । महाप्रबन्धक तिवारीले विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुबै गरी झण्डै पाँच सय उडान भइरहेको बताए । उनले भने, “दैनिक पाँच सय हाराहारी उडान निकै बढी हो, विमानस्थल स्थापनाभएयता हालसम्मकै बढी उडान र यात्रु आवतजावत भइरहेका छन् ।”

विमानस्थल कार्यालयका अनुसार कात्तिक १ गते बुधबार मात्रै आन्तरिकतर्फ १५ हजार बढीले हवाई यात्रा गरेका थिए । उक्त दिन बुद्ध एयरले मात्रै आठ हजार नौ सय यात्रुलाई सेवा दिएको थियो । सो दिन यती एयरलाइन्सले दुई हजार ६ सय ५१, श्री एयरलाइन्सले एक हजार आठ सय ३९ र सौर्य एयरले तीन सय ४० यात्रुलाई सेवा दिएका थिए ।

नेपाल वायुसेवा निगमको आन्तरिक उडानका विभिन्न गन्तव्यमा यात्रु भरिभराउ छन् । दुई थान ट्वीनअटर जहाज मात्रै रहेको निगमको आन्तरिक उडानमा सर्वाधिक माग रहेपनि जहाजको सीमितताले थोरै सङ्ख्यामा देशका दुर्गम भेगमा उडान भइरहेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अहिले आन्तरिकतर्फ देशका विभिन्न १६ गन्तव्यमा दैनिक २२ वटा उडान गर्दै आएको छ ।

कोशीमा साढे ७ हजार प्रहरी परिचालन

दसैँको बेला हुने अपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षाका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशभरि ‘चाडपर्व लक्षित सुरक्षा योजना’ लागू गरेको जनाएको छ । प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले सम्भावित आपराधिक घटना तथा गतिविधिको पूर्व पहिचान गरी त्यसै अनुरूप सुरक्षा रणनीति अपनाइएको बताए । कोशी प्रदेशका सबै जिल्लामा गरेर ७ हजार ५ सय ५६ प्रहरी परिचालन गरिएको उनले बताए । धेरै भीड हुने तथा यात्रुको धेरै आवागमन हुने कोशी प्रदेशको २८ स्थानमा ‘यात्रु सहायता कक्ष’ को स्थापना गरिएको छ । यात्रु सहायता कक्षमा २४ सै घण्टा प्रहरी उपलब्ध हुने बताइएको छ । समस्यामा परेको कुनै पनि यात्रुले प्रहरीको सहयोग लिन सक्ने प्रहरीले जनाएको छ ।

चाडबाडको समयमा बढी मात्रामा चोरी, लुटपाट, आपराधिक क्रियाकलाप, जबरजस्ती चन्दा सङ्कलन, सवारी दुर्घटना, यात्रुलाई हैरानी, यात्रु तथा उपभोक्ता ठगिने, तस्करी जस्ता घटना हुनसक्ने प्रहरीको आङ्कलन छ ।

प्रहरीले सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्त्वपूर्ण प्रतिष्ठान, मठ मन्दिर, गुम्बा रहेको स्थान, वित्तीय संस्था, आर्थिक कारोबार हुने स्थान, यातायात सञ्चालन हुने स्थान, व्यापारिक कारोबार (किनबेच) हुने स्थान, सरकारी कार्यालय तथा अन्य सरकारी सम्पत्ति रहेका स्थान, नाका, होटेल, गेस्ट हाउस तथा रेस्टुरेन्ट, नियमित आपराधिक गतिविधि हुने स्थान, राजमार्ग तथा ग्रामीण बस्ती र भिआइपीको मुभमेन्ट हुने स्थानमा बढी अपराध हुन सक्ने भन्दै सुरक्षा सतर्कता र निगरानी बढाएको जनाएको छ ।

‘गल्लीमा प्रहरीमा नपुग्ने र त्यस्ता ठाउँमा अपराध हुने गरेकाले पैदल गस्तीको व्यवस्था गरिएको र टोलीले मोटरसाइकल, साइकलसमेत जान नसक्ने गल्लीमा गस्ती गर्नेछन्’, डिआइजी बास्तोलाले भने । बर्दीका प्रहरी देखेपछि आपराधिक गतिविधि गर्ने व्यक्ति भाग्न सक्ने भन्दै प्रहरीले सादा पोशाकका प्रहरी पनि उल्लेख्य परिचालन गरेको छ ।

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । चीन भ्रमणको क्रममा हृदयाघात भएका श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अहिले आईसीयूबाट जनरल वार्डमा सारिएको चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले जानकारी दिए । कहिलेसम्म अस्पताल बस्नुपर्छ भन्ने बारेमा उपचारमा संलग्न डाक्टरहरूले केही बताएका छैनन् ।

चीनको बेइजिङमा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसियटिभको सम्मेलनमा सहभागी हुन पुगेका श्रेष्ठलाई हृदयघात भएपछि गत बुधबार इन्टरनेशल मेडिकल साइन्सेस अस्पतालमा भर्ना गरिएको थियो ।

नियमित कार्यक्रम अनुसार मन्त्री श्रेष्ठको शुक्रबार नेपाल फर्कने तालिका थियो । जसमा उनीसँगै गएका टोलीका अन्य सदस्य भने फर्किसकेका छन् ।

दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

सुदूरपश्चिम सरकार र उद्योग वाणिज्य महासङ्घबीच लगानीसम्बन्धी सम्झौता

सुदुरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानी प्रवद्र्धन र बिकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने बिषयमा समझदारी भएको छ । आज महासङ्घमा आयोजित एक कार्यक्रममा सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरे ।

समझदारीअनुसार प्रदेश सरकार र महासङ्घले सुदूरपश्चिम प्रदेशमा लगानी प्रबद्र्धन गर्न र प्रदेशको आर्थिक विकास एवम् समृद्धिमा योगदान पुरयाउन सहकार्य गर्ने प्रतिवद्धता जनाइएको छ । सोही अनुसार प्रदेश सरकार र महासङ्घको संयुक्त आयोजनामा आगामी २०८० साल फागुन २३ र २४ गते सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन आयोजना गरिनेछ । उक्त सम्मेलन सफल पार्न महासङ्घको सम्पूर्ण संयन्त्रले काम गर्ने महासङ्घ अध्यक्ष ढकालले प्रतिवद्धता जनाए ।

अध्यक्ष ढकालले भारत र चीनमा ‘बिजनेस समिट’ आयोजना गरेको र त्यहाँबाट सोधपुछ हुन थालेको अवस्थामा प्रदेशमा पनि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताए । महासङ्घको तेस्रो कार्यकारिणी समिति बैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । सोही सन्दर्भमा सुदुरपश्चिम प्रदेश सरकारसँग पहिलो सम्झौता भएको हो । यसले प्रदेशमा आर्थिक बिकासका लागि सहयोग पुग्ने अध्यक्ष ढकालले बताए ।

कार्यक्रममा सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले महासङ्घसँगको सहकार्यमा निर्धारित लगानी तथा बिकास सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले सम्मेलनका अवसरमा सुदूरपश्चिममा लगानीको आउनेमा विश्वास व्यक्त गरे । सो अवसरमा उनले प्रदेश सरकार लगानी सहजीकरणका लागि सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे ।

सुदुरपश्चिम प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री नरेश शाहीले सुदूरपश्चिममा लगानीको पर्याप्त अवसर भएको तर लगानी आउन नसकेको अवस्थामा प्रदेश सरकारले सहजीकरण गर्ने बताए । आगामी सम्मेलनले पनि यसमा सहयोग पुग्ने उनको भनाइ थियो ।

सल्लाघारीमा च्याङ्ग्रादेखि खसी लिनेसमम्मको भीड

भक्तपुरको सल्लाघारीमा दसैँका लागि च्याङ्ग्रा, बोका, खसी लिनेको भीड लागेको छ । दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौँ, काभ्रपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागेको छ । आज फूलपातीका दिन सवारी साधनमा बलि दिनका लागि बोका लिन आउने र दसैँका लागि आवश्यक मासुका लागि च्याङ्ग्रादेखि खसी लिन आउनेको भीड लागेको छ ।

दसैँका लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य बढेपछि च्याङ्ग्राको बिक्री कम भएको छ । यहाँ चीनबाट ल्याइएको चिनियाँ च्याङ्ग्राभन्दा नेपालका च्याङ्ग्रा प्रतिकिलो रु तीन सय ५० सस्तोमा बिक्री भइरहेको छ । व्यापारी उद्धव खड्काले बझाङबाट ल्याएको नेपाली च्याङ्ग्रा प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको र चिनियाँ च्याङ्ग्रा प्रतिकिलो रु एक हजार तीन सय ५० मा बिक्री भइरहेको जानकारी दिए ।

यो मूल्य गत वर्षको भन्दा केही बढी हो । यहाँका व्यापारीले २०७८ सालमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु आठ सय र २०७९ सालमा प्रतिकिलो रु एक हजार तीन सयमा बिक्री गरेको र यस वर्ष रु एक हजार तीन सय ५० मूल्य राखेर बिक्री गरेका छन् । च्याङ्ग्रा व्यापारी उत्तम खड्गीले मुस्ताङको घारमै च्याङ्ग्रा महँगो तिर्नु परेकाले मूल्य बढेको बताए । उनले भने, “चीनबाट ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा किलोमा नभई प्रतिगोटा रु ३५ हजारदेखि ४० हजारसम्म तिर्नु परेकाले यस वर्ष च्याङ्ग्रा महँगो भएको हो ।”

अर्का व्यापारी रमेश खड्काले मुस्ताङमा चिनियाँ व्यापारीसँग सानो च्याङ्ग्रा प्रतिगोटा रु ३५ हजार र ठूलो च्याङ्ग्रा रु ४० हजारमा खरिद गरेर ल्याएको जानकारी दिँदै किलोमा बिक्री गर्दा महँगो हुन गएको बताए । भेडा भने प्रतिकिलो रु आठ सयमा बिक्री भइरहेको उनले जानकारी दिए ।

अर्का च्याङ्ग्रा व्यापारी कुलबहादुर श्रेष्ठले पशु स्वास्थ्य चिकित्सकबाट भेडाच्याङ्ग्राको परीक्षण गरेर ल्याए पनि बीचबीचमा प्रहरीले दुःख दिने गरेको गुनासो गरे । उनले बाटोमा प्रहरीले विभिन्न बहानामा दुःख दिने, पैसा माग्ने, दसैँ खर्चदेखि मोबाइल रिचार्जसमेत गर्न लगाएको उनले गुनासो गरे ।

अर्का व्यापारी शङ्कर श्रेष्ठले भने प्रहरीले मात्रै नभई पालिकाहरुले समेत व्यापारीलाई दोब्बर कर तिराएर दुःख दिने गरेको सुनाए । श्रेष्ठले भने, “स्वास्थ्य परीक्षण गरेर भेटेरिनरीको बिल ल्याए पनि बीचबीचमा बाटोमा प्रहरीले भेटरिनरीको बिलमा विभिन्न प्रश्न उठाएर दुःख दिने गरेका छन्, भेटरिनरीको बिल काटेको ७२ घण्टापछि किन नल्याएको भन्छन्, रु एक हजारदेखि रु दुई हजारसम्म जरिवानाको नाममा रकम तिर्नु परेको छ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *