मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

कार्तिक १३ गते सोमबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गर्ने देखी एमालेविना कोशी सरकार नचल्ने मुख्यमन्त्री कार्कीको सन्देशसमाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गर्ने

नेकपा (एमाले) ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ । पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको उनले बताए ।

यस्तै, पार्टीका जनसङ्गठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामाी मङ्सिर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए । पार्टीले वडा कमिटीको अधिवेशनसँगै पुनः फागुन र चैत्रमा पार्टी सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने भएको छ । गत साउनमा गरिएको पार्टी सदस्यता अभियान र नवीकरणमा करिब पाँच लाख ५० हजार पार्टी सदस्यता पुगेका छन् ।

केन्द्रीय सङ्गठन विभागबाट प्रमाणीकरण गरिएको नवीकृत सदस्यहरूको सूचीमा रहेका पार्टी सदस्यले मात्र स्थानीय पार्टी अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनेछन् । यस्तै साउनदेखि रोकिएको सदस्यता स्थानान्तरण कार्यलाई पनि खुला गर्ने निर्णय गरेको विभागका सचिव ढुङ्गेलले जानकारी दिए । सदस्यता स्थानान्तरण गर्न चाहने सदस्यले सम्बन्धित जिल्लाको अधिवेशनको मिति नतोकिँदासम्म आफ्नो सदस्यता स्थानान्तरण गर्न पाउनेछन् । यसैगरी, पार्टीले विभिन्न कारणले कारबाहीमा परेकालाई लिखित रुपमा आत्मालोचना गरेको अवस्थामा पार्टी काममा फर्काउने समेत निर्णय गरेको उनले जानकारी दिए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ युएई जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएई जाने भएका छन् । आगामी महिना खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई)को भ्रमणमा जाने भएका छन् । युएईको दुबईमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्क कन्भेन्सन (कोप)का पक्षहरूको २८औँ सम्मेलनमा सहभागी हुन उनी युएई जान लागेका हुन् ।कोप–२८ आगामी मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुँदै छ ।

संघीय सरकारविरुद्ध सर्वोच्च गयो बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकार संघीय सरकारविरुद्ध अदालत गएको छ । शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन खारेजीको माग गर्दै बागमती प्रदेश सरकार सर्वोच्च अदालत पुगेको हो । संघीय संसदबाट पारित भएको सो ऐनमा काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन गर्ने निकाय शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण संघीय सरकार अन्तर्गत राख्ने व्यवस्था रहेको छ । संविधानमा नै यातायात व्यवस्थासम्बन्धी अधिकार प्रदेश सरकारलाई रहेकाले उक्त प्राधिकरण आफू मातहत हुनुपर्ने माग बागमती सरकारले गरेको छ ।

बागमतीका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता गरेका छन् । संविधानसँग बाझिएका ऐन खारेजीको माग राखेर दिएका निवेदनहरु सोझै संवैधानिक इजलासमा सुनुवाइ हुने व्यवस्था छ । आइतबार दर्ता भएको रिट निवेदनको पेशी तोकिएको छैन । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन भ्रमणमा रहेकाले उनी फर्किएपछि मात्र संवैधानिक इजलास सञ्चालन हुने भएको छ ।

बागमती सरकारले राजधानी काठमाडौं लगायत प्रदेशभरका सार्वजनिक यातायात व्यवस्थापन सम्बन्धी अधिकार आफ्नो भएको दावी गर्दै संघीय संसदले आफ्नो क्षेत्राधिकार नाघेर कानुन बनाएको दाबी गरेको छ । रिटमा संघीय संसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कानुन मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण, काठमाडौं र यसका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीलाई विपक्षी बनाइएको छ ।

नागरिक एपमा देखाएको लाइसेन्सलाई मान्यता दिइने

ट्राफिक प्रहरीले चेकिङका क्रममा नागरिक एपमा देखाउने सवारी चालक अनुमति पत्र (लाइसेन्स)लाई मान्यता दिने भएको छ। नागरिक एपको फेसबुक पेजमार्फत् सूचना जारी गर्दै सरकारले अब ट्राफिक चेकिङका क्रममा नागरिक एपमा देखाएको सवारी चालक अनुपति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको जनाएको हो ।

‘आदरणीय सेवाग्राहीहरु, नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ। सूचनामा भनिएको छ, ‘यदि नागरिक एपमा तपाईंको सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस्।’ यो व्यवस्थासँगै ट्राफिक नियम उल्लंघन नगरेको अवस्थामा मोबाइलबाटै देखाइने लाइसेन्सले मान्यता पाउने भएको छ।

गोली लागेका प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु

अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएका रूपेश स्वर्णकारको मृत्यु भएको छ । स्वर्णकारमाथि अज्ञात समूहले सोमबार दिउँसो करिब १ बजे तिर गोली प्रहार गरेको थियो । उनको टाउको र छातिमा गोली लागेको थियो । स्वर्णकार कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् । मिठाई किनेर मोटरसाइकलमा विद्यालय फर्किरहेका बेला स्वर्णकारमाथि कलैया उपमहानगरपालिका— ६ मदर्शा टोलमा दिनदहाडै गोली प्रहार भएको हो । मोटरसाइकलमा सवार तीन जनाको समूहले स्वर्णकारमाथि गोली चलाएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बारा प्रहरीले जनाएको छ ।

उनीमाथि दुई राउन्ड गोली प्रहार भएको छ । प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि वीरगञ्जस्थित मेडिसिटी वयोधा अस्पतालमा लगिएको छ । अस्पतालले स्वर्णकारको मृत्यु भएको पुष्टि गरेको हो । गोली चलाउने व्यक्तिको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

सरकारको आम्दानीको तुलनामा खर्च ५५ अर्ब ६७ करोड बढी

चालू आर्थिक वर्ष २०८०–८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाव्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले २५ अर्ब ७८ करोड ९० लाख बराबर पुँजीगत खर्च गरेको छ । गत असोज मसान्तसम्ममा सरकारी ऋणको साँवाब्याज तिर्न ६७ अर्ब ७० करोड ७१ लाख खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकबाट देखिन्छ ।

यो अवधिमा भएको कुल पुँजीगत खर्चको तुलनामा सरकारी ऋणको साँवाब्याज तिर्न भएको खर्च करिब तीनगुणाले बढी हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको असोज मसान्तसम्मको सरकारी ऋणको विवरणअनुसार यो अवधिसम्ममा आन्तरिक ऋणको साँवा ४२ अर्ब ८४ करोड १७ लाख र ब्याज १३ अर्ब ७१ करोड ५० लाख ब्याज गरी कूल ५६ अर्ब ५५ लाख ६७ लाख बराबर भुक्तानी भएको छ ।

बाह्य ऋणको आठ अर्ब ७० करोड ३६ लाख साँवा र दुई अर्ब ४४ करोड ६८ लाख ब्याज गरी कूल ११ अर्ब १५ करोड चार लाख बराबर भुक्तानी भएको छ । त्यस्तै चालू आर्थिक वर्षको तीन महिना अवधिमा नेपालले ९७ अर्ब ३१ करोड बराबर आन्तरिक र नौ अर्ब ४७ करोड ८० लाख बाह्य गरी कूल एक खर्ब ६ अर्ब ७८ करोड ८० लाख बराबर ऋण लिएको छ । योसँगै नेपालको कूल सार्वजनिक ऋण २३ खर्ब ५४ अर्ब ५९ करोड ५१ लाख पुगेको कार्यालयले जनाएको छ ।

गत असोज मसान्तसम्ममा नेपालले ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख आन्तरिक र ११ खर्ब ७१ अर्ब दुई करोड ३१ लाख बाह्य ऋण तिर्न बाँकी देखिएको हो । सरकारको घाटा बजेटको आँकडा पनि बढ्दै गएको छ । हालसम्म कूल तीन खर्ब तीन अर्ब ६५ करोड ३७ लाख बराबर बजेट खर्च हुँदा राजस्व सङ्कलन भने दुई खर्ब ४८ अर्ब २८ करोड ५० लाख बराबर देखिएको छ । अर्थात् हालसम्म सरकारको आम्दानीको तुलनामा खर्च ५५ अर्ब ६७ करोड बढी छ ।

टी–२० विश्वकप छनौटमा नेपालको विजयी शुरुवात

नेपालले टी–२० विश्वकपको एशिया क्षेत्रको छनौटमा विजयी शुरुवात गरेको छ । आजदेखि शुरु भएको छनौट खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ७४ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले अविजित ३५ रन र कुशल मल्लले अविजित ६ रन बनाए । त्यस्तै ओपनर आसिफ सेख २७ रन बनाएर आउट भएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै सिंगापुरले २० ओभरमा ९ विकेट गुमाउदै १४५ रन बनाएको थियो ।

सिंगापुरका लागि रोहन रंगराजनले सर्बाधिक ४६ रन बनाए भने मनप्रित सिंहले २४, आर्यावीर चौधरीले ३७ रन अक्षय पुरीले १३ बनाएका थिए । सिंगापुरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यसैगरी नेपाली बलर अविनाश बोहोराले ३ विकेट लिए भने सन्दीप लामिछाने, गुलशन झा र करण केसीले २–२ विकेट लिएका थिए ।

अब नेपालले समुह ए अन्तर्गतको अर्को खेलमा मंगलबार मलेसियासँग खेल्ने छ । यो खेल टियु मैदानमा अपराहन्न १ः १५ बजेदेखि शुरु हुदै छ । त्यस्तै सिंगापुरले मंगलबार ओमानको सामना गर्दै छ । यसअघि नेपाल र सिङ्गापुरबीच चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल भएको छ जसमा नेपाल र सिङ्गापुरले समान एक एक जित निकाल्दा दुई खेल वर्षाको कारण रद्द भएको थियो ।प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने अभिनाश बोहरा छन् ।

नआउने भए कतारका राजा नेपाल


कतारका अमिर शेख बिन हमाद अल थानी तत्काल नेपाल नआउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण थानीले नेपाल भ्रमण स्थगित गर्नुपरेको हो । यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई अमिर थानीको भ्रमण स्थगित भएको जानकारी गराएको हो ।

परराष्ट्रले कतारी अमिरको नेपाल भ्रमणको सम्पूर्ण तयारी गरिसकेको थियो । आपसी छलफलपछि मात्रै अब कतारी अमिरको नेपाल भ्रमणको अर्को मिति तय गरिने भएको छ । गत शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तराृष्ट्रिय सम्बन्ध बलियो बन्दै गएकाले कतारका राजा नेपाल आउन लागेको बताएका थिए । त्यसको दुई दिनमै उनको भ्रमण स्थगित भएको छ ।

माला र टोपीमा सजिए गुटेरेस

पोखरा भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन् । नेपाली सेनाको विमानमार्फत आज दिउँसो पोखराको पुरानो विमानस्थलमा ओर्लिएका उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले भव्य स्वागत गरेको हो ।

मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर महासचिव गुटेरेसलाई स्वागत गरेका थिए । उनको स्वागतमा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरू विमानस्थल पुगेका थिए । तिहारको छेकोमा पोखरा भ्रमणमा आएका महासचिव गुटेरेस सयपत्रीको माला र ढाका टोपीमा सजिँदा नेपालीपन झल्केको थियो । खुसी मुद्रामा उहाँले पोखरेलीको न्यानो स्वागत ग्रहण गरेको देखिन्थ्यो । शरदयामको घमाइलो दिन भएकाले प्रकृतिले पनि महासचिव गुटेरेसलाई स्वागत गरे झैँ भान मिल्थ्यो । आज बिहानैदेखि पोखराको मौसम खुलेको थियो ।

महासचिव गुटेरेसको स्वागतार्थ विमानस्थलको बाहिरपट्टी सांस्कृतिक झाँकीसहित मौलिक नाच प्रस्तुत गरिएको थियो । नेवारी समुदायमा प्रचलित तायमचा, जनजाति समुदायको सोरठी, नौमती बाजालगायत मौलिक संस्कृति देखाइएको थियो । परम्परागत वेशभूषामा सजिएका आमा समूह, जनप्रनिधि, पर्यटन व्यवसायीलगायतले महासचिव गुटेरसलाई स्वागत गरेका थिए ।

चारदिने औपचारिक भ्रमणमा क्रममा आइतबार नेपाल आएका उनी आज पोखरा भ्रमणमा आएका हुन् । उनी सोमबार फेवा किनारस्थित होटल फिस्टेलमा बसेका छन् । महासचिव गुटेरेस मङ्गलबार बिहान विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ । त्यहाँ उनले जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे स्थानीयवासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविरबाट फर्केपछि पोखरा विमास्थलमा पत्रकारसँग साक्षात्कार गर्ने कार्यक्रम तय भएको उनको भनाइ छ । महासचिव गुटेरेसको भ्रमणलाई लक्ष्य गरी पोखराको सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । उनी लुम्बिनी भ्रमणका लागि मङ्गलबार बिहान पोखराबाट भैरहवा प्रस्थान गर्ने जनाइएको छ ।

महाचिव गुटेरेसको भ्रमणसँगै पछिल्लो समय पोखरा अतिविशिष्ट विदेशी पाहुनाको भ्रमणस्थलका रूपमा स्थापित हुँदै गएको छ । फ्रान्सका हिमाल आरोही मौरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै अन्नपूर्ण हिमाल र यससँग प्रत्यक्ष जोडिएका पोखरालगायतका गन्तव्यहरूले पर्यटकीय महत्त्व पाएका हुन् ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले गरेको अन्नपूर्ण आधार शिविरको पदयात्रा पछि पोखरालाई आधार बनाएर अन्नपूर्ण, धवलागिरिजस्ता हिमालका पेरिफेरीमा पदयात्रातर्फ पनि आकर्षण बढेको हो ।

सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले पोखराको पर्यटकीय गतिविधि बढेको पाइन्छ । सन् १९८० को दशकदेखि फस्टाउँदै गएको यहाँको पर्यटनलाई समय समयमा हुने गरेका अतिविशिष्ट व्यक्तिको आगमनले यहाँको गरिमा र महिमा अझै चुलिएको हो । इतिहासमा उल्लेख भएअनुसार यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीया र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णनले पनि पोखराको भ्रमण गरेका थिए ।

त्यसयता पोखरामा विसं २०७२ चैतमा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन), त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणदेखि विसं २०७३ कात्तिकमा भएको भारतीय राष्ट्रपति मुखर्जीसम्मका औपचारिक भ्रमणले यहाँको महत्वलाई अझै बढाएको थियो । पोखरामा विसं २०७६ कात्तिकमा बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद फेवातालमा डुङ्गा सयरदेखि हिमाल अवलोकन आदि गतिविधिमा सरिक बनेका थिए ।

पोखरा आएका अतिविशिष्ट व्यक्तिले यस स्थललाई प्रकृतिको वरदान आदि उपमा दिनुले पनि यहाँको विश्वव्यापी प्रवद्र्धन भइरहेको छ । महासचिव गुटेरेसको भ्रमणलाई पोखरेलीले यहाँको विश्वव्यापी पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण अवसरका रुपमा लिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

एमालेविना कोशी सरकार नचल्ने मुख्यमन्त्री कार्कीको सन्देश

कोशी प्रदेशमा देखिएको राजनैतिक द्धोन्द्ध व्यावस्थापनमा कांग्रेसबाट निर्वाचित कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले मुख्य भूमिका खेल्दै आएका छन् । कोशी प्रदेश सरकार संचालनमा बेला–बेला राजनीति दलहरुबीच बढेको द्धोन्द्वनका कारण बेलाबेला मुख्यमन्त्री नियुक्तीमा समस्या बढिरहेको परिस्थितिमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई मध्यावधि निर्वाचन हुनबाट रोके ।

आँफू मुख्यमन्त्री नियुक्ती भएपछि आफ्नो विरुद्धमा राजनैतिक दलहरुले विभिन्न टिप्पनी गरिरहेका बेला कार्कीले कुनै पनि नकरात्मक अवैधानिक प्रणालीमा आँफू नलागेको र प्रदेश सरकार सँचालनमा कुनै पनि अवरोध आउन नदिने बताउँदै आएका छन् । मुख्यमन्त्री पदका लागि सर्वोच्चमा राजनैतिक दलहरुका विरुद्धमा समयसमयमा मुद्धा समेत परिसकेकाले अब आगामी दिनमा दुई राजनैतिक दलहरुले हातेमालो गरेर अघि बढ्नुपर्ने उनले बताएका छन् । केन्द्रीय सत्ता गठबन्धनमा रहेको मुख्य घटक माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट एमालेलाई हटाउन बेलाबेला दबाब दिएपछि मुख्यमन्त्री केदार कार्कीले एमालेलाई कोशी प्रदेश सरकारबाट हटाउन नसकिने बताएका छन् ।

कोशी प्रदेशको अङ्क गणितका आधारमा आफूले एमालेलाई सरकारबाट बाहिर राख्न नसक्ने बताएका छन् । मुख्यमन्त्री र एमालेबीच आज भएको वार्तामा कार्कीले एमालेविनाको सरकार गठन दबाब बढेपछि कोशी प्रदेश सरकार एमालेविना नचल्ने स्पष्ट पारेका हुन् । दुई दलको सहमतीविना कोशी प्रदेश सरकार संचालन हुन नसक्ने भन्दै उनले राजनीति दलहरुबीच बढेको द्धोन्द्ध व्यावस्थापन गर्न एकले अर्कालाई लडाउने प्रवृतिको अन्त्य गर्नुपर्ने बताए ।

कार्की एमालेका ३९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरको आधारमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएपछि काङ्ग्रेस शेखर समूहका नेता कार्कीले एमाले र काङ्ग्रेसबाट मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । कार्कीमाथि केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले एमालेविनाको मन्त्रिपरिषद् विस्तार गर्न निरन्तर दबाब दिँदै आएपनि विगतको इतिहासले सबै कुरा सिकाइसकेको बताउँदै मुख्यमन्त्ती कार्कीले अब सरकार परिवर्तनमा आफ्नो ध्यान नभएको उल्लेख गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *