कार्तिक१४ गते मंगलबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमा संघीय संसद्मा महासचिव गुटेरेसको सम्बोधनदेखी एनआरएनएका अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट सम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
संघीय संसद्मा महासचिव गुटेरेसको सम्बोधन
काठमाडौँ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई मंगलबार सम्बोधन गरेका छन् ।मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै उनले नेपाल सरकार र नेपाली जनतालाई न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गरेका छन् । साथै, संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र भएको गुटेरेसले बताए। उनले आफ्नो सम्बोधनमा पछिल्लो २० वर्षयता नेपालको यात्रा हेर्नलायक रहेको बताए। दिगो विकासका क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको बताउँदै उनले भने, “नेपालको पछिल्लो २० वर्षको यात्रा हेर्नलायक छ ।”
नेपालको लगातार सानदार जित, मलेसिया ६ विकेटले पराजित
नेपाल टी–२० विश्वकप छनौटको सेमिफाइनलमा पुगेको छ ।जारी आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा पाहुना टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो । मलेसियाले दिएको १६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।
नेपालको जितमा कुशल मल्लले अर्धशतकिय पारी खेले । उनले ३४ बलमा २ चौका र ७ छक्काको मद्धतमा ६५ रनको योगदान गरे । राम्रो सुरुवात दिएका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । भुर्तेल २५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाउँदा क्याच आउट भए । शेखले ३२ रनको योगदान गरे ।
कप्तान रोहित पौडेलले २ रन, सन्दीप जोराले १८ रन र विवेक यादवले २ रन बनाए । मलेसियाका लागि मोहम्मद अमिरले तिन विकेट लिँदा पवनदीप सिंहले एक विकेट लिए । यसअघि टियु क्रिकेट मैदानमा टस जितेर सानदार ब्याटिङ थालेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । मलेसियाका लागि ओपनरद्वय सैयद अजिज र जुबैदी जुल्किफ्लेले पहिलो ओभरका लागि ५८ रनको आक्रामक अर्धशतकिय साझेदारी गरे । अजिजले ४८ बलमा ८ चौका र २ छक्काको मद्धतमा ६८ रनको योगदान गरेका छन् । जुल्किफ्लेले २४ रन जोडे ।
कप्तान फयाज अहमदले ३ रन, विरनदीप सिंहले ४ रन, शर्विन मुनिन्दीले १३ रन, ऐनूल हाफिजले ३ रन, मोहम्मद अमिरले ८ रन, विजय उन्नीले १३ रन, स्याजरुल इद्रुसले ७ रन, फित्री शामले ६ रनको योगदान गरे । नेपालका लागि अविनाश बोहराले चार विकेट लिँदा सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले समान एक÷एक विकेट लिए ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । यस प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले समूह चरणको अन्तिम खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा अक्टोबर महिनामा कच्चा तेलको मूल्य प्रति ब्यारल ७.३३ प्रतिशतसम्मले घटेको हो। सेप्टेम्बरमा प्रति ब्यारल ८९.२३ डलर रहेको तेलको मूल्य अक्टोबर ३० मा ८२.३१ डलरमा कारोबार भइरहेको छ। ब्नेन्ट क्रुड आयलको मूल्य ५ प्रतिशतसम्मले गिरावट आएको छ। पछिल्लो एक महिनामा उतारचढाब हुँदै ४.८१ प्रतिशतसम्मले ब्रेन्ट क्रुड आयलको मूल्य अहिले प्रति ब्यारल ८४.०७ डलरमा कारोबार भइरहेको छ। पछिल्लो समय इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको मूल्य घटेर आएको थियो। त्यहीअनुसार निगमले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। बुधबार आइओसीले पठाउने नयाँ मूल्यसूचीअनुसार निगमले तेलको मूल्य तोक्ने छ ।
टीआरसी विद्येकमाथि नेकपा एमालेको चार अडान
प्रमूख प्रतिपक्ष दल नेकपा एमालेले टीआरसी विद्येकमाथि असन्तुष्टि जनाएको छ । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुंगो लगाउन दलहरूसँग उच्चस्तरीय भेटवार्ता गरेसँगै नेकपा एमालेले असन्तुष्टि जनाउँदै आएको छ ।
आइतबार नेपाल आएका महाचिव गुटेरेसले प्रधानमन्त्री प्रचण्डसँगको भेट वार्तामा अन्तराष्ट्रिय मापदण्ड, सर्वोच्चको फैसला र पिडितले न्याय पाउनेगरी संक्रमणकालीन न्याय टुंगो लगाउन आवश्यक सहयोग गर्ने बताएका थिए । तर यस विषयमाथि नेकपा एमालले विभिन्न धारणा सार्वजनिक गरिरहेको छ । नेपालको शान्ति प्रक्रिया टुङ्गो लगाउन अन्य देशको दबाबमा र भरमा पर्न नहुने बताउँदै नेकपा एमालेले गुटेरेसको नेपाल भ्रमणलाई संकाको नजरले हेरिरहेको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक (टीआरसी) दलबीच सहमति नजुटेकाले विचारधीन अवस्थामा रहेको भन्दै एमालेका सचेतक महेश बर्तौलाले शान्ति प्रक्रियाको मुख्य विषय संक्रमणकालीन न्याय टुंगो लगाउने विषयमा स्वतन्त्र रुपमा छानबिन हुनुपर्ने बताएका छन् ।
संसद्को कानुन न्याय तथा मानवअधिकार समितिमा रहेको उक्त विधेयक यसै अधिवेशनमा संसद्मा पेस गरेर पारित गर्ने तयारी भइरहेको बेला महासचिव गुटेरेसले टीआरसी विद्येयक पास गर्न सुझाव दिएका छन् । यस विषयलाई नेकपा एमालेले स्वीकार गर्न नसकिने अभिव्यक्ती दिएको छ ।
नेकपा एमाले ‘यूएनका महासचिव नेपाल आएर पोलिटिकल प्रभाव दिन खोजेको आरोप लगाएको छ । टीआरसी विधेयकपछि सहमति जुटाउन बनेको कानुन न्याय तथा मानवअधिकार उपसमितिका सदस्यसमेत रहेका बर्तौलाले उक्त विषयमा कुनै पनि दल सहमति हुने संभावना नरहेको उल्लेख गरेका छन् ।
गुटेरेसले नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी टुंगो लगाएर राष्ट्रसंघको अगुवाइमा भएको जस लिन खोजेको दाबी गर्दै टीआरसी विद्येक यतिकैमा समापन नहुने बर्तौलाको भनाइ छ । संक्रमणकालीन न्याय टुंगो लगाउने कुरा पीडितलाई न्याय दिलाउनसँग सम्बन्धित रहेको उनले बताए । सरकारले पीडकलाई जोगाउन खोजेको एमालेको आशंका रहेको छ ।
नेकपा एमालेको टीआरसी विधेयकमाथि चार अडान
संक्रमणकालीन न्यायको निरूपण गर्दा पीडितले न्याय पाउने प्रत्याभूत गर्नुपर्ने। पीडकलाई सजाय घटाएर बचाउन खोजेका नेकपा एमालको आरोप छ । पिडितलाई प्रचलित कानुन अनुसार सजाय तोकिनुपर्ने एमालेको अडान छ । गम्भीर मानवअधिकार उल्लंघन घटनाको अभियोजन गर्न पाउनुपर्ने र कारबाहीको दायरामा ल्याउनुपर्ने पक्षमा नेकपा एमाले रहेको छ । यस्तै द्वन्द्वका बेला बालसेनाको प्रयोग भएको विषयलाई कानुन बनाएर निरूपण गर्नुपर्ने पक्षमा एमाले छ। बालसेनालाई क्षतिपूर्ति दिएर उनीहरूको माग सम्बोधन गर्नुपर्ने र आगामी दिनमा त्यस्ता घटनाको विषयलाई लिएर द्वोन्द्व बढ्न नहुने एमालेको तर्क छ । यस्तै हत्याको विषयलाई प्रस्ट रूपमा उल्लेख गरिनुपर्ने एमालेले माग राखेको छ । ‘क्रस फायरबाहेक सबै प्रकारका हत्या गम्भीर मानवअधिकार उल्लंघन भएको छ । चारवटा विषयमा सहमति जुट्नेबित्तिकै टीआरसी विधेयक तत्काल पारित हुने एमालेको माग रहेको छ ।
माओवादी केन्द्रले मंसिर २२ गते काठमाडौंमा जनप्रदर्शन गर्ने
सत्तारूढ दल माओवादी केन्द्रले काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आइतबार बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रतिगमनको विरोध लगायत विषयमा जनप्रदर्शन गर्ने निर्णय गरेको हो । अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको ६ बुँदे सर्कुलरमा बागमती प्रदेश, जवस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा आगामी मंसिर २२ गते सडक प्रर्दशन गर्ने निर्णय भएको उल्लेख छ ।
सर्कुलरमा भनिएको छ, ‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जबस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ ।’
मुलुकको पछिल्लो राजनीतिक अवस्था सम्बन्धमा अध्यक्ष प्रचण्डले गम्भीर चिन्ता व्यक्त गर्दै देशी विदेशी प्रतिगामी शक्तिहरू षडयन्त्रमुलक ढंगले विद्यमान उपलब्धिहरुलाई उल्टयान खोज्ने, अस्थिरता र अराजकता पैदा गराई मुलुकमा संकट निम्त्याउन खोज्ने प्रवृत्तिहरू देखिएको उनले ब्रिफिङ गरेका छन् ।
भारती मान्नधरको मुद्दाको सुनुवाई हेर्दा हेर्दैमा
सर्वोच्च अदालतमा भारती मान्नधरले पेश गरेको मुद्दाको सुनुवाई हेर्दा हेर्दैमा रोकिएको छ । मंगलबार उनको मुद्धामाथि कानुन व्यवसायीहरुले गरेको बहसको अन्त्य नभएकाले मुद्धाको सुनुवाई नभएको हो । आज स्थगित बनेको उक्त मुद्धाको सुनुवाई बुधबार रोकिएको स्थानबाट नै सुरु हुने जनाइएको छ । आफ्नो श्रीमानको हत्यारा रिगल भनिने योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएकोविरुद्ध भारती मानन्धरले सर्वोच्चमा मुद्धा पेस गरेर आँफूले न्याय पाउनुपर्ने माग गर्दै आएकी छिन् ।
अमेरिका र नेपालबीच महत्वपूर्ण साझेदारी भएको छ– विदेशमन्त्री ब्लिङ्केन
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायलमा हमासद्वारा मारिएका दश नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त घटनाको निन्दा गर्नुभएको छ । सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्विपक्षीय वार्ता गर्नुअघि पत्रकारहरुसँग कुरा गर्दै विदेशमन्त्री ब्लिङ्केनले सो इजरायलमा हमासद्वारा भएको हमला आतङ्ककारी घटना हो भन्दै सो घटनाको निन्दा गरेका थिए ।
उनले अमेरिकाको विदेश मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका थिए । यसअघि उनले मन्त्री साउदलाई अमेरिकी विदेश मन्त्रालयमा स्वागत गरेका थिए । अमेरिकाको औपचारिक भ्रमणका क्रममा सोमबार वाशिङ्गटन डिसी आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच सोमबार द्विपक्षीय भेटवार्ता भएको थियो ।
सो भेटपछि यहाँ आयोजित संयुक्त प्रेस ब्रिफिङमा विदेशमन्त्री ब्लिङ्केनले भने, “नेपाल र अमेरिकाबीच विगत लामो समयदेखिको कूटनीतिक सम्बन्धको रहेको छ । अहिले नेपाल इन्डो प्यासिफिकमा महत्वपूर्ण साझेदारका रुपमा रहेको छ । हामीहरु उक्त क्षेत्रको निर्बाध, खुला, सुरक्षित र समृद्ध क्षेत्रका लागि सँगसँगै काम गर्दै पनि आएका छौँ ।” विदेशमन्त्री ब्लिङ्केनले दुई देशबीचको पारस्परिक सम्बन्धलाई स्वतन्त्र, सुरक्षित तथा समृद्ध बनाउनका लागि दुई देशले अर्थपूर्ण रुपमा सहकार्य गर्दै आएको पनि उल्लेख गरे ।
नेपालले क्षेत्रीयस्तरमा मात्र नभई विश्वव्यापी रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै विदेशमन्त्री ब्लिङ्केनले राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा खटिएका शान्ति व्यवस्थापकहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । उनले भने, “विश्वभर द्वन्द्वग्रस्त स्थानमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घमार्फत नेपालको भूमिका महत्वपूर्ण रहेको छ ।” यसैगरी, अमेरिका र नेपालबीच नागरिकस्तरको सम्बन्ध समेतको सहकार्यमा आर्थिक लगानीलगायतका क्षेत्रमा अमेरिका र नेपालले महत्वपूर्ण सहकार्य गर्दै आएको पनि उहाँले सो प्रेस ब्रिफिङमा उल्लेख गरे ।
परराष्ट्रमन्त्री एन पी साउदले प्रत्युत्तर मन्तव्य दिनुहुँदै अमेरिकी विदेशमन्त्रीले नेपाली नागरिकले हालै इजरायलमा ज्यान गुमाउनु परेको घटनामा व्यक्त गर्नुभएको सहानुभूतिका लागि कृतज्ञता ज्ञापन गरे । मन्त्री साउदले भने, “हामीहरुले आतङ्कवादी समूहको आक्रमणबाट दश विद्यार्थीलाई गुमाउनु परेको पीडा छ भने अर्कातर्फ एकजनाको अवस्था अझै अज्ञात रहेको छ । यस्तो अवस्थामा हामीलाई सहानुभूति दर्शाउने सबैप्रति हाम्रो सम्मान छ ।”
साथै परराष्ट्रमन्त्री साउदले अमेरिका नेपालको महत्वपूर्ण विकास साझेदार भएको उल्लेख गर्नु हुँदै अमेरिकाले विभिन्न क्षेत्रमा विशेषगरी पूर्वाधार, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे । मन्त्री साउदले विश्वव्यापी रुपमा उत्पन्न जटिल परिस्थितिका बाबजुद नेपाललाई प्राथमिकतामा राखेर अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले द्विपक्षीय वार्ताका लागि उपलब्ध गराउनुभएको समयका लागि आभार प्रकट गरे ।
मन्त्री साउदले भने, “नेपाललाई अमेरिकी सरकार र अमेरिकी नागरिकले सङ्कटका घडीमा गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”
प्रिन्सिपल सर्राफ हत्या प्रकरण ः ६ जना पक्राउ
बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ (स्वर्णकार) को हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन जना नेपाली र तीन जना भारतीय नागरिक रहेको बाराका प्रहरी प्रवक्तासमेत रहेका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । परस्त्रीसँगको सम्बन्धको कारण सर्राफको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले सर्राफमाथि गोली प्रहार गरेको थियो । घाइते भएका सर्राफको बीरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको थियो । प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
डिल्लीराम खनाल पक्राउ
आफूलाई सामाजिक अभियन्ता बताउने डिल्लीराम खनाल पक्राउ परेका छन् । सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाको उजुरीपछि ४६ वर्षीय खनाललाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए। उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुरमा ७ दिनको समय लिएर अनुसन्धान सुरु भएको ब्युरोले जनाएको छ । खनाल यसअघि पनि कलाकार करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए।
एनआरएनएका अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि कुटपिट भएको हो । संघका अध्यक्ष आरके शर्माले कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको बताए । उनले आफू कुटपिटका बीच उम्किन सफल भएपनि महासचिव बुद्धि सुवेदीमाथि पनि कुटपिट भएको बताए । ‘हामीमाथि युवा सङ्घबाट आक्रमण भएको छ । यो अत्यन्त निन्दनीय छ’, उनले भने ।
घटनापछि संघको कार्यालयमा अहिले प्रहरी पुगिसकेको छ । संघको ११ औँ महाधिवेशनमा बद्री केसी निर्वाचित भएपछि अध्यक्षका प्रत्याशी शर्मा र महेश श्रेष्ठले मतपरिणाम स्वीकार गरेका छैनन् । बद्रीलाई अध्यक्ष अस्वीकार गर्दै शर्माको नेतृत्वमा एनआरएनएको नयाँ कार्यसमिति तय भएको छ ।