
कार्तिक१५ गते बुधबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमा एमालेको चियापानमा सभापति देउवा सहभागी देखी बेलायतका लगानीकर्तालाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रहसम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
एमालेको चियापानमा सभापति देउवा सहभागी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापानमा सहभागी भएका छन्।सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी चियापानमा पुग्नुभएका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र पूर्व प्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष ओलीलगायत नेताहरुले स्वागत गरेका थिए।
यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समावजवादी का सम्माननित नेता झलनाथ खनाल, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा सिका महासचिव नेत्रविक्रम चन्दलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि चियापनमा सहभागी भए।
रिगलको मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने
संविधान दिवसमा कैद सजाय मिनाहा पाएका योगराज उर्फ रिगल ढकालको मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ । कायमुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्धय सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्द घिमिरेले बताए ।
बाँकेका रिगलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमाथि मंगलबार र बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो । पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती शेर्पाले रिगलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएकी हुन् ।
अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेच गर्छौँ ः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र संकटमुक्त भइसके पनि दवावमुक्त हुन नसकेको बताएका छन् । बुधबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र संकटमुक्त भइसके पनि दवावमुक्त हुन नसकेको उल्लेख गर्दै अर्थतन्त्रको दवाव हटाउन राष्ट्रिय गोलमेचको तयारी भैरहेको बताए । उनले अर्थतन्त्रको दवाव हटाउनु सरकारको मुख्य प्राथमिकता भएको समेत बताए ।
‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो। तर, सरकारको मेहेनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छ’ प्रधानमन्त्रीले भने, ‘विदेशी मुद्राको सञ्चिति, राजश्व संकलन र परिचालन, पर्यटक आगमन, बिप्रेषण लगायतका क्षेत्रका सूचक हेर्दा हामी प्रगतितिरै छौं। तर, अर्थतन्त्र अझै पनि दवावमुक्त भइसकेको छैन। अर्थतन्त्रको दवाव हटाउने कुरा हाम्रा लागि सबैभन्दा ठूलो कार्यभार हुन आएको छ।’
उनले भने, ‘सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दवाव हट्दैन भन्ने मलाई राम्रोसँग हेक्का छ। तसर्थ, छिट्टै नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत बैठकको आयोजना गर्छौं। मैले नै त्यसको अध्यक्षता गर्छु। उक्त अन्तरक्रियाको निष्कर्षलाई कार्ययोजनामा ढाल्न विज्ञहरूको टीम बनाएर सोहीबमोजिम नीति र कार्यक्रम बनाउँछौं।’
‘हाम्रो बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग गरेको छैन। परम्परागत ढंगले बनाइने नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न सक्दैन’ प्रधानमन्त्रीले भने, ‘नीति कार्यक्रम पेश गरेपछि संशोधन नै नहुने, बजेट प्रस्तुत भएपछि रातो किताब हेरफेर नै नहुने हाम्रो प्रणाली र तरिका गलत छ। लोकतन्त्रमा सबै प्रस्तावहरूमाथि छलफल हुन्छ, अन्तरक्रिया हुन्छ र संशोधन पनि हुन्छ। तसर्थ, आगामी वर्षको नीति, कार्यक्रम र बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ। पहिला नीति, कार्यक्रम प्रस्तुत गर्ने, त्यसमाथि संसदभित्र र बाहिरसमेत गम्भीर बहस गरेर मात्र संशोधनसहित पारित गर्नुपर्छ। बजेट पनि प्रस्तुत हुनेबित्तिकै हेरफेर नभई पारित हुने पद्धति बदल्नुपर्छ। यसपटक हामी बदल्छौं।’’ प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रका विरूद्ध षड्यन्त्र भइरहेको भन्दै १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्तिहरू एकठाउँ उभिएर त्यसलाई परास्त गरिने बताए।
कर फर्स्योट आयोगले बदनियत राखेर छुट दिएको अदालतको ठहर
विशेष अदालतले कर फर्स्योट आयोगमार्फत कर संकलन गर्नेभन्दा बदनियत राखेर छुट दिने कार्य गरेको पाइएको जनाएको छ। कर फर्स्योट आयोगका तत्कालीन पदाधिकारीहरुले कर संकलन गर्नेभन्दा छुट दिने कार्यमा अग्रसरता देखाउँदै राज्यलाई नोक्सान पु¥याएको ठहर फैसलाको पूर्णपाठमा गरिएको छ।
विशेष अदालतले कर फर्स्योट आयोगमार्फत राजश्व हिनामिना गरेको अभियोगमा कर आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल र आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मालाई दोषी ठहर २०८० असार ५ गते गरेको थियो।
विशेषले उनीहरुसँग कूल ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८ सय ४७ बिगो भराउने ठहर गरेको थियो भने कैद पनि हुने भनेको थियो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले सजाय निर्धारण गर्दै उक्त बिगो तीनै जना प्रतिवादीसँग दामासाही रुपमा भराउने फैसला सुनाएको थियो।
विशेषले महतलाई २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो, बिगोको दोब्बर ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना गर्ने फैसलामा उल्लेख छ। त्यस्तै उनलाई ९ वर्ष १ महिना कैद तोकिएको छ।
त्यस्तै विशेषले ढकाललाई २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो, बिगोको दोब्बर ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना र ९ वर्ष हुने फैसला सुनाएको हो।
त्यस्तै विशेषले चुडामणि शर्मालाई २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो, बिगोको दोब्बर ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना र ९ वर्ष कैद हुने फैसला सुनाएको छ।
विशेष अदालतले जेठ १८ गते उनीहरुलाई दोषी ठहर गरेको थियो। विशेषले शर्मालाई अकुत सम्पत्तिसम्बन्धी मुद्दामा सफाइ दिएको थियो भने कर फर्स्योट दोषी ठहर गरेको थियो।
रक्सी कम्पनीलाई बदनियत राखेर छुट दिइयो
विशेष अदालतको पूर्णपाठमा पाँच रक्सी कम्पनीलाई बदनियत राखेर छुट दिइएको ठहर गरिएको छ।
आफैंले बनाएको कार्यविधि पालना नगरी मनोगत ढंगले कर छुट दिई सम्झौता गरेको, आयोगलाई नेपाल सरकारले दिएको कार्यविवरण र क्षेत्राधिकारभन्दा बाहिर गई कर छुट दिएको, नक्कली बिल–बिजक भएका पार्टीको कर मिनाहा गरेको, कर वापतको साँवा रकमससमेत मिनाहा दिएको पूर्णपाठमा उल्लेख छ।
करदाताले तेस्रो पक्षबाट उठाएको वा उठाउनु पर्ने कर र मूल्य अभिवृद्धि कर, अन्तः शुल्क जस्ता छुट दिनै नमिल्ने करहरु समेत छुट तथा मिनाहा दिने सम्झौता गरेको फैसलामा उल्लेख छ।
करदाताले निवेदनमा मागै नगरेको विषय र अवधिको समेत कर फर्स्योट गरेको देखिएको पूर्णपाठमा उल्लेख छ। पूर्णपाठमा ५ अर्व ७१ करोड ७५ लाख ६६ हजार ४ सय ६९ रुपैया नेपाल सरकारलाई हानि–नोक्सानी भएको पूर्णपाठमा उल्लेख छ।
एमालेको चियापानमा पुगे प्रचण्ड र झलनाथ
दशैं, तिहार, छठ तथा नेपाल संवत्को अवसरमा एमालेले बुधबार आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड च्यासल पुगेका छन् । उनीसँगै माओवादी नेताहरु पम्फा भुसाल, अग्नि सापकोटा सरिक भएका छन् ।
चियापानमा सहभागी हुन पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका एसका सम्मानित नेता झलनाथ खनाल, सचिव रामकुमारी झाँक्री पनि च्यासल पुगेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल भने सहभागी भएनन् । नेपाल र भुसाल पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन रौतहट र रुपन्देहीमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सांसद स्वर्णिम वाग्ले पनि च्यासल पुगेका छन् । यस्तै, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलगायत एमाले मुख्यालय पुगे ।
प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन नेताबीच संक्रमणकालीन न्यायसम्बन्धी टुंगो लगाउनुपर्ने विषयमा कुराकानी भएको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस न्युयोर्क फर्केलगत्तै प्रचण्ड, देउवा र ओलीबीच संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । गुटेरेसले मंगलबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै नेपालको शान्ति प्रक्रियाबारे विश्वले पाठ सिक्नुपर्ने बताएका थिए । उनले बाँकी रहेका शान्ति प्रक्रियाका सम्बन्धमा नेपाल एक्लो नरहेको भन्दै राष्ट्रसंघको साथ रहेको बताएका थिए ।
गुटेरेससँगको भेछवार्तामा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड नै शान्ति प्रक्रियाका बाँकी रहेका विषय टुंगोमा पुर्याउन बाधक रहेको आरोप लगाएपछि प्रचण्डले बुधबार बिहान बोलाएर ओलीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड चालू संसदमै टीआरसी विधेयक पास गर्नुपर्ने पक्षमा छन् । तर एमालेले अझै सहयोग गरिरहेको छैन । उसले सर्वोच्च अदालतको आदेशअनुसार विधेयक तयार पार्नुपर्नेमा जोड दिएको छ ।
एक प्रहरीको मृत्यु
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्प पुगेका एक प्रहरीको मृत्यु भएको छ । गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा अन्नपूर्ण आधार शिविर पुगेका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । गुुटेरेस हेलिकप्टरमा फर्किएपछि पैदल हिँडेर फर्किनेक्रममा हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरामा ल्याइएको थियो ।
तर पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
पेशेबर सुटरद्धारा सर्राफमाथि गोली प्रहार , हत्यामा संलग्न ५ जनाको नाम सार्वजनिक
कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा संलग्न पाँच जनाको नाम प्रहरीले सार्वजनिक गरको छ । रुपेश सर्राफको हत्यमा प्रत्यक्ष रुपमा संलग्न आठ जना रहेको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो कलैया भरतचोक नजिकै निजी विद्यालयका सञ्चालक सर्राफको हत्यामा संलग्न ५ जनालाई बुधबार बारा प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेकोे प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने, भारतमा फरार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफले सर्राफ हत्या प्रकरण एक महिलाको रिसइवीका कारण भएको जनाएका छन् । सर्राफलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको पनि प्रहरीको निष्कर्ष छ । हत्यामा प्रत्यक्ष संलग्नता ८ जनाको भएपनि पाँच जनालाई नियन्त्रणमा लिएको र बाँकीलाई पक्राउ गर्नका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका क्रममा हत्या हुनुको मुख्य कारण महिलासँग सम्बन्ध भएको निष्कर्ष निकालेको छ ।
पुराना ऐनहरु समय सापेक्षित रुपमा सच्चाउन आवश्यक ः मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको विकासका लागि यस सम्बन्धी पुराना ऐन तत्काल संशोधन गर्नुपर्ने बताएका छन् । आज यहाँ नेपाल पर्वतारोहण सङ्घको ५०औँ वार्षिकोत्सव समारोहमा उनले ऐन संशोधनसँगै विदेशी पर्यटकप्रति गर्ने व्यवहारमा सुधार गर्नुपर्ने बताए।
‘हाम्रा ऐनहरु पुराना छन् । ऐनहरु समय सापेक्षित रुपमा सच्चाउनुपर्नेछ’, मन्त्री किरातीले भने, ‘आजै जोगमुनिबाट फोन आएको थियो । विदेशी पर्यटकले एउटा पाँच तारे होटलमा रू २५ हजारको कोठा बुक गर्नुपर्ने हुन्छ । तर २५ हजार भारु भन्दा बढी रकम बोक्न नपाइने प्रावधान भएकाले सो स्थितिप्रति उनीहरुले गुनासो गरे।’ विदेशी पर्यटकलाई जहाजको भाडा दोब्बर गर्दा विश्वमा नकरात्मक सन्देश गएको उनको भनाइ थियो ।
मन्त्री किरातीले ‘फेक रेस्क्यु’ले नकरात्मक सन्देश दिने भन्दै सरकारी, गैरसरकारी र निजी क्षेत्र यस्ता विषयप्रति गम्भीर हुनुपर्नेमा जोड दिए। उनले जलवायु परिवर्तनको असरप्रति ध्यानाकर्षण गराउँदै कतिपय स्थानमा पर्यटकका लागि निषेधित क्षेत्र भएकाले पर्यटनमा असहजता भएको बताए । एडभेन्चर, नेचर र कल्चर नेपाली पर्यटनको मौलिकता हुन् । यसलाई विश्व समुदायमा नयाँ ढङ्गले बजारीकरण (रिब्राण्डीङ) गर्न सके पर्यटनबाट समृद्धि सम्भव छ’, मन्त्री किरातीले भने। उनले सङ्घले हिमाल तथा हिमाली पर्यटन प्रवर्द्धन क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे ।
सङघको ५०औँ स्वर्ण महत्वका अवसरमा सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले सुरक्षित पर्वतारोहण, तत्काल उद्धार र हिमालमा फोहर व्यवस्थापनका लागि सबैको सहकार्यका लागि आह्वान गरे ।
बेलायतका लगानीकर्तालाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायतका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पुँजी खोजिरहेकोले विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपालमा आकर्षक लगानी अवसर रहेको बताए।
नेपालबाट आयात हुने जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयलाई उल्लेख गर्दै ढकालले बढ्दो भारतीय बजारले जलविद्युत आयोजनामा लगानीको थप अवसर आएको तर्फ ध्यानाकर्षण गराए। बंगलादेशको सुदृढ अर्थतन्त्रले ऊर्जा माग बढ्दा नेपालको जलविद्युतका लागि थप बजार सृजना भएको पनि उनले उल्लेख गरे ।
दुई ठूला आकर्षक ऊर्जा बजार लक्षित नेपालको जलविद्युतमा लगानी र सहकार्यका लागि बेलायती लगानीकर्ताहरूका साथै बहुपक्षीय र द्विपक्षीय विकास साझेदारहरूलाई उनले विशेष आमन्त्रणसमेत गरे । नेपाल बेलायती पर्यटकका लागि पहिलेदेखि नै लोकप्रिय गन्तव्य रहेको उल्लेख गर्दै ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न तयार र उत्साहित रहेको बताए । बढ्दो पर्यटन बजारका लागि केबलकार, रिसोर्ट, थिम पार्क, हिल स्टेसन र स्तरीय होटेल जस्ता पर्यटन पूर्वाधारमा लगानीको ठूलो सम्भावना रहेको उनको भनाइ थियो ।
बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा गरेको लगानीबाट उच्च प्रतिफल प्राप्त गरिरहेकाले उत्पादन, कृषि प्रशोधन, आइसिटीसहित अन्य क्षेत्रमा लगानी बढाउन पनि ढकालले आग्रह गरे। बेलायतस्थित नेपाली दूतावासको पहलमा आयोजित लगानी सम्मेलनमा, नेपालका अर्थमन्त्री डा.प्रकाशशरण महतसहित बेलायतको अन्तर्राष्ट्रिय लगानी निकायका उच्च अधिकारीहरू तथा बेलायती निजी लगानीकर्ताहरूले भाग लिएका थिए ।