मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

कार्तिक १६ गते बिहिबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहिबार तयार पारिएको मुख्य १० समाचारमा सर्वोच्चको परमादेशलगत्तै पक्राउ परे रिगल देखी ६३५ मेगावाटको दूधकोशी आयोजनामा एडिबीले लगानी गर्ने सम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार

सर्वाेच्चको परमादेशलगत्तै पक्राउ परे रिगल

सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले बतायो । सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको थियो । आदेश लगत्तै खोजी थालेको प्रहरीले रिगललाई पक्राउ गरेको हो । रिगल संविधान दिवसको अवसरमा बाँकी कैद माफी पाएर ४ भदौमा छुटेका थिए । सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई सरकारले दिएको कैद माफी उल्टाइदिएपछि अब उनले बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गर्नुपर्नेछ ।

अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयमा आर्थिक वर्ष २०७४÷७५ र २०७५÷०७६ मा वडा नं. ४ को वडा कार्यालयमा तीन जना वडा सचिवहरु मोहनप्रसाद आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठले सामाजिक सुरक्षा भत्ता वितरणमा हिनामिना गरेको देखिएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ को पहिलो चौमासिक किस्तामा उक्त वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा जम्मा नौ जनाको नाममा लाभग्राही नै नहुँदा समेत निजहरुको नाम देखाई ५५ हजार दुई सय रुपियाँ हिनामिना गरेको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, नारदप्रसाद खतिवडा, रत्नकुमारी अधिकारी, बलबहादुर अधिकारी, चन्द्रकला अधिकारी, सीता विक, हीराकुमारी दमाई, दुर्गामाया विक., सावित्रादेवी घिमिरेको ‘ज्येष्ठ नागरिक भत्ता’, गङ्गामाया राई, जानुका भट्टराई÷जमुना भट्टराई, डाँगी सार्कीको ‘विधवा भत्ता’, अनिल नेपाली, अनिल लम्साल, ओमिसा परियार, विपिन गदालको ‘बालबालिका दलित भत्ता’ मा रकम हिनामिना भएको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

१ फागुनमा बिदा दिने प्रस्ताव पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा बिदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताउँदै सो चुनौती दिएका हुन् ।

माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिन आग्रह गर्दै उनले यदी बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताउँदै पारित गरेर देखाउन चुनौतीसमेत दिएका हुन् ।
कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा लम्साल नियुक्त नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साललाई नियुक्त गरिएको छ । संसदीय दलका नेता बहादुरसिं लामाले गत असोज १ गते संसदीय दलको सचेतकमा लम्साललाई नियुक्त गरेका हुन् । लम्साललाई सचेतकमा असोजमा नियुक्त गरिए पनि सार्वजनिक भए गरिएको थिएन । नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा (१) बमोजिम बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो । लम्साल २०७९ मङ्सिरमा भएको निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् ।

बारम्बार संसद् बैठक स्थगित नगर्न सभामुखलाई रमेश लेखकको आग्रह

नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले निरन्तर रूपमा संसद् अवरुद्ध हुँदा संसदीय व्यावस्था नै कम्जोर हुने भएकाले बारम्बार संसद बैठक स्थगित गर्न नहुने बताएका छन् । बिहिबार प्रतिनिधिस सभा बैठमा बोल्दै उनले यस्तो बताएका हुन् । बारम्बार सुचना टाँस गरेर संसद बैठक स्थगित हुँदा संसदीय व्यावस्था प्रणालीमाथि प्रश्न उठ्न सक्ने भन्दै उनले बारम्बार सुचना टाँस गरेर संसद बैठक स्थिगित गर्न नहुने बताएका हुन् । प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले वैशाख २४ गतेदेखि सुरु भएको बर्खे अधिवेशन ७ महिना चल्दा ११ पटक सूचना टाँस गरेर स्थगित भएको र विभिन्न कारणले पटक पटक अवरोध भएको उल्लेख गरे ।

ृउनले संसदमा विभिन्न विचार भावहरूको टकराब हुनु स्वाभाविक भएकाले आफ्ना दृष्टिकोणहरूलाई जनताका सामु लैजानका लागि सदनका मार्फत ध्यानाकर्षण गराउने कुरा जाहेज भएको बताएका छन् । उनले भने,‘यो संसदीय अभ्यासमा जायज हुन्छ तर लामो समयसम्म निरन्तर रुपले पटक–पटक यदी सदन अवरोध हुन थाल्यो भने यसले सदनको प्रभावकारितालाई कमजोर गर्छ । संसद्को प्रभावकारिता कमजोर भयो भने सरकारको मात्रै हैन यो व्यवस्था नै कमजोर भयो कि भन्ने सन्देशको सम्प्रेषण हुन्छ । त्यसले यो व्यवस्थाका विरुद्धमा जुन प्रायोजित विचारहरू आइरहेका छन्, जुन भाष्यहरू निर्माण भइरहेका छन्, त्यसले स्वाभाविक रूपमा बल पुग्दछ ।’

संसदमा देखिएको समस्या ममाधानका लागि संसदमै छलफल गरेर टुंग्याउनुपर्ने र आगामी दिनमा यसरी बारम्बार संसद बैठक स्थगित नगर्न समेत सभामुख घिमिरेलाई उनले आग्रह गरे । संविधान जारी भएको ८ वर्षसम्म पनि केही महत्वपूर्ण कानुन निर्माण गर्न नसक्नु दुःखको कुरा भएको उनले बताए । अहिलेसम्म मौलिक हकसम्बन्धि केही कानुन निर्माण हुन नसकेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्ड भन्छन– कुनै पनि शक्तिले देउवा र मलाई दुई ठाउँमा पार्ने देख्दिनँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँचै वर्ष टिक्ने र तत्काल सरकार नढल्ने दाबी गरेका छन् । बुधबार राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा उनले सत्ता गठबन्धनमा राम्रो समझदारी रहेको उल्लेख गर्दै यही गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरे ।

‘गठबन्धनमा राम्रो समझदारी छ । देउवाजीसँग सबभन्दा भरपर्दो सम्बन्ध छ। यो गठबन्धन टुट्दैन भन्नेमा मलाई शतप्रतिशत विश्वास छ । उहाँ सरकार ढाल्न लाग्नुहुन्न । अहिले एमाले र कांग्रेस मिल्न सम्भव नै छैन । यो कुरामा देउवाजीसँग गहिरो छलफल भएको छ । कुनै पनि शक्तिले देउवाजी र मलाई दुई ठाउँमा पार्ने देख्दिनँ । उपेन्द्र यादवजीको कुरा सामान्य हो । सबैले आफ्नो पार्टी चलाउनुपर्छ । यो गठबन्धन, अहिले जसरी बजारमा हल्ला छ, त्यस्तो हुँदैन,’ उनले भने ।

यसअघि कतिपय नेताहरुले सार्वजनिक रुपमै आफू नेतृत्वको सरकारले वैशाख टेक्न नपाउने भनेर बोलेको कुरा स्मरण गराउँदै उनले सरकारबारे यस्ताखाले हल्ला आउनु सामान्य भएको बताए । ‘मलाई साथीहरुले भन्ने गर्दथे, तैंले वैशाख देख्दैनस् भनेर । अहिले त कांग्रेससँग मिलेर प्रधानमन्त्री भए पनि बैशाख कट्दैन भन्थे । पछि वैशाख कट्यो, अनि तिनीहरुले दसैं कट्दैन भन्थे, त्यो पनि कट्यो । यो सबै हावा भनाइ हो । मैले प्रतिपक्षीलाई पनि विश्वासमा लिएर जान बल गरिरहेको छु,’ ले भने ।

प्रचण्डले एमालेलाई सरकारमा सहभागी गराउनेभन्दा पनि विधेयकहरु टुंगो लगाउन सबैलाई विश्वासमा लिएर जान खोजेको स्पष्ट पारे । ‘एमालेसँग पनि म दूरी बढाउने पक्षमा छैन । म एमालेको बारेमा यत्ति पनि भन्ने पक्षमा होइन,’ उनले भने । उनले एमाले र माओवादीबीच तत्काल एकता सम्भव नरहेको स्पष्ट पारे ।

कांग्रेस नेता शेखर कोइरालासँग पनि आफ्नो राम्रो सम्बन्ध रहेको उनको भनाइ छ । ‘शेखरजीसँग लगातार कुरा भइराखेको छ । कोशी प्रदेशको सन्दर्भमा त कुरा मात्रै होइन, लिखित सहमति गरेका छौं । कोशीको घटना अन्त विस्तार हुँदैन । कोशीमा पनि सरकार गठबन्धनकै हुन्छ,’ उनले भने ।

गत पुसमा आफू किन र कसरी कांग्रेसबाट एमाले गठबन्धनमा पुग्न विवश भएँ भन्ने कुरा पनि प्रचण्डले खोलेका छन् । ‘हामी यही गठबन्धनबाट स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन लडेको हो । सरकार बनाउने विषयमा देउवा र म बीच समझदारी भएको थियो । पछि देउवालाई अप्ठ्यारो परेपछि छोड्न तयार भएको व्यक्ति हुँ ।

अहिले यो कुरा सभापति देउवाजीलाई राम्रो थाहा छ । म एउटा नैतिक अप्ठ्यारोमा के मा परें भने सभापतिजीसँग पनि सल्लाह गरेर, मेरो मृत्युशैययामा भएको श्रमती सितालाई पनि भनें हाम्रो सहमति भयो । म अब तेस्रोपटक प्रधानमन्त्री भएर बालुवाटार जाँदैछु । मैले मृत्युशैय्यामा भएको, डेथ बेडमा भएको श्रीमती, त्यतिवेलासम्म उनले सबै थाहा पाउने हुन्थ्यो ।

बढो उत्साही भइनँ । मैले केही समय भए पनि उनको मनोबल अलिक बढ्ला र अलिक केही समय बाँच्लिन भन्ने थियो । त्यो नभनेको भए मलाई देउवाजीलाई प्रधानमन्त्री बनाउन केही आपत्ति हुने थिएन । यही रियालिटी हो,’ उनले भने, ‘ठीक त्यो बेलामा ओलीजीले फेरि आउनुहोस, तपाईं आउनुहोस् प्रधानमन्त्री बनाउन सहमत छौं भनिसकेपछि मैले श्रीमतीलाई दिएको वचन पूरा गर्न म उता गएँ ।

त्यही पनि २ बजेसम्म खुमलटारबाट तीनकुनेसम्म आइपुग्दा म देउवाजीकहाँ जाने मनशायमा थिएँ । मैले सदनमा केपीजीलाई धन्यवाद भनेको छु । तर, हाम्रो मतभेद टुंगियो भनेको थिइनँ ।’

सरकारी कार्यालय आजदेखि दिउँसो ४ बजे नै बन्द हुने

आज कात्तिक १६ गते (बिहीबार) देखि सरकारी कार्यालयहरुको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोकेको छ ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ । आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे नै बन्द हुने छन् । अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म सञ्चानल हुँदै आएका छन् ।

भारतीले तोडिन् अनशन

सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’ लाई दिइएको आममाफी बदर गरेपछि निवेदक भारती शेर्पाले अनसन तोडेकी छिन्।

न्याय माग्दै महिनौंदेखि काठमाडौं बसिरहेकी उनले मुद्दा जितेकी छिन्। भारती बिहीबार फैसला सुनेसँगै अदालतमै बेहोस भएकी थिइन्। उनलाई वीर अस्पताल लगिएको थियो। उनले वीर अस्पतालमै जुस पिएर अनसन तोडेकी हुन्।

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णय बदर गर्ने आदेश दिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाएको हो। संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

दूषित पानी उत्पादन गर्ने खानेपानी उद्योगप्रति भ्याली बोर्ड आक्रामक, एउटा उद्योग सिल

दूषित पानी उत्पादन तथा बिक्री वितरण गर्ने खानेपानी उद्योगप्रति काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्डं) आक्रामक ढंगले प्रस्तुत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र भ्याली बोर्डको टोलीले बुधबार टोखा नगरपालिका–३ चक्खुस्थित मापदण्डविपरीत सञ्चालित एक खानेपानी उद्योग सिल गरेको छ । भ्याली बोर्ड खानेपानीको नियामक निकाय हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक पद्मराज भुसालका अनुसार उद्योगको भौतिक, पूर्वाधार प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिकाविपरीत रहेका कारण सिलछाप गरी उत्पादन कक्ष बन्द गरिएको छ ।

सेवा प्रदायकको दर्ता प्रमाणपत्र र सञ्चालक फेला नपरेको, तर उद्योग परिसरभित्र ‘कञ्चनजङ्घा नेचुरल स्प्रिङ मिनरल वाटर इन्डस्ट्रीज’ लेखेको स्टिकर, जार भर्ने धारामा कपडा लगाएको, कार्यालय कक्षको भित्तामा नेपाल बोटल वाटर उद्योग संघले मेरिना कायस्थलाई सहकोषाध्यक्षको प्रमाण पत्र दिएको प्रमाणपत्रलगायत प्रमाण फेला परेको उनले बताए ।

टोलीले बुधबार नै आक्वा मिनरल्स नेपाल प्रालि र ग्राण्ड खानेपानी सेवा प्राइभेट लिमिटेडको पनि अनुगमन गरेको छ । खानेपानी गुणस्तरका पारामिटरमध्ये केही परीक्षण गरिएका थप विवरण आउन बाँकी रहेको भ्याली बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिए ।

६३५ मेगावाटको दूधकोशी आयोजनामा एडिबीले लगानी गर्ने

जलाशययुक्त आयोजनाका रुपमा परिचित दूधकोशीमा एसियाली विकास बैंक(एडिबी)ले लगानी गर्ने प्रतिबद्धता जनाएको छ । सो आयोजनाको क्षमता कूल छ सय ३५ मेगावाट रहेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडिबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।

टोलीले आयोजनाको जलाशय क्षेत्र र विद्युत्गृहस्थलको निरीक्षण गर्दै बाँधस्थल खोटाङको रबुवा बजारमा स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको थियो । कार्यक्रममा महानिर्देशक सुब्रमण्यमले आयोजना अगाडि बढाउन उच्च तहबाट भएको यो करिब–करिब अन्तिम निरीक्षण भएको भन्दै एडिबीको नेतृत्वमा जतिसक्दो छिटो वित्तीय व्यवस्थापन गर्न लागिएको बताए । आयोजनालाई स्थानीय बासिन्दाबाट स्वीकार्ययता रहेको उल्लेख गर्दै ३८ वर्षदेखि चर्चामा रहेका आयोजनाको प्राविधिक, वातावरणीय र सामाजिक पक्षलाई जति सक्दो छिटो टुङ्गो लगाएर निर्माणमा लैजानुपर्ने बताए ।

आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर (करिब रु दुई खर्ब २५ अर्ब ) रहेको छ । यसमध्ये ऋणबाट एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी स्वपुँजीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ । एडिबीको नेतृत्वमा विभिन्न अन्तर्राष्टिय वित्तीय संस्थाबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुने छ । यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ ।

एडिबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले निर्णय प्रक्रियालाई तीव्रता दिन लगनशीलताका साथ काम गरिरहेको र नेपाल सरकारसँग बारम्बार वार्तामा संलग्न रहेको बताए । उनले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना एक ‘मेगाप्रोजेक्ट’ र सार्क क्षेत्रको अहिलेसम्मको सबैभन्दा ठूलो बाँध आयोजना भएको भन्दै स्थानीय समुदायमा धैर्यता राख्न आग्रह गरे ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा लम्साल नियुक्त

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साललाई नियुक्त गरिएको छ । संसदीय दलका नेता बहादुरसिं लामाले गत असोज १ गते संसदीय दलको सचेतकमा लम्साललाई नियुक्त गरेका हुन् ।

लम्साललाई सचेतकमा असोजमा नियुक्त गरिए पनि सार्वजनिक भए गरिएको थिएन । नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा ९१० बमोजिम बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।

लम्साल २०७९ मङ्सिरमा भएको निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ ९१० बाट निर्वाचित सांसद हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *