
कार्तिक १७ गते शुक्रबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । शुक्रबार तयार पारिएको मुख्य १० समाचारमा कोशीमा मुख्यमन्त्ती कार्कीले गरे मन्त्रिपरिषद विस्तार, दुई मन्त्तीले लिए सपथदेखी चिनीको कृत्रिम अभाव गरिएको थाहा भए १०० मा फोन गर्न प्रहरीको आग्रह सम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
कोशीमा मुख्यमन्त्ती कार्कीले गरे मन्त्रिपरिषद विस्तार, दुई मन्त्तीले लिए सपथ
कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्ती कार्कीले कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एक÷ एक जना मन्त्ती नियुक्ती गरेका छन् । मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई शुक्रबार साँझ मन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त दुवै मन्त्रीलाई शुक्रबार नै पद तथा गोपनियताको शपथ गराएका छन् । नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।कार्कीले सहमतीय सरकार बनाउन भन्दै माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराए पनि एमाले असन्तुष्ट बन्दै सरकारबाट बाहिरीने जनाउन थालेको छ
मुगुमा मारिएका सबैको दाहसंस्कार
काठमाडौं । छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा मारिएका सबैको दाहसंस्कार गरिएको छ । घटना भएको आठ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको आज दाहसंस्कार गरिएको हो । हत्याको कारण पत्ता नलागेको भन्दै मृतकका आफन्त दीपक बोहोराले शव बुझ्न नमानेपछि दाहसंस्कारमा ढिलाई भएको थियो । यही कात्तिक ८ गते राति २८ वर्षीया आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोरा मारिएका थिए ।
रिगल बाँके कारागार चलान
सर्वोच्चले कैद माफी बदर गरेलगत्तै बाँके प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा रहेका रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालतको आदेश लिएर बाँके कारागार चलान गरिएको छ । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु विक चोकबाट पक्राउ गरेको थियो । प्रहरीले जिल्ला अदालतको आदेशपछि रिगललाई बाँके कारागार चलान गरेको हो । विहिबार सर्वोच्चको पूर्ण इजलासले रिगलको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गरेर भुक्तान गर्न बाँकी रहेको ११ बर्ष ११ महिना ५ दिनको सजाय पुरा गराउन परमादेश दिएको थियो ।
युएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट
नेपाल युएईलाई हराउँदै टी–२० विश्वकपमा छनोट भएको छ । शुक्रबार मूलपानीमा भएको खेलमा नेपालले युएईलाई आठ विकेटले पराजित गरेको हो । नेपालको जितमा आसिफ शेख नायक बने । उनले उनले ५१ बलमा ६४ रन बनाए । कप्तान रोहित पौडेलले २० बलमा ३५ रन बनाए । नेपाल र ओमानबीच फाइनल खेल हुनेछ । यसअघि युएईले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन बनाएको थियो । एशिया क्षेत्रको छनौटमा नेपाल र ओमान फाइनलमा पुगेसँगै विश्वकपमा छनौट भएका छन् ।
योसँगै वेस्टइन्डिज र अमेरिकामा हुने २०२४ को विश्वकपमा खेल्ने १८ देशको टुंगो लागेको छ । आयोजकको हिसाबले अमेरिका र वेस्टइण्डिज स्वतः छनौट भएका छन् भने अघिल्लो विश्वकप खेलेका अस्ट्रेलिया, इङल्याण्ड, भारत, पाकिस्तान, नेदरल्याण्डस, न्यूजील्याण्ड, दक्षिण अफ्रिका र श्रीलंका गरी ८ देश स्वतः छनौट भएका छन् । त्यसैगरी टी–२० वरियताको आधारमा अफगानिस्तान र बंगलादेश पनि स्वतः छनौट भएका छन् । त्यस्तै युरोपको क्वालिफायरबाट आयरल्याण्ड र स्कटल्याण्ड छनौट भएका छन् भने इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट पीएनजी र अमेरिका क्वालिफायरबाट क्यानडा विश्वकपका लागि छनौट भएका छन् । त्यस्तै एशिया कवालिफायरबाट ओमान र नेपाल छनौट भएका छन् । अब अफ्रीका क्वालिफायरबाट २ देश छनौट हुन बाँकी छ । टी–२० विश्वकप २०२४ को जुन ४ देखि ३० जुनसम्म अमेरिका र वेस्टइन्डिजमा हुदै छ ।
डेढ वर्षमै सबै सरकारी ऋण तिर्दै आयल निगम
नेपाल आयल निगमले डेढ वर्षभित्रै सरकारबाट लिएको सबै ऋण तिर्ने भएको छ । निगमले पाँच वर्षमा १० किस्ताका दरले भुक्तानी गर्ने सर्तमा सरकारबाट सात अर्ब ऋण लिएको थियो । निगमले ०७९ जेठमा सरकारबाट ३ प्रतिशत सहुलियत ब्याजदरमा सात अर्ब ऋण लिएको थियो । सो ऋण रकम प्रति किस्ता ७० करोडका दरले पाँच वर्षमा भुक्तानी गर्ने सर्त राखिएको थियो । निगमले कात्तिक १३ मा एक अर्ब ४० करोड सरकारलाई बुझाइसकेको छ । सो रकम बुझाएपछि सरकारलाई तिर्नुपर्ने ऋण दायित्व ७० करोडमा झरेको छ ।
निगमले एक महिनाअघि असोज पहिलो साता पनि सरकारी ऋणबापतको एक अर्ब ४० करोड भुक्तानी गरेको थियो । त्यतिवेला साउन र भदौमा आर्जन गरेको नाफा रकम एक अर्ब २७ करोड र मूल्य अभिवृद्धि कर (भ्याट) बापत जम्मा भएको १५ करोड रुपैयाँसमेत सरकारी ऋण तिर्न प्रयोग गरिएको थियो ।
निगमले गत असारमा सबैभन्दा धेरै दुई अर्ब ८० करोड सरकारी ऋण चुक्ता गरेको थियो भने ऋण लिएको सात महिना ०७९ पुसमा पहिलो किस्ताबापत ७० करोड रुपैयाँ तिरेको थियो । १० किस्तामा तिर्नुपर्ने सर्त राखिएको ऋण निगमले बढीमा पाँच किस्तामा र डेढ वर्षभित्रै सक्ने लक्ष्य राखेको छ ।
निगमले गत असार ३१ देखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ थपघट भएअनुसार नेपाली बजारमा मूल्य समायोजन गर्न थालेदेखि नियमित नाफासमेत राख्दै आएको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्ने क्रममा निगमले पेट्रोलमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा राख्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउसमेत सामान्य दरमा घटेका कारण निगमले दुईपटक मूल्य घटाइसकेको छ ।
आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ऋण मुक्त भएपछि निगमले राख्दै आएको नाफाको दरसमेत घटाएर उपभोक्तालाई लाभ दिने बताए का छन् । उपभोक्तामैत्री कारोबार र दायित्व भुक्तानीलाई सँगसँगै अघि बढाइरहेको उनको भनाइ छ । सरकारी ऋणबाहेक निगमले गत आर्थिक वर्ष ०७९–८० मा आइओसीको २४ अर्ब बक्यौता तिरिसकेको छ ।
कांग्रेस एक ढिक्का भएर अघि बढेको छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताएका छन् । नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा पहिलाजस्तो गुनासो नभएको भन्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने उल्लेख गरे ।
सभापति देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुने धारणा राखे । नेपालको संविधानको कार्यान्वयन र सङ्घीयताको विषयमा छिटफुट गुनासालाई हामीले स्वभाविक मानेका छौँ”, सभापति देउवाले भने, “वर्तमान संविधान पूर्ण कार्यान्वयनमा जान्छ त्यसमा कुनै शङ्का गर्न पर्दैन । नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको कार्यान्वयनमा आएका केही समस्या हामी समाधान गरेर अगाडि बढ्छौँ ।”
देउवाले नेपाली कांग्रेस पुनः सङ्गठित र थप मजुबद हुँदै जिल्ला सम्मेलन आयोजना गर्नु सुखद् पक्ष रहेको बताए । नेपाली कांग्रेसले वडादेखि जिल्ला सम्मेलनमार्फत कांग्रेस थप मजबुद हुने बताउँदै जिल्ला सम्मेलन आयोजना गर्ने बागलुङ कांग्रेसलाई धन्यवाद दिए ।
उनले पछिल्लो समय बागलुङमा मात्रै नभएर देशभर कांग्रेसप्रतिको जनलहर बढिरहेको दाबी गरे । नेपाली कांग्रेस विकास र समृद्धिको पक्षमा सदैव रहने बताउँदै राजनीतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुने बताए । देउवाले बागलुङमा नेपाली कांग्रेसले स्थानीय तह र प्रदेशसभामा पाएको सिटको खुलेर प्रशंसा गरेका थिए ।
सो अवसरमा सभापति देउवाले सहिद परिवार तथा ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए । जिल्ला सम्मेलनमा दुई हजार नेता तथा कार्यकर्ता सहभागी थिए । सो अवसरमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको बताए ।
कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नु पर्ने भन्दै नेताहरु पनि उत्तरदायी र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । सो अवसरमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको असल कार्यान्वयनमा अझै पनि केही समस्या रहेको बताए । पूर्वगृहमन्त्री समेत रहेका सिटौलाले मुलुक सङ्घीय संरचनामा गइसकेपछि प्रदेश र स्थानीय तहले केन्द्रीय सरकारकै मुख ताक्नुपर्ने अवस्था आउन नहुने धारणा राखे ।संविधानले परिकल्पना गरेको सङ्घीयता संरचनाअनुसार स्वायत्त स्थानीय तह बनाउन कांग्रेसले निर्णायक भूमिका खेल्नु पर्छ”, उनले भने । नेता सिटौलाले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यकता रहेको समेत बताए ।
रामेछापमा दुई पाइलटबीच कुटाकुट,लाइसेन्स निलम्बन
रामेछापको मन्थलीस्थित विमानस्थलभित्र एकआपसमा कुटाकुट गर्ने २ पाइलटको लाइसेन्स निलम्बन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले झगडा गर्ने पाइलटहरु क्याप्टेन सन्तोष साह र सञ्जिव श्रेष्ठको लाइसेन्स निलम्बन गरेको हो ।प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि उनीहरु दूबै जनाको लाइसेन्स निलम्बन गरिएको छ । क्यानले छानबिन पनि सुरु गरेको उनको भनाई छ । पूर्ण छानबिनले उनीहरुको लाइसेन्स नै रद्द समेत गर्न सक्नेछ । शुक्रबार बिहान तारा एयरका दुई क्याप्टेन सन्तोष साह र सञ्जिव श्रेष्ठबीच विमानस्थलभित्रै कुटाकुट भएको थियो ।
दिल्लीको हावामा धुलो र धुवाँ मात्रै, दुई दिनसम्म बिद्यालय बन्द
देशको राजधानी दिल्लीको हावा लगातार खराब हुँदै गइरहेको छ । दिल्लीका धेरै क्षेत्रमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४२२ पुगेको छ। जनता विषाक्त हावामा सास फेर्न बाध्य छन् । अवस्था यस्तो छ कि अहिले डाक्टरहरुले पनि प्रदूषणबाट बच्न सल्लाह दिन थालेका छन् । विशेषगरी बालबालिका, बृद्धबृद्धा र बिरामीहरुलाई बढी सजग रहन अपिल गरिएको छ ।
विगत केही दिनदेखि दिल्लीको एयर क्वालिटी इन्डेक्स लगातार खराब श्रेणीमा रेकर्ड भइरहेको थियो तर अहिले स्थिति थप खराब भएको छ। जताततै धुवाँ छ । बिहीबार राजधानीका धेरै क्षेत्रमा वायु गुणस्तर सूचक (एक्यूआई) ४ सयको स्तर नाघेर गम्भीर श्रेणीमा पुगेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार एक्यूआई ४ बजे ३९२ मा रेकर्ड गरिएको थियो भने यो संख्या एक घण्टा पछि गम्भीर श्रेणीमा आयो, त्यसपछि यो संख्या १० बजे सम्म ४२२ मा पुग्यो ।
जसका कारण केन्द्र सरकारको प्रदूषण नियन्त्रण योजनाको तेस्रो चरणअन्तर्गत दिल्लीमा हल्का कमर्शियल गाडी र डिजेलबाट चल्ने ट्रकको प्रवेशमा प्रतिबन्ध लगाइएको थियो। यससँगै दिल्लीका सबै निजी र सरकारी विद्यालयहरू आज र भोलि बन्द रहने भएका छन्। यससँगै निर्माणको काममा पनि रोक लगाइएको छ ।
मन्त्रिपरिषद् बैठकका १८ निर्णय ः राष्ट्रपति पौडेल पहिलो भ्रमणमा युरोप जाने
राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने भएका छन् । कात्तिक १६ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको हो ।
राष्ट्रपति फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात् सङ्घीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न यही कात्तिक २२ गते त्यसतर्फ प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेल भ्रमण सकेर मङ्सिर १ गते स्वदेश फिता हुने गरी भ्रमण कार्यक्रम तय भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो बारे जानकारी दिएकी हुन् ।
उनले भनिन,‘‘‘राष्ट्रपति रामचन्द्र पौडेलबाट फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात् सङ्घीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मङ्सिर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।’’ यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित परियोजना–आयोजनाका लागि २६१ राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
मन्त्री शर्माले तीनको सांघाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिने निर्णय बैठकले गरेको जानकारी दिइन् । त्यस्तै, बैठकले यससँगै अन्य विभिन्न १८ वटा निर्णय गरेको छ ।
चिनीको कृत्रिम अभाव गरिएको थाहा भए १०० मा फोन गर्न प्रहरीको आग्रह
नेपाल प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइए त्यसको सूचना प्रहरीको निःशुल्क हटलाइन नम्बर (१००) मा दिन आग्रह गरेको छ । चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
उनका अनुसार चिनीको अभाव हुन नदिन प्रहरीका सम्पूर्ण इकाइ सक्रिय परिचालन गरिएको छ । तिहारको मुखमा बजारमा चिनीको कृत्रिम अभाव सृजना गरी चिनीको अभाव भएको जनगुनासो आएपछि सम्पूर्ण इकाइलाई सक्रिय परिचालन गरेको प्रवक्ता कडायतले बताए । उनले भने, “पछिल्लो समय बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरिएको भन्ने खबर प्रहरीले बजारमा चिनीको आपूर्ति सहज बनाउन सबै उपाय लगाइने छ ।”
गत बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले प्रहरी प्रशासन परिचालन गरेर आयातकर्ता र उद्योगमा चिनीको भण्डारण खोजतलास गर्ने र भेटिएको चिनी बजारमा पठाउने निर्णय गरिएको थियो । सो बैठकले अवैध ढङ्गले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको निष्कर्ष निकाल्दै चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालित गर्ने निर्णय गरेको थियो ।
तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारी मार्फत बजारमा पठाउन लागिएको हो ।
बिहीबार गुह्येश्वरी ट्रेड लिङमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पक्नाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले जानकारी दिनुभयो । दसैँको समयमा माछा, मासु खाइने भएकाले चिनीको खासै आवश्यकता नहुने गरेको भएपनि तिहारको समयमा प्राय रोटीलगायतका चिज वस्तुका लागि चिनी आवश्यक पर्ने हुँदा दसैँभन्दा बढी तिहारमा चिनीको माग बढ्ने गरेको पाइन्छ ।
यसैगरी भारतबाट २५ हजार मेट्रिक टन चिनी ल्याउन लागिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तथा सूचना अधिकारी आनन्दराज पोखरेलले जी टु जीमार्फत चिनी ल्याउन लागिएको बताए । उनले भने, “भारतबाट जीटूजी (सरकार–सरकार) मार्फत चिनी आउन लागेको हो । उक्त चिनी नेपालमा रहेका साल्टट्रेडिङ र खाद्य व्यवस्था व्यापार कम्पनीमार्फत बिक्रि बितरण गरिने छ ।”
भोलि शनिबार र पर्सि आइतवार भारतमा सरकारी बिदा हुने भएकाले त्यसपछि मात्र चिनी आयात हुने उनको भनाइ छ । चाडपर्वको मौका छोपेर केही व्यापारीले चिनी लुकाएको आशङ्का गरी सरकारले चिनीका गोदाममा छापा मार्न प्रहरीलाई निर्देशन दिइसकेको छ । यस्तै, चिनीको अभाव हटाउन उद्योगीसँग मौज्दातमा रहेको चिनी पनि बजार पठाउन थालिएको जनाइएको छ ।