मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

कार्तिक २१ गते मंगलबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमा हामी कसैसँग तर्सिएका छैनौं– प्रधानमन्त्री प्रचण्डदेखी सभामुख घिमिरेसँग बेलायती राजदूत फेनको भेटसम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

हामी कसैसँग तर्सिएका छैनौं– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू कसैसँग नतर्सिएर बताएका छन् । आज सिंहदरबारमा १२ बुंदे शान्ति सम्झौतामा सहभागी दलहरुको बैठक पछि प्रतिक्रिया दिदै प्रधानमन्त्री प्रचण्डले आफुहरु तर्सिएर बैठक नबसेको बताएका हुन् ।उनले भने– ‘राम्रो कुरा के भयो भने संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिबद्धता व्यक्त भयो । यो प्रारम्भिक बैठक भयो । निरन्तर बैठक राख्नुपर्छ भन्ने कुरामा नेताहरूको समझदारी छ ।’उनले समिक्षा गर्ने समय आयो भन्ने महसुस गरेर पहिलो पटक समान्य समीक्षा गरिएको प्रतिक्रिया दिए ।

फेरि दुई साता धकेलियो कांग्रेसको महासमिति बैठक

नेपाली कांग्रेसको महासमिति बैठक पुनः दुई सातापछि धकेलिएको छ । कांग्रेसले मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी गराएको हो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको जानकारी दिए । कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठक राख्ने भएको हो ।

कांग्रेसले सुरुमा मंसिर १३ देखि १५ मा महासमिति बैठक गर्ने निर्णय गरेको थियोे । भूकम्पपछि कार्यसम्पादन समिति बैठकले मंसिर २९ देखि पुस २ सम्म गर्ने निर्णय गरेको थियोे । फेरि अहिले पुस १६ गते गर्ने निर्णय भएको छ ।

भूकम्पपीडितका लागि माओवादीका तर्फबाट दिइयो ५० लाख सहयोग

नेकपा माओवादी केन्द्रले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरूको राहतका लागि रकम प्रदान गरेको छ । उपाध्यक्ष पम्फा भुसालको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ५० लाखको चेक हस्तान्तरण गरेको हो । सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।

यसअघि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ र नेकपा एकीकृत समाजवादीले २५ लाख रकम सहयोग गरिसकेका छन् ।जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी १५३ जनाको मृत्यु भएको थियो भने २५० भन्दा बढी घाइते भएका छन् ।

कांग्रेस गण्डकीका सांसदले १५ दिनको तलव भूकम्पपीडितलाई दिने घोषणा

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा सदस्यहरूले जाजरकोट भूकम्पका पीडितहरूलाई १५ दिन बराबरको तलब सहयोग गर्ने भएका छन् । कांग्रेस गण्डकी प्रदेश संसदीय दलको पदाधिकारी बैठकले सो रकम नेपाली कांग्रेस केन्द्रीय राहत कोषमार्फत भूकम्प पीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको हो । गत कार्त्तितक १७ गते राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. १, रामीडाँडा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षति प्रति दलले गहिरो दुःख व्यक्त गरेको ।

गणतन्त्रलाई सबल बनाउन भूमिका खेल्ने शीर्ष नेताको प्रतिबद्धता

मुलुकको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर सङ्घर्ष गरेका राजनीतिक दलका शीर्ष नेतृत्वले जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई थप मजबुद बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारमा बाह्रबुँदे सहमति, शान्ति प्रक्रिया र संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलका नेताबीच गणतन्त्रलाई सुदृढीकरण गर्दै अघि बढ्ने सहमति भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

शीर्ष नेताले दलहरुबीच आपसी मतभेद भए पनि एकताबद्ध हुँदै लोकतन्त्रको सुदृढीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका उनले बताए । बैठकमा सहभागी दलका नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि भइरहेका आक्रमणको समीक्षा गर्दै प्राप्त उपलब्धिलाई सबल बनाउन आगामी दिनमा बुहपक्षीय र द्विपक्षीय छलफल गर्दै अघि बढ्ने सहमति गरेको उनको भनाइ छ । “छलफलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नेताहरूले बलियो प्रतिबद्धता व्यक्त गर्नुभयो, प्राप्त उपलब्धिलाई थप सबल बनाउन आ–आफ्नो तहबाट भूमिका खेल्ने उहाँहरुको सामूहिक प्रतिबद्धता थियो”, उनले भने । शीर्ष नेताले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट पीडितलाई प्रभावकारी ढङ्गबाट राहत र उद्धारका काम अगाडि बढाउन सरकारलाई सुझाव दिएका थिए ।

उनिहरुले पछिल्ला समय सामाजिक सञ्जालबाट संविधान, लोकतन्त्र, राजनीतिक प्रणाली, नेतृत्वकाविरुद्ध भइरहेका दुष्प्रचारबारे सरकारको ध्यानाकर्षणसमेत गराएका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले सरकार विद्यमान कानुनअनुसार सामाजिक सञ्जालको गलत प्रयोगलाई नियमन गरेर मर्यादित समाज निर्माण गर्न लागिपरेको बताएका थिए । छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका शीर्ष नेताको उपस्थिति थियो ।

पोल्याण्ड पठाउने भनी ३८ लाख ठगी गर्ने पक्राउ

पोल्याण्डमा वैदेशिक रोजगारीमा पठाउने भनी ३८ लाख रुपियाँ ठगी गर्ने ३९ वर्षीय सुनिता कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार स्थायी घर भक्तपुर नगरपालिका वडा नं. १० भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका – ६ रामकोट बस्ने कर्माचार्यले मदनराज मोक्तनसहित १७ जनालाई पोल्याण्ड जान प्रतिव्यक्ति आठ लाख रुपियाँ लाग्ने र पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक एक लाख ५० रुपियाँ तलव हुन्छ भनी प्रलोभनमा पारेकी थिइन ।

उनले पटक–पटक गरी सो रकम पीडितबाट उठाइ सम्पर्कविहिन रहेको अवस्थामा वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको थियो । प्रहरीले उनलाई काठमाडौंको इन्द्रचोकबाट मंगलबार दिउँसो १ बजे पक्रउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।

पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

पाटन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै शनिबार आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो। त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए।

राष्ट्रपति पौडेल जाजरकोट अस्पतालमा घाइतेहरूसँग

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए । उनले भुकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यन्नलगायत सबै कुराको प्रवन्ध हुने र त्यसका लागि आफुले सरकारसँग कुरा गर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपतिको भनाई उदृत गर्दै सल्लाहकार पोखरेलले भन्नुभयो–‘तपाईहरूका लागि अल्पकालिन र दीर्घकालिन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु ।’

सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भुकम्पबाट भएको क्षतिका बारेमा जानकारी गराएका थिए । त्यस्तै घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेतबाट जाजरकोट पुगेका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्दारको अवस्थाका बारेमा जानकारी लिनेछन ।

भूकम्पपछिको अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गर्नुभएको थियो । राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी छन् ।

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न ठेक्का

कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न करिब साढे २७ करोडमा ठेक्का लगाइएको छ। सिनामंगलको एमएसआईपीएल—एएससी पावर लिमिटेडले ठेक्का पाएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा उक्त कम्पनीले फ्लड लाइट जडानको ठेक्का पाएको हो।यसअघि सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने घोषणा गरेपछि राखेपले प्रकृया अगाडि बढाएको थियो। फ्लड लाइट जडानपछि त्रिवि क्रिकेट मैदानमा राति पनि खेलहरू सञ्चालन गर्न सकिने छ।

सभामुख घिमिरेसँग बेलायती राजदूत फेनको भेट

सभामुख देवराज घिमिरेसँग बेलायती राजदूत रोब फेनसँग शिष्टाचार भेट गरेका छन् । भेटमा बेलायतसँग नेपालको सहकार्य, संसदीय आदान प्रदान तथा द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।भेटमा सभामुख घिमिरेले नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ट सम्बन्ध रहेको बताउँदै नेपाल र बेलायतबीच रहेको राजनैतिक सम्बन्ध, आर्थिक तथा साँस्कृतिक सम्बन्ध तथा जनस्तरमा कायम मित्रता अद्वितीय रहेको उल्लेख गरे ।

सभामुखले सन् २०१६ मा नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष मनाएको स्मरण गर्दै यो वर्ष दुई देशबीच मैत्री सन्धि सम्पन्न भएको एक सय वर्ष मनाउँदै गरेको बताए ।

‘आपसी सम्बन्धहरु हरेक दिन थप प्रगाढ हुँदै गएको प्रति म खुशी व्यक्त गर्दछु,’ सभामुखले भने, ‘नेपाल र बेलायत बीच लोकतन्त्र, संसदीय व्यवस्था, कानूनी शासन, मानव अधिकार साझा मूल्य–मान्यता रहेका छन् । यी विषयमा बेलायतको लामो र समृद्ध अभ्यास र इतिहास रहेको छ । नेपालको लागि बेलायती अभ्यास एवं अनुभव अनुकरणीय रहदैं आएको छ ।’

सभामुख घिमिरेले राजनैतिक स्थायित्वसँगै नेपालले विकास, समृद्धि र सुशासनको पथमा गति लिएकोसमेत बताए । ‘नेपाल सरकारको निकट भविष्यमा अति कम विकसित राज्यको सुचीबाट स्तरोन्नति भई सन् २०३० सम्म मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्य रहेको छ । नेपालको यस विकास प्रयासमा बेलायतको निरन्तर सहयोगको आवश्यकता रहेको छ,’ सभामुख घिमिरेको भनाइ थियो ।

२०१५ र हालै पश्चिम क्षेत्रमा गएको भूकम्प तथा कोभिड नियन्त्रणका लागि उदार भावनाका साथ नेपाललाई सामग्री र भ्याक्सिन उपलव्ध गराएकोमा सभामुखले बेलायत सरकारप्रति आभार व्यक्त गरे । उनले संसदीय मैत्री समूहमार्फत दुई देशबीच संसदीय आदान प्रदानमा जोड दिए ।

बेलायती राजदूत रोबले नेपालले आगामी दिनमा नेपालको जनशक्तिलाई स्वदेशमै राखेर विकासलाई तीब्रता दिने विश्वास व्यक्त गरे । उनले बेलायतले आगामी दिनमा पनि विकास सहायतालगायतका विषयमा नेपाललाई दिँदै आएको सहयोग वृद्धि गर्ने तयारी गरिरहेको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *