
कार्तिक २२ गते बुधबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमा यू–१९ एसिया कपको खेल तालिका सार्बजनिकदेखी सामूहिक बलात्कार प्रकरण ः कराँतेका दुई प्रशिक्षकलाई ८ वर्ष जेलसम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
यू–१९ एसिया कपको खेल तालिका सार्बजनिक
एसीसी यू–१९ एसिया कपको खेल तालिका सार्बजनिक भएको छ । एशियन क्रिकेट काउन्सिलले बुधबार सार्बजनिक गरेको खेल तालिका अनुसार नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ । दुबईमा हुने यू–१९ एशिया कप मङ्सिर २२ (डिसेम्बर ८) देखि पुस १ (डिसेम्बर १७) सम्म हुने एसीसीले जनाएको छ ।
खेल तालिका अनुसार नेपालले मङ्सिर २२ (डिसेम्बर ८) मा पाकिस्तानको सामना गर्ने छ । त्यस्तै नेपालले दोस्रो खेलमङ्सिर २४ (डिसेम्बर १०) मा अफगानिस्तानको र मङ्सिर २६ (डिसेम्बर १२) मा भारतको सामना गर्ने छ । कुल ८ देशले भाग लिने यू–१९ एशिया कपको समुह बी मा भने बंगलादेश, जापान, श्रीलंका र युएई रहेका छन् ।
दुवै समुहबाट शिर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । यू–१९ एशिया कपको सेमिफाइनलका खेल मङ्सिर २९ (डिसेम्बर १५) मा हुने छन् भने फाइनल खेल पुस १ (डिसेम्बर १७) मा हुने छ ।
चीनले बुझायो झण्डै ४० करोडको राहत सामाग्री
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझ्नुभएको छ।
आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मुल्य बराबरको सामाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गर्नुभयो। नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दुःखमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो।
त्यसक्रममा राजदुत सङले पश्चिम नेपालको भुकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गर्नुभयो। नेपाल र नेपाली जनताको दुःखमा आफ्नो देशको सधैं साथसहयोग रहने र राष्ट्रपति सि जिन पिङले समेत पत्र पठाएर त्यो संवेदना जाहेर गर्नुभएको उहाँले बताउनुभयो।
दुईवटा एयरक्राफ्टबाट चार हजार छ सय ब्लाङ्केट र छ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्। आज बिहान काठमाडौं आइपुगेको उक्त सामाग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने छ भने पोखरा आएको सागाग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी छ।
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने
नेकपा एकीकृत समाजवादीले आगामी राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने भएको छ । आगामी माघ १४ गतेदेखि १८ गतेसम्म गर्ने भनिएको महाधिवेशनको स्थान भने अहिलेसम्म टुङ्गो लागेको छैन ।
सबै जनवर्गीय सङ्गठनको अधिवेशन सम्पन्न हुन नसकेकाले आगामी मङ्सिरको दोस्रो सातामा अधिवेशन सम्पन्न गर्ने निर्णय भएकाले महाधिवेशन प्रतिनिधि छनौटका मापदण्ड सम्बन्धी कार्यविधि तर्जुमा गर्न लागिएको छ ।
पछिल्लो केन्द्रीय कार्यसमितिको बैठकको सुझावअनुसार अधिकांश युवालाई पार्टीमा आकर्षित गर्न केन्द्रीय कार्यसमितिमा उनीहरूको सहभागिता बढाउने, अल्पसङ्ख्यक, दलित, सीमान्तकृत र पिछडिएका समुदायको प्रतिनिधित्वलाई समावेशी गराउने तथा वैचारिक दृष्टिकोणलाई परिमार्जन गर्ने गरी विधान संशोधनका लागि गृहकार्य भइरहेको महासचिव घनश्याम भुसालले जानकारी दिए । पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण र जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे छलफल गर्ने सो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशन अगावै युवालक्षित कार्यक्रम सञ्चालन गर्ने पनि पार्टीले जनाएको छ ।
चीनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधि मण्डल काठमाडौंमा
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली नेपाल आइपुगेको छ । पाँच दिने भ्रमण योजनासाथ साथ आएको टोली केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे । उक्त टोलीलाई राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरिन् ।
वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् । उक्त भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न दलका नेताहरूसँग भेटघाट गर्नेछन् । चिनियाँ नेता वाङ शुक्रबार पोखरा गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट्ने साथै चीन–नेपाल सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ ।
राष्ट्रपतिले एक महिनाको तलब भूकम्पपीडितलाई दिने
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आफ्नो एक महिनाको तलव बराबरको रकम दिने भएका छन् । जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि सो कोषमा राष्ट्रपति पौडेलले रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । पौडेल मंगलबार मात्र जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा पुगी अनुगमन र निरीक्षण गरी फर्केका थिए । उनले अस्पताल पुगेर घाइतेसँग कुराकानी पनि गरेका थिए ।
नेपालमा रहेको दूतावास ४९ वर्षपछि बन्द गर्ने उत्तर कोरियाको निर्णय
नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने बताएका छन् । सोमबार प्रधानमन्त्ती प्रचण्डसँगलाई भेटेर उत्तर कोरियाली राजद्ूत जो योङ मेनले नेपालमा रहेको उत्तर कोरियाली राजदुतावास बन्द गर्न लागेको जानकारी दिएका हुन् । सन् २०२३ को अन्त्यसँगै नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय उत्तर कोरियाले गरेको हो ।
नेपाल र उत्तर कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध जोडेर सोही वर्ष उत्तर कोरियाले नेपालमा आवासीय दूतावास खोलेको थियो । तर उत्तर कोरियाले नेपालमा दूतावास खोलेको ४९ वर्षपछि आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो । यस अघि नेपालका लागि उत्तर कोरियाका राजदूतले यसअघि नै परराष्ट्र मन्त्रालयलाई दूतावास बन्द गर्ने जानकारी दिइसको जनाएका छन् । दूतावास बन्द भएपछि भारतको नयाँदिल्लीस्थित उत्तर कोरियाली दूतावासले नेपाललाई हेर्नेछ ।
एमाले सचिवालय बैठकः मध्यपहाडी विशेष अभियान मंसिर १४ देखि
नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको मिति तय गरेको छ। पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने निर्णय गरेको हो। सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा अघि सारेका जनाएको छ । अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको छ। सुरूवात बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गर्ने एमाले सचिवालयले जनाएको छ।
पहाडी क्षेत्रमा विकास र पूर्वाधार पुगिरहे पनि बसाइसराइ बढ्दै गएकाले यो विरोधाभाषलाई अन्त्य गर्नु अभियानको एक उद्देश्य रहेको एमालेले जनाएको छ। सँगै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकताको आधार गर्ने विषयमा पनि अभियान केन्द्रित हुनेछ।
जाजरकोट भूकम्पमा २६ हजार घर पूर्णरुपमा भत्किए
जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण झण्डै २६ हजार घर पूर्ण रुपमा भत्किएका छन् । गृहमन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार २६ हजार ५२० घर पूर्ण रुपमा र ३५ हजार ३९१ घर आंशिक रुपमा भत्किएका हुन् । अहिले लगातारको परकम्पका कारण स्थानीयहरु अहिले पनि आफ्नो घरमा बस्न डराइरहेका छन् ।
सबैभन्दा धेरै रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण रुपमा भत्किएका छन् भने ९ हजार ९६१ घर आंशिक रुपमा भत्किएका छन् । त्यस्तै जाजरकोटमा ९ हजार ७९४ घर पूर्ण रुपमा भत्किएका छन् भने २४ हजार ७०७ घर आंशिक रुपमा भत्किएका छन् । त्यस्तै सल्यानमा १२९ घर पूर्ण र ४१८ घर आंशिक रुपमा भत्किएका छन् । यस्तै रुकुम पूर्व, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्यूठान र अछाममा पनि घर भत्किएका छन् ।
भूकम्पका कारण जाजरकोटमा १०१ जना र रुकुम पूर्वमा ५२ जना गरी एक सय ५३ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पका कारण तीन सय ६४ जना घाइते भएका छन् । घाइतेमध्ये थप उपचारका लागि रिफर गरिएका ७४ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । त्यस्तै १९ जनाको प्रादेशिक अस्पताल सुर्खेत र ४६ जनाको नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ८ जना र १ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मन्त्रालयले अहिले पनि विवरण संकलनको क्रम जारी रहेको र राहत तथा उद्धारको काम पनि जारी रहेको जनाएको छ ।
अफताब आलमको मुद्दामा बहस नोट पेश गर्न अदालतको आदेश
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमको मुद्दामा बहस नोट पेश गर्न रौतहट जिल्ला अदालतले आदेश दिएको छ । इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री आलमको मुद्दामा अदालतले बहस नोट मागेको हो। बाबुकाजी बानियाको इजलासले मुद्दाको गम्भीरता जटिलतालाई बिचार गर्दा जिल्ला सरकारी वकिलको तर्फबाट र प्रतिवादीहरूका कानुन व्यवसायीको तर्फबाट १५ दिनभित्र बहस नोट माग गरी पेश गर्न आदेश दिइएको हो ।
२७ चैत २०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेर घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तरलगायतलाई जिउँदै जलाएको आरोपमा पूर्वमन्त्री आलमलाई २०७६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।
सामूहिक बलात्कार प्रकरण ः कराँतेका दुई प्रशिक्षकलाई ८ वर्ष जेल
जिल्ला अदालत मोरङले सामूहिक बलात्कार प्रकरणमा कराँतेका दुई जना प्रशिक्षकलाई ८ वर्ष कैद सजायको फैसला गरेको छ ।आज (बुधबार) न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरू विराटनगर महानगरपालिका–४ का अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई उक्त सजय सुनाएको हो ।
जबरजस्ती करणीतर्फ जनही ७ वर्ष र सामूहिक करणीतर्फ थप १ वर्ष गरेर ८ वर्ष कैद सजायको फैसला भएको जिल्ला अदालत मोरङले जनाएको छ । साथै सुवेदी र राउत दुवैलाई जनही तीन लाख जरिवान समेत गरिएको छ । जबरजस्ती करणी मुद्दामा उनीहरुलाई यसअघि नै अदालतले दोषी ठहर गरिसकेको थियो । आफूलाई विराटनगरकै एउटा होटलमा लगेर २०७९ जेठ अन्तिम साता सामूहिक बलात्कार गरेको भन्दै सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत छात्राले उनीहरूविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । उनीहरु दुवै जनालाई प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेको थियो ।