मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

मंशिर १३ गते बुधबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमा राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेटवार्ता देखी जापानमा अमेरिकी सेनाको विमान दुर्घटना, आठ जनाको मृत्यु सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बुधबार) संयुक्त अरब इमिरेट्स जानुअघि राष्ट्रपति भवन शीतल निवासमा उक्त भेट भएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताका साथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सिर्जना गर्न समेत प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

भूकम्प पीडितलाई एकमुष्ट ५० हजार दिन सरकारलाई कांग्रेसको आग्रह

नेपाली कांग्रेसले भूकम्प पीडितलाई किस्ताबन्दीमा ५० हजार दिने निर्णयप्रति आपत्ति जनाएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा भएको पदाधिकारी बैठकले भूकम्प पीडितलाई एकमुस्ट ५० हजार दिन सरकारको धन्यानाकर्षण गराएको हो।

पार्टीको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सरकारले निकासा गरेको ५० हजार रुपैयाँ अझै पीडित पाउन नसकेको बताए। ‘कांग्रेसबाट सहभागी मन्त्रीहरूले सरकारले निकासा गरेको रकम अझै पीडितले नपाएको ब्रिफिङ गर्नुभयो। यस्तो चिसो मौसममा अस्थायी आवास निर्माणका लागि किस्ताबन्दीमा दिने कुराहरू आएको छ। कांग्रेस त्यसको पक्षमा छैन। पीडितलाई एकमुष्ट ५० हजार दिन ध्यानाकर्षण गराउँछौं,’ सञ्चारकर्मीसँग उनले भने।

पछिल्लो समयमा देशमा भइरहेको गणतन्त्रविरोधी प्रदर्शनहरूबारे पनि बैठकमा छलफल भएको विश्वकर्माले बताए। ‘कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको हो। हामी सधैं संविधानको पक्षमा छौं,’ उनले भने।

बैठकपछि अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मन्त्री हेरफेरको सम्भावना नरहेको बताएका छन् । बुधवार कांग्रेसको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता महतले अहिले नै सरकार फेरबदल वा मन्त्रीहरूको हेरफेरको सम्भावना नरहेको बताए । सरकारले राम्रै काम गरिरहेको कुरा आइरहेको छ । फेरबदल वा हेरफेर भन्नेबारे मलाई कुनै जानकारी छैन,’ उनले भने । बैठकमा आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने पार्टी महासमिति बैठकको एजेण्डाबारे पनि छलफल भएको थियो ।

रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति ५२ सदस्यीय बनेको छ ।

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेसँगै केन्द्रीय समिति सदस्यको कुल सङ्ख्या ५२ सदस्यीय बनेको हो । पार्टी उपसभापति डीपी अर्यालले केन्द्रीय कार्यसमिति बाहिर रहेका पार्टीका १४ जना सांसदलाई पनि केन्द्रीय समितिमा ल्याउने निर्णय भएको जानकारी दिए ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा. स्वर्णिम वाग्ले, डा. चन्दा कार्की (भण्डारी), असीम साह, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, शिव नेपाली र विनीता कठायत छन् ।

यसअघि सांसद रहेका सभापति रवि लामिछाने, उपसभापति अर्याल, सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र बिन्दवासिनी कंसाकार गरी ६ जना मात्र केन्द्रीय सदस्य थिए । यस्तै रास्वपाबाट इन्दिरा राना उपसभामुख रहेकाले उनको अहिले पार्टीमा भूमिका छैन । यस्तै यसअघि केन्द्रीय सदस्य रहेका मोहनबहादुर थापाले राजीनामा दिएका थिए । उनको राजीनामा यसअघि नै स्वीकृत भएसँगै पार्टी केन्द्रीय सदस्यको सङ्ख्या ५२ मा सीमित भएको हो ।

राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा उक्त दिन निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री प्रवक्ता रेखा शर्माले बताइन् ।

सङ्घीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एकतिहाई अर्थात् २० सांसद् आगामी फागुन २१ गतेदेखि बाहिरिँदै हुनुहुन्छ । विसं २०७४ मा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छवर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसद्को कार्यकाल सकिँदै छ ।

नेपाली कांग्रेसबाट अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ रायमाझी, नेकपा (एमाले) बाट इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई, (नेकपा माओवादी केन्द्र)बाट बिना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, जनता समाजवादी पार्टी (जसपा) बाट प्रमिला कुमारी, नेकपा (एकीकृत समाजवादी) बाट नन्दा चपाइँ र सिङबहादुर विश्वकर्मा, स्वतन्त्र डा खिमलाल देवकोटा तथा र मनोनित डा विमला पौड्यालको कार्यकाल सकिन लागेको हो ।

बैठकले जजारकोट केन्द्रबिन्दु भएको भूकम्पबाट प्रभावितलाई अस्थायी आवास निर्माणका लागि सुरक्षा निकायलाई परिचालित गर्ने निर्णय गरेको छ । प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाउने निर्णय गरेको उनको भनाइ छ ।

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई जाने भएका छन् । भोलिदेखि मंसिर २६ गतेसम्म चल्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् ।

मंसिर १५ र १६ गते सम्मेलनमा सहभागी राज्य सरकार र प्रमुखहरुले सम्बोधन गर्ने कार्यतालिका छ । प्रधानमन्त्री दाहालले मंसिर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन प्रधानमन्त्री दाहालले ‘कल अफ दी माउन्टेन ः हु सेभ अस फ्रम दी क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउने छन् ।

सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले विभिन्न साइडलाइन वार्ता र उच्चस्तरीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा छोरी गंगा दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोलगायत नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू रहने छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल मंसिर १७ गते काठमाडौँ फर्किने कार्यक्रम छ ।

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

नेपालमा पहिलो पटक समलिंगीको विवाह दर्ता भएको छ । लमजुङ दोर्दी गाउँपालिका–२ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका–८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । दोर्दी गाउँपालिकामा उक्त विवाह दर्ता भएको हो ।

यसअघि समलिंगी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा राय माग गर्दै पिंकी गुरूङ भन्ने संजिव गुरूङसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो । राष्ट्रिय पञ्जिकरण विभागले पनि गाउँपालिकालाई उक्त आदेश अनुसार विवाह दर्ता गर्न पत्र लेखेको छ ।

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको एक सय वर्ष पुगेको अवसरमा आयोजित भिडियो प्रतियोगितामा नेपाल प्रहरीले बनाएको भिडियो सर्वोत्कृष्ट भएको छ । नेपाल प्रहरीका इन्सपेक्टरद्वय नारायण थापा र उमेश गुरुङले निर्माण गरेको जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टेलिजेन्सका कारण भविष्यमा आउनसक्ने समस्याहरुको समाधान र दिगो विकासको लक्ष्य प्राप्त गर्न इन्टरपोलको भूमिका समेटिएको ‘लेट्स सेभ द प्लानेट– इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियो बनाएका थिए ।

इन्टरपोलले युवा प्रहरी अधिकृतबीच यस्तो भिडियो प्रतिस्पर्धाको आयोजना गरेको थियो । मंगलबारदेखि अष्ट्रियाको भियनामा जारी इन्टरपोलको ९१औं महासभाको पहिलो दिन इन्टरपोलका अध्यक्ष डा. अमहद नासर अल–राइसाइबाट नेपाल प्रहरीलाई सर्वोत्कृष्ट भिडियो बनाएवापत सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरिएको नेपाल प्रहरीले जनाएको छ ।

महासभामा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल, नेपाल प्रहरीका एसपी अनुपमशमशेर जबरा तथा इन्टरपोलको सय वर्षको अवसरमा सगरमाथाा आरोहण गर्ने बरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली सहभागी छन् ।

फेवातालको ६५ मिटर मापदण्ड कायम गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति

फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार ४ गते भएको फैसला कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा आज (बुधबार) भएको प्रदेश सुरक्षा समितिको बैठकले ११ सदस्यीय समिति गठन गरेको हो । समितिमा पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेशका प्रमुख सचिव, नेपाली सेनाका पश्चिम पृतनापति, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता, कास्कीका प्रमुख जिल्ला अधिकारी, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ वाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग गण्डकी प्रदेश कार्यालयका अनुसन्धान निर्देशक, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र ताल संरक्षण विकास समितिका कार्यकारी निर्देशक सदस्य रहेका छन् ।

समितिको सदस्यसचिवमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा रहेका छन् । समितिले अन्य कार्यविधि तथा कार्ययोजना तय गर्दै जाने निर्णय गरिएको छ ।

स्वर्णिम वाग्ले रास्वपा उपसभापतिमा चयन

रास्वपा सांसद स्वर्णिम वाग्ले उपसभापतिमा चयन भएका छन् । रास्पाले सांसल वाग्लेलाई उपसभातिमा चयन गरेको हो । रास्वपाको सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् ।

महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ चयन गरेको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सहकोषाध्यक्ष वसुमाया तामाङ् र दीपक बोहरा तोकेको छ । पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् ।

जापानमा अमेरिकी सेनाको विमान दुर्घटना, आठ जनाको मृत्यु

जापानको याकुशिमा टापु नजिकै अमेरिकी सेनाको विमान दुर्घटना भएको छ । विमानमा आठ अमेरिकी सैनिक सवार थिए ।जापानी कोस्ट गार्डका अनुसार उद्धारकर्मीहरूले घटनास्थलमा सास फेर्न नसकेका एक व्यक्तिलाई भेटेका थिए। सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उक्त विमानको अवशेष याकुशिमामा भेटिएको हुनसक्ने बताइएको छ । जापानको सरकारी मिडियाले रिपोर्ट गरेको छ कि विमान याकुशिमा एयरपोर्टमा अवतरण गर्न खोजिरहेको थियो जब यसको बायाँ इन्जिनमा आगो लाग्यो। यो विमान यामागुची क्षेत्रको इवाकुनी बेसबाट ओकिनावाको काडेना बेसका लागि उडेको बताइएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले स्थानीय समय अनुसार १४ः४० मा विमान राडारबाट हराएको बताए।

कोस्ट गार्डले भनेको छ कि सात मिनेटपछि विमानबाट एक आपतकालीन सन्देश प्राप्त भयो। जसपछि विमान दुर्घटना भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *