मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

मंशिर १५गते शुक्रबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । शुक्रबार तयार पारिएको मुख्य १० समाचारमा वायुसेवा निगमका अध्यक्षलाई सात दिने स्पष्टीकरणदेखी बैंकहरुले बढी ब्याज लिए प्रमाणसहित उजुरी दिन गभर्नरको आग्रहसम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

वायुसेवा निगमका अध्यक्षलाई सात दिने स्पष्टीकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सात दिने स्पष्टीकरण सोधेको छ। शुक्रबार प्राधिकरणले निगमकै सुरक्षा व्यवस्थापनको कारण नेपाल ईयूको कालोसूचीबाट नहटेको उल्लेख गर्दै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधेको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार नियामको निर्देशन पालना नगरेको र निगमभित्रको कमजोरीमा सुधार नभएको खुलेको छ । यस अघि सोधेको स्पष्टीकरणमा जनाएका प्रतिबद्धता पालना नगरेकाले अन्तिमपटक स्पष्टीकरण सोधेको प्राधिकरणले जनाएको छ ।

वीर अस्पतालको कार्यकारी निर्देशक पौडेललाई मन्त्रालय तानियो

स्वास्थ्य मन्त्रालयले वीर अस्पतालका कार्यकारी निर्देशक डा.सन्तोष पौडेललाई मन्त्रालयमा हाजिर हुन पत्र पठाएको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी पौडेललाई मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएका हुन् । निर्देशक पौडेलले आफूलाई मन्त्रालयमा हाजिर हुन आउनु भन्दै पत्र आएको जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले अर्को निर्णय नहुँदासम्मका लागि पौडेललाई मन्त्रालयमा हाजिर हुन भनिएको बताए ।

एमालेको राजनीतिमा समेत क्रियाशील भएकाले पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतमा उजुरी परेको थियो । सोही कारण पौडेललाई मन्त्रालयमा हाजिर हुने गरी तानिएको बुझिएको छ । पौडेल वीर अस्पतालका विभिन्न अनियमिततामा मुछिएका छन् ।

बालकृष्ण खाणलाई ३० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेशमा राय बाझियो

काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरूको राय बाझिएको छ । उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आदेश सुनाएको छ । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए ।

तर अर्का न्यायाधी खरेलले अहिलेले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाएनन् । अब उनको विषय तेस्रो न्यायाधीशकोमा पेस हुनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले अभियुक्त टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राई र आङटावा शेर्पालाई थुनामै पठाउने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ ।

शुक्रबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरीलाई पनि थुनामै पठाउने आदेश दिएको हो । यसैगरी अदालतले टेकनाथ रिजाल, नरेन्द्र केसी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मिया, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधरलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उक्त मुद्दामा गत असार १ गते काठमाडौं जिल्ला अदालतले दुई जनाबाहेक सबै अभियुक्तलाई पुर्पक्षका लागि धुनामा पठाउने आदेश गरेको थियो । थुनामा परेकाहरूले थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

एनसेल आजियाटालाई प्राधिकरणको पत्र

काठमाडौं । नेपाल दुरसंञ्चार प्राधिकरणले एनसेल आजियाटालाई पत्र काटेको छ । शुक्रबार प्राधिकरणले आजियाटाले शेयर खरिद बिक्रीमा पूर्व स्वीकृति नलिएको खुलासा गर्दै पत्र काटेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटालाई शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको भन्दै ध्यानाकर्षण गराएको छ ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट)बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशत भन्दा वढी शेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क)बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था रहेकोले सो अनुरूप गर्न गराउन जानकारी गराइन्छ’, प्राधिकरणले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । प्राधिकरणले एनसेल आजियाटाको होल्डिङ कम्पनीको शेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको समेत विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ ।

कांग्रेस नवलपरासीमा विवादः जिल्ला सम्मेलनमा सहभागी हुन शेखरको आग्रह अस्वीकार

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नवलपरासीमा पार्टी भित्र देखिएको विवाद समाधान गर्न आफू तयार भएको बताएका छन् । शुक्रबार परासीमा संस्थापन पक्षका नेताहरुसँगको छलफलमा उनले नवलपरासीको विवादका बारेमा पार्टीको पदाधिकारी तहमा गम्भीर छलफल भएको बताएका हुन । नवलपरासीमा एकलौटी रुपमा आयोजना गरिएको जिल्ला सम्मेलन संस्थापन पक्षसहित अधिकांश नेता कार्यकर्ताहरुले बहिष्कार गरेपछि नेता कोइरालाले उनीहरुसँग छलफल गरेका हुन् । पार्टी विधान अनुसार तल्लो तहबाट सम्मेलन गर्दै जिल्ला सम्मेलन गर्नुपर्ने भएपनि नवलपरासीमा जिल्ला सभापतिले एकपक्षीय रुपमा जिल्ला सम्मेलनको आह्वान गरेपछि अधिकांश नेता कार्यकर्ताहरु रुष्ट बनेका छन् ।

जिल्ला सम्मेलनको उद्घाटन गर्न गएका कोइरालाले परासीमा संस्थापन पक्षका नेताहरुसँग छलफल गरेका हुन् । उनले भने, ‘नवलपरासीको विषयमा पदाधिकारी बैठकमा गहन छलफल भएको छ । यी कुराहरु म केन्द्रमा पनि राख्छु । कांग्रेस एउटै पार्टी हो । मासबेस पार्टी भएकाले यस्ता समस्याहरु आउँछन् । केन्द्रले केन्द्रीय सदस्यहरुलाई विवाद समाधानका लागि पठाउने प्रचलन थियो । यसपटक पनि यो विषयमा केन्द्रले कोही पदाधिकारी साथीलाई पठाउला । कोहि नआए म आफै आएर पनि समस्या सल्टाउँछु ।’

नेता कोइरालाले असन्तुष्ट नेता कार्यकर्ताहरुलाई जिल्ला सम्मेलनमा सहभागी हुन र पार्टी एकढिक्का भएको सन्देश जिल्लामा दिन आग्रह गरे । ‘मेरो आग्रह छ कि तपाईहरु पनि हिड्नुस् । सम्मेलनमा सहभागी हुनुस् । पार्टी एक ढिक्का भएको सन्देश पनि जान्छ,’ उनले भने, ‘जिल्लामा पार्टी एक ढिक्का भएको महसुस तपाईहरुले गराउनुपर्यो । निर्वाचन ८४ मै हुन्छ । ८४ बाट ८५ मा सर्दैन । मध्यावधिको पनि चर्चा सुरु भएको छ। तर त्यो सम्भावना छैन । हल्ला मात्रै हो । ८४ मै निर्वाचन हुन्छ । त्यसको तयारी पनि जिल्ला सम्मेलनले नै गर्छ ।’

उनले सम्मेलनमा सहभागी भएर आफ्ना कुरा राख्न नेताहरुलाई आग्रह गरे । तर नेताहरुले एकपक्षीय र विधानविपरीत आयोजना गरिएको सम्मेलनमा सहभागी हुन नसकिने प्रष्ट पार्दै सम्मलेन बहिष्कार गरे । छलफलमा केन्द्रीय सदस्य एवं नपलपरासीका पूर्व जिल्ला सभापति देवेन्द्रराज कँडेल, संविधान सभा सदस्य एवं प्रदेशसभा सदस्य देवकरण कलवार, प्रदेश सभा सदस्य एवं महाधिवेशन प्रतिनिधि बैजनाथ कलवार, प्रतिनिधिसभा क्षेत्र नं. १ का क्षेत्रीय सभापति मुकुल आचार्य, प्रतिनिधिसभा क्षेत्र न. २ क्षेत्रीय सभापति माधवप्रसाद पाण्डे, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा खका सभापति रामचन्द्र साहनी, तरुण दल जिल्ला सभापति, महिला संघ, मुस्लिम संघलगायत विभिन्न पालिका सभापतिहरु सहभागी थिए ।

उनीहरुले जिल्ला सम्मेलन पार्टीको विधान सम्मत नभएको, सम्मेलनका सम्बन्धमा मातहतका क्षेत्रीय, नगर, गाउँ समितिसँग छलफल र परामर्श नगरी एकलौटी आयोजना गरिएको दावी गरेका छन् । साथै तल्लो तहबाट अधिवेशन नगराई एकै पटक कुनै छलफल बिनै जिल्ला सम्मेलन आयोजना गरिएको, जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रीय सदस्य देवेन्द्र कँडेल र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीसँग सल्लाह, सुझाव, परामर्श र निमन्त्रणा नगरेको उनीहरुको भनाई छ । साथै जिल्लास्थित पार्टीको भ्रातृसंस्थाहरुलाई पनि निमन्त्रणा नगरेको भन्दै जिल्लाका नेताहरुले पार्टी सभापतिलाई लिखित जानकारी गराएका छन् ।

महासमिति बैठकमा हिन्दु राष्ट्र स्थापनाको विषय प्रवेश गराउन देउवा सकारात्मक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले आगामी पुसमा बस्ने महासमिति बैठकमा वैदिक सनातन हिन्दु राष्ट्र स्थापनाको विषय प्रवेश गराउन पार्टी सभापति शेरबहादुर देउवा सकारात्मक भएको बताएका छन् । शुक्रबार बिहान धुम्बाराहीस्थित निवासमा भेटेर आफूले राखेको धारणामा देउवा सहमत भएको उनको भनाइ छ ।
उनले वैदिक सनातन हिन्दु राष्ट्र स्थापना, प्रदेश संरचना खारेजी र निर्वाचन प्रणाली परिवर्तन गर्ने विषयमा आफ्नो निरन्तर खबरदारी रहने जानकारीसमेत दिएका छन् ।

‘आदरणीय पार्टी सभापति शेरबहादुर देउवाज्यूसँग बिहान धुम्बाराहीस्थित उहाँको निवासमा भेट गरी आसन्न महासमिति बैठकमा वैदिक सनातन हिन्दु राष्ट्र स्थापनाको विषयलाई प्रवेश गराउनुपर्छ भनी आफ्नो धारणा राखें । यस विषयमा पार्टी सभापतिज्यू सकारात्मक रहेको पाएको छु । वैदिक सनातन हिन्दु राष्ट्र स्थापना, प्रदेश संरचना खारेजी र निर्वाचन प्रणाली परिवर्तन गर्ने विषयमा मेरो निरन्तर खबरदारी रहने जानकारी गराउँदछु,’ भण्डारीले भने ।केही दिनअघि कांग्रेस सभापति देउवाले गणतन्त्रको विकल्प गणतन्त्र नै रहेको तर धर्म निरपेक्षको विषयमा छलफल गर्न सकिने अभिव्यक्ति दिएका थिए । यसले कांग्रेससहित अन्य दलमा एक प्रकारको तरंग सिर्जना भएको छ ।

बालविकासका कर्मचारीविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा

कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय कोटातुल्सीपुरमा कार्यरत बालविकासका कर्मचारी निरञ्जना मल्लविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालका अनुसार मल्लले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट जारी भएको हाई–स्कुल परीक्षाको नक्कली (झुट्टा) शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।

उनले सो प्रमाणपत्र पेस गरी बर्दगोरीया गाउँपालिका ४ स्थित सो विद्यालयमा सहयोगी कार्यकर्ताको पदमा नियुक्त लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेकाले कैद र जरिवाना हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरे । दुबइ उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिए ।

युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं साझेदारी अपरिहार्य भएको बताए। दुबइ उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबइ उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताएको उक्त दूतावासले जनाएको छ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र युएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा युएइ र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । त्यसअघि प्रधानमन्त्री प्रचण्डले अवुधाबीस्थित ग्रान्ड मस्कको भ्रमण गरेका थिए । बिहीबारदेखि कोप–२८ दुबइमा प्रारम्भ भएको छ ।

बैंकहरुले बढी ब्याज लिए प्रमाणसहित उजुरी दिन गभर्नरको आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले बढी ब्याजदर लिएको पाएमा राष्ट्र बैङ्कमा उजुरी गर्न आग्रह गरेका छन् । आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै बैङ्क तथा वित्तीय संस्थाहरुले १६÷१८ प्रतिशत ब्याज लिएको फेला परेमा प्रमाणसहित उजुरी दर्ता गर्न आग्रह गरेका हुन् । अहिले बैङ्कहरुले अत्यधिक ब्याज लिएका छैनन् उनले भने,‘ विनाप्रमाण बाहिर बजारमा हल्ला चलेकाले यदि त्यस्तो भए प्रमाणसहित उजुरी दिनुपर्छ ।’

गभर्नर अधिकारीले गत आर्थिक वर्ष बैंकहरुले लिएको ४ अर्ब ७६ करोड रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको अधिकारीले उल्लेख गरे ।मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा केही पर सरेकाले तथ्याङ्कलाई प्रतिक्षा गरिहरको समेत बताए । उनले अर्थमन्त्री र गर्भनर बीच सम्बन्धमा कुनै समस्या नरहेको बताउदैँ बजेटमा राष्ट्र बैकले हरके विषयमा सहयोग गरेको समेत बताए । उनका अनुसार ‘राष्ट्र बैंकले सरकारसँग समन्वयात्मक रुपमा काम गरिरहेको छ ।

अहिले खराब कर्जा बढेको कारण लाभांशमा कडाइ गर्नु परेको अवस्था सिर्जना भएको बताए । अहिले रिपेमेन्टका कारण केही व्यवसायीमा समस्या परेको उनको भनाइ छ । ऋण लिएपछि तिर्ने योजना नबनाउने प्रवृतिले अहिले देशमा आर्थिक विषयमा देशमा समस्या पैदा भएको समेत बताए । ऋणीहरुले ऋण लिएपछि ईमान्दारीतापूर्वक ऋण चुक्ता गर्नुपर्ने उनले बताए । अर्थतन्त्रमा विश्वभरी समस्या आउने गरेकाले समाधान गर्न पनि सबैको उतिकै जिम्मेवारी रहेको उनले बताए । अर्थतन्त्रमा देखा परेको समस्या समाधानका लागि सबैले हातेमालो गर्नुपर्ने उनको भनाइ छ ।

माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन कार्यतालिका स्वीकृत भएको जनाएको छ । स्वीकृत कार्यतालिकाअनुसार मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ । मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता हुने कार्यक्रम छ । राजनीतिक दल दर्ता भएपछि पुस १ गते निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वीकृत कार्यतालिकाअनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ । पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । माघ ११ गते बिहान ९ देखि अपरान्ह ३ बजेसम्म मतदानको कार्य सञ्चालन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् ।आगामी फागुन २० गते राष्ट्रियसभाका २० सदस्यको कार्यकाल पूरा हुँदैछ । त्यसका लागि एक महिनाअघि नै निर्वाचन भइसक्नुपर्ने भएकाले निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *