मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

मंशिर २० गते बुधबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमा एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट दर्तादेखी जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन आदेश सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ। एनसेलको ८० प्रतिशत सेयर बिक्री अवैध भएको भन्दै बाजुराका गोकुलबहादुर रोकायाले रिट दायर गरेका हुन्। दर्ता भएको रिटमा एनसेलको सेयर ब्रिकी शंकास्पद गहिरो अनुसन्धानको समेत माग गरिएको छ । पाँच वर्षअघि स्वीडिस कम्पनी टेलियासोनेरासँग १.३ विलियन अमेरिकी डलरमा आजियाटाले किनेको एनसेलको ८० प्रतिशत सेयर अहिले ५० मिलियन अमेरिकी डलरमा भुक्तानी गर्नेगरी भएको ब्रिकी शंकास्पद भएको रिटमा उल्लेख गरिएको छ। उच्च अदालत पाटनले आगामी बिहीबारलाई पेशी तोकिएको छ ।

नेपाली युवाहरुलाई रुसी सेनामा पठाउने १२ जना सार्वजनिक

नेपाली युवाहरुलाई रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ परेका मध्ये १२ जनालाई बुधबार कामाडौँ प्रहरी प्रहरीमा पत्रकार सम्मेलन गद सार्वजनिक गरेको हो । अहिलेसम्म नेपाली युवाहरुलाई रुसी सेनामा पठाउने १२ जना गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरीले ११ जनालाई मंशिर १३ गते र थप एक जनालाई १८ गते पक्राउ गरेको थियो ।उनीहरूलाई बुधबार काठमाडौँ प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो।

मंसिर १३ मा पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, शुभास लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता रावल, सन्तोष रोका र सन्तोष नेपाल रहेका छन् । त्यस्तै मंशिर १८ गते पक्राउ पर्नेमा थप एक जना द्रोण डाँगी रहेका छन् ।

यस्तै नेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहबाट ४३ थान पासपोर्ट फेला परेको छ। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेकी सुजता दाहालको कार्यालयबाट २७ थान र ईश्वर अधिकारीको कार्यालयबाट १६ थान पासपोर्ट बरामद भएको हो। दाहालको कार्यालयबाट १४ लाख १८ हजार ५ सय रुपैयाँ र अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरीले बताएको छ।

युक्रेन र रुसको युद्ध जारी भइरहेको बेलामा नेपाल सरकारले रुसलाई नेपाली युवाहरुलाई सेनामा भर्ति नर्गन र विगतमा भर्ति भएकाहरुलाई फिर्ता पठाउन कूटनीति नोट पठाइसकेको छ । युक्रेनसँग जारी युद्ध लड्न रसियन सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाइसकेका छन् भने एक नेपाली बन्धक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

गोरखाका सन्दीप थपलिया, पुतलीबजार–५, स्याङ्जाका पितम कार्की, मेला–६, दोलखाका राजकुमार रोका, इलाम–५, इलामका गंगाराज मोक्तान, वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की र पोखरा, कास्कीका देवान राई रुस–युक्रेन युद्धका क्रममा मारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खाँण धरौटीमा छुट्ने कि नछुट्ने मंसिर २८ मा थाहा हुने

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको आदेशमा राय बाझिएको विषयमा उच्च अदालत पाटनले मंसिर २८ गते सुनुवाइ गर्ने भएको छ।नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा खाँणको हकमा ३० लाख रुपैयाँ लिएर थुनामुक्त गर्ने कि थुनामै पठाउने भन्ने विषयमा दुई न्यायाधीशबीचमा राय बाझिएको थियो। जसकारण खाँण थुनामै रहेका थिए ।

न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा राय बाझिएको थियो । आदेश दिने न्यायाधीशबीच नै राय बाझिएका कारण तेस्रो इजलासमा मंसिर २८ मा पेसी तोक्ने अदालतले निर्णय गरेको हो। अब जसको इजलासमा सुनुवाइ हुन्छ, त्यो न्यायाधीशले थुनामुक्त गर्ने यसअघिको आदेशलाई सदर गरे खाँण धरौटीमा छुट्ने छन् । यदि बदर भएमा खाँण थुनामै रहनुपर्नेछ ।

व्यवस्थामाथि औंला उठाउनेविरुद्ध सबै मिलेर लड्नु पर्छ ः अध्यक्ष ओली

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश कमजोर बनाउन खोज्नेविरुद्ध एमालेले निरन्तर खबरदारी गरिरहेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा रुकुमपूर्व पुगेका उनले अहिलेको व्यवस्थामाथि औंला उठाउने र देशलाई कमजोर बनाउन खोज्नेविरुद्ध एमालेले निरन्तर खबरदारी गरिरहेको बताएका हुन् । साथै उनले देशलाई असफल बनाउन खोज्ने देशभित्रका र देश बाहिर नेपालको अहित चाहने केही तत्वविरुद्ध सामूहिकरूपमा लड्नुपर्ने उनको भनाइ छ ।

‘सरकारका कारण धेरै समस्या आएका छन् । देश कमजोर बनाउन देशभित्रका र देश बाहिर रहेका केही तत्वहरु सक्रिय भएका छन्,’ उनले भने, ‘यो प्रणालीलाई ठूलो लगानी गरेर ल्याएका हौं, यसविरुद्ध हुने गतिविधि सबै मिलेर लड्नु पर्दछ ।’ सरकारले निरन्तर गलत काम गर्दै गइरहेकाले सबै नेपाली सचेत हुनुपर्ने समेत अध्यक्ष ओलीले बताए । ‘सबैतिर सरकारले गल्ती गर्दै गएको छ, अपराधी रोक्नुपर्ने अवस्था छ । तर, अपराधीलाई कारबाही गर्न सकिरहेको छैन । बल्लतल्ल समातिएका अपराधीहरु अनेक बहानामा छोडिएका छन्, न्यायालय र कर्मचारीलाई सरकारले हस्तक्षेप गरिरहेको छ, कर्मचारीमाथि हस्तक्षेप छ, राज्यको तर्फबाट यस्तो लज्जास्पद काम भइरहेका छन्’, उनको आरोप छ ।

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिद बिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

समितिले आज यस विषयमा प्राधिकरणलाई छलफलका लागि बोलाएर जानकारी लिएको थियो । प्राधिकरणसँगको छलफलपछि समितिले एनसेल खरिदबिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखित रुपमा पेश गर्न निर्देशन दिइएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।

‘आजको छलफलका क्रममा उठेका विषय र एनसेलको स्वामित्व खरिदबिक्रीका सन्दर्भमा विस्तृत अध्ययनसहित जानकारी पेश गर्न निर्देशन दिने निर्णय भएको छ’, सभापति चालिसेले भने । समितिको आजको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे जानकारी गराउने पत्र प्राप्त भएको उपलब्ध भएको थियो । यो कारोबार शङ्कास्पद देखिएकाले प्राधिकरणले सुक्ष्मरूपमा अध्ययन थालिसकेको पनि अध्यक्ष खनालको भनाइ छ ।

‘शेयर खरिद बिक्रीबारे जानकारी मागसहित प्राधिकरणले एनसेललाई यही मंसिर १५ गते पत्राचार गरेकामा मंसिर १९ गते त्यसको जवाफ प्राप्त भएको छ । उसले अहिले शेयर खरिद बिक्रीसँग सम्बन्धित कागजात सङ्कलनका क्रममा रहेको र नेपालको विद्यमान कानूनी प्रावधान भित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जाकारी दिने तयारी भइरहेको बताएको छ’, अध्यक्ष खनालले अर्थ समितिको बैठकमा भने ।

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानूनी प्रक्रियाको वैधता र आर्थिक पारदर्शितामाथि प्रश्न उठिरहेका छन् । सार्वजनिकस्तरबाट चर्को विरोध समेत भएपछि संसदीय समितिहरूले पनि यसमा चासो दिएका हुन् । आजै सार्वजनिक लेखा समितिमा पनि एनसेल शेयर खरिदबिक्री प्रकरणबारे छलफल भएको छ ।

नीतिगत समीक्षाको माग गर्दै संसदको अर्थ समितिका सभापतिलाई ध्यानाकर्षण–पत्र

रास्वपाका उपसभापति एवं सांसद स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले एनसेलको बिक्रीले उजागर गरेका आर्थिक कुशासन र लगानी विकर्षणबारे नीतिगत समीक्षाको माग गर्दै संसदको अर्थ समितिका सभापतिलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बुधबार अर्थसमितिको बैठकमा एनसेलको बिक्रीले उजागर गरेका आर्थिक कुशासन र लगानी विकर्षणबारे नीतिगत समीक्षाको माग गर्दै संसदको अर्थ समितिका सभापतिलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेस र एकीकृत समाजवादी दुवैको दाबी

राष्ट्रिय सभाको अध्यक्षमा अहिले एमालेका गणेशप्रसाद तिमिल्सिना छन् । उनी एमाले अध्यक्ष केपी ओली निकट नेता हुन् । तिमिल्सिनाको पदावधि फागुन २० मा सकिँदैछ । त्यसैले अब राष्ट्रिय सभाको अध्यक्ष को बन्ने भन्ने चर्चा सुरु भएको छ । तिमिल्सिना अध्यक्ष रहँदासम्म संवैधानिक परिषदमा एमालेको बहुमत छ । त्यसकारण लामो समयदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक छल्दै आएका छन् । परिषदमा विपक्षी दलको नेता ओली र सभामुख देवराज घिमिरे एक ठाउँमा छन् । उपसभामुख इन्दिरा राना पनि ओलीकै गृहजिल्ला झापाकी हुन् ।

राना रास्वपाबाट उपसभामुख बनेकी हुन् । यदि राष्ट्रिय सभाको अध्यक्षमा सत्तारुढ गठबन्धनका नेता बनेमा प्रचण्ड बहुमतमा हुनेछन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तठस्थ छन् । संवैधानिक परिषद्ले निर्वाचन आयोग, समावेशी आयोग, महालेखा परीक्षकलगायतका पदमा नियुक्ति गर्नुपर्नेछ । ती पद लामो समयदेखि रिक्त छन् ।

राष्ट्रियसभाको अध्यक्षमा एकीकृत समाजवादीले दाबी गर्दै आएको छ । तर सत्तारुढ गठबन्धनमा सहमति भइसकेको छैन । नेपाली कांग्रेसले अध्यक्षमा दाबी गरेको छ । सभामुख र प्रधानमन्त्री नभएकाले कांग्रेसको दाबी बलियो छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले अबको राष्ट्रियसभाको चुनावमा कतिवटा सिट पाउँछ र को आउँछ ? भन्नेले पनि अबको अध्यक्षको अनुमान गर्न सकिने पनि बताइन्छ । एकीकृत समाजवादीमा सिनियर नेता वेदुराम भुसाल मानिन्छन् । सो पार्टीले पाएमा माधव नेपाल वेदुरामलाई बनाउँछन् ।

उनी अहिले कृषि मन्त्री छन् । कृषि क्षेत्रमा कुनै उल्लेखनीय काम गर्न नसकेका भुसाल अब कृषिमन्त्रीबाट फिर्ता भएर राष्ट्रियसभाको अध्यक्ष हुने चर्चा एकीकृत समाजवादीमा हुन थालेको छ । उनलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने हो भने दोहोरो सुविधा र अवसर भनेर प्रश्न उठ्ने सम्भावना छ । भुसाल महासचिव घनश्याम भुसाललाई छोडेर कृषिमन्त्री हुन गएका थिए । राष्ट्रिय सभाको निर्वाचनमा एकीकृत समाजवादीले तीन सिट पाउने सहमति छ । तर उसले क–कसलाई उठाउने भन्ने तय भइसकेको छैन ।

एनसेलको शेयर खरिद ब्रिकीबारे नेपालको कानुनको पूर्ण पालना गर्ने आजियाटाको प्रतिबद्धता

एनसेल आजियाटाले शेयर खरिद बिक्रीमा नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल दूरसन्चार प्राधिकरणलाई एनसेल आजियाटाले एक जवाफी पत्र पठाउँदै नेपालको कानूनको पालना गर्न प्रतिबद्ध रहेको जनाएको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार एनसेल आजियाटाले एनसेल खरिद बिक्रीमा कम्पनीले नेपालको कानून पालन गर्न तयार रहेको उल्लेख छ । बुधबार अर्थ समितिको बैठकमा खनालले एनसेल खरिद बिक्री प्रकरणबारे जवाफ दिएका छन् ।

‘दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशत भन्दा वढी शेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था रहेकोले सो अनुरूप गर्न गराउन जानकारी गराइन्छ’, प्राधिकरणका उपनिर्देशक सुन्दर प्याकुरेले एनसेल आजियाटालाई पठाएको पत्रमा उल्लेख छ ।

मंसिर १५ गते शेयर खरिद बिक्रीको विना पूर्व स्वीकृति एनसेल आजियाटा बिक्री भएको खुलासा भएपनि प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था स्मरण उल्लेख गरेको थियो । आजिएटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको सेयर करिब ६ अर्ब ६५ करोड (५ करोड अमेरिकी डलर)मा बिक्री गरेपछि विवादमा परिणत भएको छ । बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले आजियाटाको ८० प्रतिशत शेयर खरिद गरेको विषयमा सरकारले छानबिन गर्ने उल्लेख गरेको छ ।

चालू आर्थिक वर्षको वृद्धिदर ४ देखि ५ प्रतिशत वृद्धि हुने आङ्कलन

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आङ्कलन गरेको छ । देशको वर्तमान आर्थिक अवस्था र वित्तीय स्थिति बुधबार सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आङ्कलन गरेको हो । आर्थिक वर्ष २०८०÷८१ को बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

चालू आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न सुरु भएकोले ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने राष्ट्र बैंकको आङ्कलन छ । त्यस्तै उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरिएको छ । भारतमा मूल्यवृद्धि घट्दै गएको र नेपालमा थोक मूल्यवृद्धिमा आएको सुधारले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरिएको छ ।

देशको आर्थिक स्थितितर्फ आर्थिक वर्ष २०७९/०८० असोजको मूल्यवृद्धि ७.५ प्रतिशत रहेको छ । जुन २०७९ असोजभन्दा १ प्रतिशत बिन्दुले कम हो । तर, मौद्रिक नीतिले लिएको ६.५ प्रतिशतको लक्ष्यभन्दा केही बढी रहेको छ । खासगरी खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिले गर्दा समग्र मूल्यवृद्धि उच्च रहेको छ । २०८० असोजमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ८.४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.८ प्रतिशत रहेको छ ।

बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको छ जनाइएको छ । लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले घटेको छ । व्यापार घाटा पनि ३.३ प्रतिशतले घटेको छ । २०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेका कारण चालू खाता ५९ अर्ब रुपैयाँले बचतमा रहेको छ ।

साथै गत वर्षको तुलनामा विदेशी लगानीको आप्रवाह पनि बढेकोले शोधान्तर बचत २०८० असोजसम्म ९९ अर्ब रुपैयाँ कायम भएको छ । २०७९ असोजसम्म ८ करोड रुपैयाँ जति विदेशी लगानी आएकोमा चालू आर्थिक वर्षको असोजसम्म ३ अर्ब ३८ करोड रुपैयाँ प्राप्त भएको देखाएको छ । शोधान्तर बचत भएसँगै विदेशी विनिमय सञ्चिती बढ्दै गई २०८० असोजमा १६ खर्ब ४३ अर्ब अर्थात् १२.३ अर्ब अमेरिकी डलर पुगेको छ । उक्त सञ्चितिले १०.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको जनाइएको छ ।

पर्यटक आगमन सन् २०२२ को १० महिनाको तुलनामा ७१ प्रतिशतले बढेको छ । वैदेशिक रोजगारीको लागि जाने व्यक्तिहरू अघिल्लो दुई आर्थिक वर्षमा बढेकोमा चालू आर्थिक वर्षको तीन महिनासम्ममा २१ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय क्षेत्रतर्फ गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप गत वर्ष ८.२ प्रतिशतले बढेकोमा चालू वर्ष १४.९ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा १०९ अर्ब रुपैयाँले बढेको छ । तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप बढ्ने आङ्कलन गरिएको छ ।

जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन आदेश

जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो । गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले अदालतमा जाहेरी दिएको थियो ।

आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरिएको छ । यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनीहरू दुवै जना हाल थुनाबाहिर थिए । यसअघि आरती साहको परिवार न्यायको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट