मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

मंशिर २१ गते बिहीबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहीबार तयार पारिएको मुख्य १० समाचारमा अर्को ठूलो भ्रष्टाचारको फाइल खोल्ने तयारीमा छौँ ः प्रधानमन्त्रीदेखी जन्ममिति विवादमा तानिएका सिग्देल रथीमा बढुवासम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

अर्को ठूलो भ्रष्टाचारको फाइल खोल्ने तयारीमा छौँ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा लैजाने तयारी गरिरहेको बताएका छन्। माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज (बिहीवार) उनले भ्रष्टाचार विरोधी र सुशासन प्रवर्द्धनको सरकारको अभियान नरोकिएको दावी गरे।

‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध अभियान थालनी गरेको छ। अहिले पनि अभियान रोकिएको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा लैजाने तयारीमा छौँ।’ उनले भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए। ‘नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पु¥याइएको छ। नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको छ। अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ।’

मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाएको उल्लेख गर्दै उनले सामाजिक न्याय र सुशासनका क्षेत्रमा धेरै काम भएको दावी गरे। मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सत्तापक्ष, प्रतिपक्ष, अर्थतन्त्रका विज्ञ, निजी क्षेत्रका साथै सरोकारवालासँग बृहत् अन्तरक्रिया गरेर समाधानको प्रयत्न अगाडि बढाइएको उनले बताए। पहिलो वर्ष सेवा प्रवाहमा सुधारको थालनी गरेको सरकारले निर्णायक कामको शुरुआत गरेको उनको भनाइ थियो।

‘यसअघि ससाना काम भए, अब ठुल्ठूला परियोजना निर्माणको थालनी गरिनेछ,‘ प्रधानमन्त्रीले प्रचण्डले भने। योसँगै कर्णाली चिसापानी, बूढीगण्डकीलगायत ठूला परियोजना निर्माण शुरु गरिने जानकारी उनले दिए। आज बसेको मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी आयोजनाका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त आयोजनाको शिलान्यास छिटै हुने विश्वास दिलाए। आफ्नो विदेश भ्रमणबाट अन्तरराष्ट्रिय समुदायमा नेपालको गौरव बढेको उनको भनाइ थियो।

टेकनाथ रिजालले अदालतले तोकेको धरौटी बुझाएर छुट्न दिएनन् चासो

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले छुट्न चासो दिएका छैनन् । उनलाई उच्च अदालत पाटनले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतले सातजनालाई धरौटीमा रिहा गर्न आदेश दिएकामा ६ जना छुटिसकेका छन्। बिहीबार पनि रिजालले धरौटी बुझाएका छैनन्। केन्द्रीय कारागारले धरौटी बुझाउन आफूसँग त्यत्रो पैसा नभएकाले रिजालले चासो नदेखाएको जनाएको छ । रिजाललाई गत असार १ गते केन्द्रीय कारागार लगिएको थियो।

रिजालसँगै थुनामा परेका हरिभक्त महर्जनले १५ लाख, हज समितिका अध्यक्ष शमशेर मियाँले १० लाख, पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीले १० लाख, रामशरण केसीले १५ लाख बुझाएर छुटिसकेका छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपले बुधबार ३० लाख रुपैयाँ धरौटी बुझाएर कारागारबाट थुनामुक्त भएका थिए। यो प्रकरणमा उपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, सागर राई, गोविन्दकुमार चौधरी र आङटावा शेर्पा थुनामै छन्। खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न न्यायाधीश जनक पाण्डेले आदेश दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले आफ्नो फरक मत राखेपछि खाँण थुनामै छन् ।

जिल्ला अदालत काठमाडौंले गत असार १ गते १७ जनालाई थुनामा पठाएर तीनजनालाई धरौटी माग गरेको थियो। यसमा सरकारी वकिल कार्यालयले ३० जनालाई प्रतिवादी बनाएको थियो, तीमध्ये १० जना फरार छन्।

राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने राप्रपाको निर्णय

राप्रपाले माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । बुधबार र बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने सम्बन्धमा अन्य दलसँग आवश्यक सहयोग जुटाउन, संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तथा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको राप्रपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजंग गुरुङलाई जिम्मेवारी दिइएको छ । बैठकले राप्रपा नियमावली–२०८० लाई संशोधनसहित पारित गरेको छ ।

राप्रपाले राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको र यथास्थितिमा देश अघि बढिरहन नसक्ने निश्कर्ष निकाल्दै आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ । राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको र सो प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने अनुमति दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय गरेको छ।

पोर्चुगलका प्रस्तावित राजदूत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशहरुविरुद्ध ११ वटा उजुरी

पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशहरुविरुद्ध ११ वटा उजुरी परेका छन्। समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति समशेर राणाका अनुसार बिहीबार संसदीय सुनुवाई समितिको सिंहदरबारमा बसेको बैठकमा पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाल र सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध ११ वटा उजुरी परेको हो ।

बैठकमा समितिका सदस्यहरुलाई उक्त उजुरी र प्रस्तावित राजदूत तथा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको कार्ययोजना पनि अध्ययनका लागि वितरण गरिएको छ। पोर्चुगलका लागि प्रस्तावित राजदूत र सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशहरूको उजुरी र कार्ययोजना अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरिएको समितिका सभापति राणाले जानकारी दिए संसदीय सुनुवाई समितिले गत मंसिर ९ गते बसेको बैठकले पोर्चुगलका लागि प्रस्तावित राजदूत र सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो। समितिको अर्को बैठक मंसिर २२ गते अपरान्ह साढे २ बजे बोलाइएको छ।

नक्कली भुटानी शरणार्थी ः सन्दीप रायमाझीसहित ६ जना रिहा

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले बताए । धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् । सन्दीप रायमाझी पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । शरणार्थी प्रकरणमा टोपबहादुर थुनामै छन् ।

उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो । धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालचाहिँ थुनामै छन् । रिजालले धरौटी बुझाएका छैनन् । उनलाई अदालतले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो । धरौटी रकम बुझाएका ५ जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अभियुक्तहरूसँग धरौटी लिएर छाड्ने निर्णय गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरूले रायमाझीसहित ५ जनालाई साधारण तारेखमा रिहा गर्ने निर्णय गरेका हुन् ।

भारतले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने

भारत सरकारले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने भएको छ । हाल ६३० मेगावाटभन्दा बढी बिजुली किनिरहेको भारतले थप ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको हो । भारत सरकारले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । समाचारमा भारत सरकारले नेपालबाट राष्ट्रिय ग्रीडको प्रयोग गरेर सिधा खरिद गर्नेछ । यससँगै भारततर्फ नेपालबाट भारतले कूल ६७० मेगावाट बिजुली किन्नेछ । नेपालबाट थप ४० मेगावाट नवीकरणीय ऊर्जा किन्ने निर्णयसँगै भारत सरकारले प्राकृतिक ग्यास खरिदलाई समेत स्वीकृत गरेको समाचारमा उल्लेख छ ।

एनसेलको शेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिदबिक्री भएका एनसेलका शेयरहरू मंसिर २५ सम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनु भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुबै पक्षलाई मंसिर २५ मा छलफलमा बोलाएको छ ।

एनआरएनएको असन्तुष्ट पक्षले परराष्ट्रमन्त्रीलाई बुझायो पाँचबुँदे ज्ञापनपत्र

गैरआवासीय नेपाली संघ (एनआरएनए) को असन्तुष्ट पक्षले परराष्ट्रमन्त्री एनपी साउदलाई पाँचबुँदे ज्ञापनपत्र बुझाएको छ । समानान्तर समितिका अध्यक्ष आरके शर्मा र महासचिव बुद्धि सुवेदीद्वारा हस्ताक्षरित ज्ञापनपत्र बिहीबार परराष्ट्रमन्त्री साउदलाई बुझाइएको हो । संघको तर्फबाट निवर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्धिसागर सुवेदी र कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले परराष्ट्रमन्त्रीलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाली नागरिक तथा प्रवासमा कार्यरत गैरआवासीय नेपाली नागरिकहरुसँग सम्बन्धित विषयलाई यथाशीघ्र सम्बोधन गर्न आग्रहसहित परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको महासचिव सुवेदीले बताए । उनका अनुसार हमास समूहले इजरायलमा हमला गरी नेपाली युवा विपिन जोशीलाई बन्धक बनाएको धेरै दिन भएको अवस्थामा उनको रिहाईका लागि कूटनीतिक पहल तीव्र बनाउन आग्रह गरिएको छ ।

यस्तै, अवैध बाटो हुँदै नेपाली नागरिकहरू विदेशी सेना (रुस) मा भर्ना भएका र भर्ना भएकाहरुमध्ये केही नेपालीको निधन भएका समाचारहरु अहिले सार्वजनिक भएको उल्लेख गर्दै ज्ञापनपत्रमा यस विषयमा नेपाल सरकारले स्पष्टसँग आफ्नो धारणा सार्वजनिक गरेर भर्ना भएका नेपाली नागरिकहरूलाई यथाशक्य छिटो नेपाल फर्काउन सार्थक पहल गर्न आग्रह गरिएको छ ।
यसैगरी, मध्यपूर्वको बाटो हुँदै अवैधरुपमा विभिन्न देशमा पुग्ने नेपालीहरू ठगिने क्रम जारी नै रहेकाले यसलाई बन्द गर्नका लागि प्रत्येक दूतावासमा प्रहरी सहचारीको आवश्यकता रहेको जानकारी गराइएको छ । यसको लागि यथाशीघ्र व्यवस्था गर्न परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

मध्यपूर्वमा अहिले सबैभन्दा ठूलो समस्याको रुपमा पासपोर्ट नवीकरणको विषय रहेको ज्ञापनपत्रमा उल्लेख छ । ‘अहिले पनि इराकमा झन्डै १२ हजार भन्दा बढी नेपालीहरु बस्दै आएकोमा अहिले त्यहाँ ६ सय भन्दा बढीको पासपोर्टको म्याद सकिएको अवस्था छ । जसले गर्दा उनीहरू इराकबाट बाहिर जान पाइरहेका छैनन् । यो विषयमा हामीले केही समयदेखि परराष्ट्र मन्त्रालयमा अनुरोध गर्दै आएका छौं । अझैसम्म त्यहाँ घुम्ती टोली नपुगेको हुँदा यथाशक्य छिटो घुम्ती टोली पठाई पासपोर्ट नवीकरणको लागि सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ ।

गैरआवासीय नेपाली नागरिकता वितरण भइरहेकोमा खुसी व्यक्त गरिएको छ भने अझै सहज तरिकाले पाउने व्यवस्था गर्न आग्रह गरिएको छ । ‘अहिले पनि कतिपय ठाउँहरुमा एनआरएन नागरिकताको अधिकारको विषयमा बुझाइमा एकरूपता आउन नसकेकाले सरकारी कार्यालयमा अप्ठेरो परेको कुराहरु हामीसँग आइरहेका छन् । यस विषयमा पनि परराष्ट्रमन्त्रीज्यूको ध्यानाकर्षण गराएका छौं,’ कोषाध्यक्ष ढुंगानाले भने ।

हालै पोर्चुगलमा दूतावास स्थापना गर्ने निर्णय गरेर राजदूत सिफारिस गरिएकोमा नेपाल सरकारलाई धन्यवाद दिँदै माल्टा, रोमानिया, टर्कीलगायत अन्य मुलुकमा पनि दूतावास स्थापनाको पहल गर्न अनुरोध गरिएको छ । आफूहरुले प्रवासमा रहेका नेपालीहरुको समसामयिक माग लिएर पररास्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएको निवर्तमान अध्यक्ष रविना थापाले बताइन् ।

पहिचानवादीले ओलीलाई कोशी प्रदेशमा निषेध गर्ने, एमालेको आपत्ति

कोशी नाम खारेजीको माग गर्दै प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संंघर्ष समितिले कोशी नामका पक्षमा मतदान गर्ने प्रदेशका नेताहरूलाई विभिन्न ठाउँमा प्रवेश निषेध गर्ने चेतावनी दिने गरेको छ । पहिचानवादी पक्षधरले एमाले अध्यक्ष केपी ओलीलाई पनि कोशी प्रवेशमा निषेधको हल्ला चलाएका छन् ।

एमालेको मध्यपहाडी संकल्प यात्रा आज पर्वत हुँदै कास्की पुग्दैछ । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म एक हजार आठ सय किलोमिटर पदयात्रा गर्ने एमालेको तयारी छ । पदयात्रा पुस १ गते पाँचथर पुग्ने बताइएको छ । तर अहिले एमाले अध्यक्ष ओलीलाई उनकै गृह प्रदेश कोशीमा निषेध गर्न खोजिएको भन्दै एमालेले आपत्ति प्रकट गरेको छ ।

बुधबारको कोशी प्रदेशसभा बैठकमा एमाले सांसद तिलकुमार मेन्याङ्बोले मुलुकका पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई प्रवेशमै निषेध गरिनेछ भन्ने चर्चा दुःखद् र संविधानविरोधी कदम भएको बताए । कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने भन्दै आन्दोलनरत संघसंस्थाले ओलीलाई प्रवेश निषेध गर्ने चर्चा थालिएपछि सांसदले आपत्ति जनाएका छन् ।

‘मुलुकभित्रै आवतजावत गर्न पनि निषेध गरिनेछ भन्ने चर्चा दुःखद छ । यस किसिमको अलोकतान्त्रिक कदम अगाडि नबढाउन म आग्रह गर्दछु,’ मेन्याङ्बोले भने । पहिचानवादी पक्षधरले एमाले र कांग्रेसका नेतालाई कोशीका विभिन्न जिल्लामा कार्यक्रम गर्न अवरोध गर्दै आएका छन् । ओली नेतृत्वमा एक सय पचासजनाको डफ्फाले पदयात्रा गरिरहेको छ । खाने र बस्ने व्यवस्था स्थानीय कमिटीले मिलाएका छन् । अध्यक्ष ओली आफैँले पाँचवटा गाडीको प्रबन्ध गरेका छन् ।

अरुले आफैँआफैँ गाडी मिलाएका छन् । एमालेको उक्त यात्रा राजनीतिक नै हो, तर ठाउँ–ठाउँमा मठमन्दिर घुम्दै टोली अगाडि बढिरहेको छ । एमालेले आफ्नो संकल्प यात्रामा हजारौंको सहभागिता भएको भन्दै अर्को चुनावमा बहुमत नै ल्याउने दाबी गरेको छ । तर पदयात्रा केका लागि र कस्तो विचार सम्प्रेषण गर्न हो भनेर उसले जनतालाई बुझाउन सकेको छैन ।

जन्ममिति विवादमा तानिएका सिग्देल रथीमा बढुवा

जन्ममिति विवादमा तानिएका उपरथी अशोकराज सिग्देल रथीमा बढुवा भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिग्देललाई रिक्त रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकले सेनाका महासेनानीहरु कमल बानियाँ, राजाराम बस्नेत, रोजप्रताप राणा र सञ्जय देउजाको सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको छ । सेनाका बलाधिकृतरथी सीताराम खड्काको अध्यक्षतामा गठित बढुवा समितिले उनको नाम रथी बढुवाका लागि सिफारिस गरेपछि सरकारले त्यही आधारमा निर्णय गरेको हो ।

सैनिक मुख्यालयमा गत शुक्रवार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गर्दै रक्षामा पत्र पठाएको थियो । २०४३ सालमा सैनिक अधिकृतका रुपमा सेनामा प्रवेश गरेका सिग्देल २५ बेसिकका सैनिक अधिकृत हुन् । सेनाको हायर कमान्ड कोर्समा समेत उनी प्रथम भएका थिए । हाल उनी सेनामा महत्वपूर्ण मानिने नीति महानिर्देशनालयको महानिर्देशक छन् । सेनाका बलाधिकृतरथी सरोजप्रताप राणाले अवकाश पाएपछि उनको ठाउँमा वरीयतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको थियो । तर, पाण्डेको उमेर विवादका कारण उनले दिएको राजीनामा स्वीकृत भएपछि सिग्देलको लागि रथी बढुवाको बाटो खुलेको हो । रथीमा बढुवासँगै सिग्देलको हालका प्रधानसेनापति प्रभुराम शर्माले अवकाश पाएपछि प्रधानसेनापति बन्ने बाटो खुला भएको छ ।

मन्त्रिपरिषदको बैठकले सेनाका उपरथीहरुको समेत सरुवा गरेको छ । सरुवा हुनेहरुमा सेनाको पश्चित पृतनाका पृतनापति रहेका उपरथी दीपक बानियाँको कार्यरथीको कार्यालय, विजय थापा सैनिक इन्टेलिजेन्स महानिर्देशनालय, प्रेमध्वज अधिकारी युद्धकार्य महानिर्देशक, सुदर्शन सिलवाल मध्यपूर्वी पृतना बर्दिवास, गणेश श्रेष्ठको सुदुरपश्चिम पृतना धनगढी र उपरथीमा बढुवा भएका सन्तोषवल्लभ पौडेलको पश्चिम पृतना पोखरामा पदस्थापन भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *