फाल्गुण १४ गते सोमबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन देखि मन्त्रालयको अनुगमन : बिना प्रतिस्पर्धा वीर अस्पतालद्वारा औषधि खरिद सम्मका समाचार समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
संघीय संसद् भवन परिसरमा लघुवित्त पीडितहरू प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरेले गम्भीर चासो लिएका छन्।सभामुख घिमिरेले सोमबार नै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिएका उनको सचिवालयले जनाएको छ। घिमिरेले संसद् भवनको सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको पनि आईजीपी कुवँरसँग बताएका छन्। लघुवित्त पीडितहरू नयाँबानेश्वरस्थित निषेधित क्षेत्र छिचोल्दै संसद् भवन परिसरमा छिर्न सफल भएका थिए।
कडा सुरक्षालाई छिचोलेर संसद् भवन परिसरमा छिरेका उनीहरूले नाराबाजीसमेत गरेका थिए। प्रदर्शन गर्दै करिब ५० जनाको संख्याका पीडितहरू संसद् भवन परिसरमा छिर्न सफल भए थिए। त्यसपछि उनीहरूमध्ये ४९ जनालाई संसद् भवन परिसरका सुरक्षाकर्मीले घेरा हालेर पक्राउ गरेका थिए। संसद् भवन परिसरमा छिरेका लघुवित्त पीडितहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका थिए। यसैबीच उक्त प्रकरणको छानबिन गर्न सरकरोल छानबिन समिति पनि गठन गरेको छ । प्रहरी हेडक्वार्टरले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे सम्मिलित छानबिन समिति गठन गरेको हो ।
काठमाडौं महानगरपालिकालाई संरचना तत्काल नहटाउन उच्च अदालतको निर्देशन
उच्च अदालत पाटनले ललिता निवासमा निर्माण गरेका निजी आवास तथा अन्य संरचनाहरु तत्काल खाली नगर्न र नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । सोमबार उच्च अदालत पाटनले ललिता निवास क्षेत्र वरिपरी निर्माण गरिएका संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेको थियो । आइतबार न्यायाधीश प्रकाश खरेलको एकल इजलासमा र सोमबार पुरूषोत्तमप्रसाद ढकालको इजलासमा यससम्बन्धी निवेदन परेका थिए।
यस अघि काठमाडौं महानगरपालिकाले वडा नं ४ मा पर्ने बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा खाली गर्न ७ दिने सूचना जारी गरेको थियो।
विशेष अदालतले २०८० फागुन ३ मा बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) हुने फैसला गरेको थियो। विशेष अदालतले सरकारका नाममा फिर्ता हुने ठहर गरेको ललिता निवासको जग्गामा रहेका घर तथा अन्य संरचना हटाउन महानगरपालिकाले जारी गरेको सूचना तत्काल कार्यान्वयन नगर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले गरेको फैसलामा कल्पना तुलाधरसहित बालुवाटारको जग्गा आफ्नो नाममा पार्ने ६५ जनाको जग्गा जफत हुने फैसला सुनाएको थियो ।विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकामध्ये ६५ जनासँग जग्गा जफत गर्न माग गरेको थियो। विशेषले अख्तियारको मागदाबीअनुसार नै उक्त जग्गा जफत हुने फैसला सुनाएको हो। बाँकी ११० जनाविरुद्ध भ्रष्टाचारको कसुर, बिगो र सजायको मागदाबी अख्तियारले गरेको थियो। ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यमा मन्त्रीदेखि कर्मचारी, तिनका आफन्त र बिचौलियासम्म तानिएका थिए।
बजेटको सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ देखि छलफल हुने
आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्तुत गरेका थिए । उक्त विषयमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको हो ।
सभामुख देवराज घिमिरले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल यही फागुन २१, २२, २३, ३० र आगामी चैत १, २ र ४ गते दिनहरु तोकेका छन् । उक्त छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन सम्बधित संसदीय दलका पदाधिकारीहरुले आ(आफ्ना दलका बक्ता सदस्यहरुको नाम एक बैठक बस्नु एक घण्टा अघि नै नाम सङ्घीय संसद सचिवालयमा टिपाउन बैठकमा जानकारी गराए ।
बैठकमा सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पति भएको ‘विधायनसमबन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरे । प्रतिनिधिसभाको अर्को बैठक यही फागनु १८ गते ११ बजे बस्नेछ ।
लोसपा छोडेर महतोद्धारा राष्ट्रिय मुक्ति क्रान्ति अभियान घोषणा
नेता राजेन्द्र महतोले नयाँ अभियानको घोषणा गरेका छन् । आज काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै लोसपा अध्यक्ष महन्थ ठाकुरसँग अलग्गिएर उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका हुन् । बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्य रहेको उनको दावी छ । राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गर्दै महतोले लोसपा, जसपालगायतका मधेसवादी पार्टी साथै एमाले, कांग्रेस माओवादी विचार राख्नेहरले सबैले सामेल हुन पाउने बताएका छन् । उनले अभियानले पार्टीको निर्माणदेखि सबै संरचना तयार गनै सबै पाटीको साथ र सहयोगको आवश्यकता समेत परेको उल्लेख गरेका छन् । लोसपामा यसअघि लोसपामा वरिष्ठ नेताका रुपमा परिचित रहेका थिए ।
लोपपामा रहँदा वरिष्ठ नेता समेत रहेका महतोले अध्यक्ष महन्थ ठाकुरसंग केही समयअघिदेखी पदाधिकारी चयनको विषयलाई लिएर असन्तुष्टि जनाउँदै आएका थिए । उनले मंसिरको केन्द्रीय समितिमा समेत सहभागिता जनाएका थिएनन् ।
आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेश,अर्थतन्त्र सुधार गर्ने किसिमको बजेट आउने
आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभामा पेश भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरेका हुन् । आज बसेको बैठकमा अर्थमन्त्री डा.महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् ।
सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी आज संसद्मा पेस गरेको हो । बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले मुलुको अर्थतन्त्र लयमा फर्किँदै गरेको भएपनि चुतौतीपूर्ण अझै रहेको बताए ।अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता प्रतिनीधि सभामा पेश गर्दै बाह्य र आन्त्रिक अर्थतन्त्रको सूचकलाई एकैचोटी सुधार देखिने गरी आगामी बजेट ल्याइने बताए ।
सार्वजनिक खर्चको प्रभावकारिता बृद्धि गर्न बजेट उन्मुख हुने, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र उर्जा कृषि, पर्यटन र सुचना प्रविधिका लागि आवश्यक सार्वजनिक स्रोत निर्माण गर्नेगरी आगामी बजेट ल्याइने ,यसैगरी निजी लगानी संकुचित नहुने गरी सार्वजनिक ऋण परिचालन गर्ने प्राथमिकता बजेटमा हुने अर्थमन्त्री महतले बताए । सार्वजनिक खर्चलाई प्राथमिकीकरण गरेर पुर्व तयारी भएका आयोजनालाई आगामी बजेटमा अगाडी बढाउने उनकाे भनाइ थियाे ।
जलविद्युतमा आन्तरिक र बाह्य लगानी प्रवद्र्धन गर्ने,जलविद्युतको निर्माण निर्धारित समयमा सम्पन्न गर्ने,विद्युत सेवोको पहुँच नपुगेको ठाउँमा सौर्य उर्जा र नवीकरणीण् यर्जा पुर्याइने, कृषि उपजमा आत्मनिर्भर हासिल गर्न कृषि उपजको भण्डारमा जोड दिने, आन्तरिक उत्पादनलाई प्रतिस्पर्धी बनाउँन अनुदान दिइने ,सहुलियतपुर्ण कर्जा सिचांइ सुविधा, मलको सुनिश्चितता गरी उत्पादन बढाइने, पुर्वाधार विकास गरी नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने लगायत बजेटको प्रथमिकता हुने पेश भएको बजेटको सिद्धान्त तथा प्राथमिकतामा उल्लेख गरिएको छ ।
निजगढ विमानस्थलको निर्माण कार्यका लागि आवश्यक काम गर्ने गरी तयारी गरिने ,३ महिना अगावै विनियोजन बिधेयकको सिद्धान्त तथा प्राथमिकता पेश गर्नुपर्ने व्यवस्था अनुरुप सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटको सिद्धान्त तथा प्राथमिकता पेश गरेका हुन् । सरकारले आगामी आवको बजेट कयालेण्डर संसोधन गर्दै ३ महिना अगावै बजेटको प्राथमिकता तथा सिद्धान्त पेश गर्ने व्यवस्था गरेको हो । यसले संसदमा पर्याप्त छलफल गर्ने बाटो खुलेको छ । अर्थमन्त्री महतले गत वर्ष ढिलो बजेटको विषय संसदमा पेश भएकाले सबै विषयमा छलफल गर्न नसकिएको बताउँदै यस वर्ष छलफल गर्ने समय प्रयाप्त उपल्ब गराउन समयमा बजेटको खाका संसदमा पेश गरेको बताए ।
यस्तै रुकुम र जाजरकोट आएको भूकम्प पश्चात खास गरेर अस्थायी आवास तथा पुर्ननिमार्णमा ठूलो स्रोतको आवश्यकता रहेको समेत अर्थमन्त्री महतले बताए ।
इलाम र बझाङ उपनिर्वाचनः चैत २४ मा उम्मेदवारी दर्ता
इलाम २ र बझाङ १ को (ख) मा हुन लागेको उपनिर्वाचनका लागि चैत २४ गते मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम तय गरेको हो । निर्वाचन आयोगले आइतबार आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो । २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
१५ वैशाखमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।इलाम २ मा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र बझाङ १ ख बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि सो क्षेत्र रिक्त रहेका थिए । आज स्वीकृत गरिएको कार्यतालिका अनुसार २०८० चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी २०८० चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।
निर्वाचन कार्यक्रम अनुसार मिति २०८० चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ। साथै चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहने आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा.थानेश्वर भुसालले जानकारी दिए ।
भजन शिरोमणि भक्तराज आचार्यको निधन
चर्चित गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार दिउँसो अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । आचार्यको शवलाई अन्तिम श्रद्दान्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ ।
आचार्यले दर्जनौं भजन, आधुनिक र लोकगीतमा स्वर तथा संगीत दिएका थिए। नेपाली सुगम संगीतलाई उचाइमा पुर्याउन उनको निकै योगदान रहेको चर्चा गरिन्छ । भक्तराजको वि.सं. २०४९ सालमा जिब्रोमा खटिरा देखिएको थियो । उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि जिब्रो काटिएको थियो । उनका दुई छोरा सत्यराज र स्वरुप पनि गायक छन् ।
गोमालाभ सापकोटालाई सांसदबाट हटाउन जनमतले लेख्यो संसद् सचिवालयलाई पत्र
जनमत पार्टीले समानुपातिक सांसद गोमालाभ सापकोटालाई पदबाट हटाउने भएको छ । सापकोटालाई पदबाट हटाउन संघीय संसद् सचिवालयलाई पत्रचार गरेको हो । पार्टीको विधानविपरीत कार्य गरेको भन्दै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट साधारण सदस्यसमेत नरहने गरी सांसद लाभलाई कारबाही गरिएको जनमत पार्टीले जनाएको छ ।
केन्द्रीय कार्यकारिणी समितिले सांसद लाभलाई कारबाही गरी पार्टीबाट निष्कासित गरिसकेको अवस्थामा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम उनलाई पदबाट हटाउन संसद सचिवालयलाई पत्राचार गरेको हो । सोही ऐनको दफा ३८ (२) ले तोकेको प्रक्रियाबमोजिम सम्बन्धित सदन वा सभामा पेस गर्न पनि जनमतले आग्रह गरेको छ । पार्टी अध्यक्ष डा। सीके राउतद्वारा हस्ताक्षरित उक्त पत्रमा सांसद लाभले पार्टीको विधानविपरीत कार्य गरेको भन्दै कारबाही गरिएको पार्टीबाट समेत निष्कासित गरेको उल्लेख छ ।
‘उपरोक्त सम्बन्धमा जनमत पार्टी तर्फबाट समानुपातिकबाट निर्वाचित मा गोमालाभ सापकोटामाथि पार्टीको विधान बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट कारबाही भई जनमत पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको हुँदा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम यो सूचना पेश गरेका छौं । ऐ। दफा ३८ (२) ले तोकेको प्रक्रिया बमोजिम सम्बन्धित सदन वा सभामा समेत पेश गर्न हुन अनुरोध छ। जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय यसैसाथ पेश गरिएको छ ।’ अध्यक्ष डा सीके राउतले संसद सचिवालयमा पठाएको पत्रमा भिनएको छ ।
संसदको अर्को बैठकमा जवाफ दिन सभामुखको सरकारलाई रुलिङ
सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलहरुले संसदमा उठाएका विषयको आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका छन् ।नेकपा एमालेसहित प्रतिपक्षी दलहरुले संसदको बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा सो रुलिङ गरेपछि बैठक सुचारु भएको हो । आजको प्रतिनिधि सभाको पहिलो बैठकमा एमालेसहितका प्रतिपक्षी दलहरुले प्रतिनिधि सभा बैठकमा सरकारका मन्त्रीहरु बिभिन्न काण्डमा मुछिएको भन्दै तीनजना मन्त्रीको माग गर्दै सरकारसँग जवाफ माग्दै संसदको बैठक अवरुद्ध गरेका थिए ।
लगातारको अवरोधपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । प्रतिपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहन बस्नेत र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका छन् ।बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्य मन्त्री बस्नेतलाई सरकारबाट हटाउन उनीहरुको माग छ । त्यस्तै भगवान गौतम बुद्धको एक मात्र अस्तु भएको रामग्राम निजी कम्पनिलाई ९९ बर्षका लागि भाडामा दिने निर्णय पर्यटनमन्त्री किँरातीको नेतृत्वमा रहेको समितिले गरेको भन्दै राजीनामा माग गरेका छन् ।
मन्त्रालयको अनुगमन : बिना प्रतिस्पर्धा वीर अस्पतालद्वारा औषधि खरिद
वीर अस्पतालले फार्मेसीका लागि औषधि खरिद बिना प्रतिस्पर्धा गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिए । अस्पताल प्रशासनले भने तीन वटा फार्मेसीका लागि औषधि प्रक्रिया पूरा गरेरै खरिद गरेको दाबी गरेपनि अनुगमनका क्रममा भने २०७८ देखि पुरानै सम्झौताअनुसार खरिद भइरहेको पाइएको उनको भनाइ छ । अनुगमन टोली सदस्य समेत रहेका वरिष्ठ जनस्वास्थ्य अधिकृत मिश्रले भने, “विसं २०७८ देखि हालसम्म बोलपत्र आह्वान नगरी औषधिखरिद गरिरहेको अनुगमनका क्रममा देखिएको छ ।”
उनले अनुगमनका क्रममा अत्यावश्यक औषधिफार्मेसीमा नभएको, अनावश्यक औषधिस्टोरमा राखेको, म्याद सकिएको औषधि फिर्ता नगरी धेरै मात्रामा राखेको, फार्मेसीको स्टोरमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको पाइएको जानकारी दिए । वीर अस्पतालका निर्देशक सन्तोष पौडेलले फार्मेसीको नेतृत्व यसबीच तीन पटक परिवर्तन भएकाले बोलपत्र आह्वानमा समस्या देखिएको बताए । उनले केही औषधि खरिदका लागि भने बोलपत्र आह्वान भइसकेको जानकारी दिए । “बीमाबाट आउनुपर्ने रकम छ महिनासम्म पनि नआउदा आपूर्तिमा समस्या भएको हो । अन्यत्रबाट सोझै खरिद गरी ल्याउन सकिन्न”, उनले भने , “आपूर्तिकर्तासँग अत्यावश्यक औषधिखरिदका लागि पटक–पटक छलफल गर्दा पनि भुक्तानी नभएकाले आपूर्ति रोकिएको छ ।”
निर्देशक पौडेलले प्राविधिक जनशक्ति अभावले अस्पतालद्वारा सञ्चालित तीन वटा फार्मेसी चौबिस घण्टा सञ्चालन गर्न नसकिएको पनि बताए । उनले एउटा काउन्टरलाई २४ घण्टा सञ्चालन गरे पनि दुई वटा काउन्टर भने बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन भइरहेको जानकारी दिए । उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा फार्मेसी भवन निर्माणका लागि खालि ठाँउमा टहरा निर्माणको ठेक्का लगाउने प्रक्रियामा अगाडि बढाइएको जानकारी दिए । “केही दिनमा टहरा निर्माण र बोलपत्र आह्वान गरी औषधिआपूर्ति पनि भइसक्छ”, उनले भने , “जनशक्ति थप गरेपछि अहिलेको समस्या ९० प्रतिशत समाधान हुनेछ ।”