मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

फाल्गुण १५ गते मंगलबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।मंगलबार तयार पारिएको मुख्य १० समाचारमा महाधिवेशन पक्षधर नेविसंघ सदस्यहरूको ९ बुँदे अपील देखि भक्तराज आचार्यको उपचारको खर्च सरकारले गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धतासम्मका समाचार समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

महाधिवेशन पक्षधर नेविसंघ सदस्यहरूको ९ बुँदे अपील

 नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका महाधिवेशन पक्षधर सदस्यहरुले ९ बुँदे अपील जारी गरेका छन् । 


महाधिवेशन पक्षधर मानिएका स्ववियु परिषद केन्द्रीय अध्यक्ष एवं नेविसंघ केन्द्रीय सदस्य निराजन नेपाल तथा नेविसंघ केन्द्रीय सदस्यहरु भानुभक्त जोशी, राज थेबे, दोर्ची शेर्पा, भुपेन्द्र थेबे, आकाश कार्की, एनपी जोशीलगायतले ९ बुँदे संयुक्त अपील जारी गर्दै तोकिएको मितिमा नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्ने माग गरेका छन् । 

लघुवित्त पीडितलाई ७ दिन हिरासतमा राख्‍न अनुमति

संघीय संसद भवन परिसरभित्र प्रदर्शन गरेका लघुवित्तका ऋणीहरूलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । मंगलबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले ४९ जनालाई ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । जना पुरूष र ४८ जना महिलालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूमाथि सार्वजनिक शान्तिविरूद्धको कसुरमा म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंँका प्रवक्ता एवं‌ एसपी नवराज अधिकारीले जानकारी दिए ।

सोमबार दिउँसो लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ । प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

मन्त्रिपरिषदका १७ निर्णय

मन्त्रिपरिषदको बैठकले दुबईमा फागुन १९ गते हुने रोजगार मेलामा सहभागी हुन श्रममन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिसकुमार देवलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै आगामी फागुन १६ र १७ गते नेपाल र भारतबिच पराराष्ट्र सचिवस्तरीय छलफलमा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले भारतीय विदेश सचिवसँग हुने द्विपक्षीय छलफल तथा भारतको पुनेमा आयोजना हुने आर्थिक संवादसम्बन्धी कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिइन् ।

यस्तै, सरकारले आगामी चैत १ देखि ९ गतेसम्म अमेरिकामा हुने विश्व बैंक र नेपालबिचका नयाँ खाका, नेपालमा हुन लागेको आईडीएसम्बन्धी दोस्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युत्सम्बन्धी बैठकमा अर्थमन्त्री र अर्थसचिवसहितको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

७० करोड टेप प्रकरणको अनुसन्धान जारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ७० करोड टेप प्रकरणको अनुसन्धान भइरहेको र टेरामक्स अनुसन्धानको रिजल्ट पनि चाँडै आउने बताएका छन् । मंगलबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको र सबुत प्रमाण नभएसम्म कसैलाई पनि अभियुक्त बनाएर मुद्दा दर्ता नगरिने स्पष्ट पारे ।

२०७६ फागुनमा तत्कालीन सञ्चारमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको मागेको भनिएको अडियो सार्वजनिक भएको थियो । साथै उनले टेरामक्स प्रकरणको पनि अनुसन्धान भइरहेकाले चाँडै रिजल्ट आउने दाबी गरेका छन् । अनुसन्धान अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

माओवादी नेता पुरीले दिए पदबाट राजीनामा

नेकपा (माओवादी केन्द्र) कोसी प्रदेश समितिका कोषाध्यक्ष रेवतराज पुरी गगनले पदबाट राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएपछि नेकपा (माओवादी केन्द्र) कोसी प्रदेश समितिका कोषाध्यक्ष रेवतराज पुरी गगनले पदबाट राजीनामा दिएका हुन् । झापाको दमक नगरपालिका–८ स्थित सरकारी जग्गा आफ्नो नाममा ल्याएको भन्दै अख्तियारगले पुरी र उनको परिवारसहित १७२ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरिसकेको छ। सोही प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा पुरीको चार करोडभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको पुष्टि भइसकेको छ। उनलाई जरिवाना तिराउने फैसला विशेष अदालतले गरिसकेको छ।

पुरीले आफ्नो पैतृक जमिनसँग सम्बन्धित भई विशेष अदालतले गरेको फैसला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाका कारण कोषाध्यक्ष पदबाट राजीनामा दिए । पार्टीका प्रदेश अध्यक्षलाई सम्बोधन गर्दै उनले राजीनामा पत्र बुझाएका हुन्। बुवा भगवान पुरीले २००२ देखि जंगल फडानी गरि करिब ६० बिघा जमिन भोगचलन गरेको दावी गर्दै उनले २०२१ सालमा बुवाको नाममा २४ बिघा र आमा रुपादेवीको नाममा ४ बिघा १४ कठ्ठा १० धुरसहित २९ बिघा १४ कट्ठा १० धुर जग्गाको धनीपूर्जा आफ्नो परिवारसँग रहेको दाबी गरेका छन्। जग्गा नाप जाँच ऐन २०१९ को दफा ६ बमोजिम २०६३र६४ तिर आफूहरू लगायतले दमक नगरभित्रको हाल वडा दमक ५, ६, ८, ९ र १० मा गरि करिब २५ सय घरपरिवारले पुनः नापी टोलीबाट धनीपूर्जा पाएको उनले बताएका छन् ।

चैत १ देखि ९ गतेसम्म अमेरिकाको बाशिङटन डिसीमा हुने बैठकमा अर्थमन्त्री महत अमेरिका जाने

अर्थमन्त्री डा. प्रकाशशरण महत अमेरिका भ्रमणमा जाने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चैत १ देखि ९ गतेसम्म अमेरिकाको बाशिङटन डिसीमा हुने विश्व बैंक र नेपालबीचको साझेदारीको नयाँ खाका, नेपालमा आयोजना हुन लागेको आईडीए २१ रिप्लेसमेन्टको दोस्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युत आयोजनासम्बन्धी बैठकमा अर्थमन्त्री र सचिव सहितको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिएको हो । बैठकले परराष्ट्रमन्त्री एनपी साउद र सचिव सेवा लम्सालको भारत भ्रमण पनि स्वीकृत गरेको छ ।

पुरुष र महिला खेलाडीबीच पारिश्रमिकमा विभेद गरिएको भन्दै बाबुरामले उठाए प्रश्न

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले महिला र पुरुष खेलाडीबीच पारिश्रमिकमा फरक पारिएको भन्दै प्रश्न उठाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार क्रिकेटरहरुको वर्गीकरण गर्दै पारिश्रमिक निर्धारण गरेको थियो । जसमा ए ग्रेडमा हुने पुरुष खेलाडीले मासिक १ लाख पाउँदा महिलाले भने ५० हजार मात्र पाउने छन् ।

“ समान कामकोलागि समान ज्याला” आधुनिक लोकतन्त्रको आधारभूत सिद्धान्त र मान्यता हो नेपालको संविधानको भाग-३ मौलिक हक र कर्तव्य अन्तरगत धारा १८ समानताको हक को उपधारा ४ मा प्रष्ट लेखिएको छ “ समान कामकालागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन।” भनेर लेखेको उल्लेख गर्दैै क्यानले पुरुष र महिला खेलाडीलाई यस्तो विदेद कसरी गर्न सक्छ भन्दै प्रश्न गरेका छन् । क्यानले सोमबार महिला खेलाडी र पुरुष खेलाडीको पारिश्रमिक निर्धारण गरेको थियो । क्यानले तोकेको पारिश्रमिकमा ए मा परेका पुरुष खेलाडीले १ लाख पारिश्रमिक पाउँछन् भने ग्रेड एमा पर्ने महिला क्रिकेटरले मासिक ५० हजार रुपैयाँ तलब पाउने छिन् ।

नामिबियासँग नेपाल पराजित

 नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो । नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुदै १८६ रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४८ रन बनाए भने कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३२, सोमपाल कामीले ११ बलमा २६ रन तथा गुलशन झाले १२ रन बनाएका थिए । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्बाधिक ४ विकेट लिए भने बेर्नार्ड स्कोल्ज, जान फ्राईलिंक र जान निकोलले २-२ विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो ।

नामिबियाका लागि जान निकोलले १०१ रनको शतकीय पारी खेलेका थिए । उनले ३३ बलमा शतक बनाउदै टी-२० मा कम बलमा शतक बनाउने नयाँ रेकर्ड बनाएका छन् । यस अघि नेपालका कुशल मल्लले ३४ बलमा बनाएको शतक टी-२० को रेकर्ड थियो । त्यस्तैमलान क्रुगेरले ५९ ,माइकल भान लिंगेनले २० रन बनाएका थिए । नेपाली बलर रोहित पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए । अब सिरिजको अर्को खेल बुधबार नेपाल र नेदरल्याण्डसबीच हुने छ ।

भक्तराज आचार्यको उपचारको खर्च सरकारले गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वगीय बरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्न संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा मंगलबार बिहान पुगेका प्रधानमन्त्री प्रचण्डले उक्त प्रतिबद्धता जनाएका हुन् ।

‘ प्रधानमन्त्री प्रचण्डले स्वर्गीय आर्चायको उपचारमा भएको खर्च व्यावस्थापन गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताए । आचार्यले गीत–संगीतको क्षेत्रमा पुर्‍याएको योगदान अजर अमर रहने बताए । प्रधानमन्त्री प्रचण्डले उनका गीत–संगीतको क्षेत्रमा जुन योगदान गरेको , त्यो अमर अजर नै रहने बताए । कालजयी नै छन् उन योगदानहरु छन् । त्यसले गीत(संगीत क्षेत्रलाई लामो समयसम्म उत्प्रेरणा दिइरहनेछ, दिशानिर्देश गर्नेछ उनले भने । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीत–संगीतको एउटा अध्याय समाप्त भएको बताए ।

‘भक्तराज आचार्यसँगै एउटा अध्यायको समाप्त भएको छ । सांगीतिक क्षेत्रमा अग्रपंक्तिमा नाम आउने उनकै थियो । नेपाली संगीतलाई दिएको योगदानप्रति उनलाई पनि धेरै नै सन्तोष थियो । नेपाली संगीतलाई अझै निरन्तरता दिनका लागि मैले मेरा दुई छोरा लगातार यो कर्ममा हुन्छन् भन्ने सोच्नुभएको थियो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *