मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

फाल्गुण १८ गते शुक्रबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । शुक्रबार तयार पारिएको मुख्य १० समाचारमाराष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर सत्ता गठबन्धन विघटन हुँदैन् : सभापति देउवा देखि देशको पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने छ- प्रधानमन्त्री सम्मका समाचार समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर सत्ता गठबन्धन विघटन हुँदैन् : सभापति देउवा

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर सत्ता गठबन्धन विधटन नहुने बताएका छन् । शुक्रबार भरतपुर भ्रमण वर्षमासहभागी चितवन पुगेर सभापति देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले राष्ट्रियसभा अध्यक्ष पदको विषयलाई लिएर गठबन्धन कठिन परिस्थितिमा पनि स्थायी रहने बताएका हुन् । सभापति देउवाले गठबन्धन कुनै पदको पक्षमा सहमति नहुँदैमा टुक्रिने गतिविधि सकरात्मक नहुने समेत उल्लेख गरे । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर विभिन्न किसिमका टिक्का टिप्पणी भइरहेको बेला सभापति देउवाले गठबन्ध स्थायी रहने बताएका हुन् ।

सभापति देउवाले कांग्रेसको तर्फबाट सत्ता गठबन्धलाई जिवित राख्न ठूलो भुमिका खेल्दै आएका छन् । सभापति देउवाले देशमा आइपर्ने हरेक किसिमका शक्तिसंग चुनौतीको सामना गर्नका लागि देशमा गठबन्धन आवश्यक रहेको बताउँदै आएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी शक्तिहरु अहिले देशमा राजा ल्याउने पक्षमा आक्रामक रुपमा उर्लिरहेको बेला संविधानको रक्षा र सम्पूर्ण इतिहासको संरक्षणका लागि गठबन्धन आवश्यक रहेको उनको भनाइ छ ।

राष्ट्रिय सभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुँदैछ । भरतपुर विमानस्थलमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर सञ्चारकर्मीले गठबन्धनबारे गरेको प्रश्नमा देउवाले स्थायी हुने भएकाले कु्नै पनि आसंका नगर्न आग्रह समेत गरेका छन् । उनले राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री र नेपाली कांग्रेसबीच पहिल्यै सहमति भइसकेका बताएका छन् ।

अनुगमन तथा मूल्यांकन विधेयक संघीय संसदबाट बहुमतले पारित

 अनुगमन तथा मूल्यांकन विधेयक संघीय संसदबाट पारित भएको छ । उक्त विद्येयक २८ फागुन २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । विधेयक २३ माघ २०७९ मा पारित भएर प्रतिनिधि सभामा आएको थियो । उक्त विधेयक प्रतिनिधि सभाले शुक्रबार पारित गरेसँगै यो विधेयक संघीय संसदको दुबै सदनबाट पारित भएको हो ।आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । जसलाई प्रतिनिधि सभा सदस्यहरुले बहुमतका आधारमा पारित भएको छ ।

विधेयक प्रतिनिधि सभाबाट पारित भएको सन्देश राष्ट्रिय सभामा जाने र राष्ट्रिय सभाले बहुमतले पारित भएमा राष्ट्रिय सभा अध्यक्षले प्रमाणित गरे राष्ट्रपति समक्ष जानेछ । राष्ट्रपतिले प्रमाणित गरेको अवस्थामा मात्र उक्त विद्येयक ऐनको रुपमा कार्यान्वय हुनेछ ।

सम्पत्ति शुद्धीकरण विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ ।

कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले सो विधेयक सभामा पेस गरेका थिए । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकमाथि त्यसअघि छलफल भएको थियो । छलफलमा सांसदहरु रमेशजङ्ग रायमाझी र भैरवसुन्दर श्रेष्ठले आफनो धारणा राखेका थिए । त्यस्तै, बैठकले राष्ट्रियसभा (दोस्रो संशोधन) नियमावली, २०८० पारित गरेको छ । समितिका सभापति सुरेशकुमार आलेमगरले सो प्रस्ताव पेस गरेका थिए । त्यसमाथि सांसदहरु प्रकाश पन्थ, भुवनबहादुर सुनार, रमेशजंग रायमाझी, कमला पन्त, डा विमला राई पौडेल, जितेन्द्रनारायण देव, भैरवसुन्दर श्रेष्ठ, खिमलाल देवकोटा, विमला घिमिरे र गोपीबहादुर सार्की अछामीले आफ्नो धारणा राखेका थिए ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभामा सदस्यकोतर्फबाट ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरुको अनुमगन, निरीक्षण र मूल्याङ्कनको प्रतिवेदन, २०८० सभासमक्ष पेस गरे । दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८० सभासमक्ष पेस गरे । त्यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० सभामा पेस गरिन् । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २१ गते १ः१७ बजे बस्नेछ ।

खाद्य विभागका अधिकृत घुस प्रकरणमा दोषी ठहर, तोकियो सजाय र जरिवाना

 खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत योगेन्द्र ढुंगेल घुस लिएको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार ढुंगेललाई दोषी ठहर गरेको हो । ढुंगेललाई ८ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । ढुंगेललाई एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । उनीविरुद्ध अदालतमा बयान फेरेको आरोप लागेका ज्ञानहरि लामा पनि दोषी ठहर भएका छन् ।

दुग्ध उद्योगीलाई सहुलियत ऋणमा सरकारको उद्धारता

सरकारले दूध किसानलाई भुक्तानी दिनका लागि दुग्ध उद्योगीलाई सहुलियत ऋण दिने उद्धार देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कार्यदल गठन गरेको छ । सो मार्फत विक्री हुन नसकेको दुग्धजन्य पदार्थको मौज्दात विवरण सङ्कलन गर्ने र आन्तरिक ऋण निकासीका लागि पहल गर्ने जनाएको छ । मन्त्रालयकी प्रवक्ता सवनम शिवकोटी अर्यालका अनुसारमन्त्रालयले सहुलियत ऋण अनुदानमा डिडिसीलाई ३०करोड रुपियाँको लागि अर्थमन्त्रालयसँग पहल गरिसकेको छ । पछिल्लो समय दुग्ध उत्पादक किसानले करिब ५ महिनाको दूधको भुक्तानी पाउन सकेका छैनन् । करिब ५ देखि ७ अर्ब रकम भुक्तानीको दाबी गर्दै क्रमिकरुपमा आन्दोलन गर्दै आएका छन् ।

बाँसबारी जग्गा : सर्वोच्चले माग्यो सरकारका नाममा ल्याउने निर्णयको फाइल

बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने प्रक्रियाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले निर्णयको फाइल झिकाउन आदेश जारी गरेको छ । सिजि चाँदवाग रेसिडेन्सी प्रालिका तर्फबाट गत फागुन १३ गते दर्ता भएको रिटमाथि सुनुवाइ गर्दै आज (शुक्रबार) न्यायाधीश डा.आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सो जग्गा सरकारका नाममा ल्याउने निर्णयको फाइल झिकाउने आदेश दिएको हो । यसअघि फागुन १४ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।

त्यसपछि सुनुवाइका लागि फागुन १७ गते पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो । चौधरी ग्रुपले हिनामिना गरेको सो जग्गा सरकारका नाममा ल्याउन अघि बढाएको प्रक्रिया बदर गर्न माग गरिएको रिटमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारलाई प्रतिवादी बनाइएको छ । सीआईबीले बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्धक निर्देशक अरूण चौधरी,तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई नियन्त्रणमा लिएको थियो ।

वाफ महिला च्याम्पियनसिप: नेपाल फाइनलमा जोर्डनसँग टाइब्रेकरमा पराजित

वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो । जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । टाइब्रेकरमा जोर्डनकी आय अल मजालीले गोल गरेपछि नेपालका लागि गीता रानाले बराबरी गोल गरिन् । त्यसपछि जोर्डनकी कप्तान मायसा बराहले गोल गर्दा नेपालकी दिपा शाहीले पनि गोल गरिन् ।

त्यसपछि जोर्डनको लगातार दुई प्रहार गोलमा परिणत भएको थियो तर नेपालकी हिरा भुजेलले गोल गरे पनि अमृता जैशीले भने गोल गर्न सकिनन् । जोर्डनको पाँचौ प्रहार गोल भएसँगै नेपाल पराजित हुन पुग्यो । त्यसअघि खेलको मध्यान्तरसम्म नेपालले १–० गोलको अग्रता बनाएको थियो । नेपालका लागि सविता राना मगरले खेलको २९औँ मिनेटमा गोल गरेकी थिइन् । अनिता बस्नेतको स्थानमा खेलिरहेकी सविताले नेपालका लागि पहिलो गोल गर्न सफल भएकी थिइन् ।

त्यस्तै खेलको ७४औं मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याइन । त्यसपछि खेलको ८९औं मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गर्यो । जोर्डनका लागि साराह अबु साबाहले गोल गरिन । तर खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा पेनाल्टीमा नेपालकी गीता रानाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । जोर्डनकी जबाराहले बक्समा बल ह्याण्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ गालले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो । जोर्डन प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फिफा बरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ ।

काठमाडौँ महानगरविरुद्ध कवाडी व्यवसायी र संकलनकर्ता आन्दोलित

 काठमाडौँ महानगरपालिकाका कवाडी व्यवसायीहरू आन्दोलित भएका छन् । कवाडी व्यवसायी समाजको अगुवाईमा शुक्रबार महानरपालिकाविरुद्ध विरोध प्रदर्शनमा उत्रिएका हुन् । महानगरपालिकाले कवाडी व्यवसायीहरूप्रति दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका छन् । थापाथली, त्रिपुरेश्वर हुँदै काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पुग्नेगरी महानगरको निर्णयविरुद्ध कवाडी संघ एवम् व्यवसायी र संकलनकर्ताहरुले जुलुससहित विरोध आन्दोलन गरेका छन् ।

काठमाडौं महानगरले दर्ता भएका कवाडी व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको थियो । त्यसपछि वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नविकरण नगरिदिएको र व्यवसाय हटाउन भन्दै पत्रचार गरेको कवाड व्यवसायी समाजले बताएको छ । समाजका अध्यक्ष रामकेवल गुप्ताले महानगरका विभिन्न वडा कार्यालयहरुवाट कवाडी हटाउने सम्बन्धमा पत्रहरु प्राप्त भएको हुदा यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले महानगरको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिका विरुद्ध र यस महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसाय दर्ता नविकरण नगरिरहेको विषयमा घोर आपत्ती रहेको बताउदै प्रचलित कानूनबमोजिम दर्ता गरेर सरकारलाई तिर्नुपर्ने करसमेत तिर्दै आएको र कानुनबमोजिम दर्ता गरेर व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय संचालन गर्न दिनुपर्ने बताए ।

गण्डकी प्रदेश सरकार गाँजा र लोकल रक्सीलाई वैधानिक गर्ने विषयमा अन्य प्रदेशको तुलनामा अग्र स्थानमा

गण्डकी प्रदेश सरकार गाँजा र लोकल रक्सीलाई वैधानिक गर्ने विषयमा अन्य प्रदेशभन्दा अग्र स्थानमा देखिएको छ । गण्डकी प्रदेश सरकारले चालू हिउँदे अधिवेशनमा दर्जन भन्दा बढी विधेयक ल्याउने तयारीमा रहेको बेला नेपालमा गाँजालाई वैधानिकरण र लोकल रक्सीलाई ब्रान्डिङ गरे प्रदेशको आर्थिक अवस्था सुधार गर्ने विषयमा सकरात्मक देदिएको छ । उक्त विषयमा गण्डकी प्रदेश जनताले सकरात्मक भएको अभिव्यक्ती दिइरहेका छन् । सरकारले पनि गाँजालाई वैधानिकता दिने विषयमा कुरा उठाइसकेको छ । गण्डकी प्रदेश सरकारको अधिवेशन बुधवारदेखि अधिवेशन सुरु भइसेको छ । पहिलो दिन यसअघि संसदीय समितिमा छलफलका क्रममा रहेको आम सञ्चार विधेयक र बिउ बिजनसम्बन्धी विधेयक संशोधित प्रतिवेदन सहित संसदमा पेस गरिएको छ ।

पहिलो बैठकमा प्राइभेट फार्म दर्ता सम्बन्धी विधेयक पनि ‘टेबुल’ गरिएको छ भने सडकसम्बन्धी विधेयक संसद् सचिवालयमा दर्ता भएको छ । यही अधिवेशनमा सरकारले किटनासक विषादी व्यवस्थापन विधेयक, साझेदारी फार्मको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक ल्याउने गण्डकी प्रदेशले जनाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार जनस्वास्थ्य विधेयक, भूमि विधेयक, दलित सम्बन्धी विधेयक, खाद्य विधेयक, विद्युत् र जलश्रोत विधेयक ल्याउन तयारी भइरहेको उनकाअनुसार यही अधिवेशनमा घरेलु मदिरा नियमन र व्यवस्थापन विधेयक तथा गाँजा खेती गर्ने विधेयक पनि ल्याउन लागिएको छ ।

दुवै विधेयकको मस्यौदा सरकारले बनाइसकेको उनले जानकारी दिए । उक्त विषयमा सरोकारवाला र विज्ञहरूसँग छलफल जारी छ । ‘हिउँदे अधिवेशनमा सकेसम्म धेरै विधेयकहरू सरकारले ल्याउन लागिरहेको उनले बताए । केही विधेयकको मस्यौदा बनिसकेको छ भने केही बाँकी रहेका छन् । स्थापनादेखि हालसम्म प्रदेशसभाबाट ६६ वटा ऐन पारित भैसकेको छ । थप ३८ वटा विधेयक सङ्घीयता कार्यान्वयनका लागि आवश्यक पर्ने विवरण प्रदेश सरकारले निकालेको प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले जानकारी दिइन् । गण्डकी प्रदेश सरकारले यस अघि नै गाँजा खेती गर्नका लागि कानुनको मस्यौदा निर्माण गरिसकेको छ ।

देशको पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने छ- प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न कार्यक्रम महत्त्वपूर्ण योगदान पुग्नेमा आफू विश्वस्त रहेको बताए । विशिष्ट पाहुनाहरूबाट एक सय ५० वर्षदेखि चितवनका जङ्गलमा शिकार यात्रा गरेको इतिहास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा सर्वप्रथम जङ्गल सफारीको सुरूवात टाइगर टपले मेघौली नजिक चितवनबाट भएको स्मरण गरे । उनले भने, “यी सबै आधारहरूले ‘भरतपुर भ्रमण वर्ष २०२४’ ले आफ्नो लक्ष्य हासिल गर्नेमा विश्वस्त हुन सकिन्छ ।”

पछिल्लो ७ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिङ्गो देशलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आम जनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको बताए । प्रधानमन्त्रीले गौरवका आयोजनाहरू रिङ्गरोड, सिक्स लेन रोड, तटबन्धन, सिटि हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला, विमानस्थल, नारायणी ‘सी–बीच’ मोडल तथा विभिन्न पूर्वाधारहरूको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्ने बताए ।

“विविध प्राकृतिक सम्पदाले समृद्ध चितवनको भरतपुर महानगरपालिका नेपालकै उत्कृष्ट स्थानीय सरकारको सूचिमा अग्रसर महानगरपालिका हो,” प्रधानमन्त्री प्रचण्डले भने, “कृषि, सहकारी, उद्योग, पर्यटन जस्ता क्षेत्रहरूलाई आर्थिक विकासको आधार बनाएर निरन्तर आर्थिक समृद्धि हासिल गरिरहेको यस महानगरपालिकामा पार्क, संग्रहालय, विमानस्थल, रिङरोड, लिङ्करोड, हुलाकीमार्ग, पूर्व–पश्चिम राजमार्ग, होटल, रिसोर्ट जस्ता पर्यटन विकासका लागि प्रशस्त पूर्वाधारहरू रहेका छन् ।” चितवन देशकै मुख्य आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “जैविक विविधता प्राकृतिक सुन्दरता र स्वच्छ वातावरण प्रवर्द्धन गर्दै पर्यटन विकासमा निरन्तर अग्रसर यस महानगरपालिकामा एकातर्फ पर्या–पर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि, धार्मिक पर्यटन आदिको क्रमिक विकास भएको छ ।”

अनुपम प्राकृतिक सम्पदाले सम्पन्न महानगरपालिकामा निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमश्रृङ्खलाको दृश्यावलोकन एवम् समथर तराईको भू–भागको दृश्यावलोकन लगायतका प्राकृतिक आकर्षणहरू रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक स्थलहरू, गढी, दरबार, सङ्ग्राहलय, पार्क, धार्मिक स्थलहरू, मानवनिर्मित २२ वटा आकर्षण पर्यटकीय गन्तव्यहरू बताए ।

पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन कोरोना कहरबाट पिल्सिएको पर्यटन व्यवसायलाई उकास्न भरतपुर महानगरपालिकाको प्रतिष्ठा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा वृद्धि गर्न प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाहरूको प्रचार प्रसार गरी पर्यटकको सङ्ख्या र बसाई अवधि वृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा पहिलोपटक आयोजना गर्न लागेको यस बृहत प्रवर्द्धनात्मक अभियान ‘भरतपुर भ्रमण वर्ष २०२४’ पर्यटन प्रवर्द्धनमा एउटा ऐतिहासिक कदम भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुनेमा विश्वस्त व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *