मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

वैशाख ५गते बुधबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमा गण्डकी प्रदेश अधिवेशन आव्हानप्रति कांग्रेसको आपत्तिदेखि लागु औषध कारोबार गरेको आरोपमा एन्फाका उपाध्यक्ष लामा प्रहरीको नियन्त्रणमासम्मका समाचार समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

गण्डकी प्रदेश अधिवेशन आव्हानप्रति कांग्रेसको आपत्ति

काठमाडौं ।नेपाली कांग्रेसले गण्डकी प्रदेश अधिवेशन आह्वान गर्नु गैर संवैधानिक भएको बताएको छ ।बुधवार एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘सम्मानित अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक कार्य हो । यसप्रति गम्भीर सहमति जनाउँदै यसबाट प्रदेशसभामा द्वन्द्वको वातावरण सिर्जना हुने हुँदा यसको जिम्मेवार सम्बन्धित पक्षहरू हुने समेत स्पष्ट पार्दछौँ ।’

गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका छन् ।बहुमतसहित मुख्यमन्त्रीमा दाबि गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै उनको नियुक्ति अहिले विवादमा रहेको छ । उनको नियुक्तिको विषयमा सर्वोच्च अदालतले बैशाख १० गते पूर्ण सुनवाई गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

निराशा र गलत बुझाइको भाष्य चिर्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्छ: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नेपालीहरु विस्तारै आफ्नो अस्तित्व र प्रतिष्ठासँग भाग्न थालेका टिप्पणी गरेका छन्। निराशा चिर्न र गलत बुझाइको भाष्य चिर्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्ने समय आएको उनले बताए।राजधानीको नयाँ बानेश्वरमा बुधबार शताब्दी पुरुष गणेशबहादुर बस्नेतलाई अभिनन्दन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले युवाहरु विदेश पलायन हुनुभन्दा उनीहरुले नेपालीपन बिर्सनु डरलाग्दो स्थिति भएको बताएका हुन्।

उनले भने, ‘हाम्रा केटाकेटीहरु देश छोडेर जान लागे भन्ने कुरा डरलाग्दो होइन, किनकि हाम्रा बाहरु अवसर खोज्नकै लागि सोलुखुम्बुबाट काठमाडौं आएका थिए भने हाम्रा दाजुभाई दिदीबहिनीहरु पनि अवसर खोज्न पखेटा लगाउने नै भए नि। तर, मुख्य कुरा भनेको चाहिँ यो माटोसँग, यो जमिनसँग, यो हाम्रो आफ्नो ठाउँसँग अस्तित्वसँग, प्रतिष्ठासँग मान्छेहरु विस्तारै भाग्न थालेका छन्।’

थापाले अहिलेको पुस्तामा नेताहरुले नै देश सखाप र बर्बाद पार्‍यो भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै आजको नेतृत्व जिम्मेवार हुनुपर्ने बताए।उनले भने, ‘अहिलेको अवस्थामा टेलिभिजनमा नेतालाई हेरेर सबै सखाप पार्‍यो, सबै बर्बाद भयो भन्ने भाष्य निर्माण गर्न थालिएको छ। जनताबाट अनुमोदित हुँदै आउने जोकोहीलाई शक्ति प्राप्त हुन्छ । त्यो शक्तिलाई नडराइकन, नबिराइकन नचुकीकन जिम्मेवारी निर्वाह गर्नु आजको मुख्य आवश्यकता हो। यस्तो एकमात्र नेता गणेशबहादुर बस्नेतले गरेका छन्।’ नयाँ पुस्ताका मानिसलाई बस्नेतजस्ता व्यक्तित्वका जीवनी, लेख र पुस्तक निकालेर बताउनुपर्ने भनाइ थापाले राखे।

सुहाङलाई भोट माग्दै ओलीले भने- उद्धेश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन्

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम- २ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन् ।बुधबार इलाम-२ को मङ्गलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पुर्खाले स्वाधीन राखेको देशलाई सम्मान गर्ने बताएका छन् । उनले देशलाई एकताबद्ध बनाएर सुशासन र विकास ल्याउन चाहेको बताएका छन् ।

सुहाङको प्रशंसा गर्दै ओलीले गन्तव्य र उद्धेश्य बोकेर अगाडी बढेको युवा भएको बताए । ओलीले सुहाङ वास्तविक उम्मेदवार भएको बताएका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बनेका सुहाङ नेम्बाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताएका छन् । उनले इलामका जनताले आफ्ना बुवामाथि गरेको विश्वासलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

एकीकृत समाजवादीले असारमा सार्‍यो महाधिवेशन

नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन सार्ने निर्णय गरेको छ।पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन असारमा सार्ने निर्णय गरेको हो।

बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको दशौं महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको बताए। धेरै आन्तरिक तयारीहरूका कारण र संगठनको तल्लो तहबाट माग भएबमोजिम केन्द्रले विश्लेषण गरी महाधिवेशन सार्ने निर्णय गरेको उनले बताए।

एकीकृत समाजवादीले सुदूरपश्चिममा सोडारीलाई नै मुख्यमन्त्रीमा अगाडी सार्ने

 नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडी सार्ने निर्णय गरको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडी सार्ने निर्णय गरेको हो ।

यस अघि मंगलबार एकीकृत समाजवादीले सोडारीलाई मुख्यमन्त्रीमा अगाडी सार्ने निर्णय गरेपनि उनी विवादित व्यक्त भएको भन्दै सत्ता समीकरणको प्रमुख दल नेकपा एमालेले विकल्प दिन आग्रह गरेको थियो । सोडारीमाथि सम्पत्ति शुद्धिकरणको मुद्धा रहेको र विगतमा मन्त्री हुदा समेत विवादमा रहेको एमालेको आरोप रहेको छ ।

नेकपा एसका साङ्गठनिक प्रगति विवरण केन्द्रलाई बुझायो

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सबै जिल्ला कमिटीले साङ्गठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न मातहतका जिल्ला कमिटीले वडादेखि सम्बन्धित कमिटीको अधिवेशन, सञ्चालन गरेका सङ्गठन सुदृढीकरण तथा सदस्य बिस्तार, प्रशिक्षणलगायतका प्रगतिको विवरणको प्रतिवेदन केन्द्रमा पठाएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधि छनौटका लागि नयाँ सदस्यता थपेको विवरण अद्यावधिक गरी प्रतिवेदनका साथै महाधिवेशन केन्द्रित अभियानमा सञ्चालित राजनीतिक कार्यक्रम केन्द्रमा बुझाएको हो । त्यसको विस्तृत अध्ययन गरिएपछि यही वैशाख अन्तिम साताभित्र प्रतिनिधि चयन गरिने छ ।

पार्टीले आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा गर्न लागेको राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेन महाधिवेशन दस्तावेज लेखन समितिलाई बुझाइएको छ । उक्त समितिले ती प्रतिवेदनमा थप छलफल गरेपछि एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने तयारी गरिएको उनले जानकारी दिए ।

राजनीतिक प्रतिवेदनमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको छ । समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा वैज्ञानिक समाजवादी अर्थव्यवस्थाको अवधारणा, स्वरुप र संरचना, अन्तर्राष्ट्रिय अभ्यासलाई समेटिएको छ । देशभर पार्टीको साङ्गठनिक अवस्था उल्लेख गरिएको साङ्गठनिक प्रतिवेदनमा पार्टीको वैचारिक दृष्टिकोणलाई आगामी दिनमा जनताका बीच लैजान सुझाइएको छ ।

विधान प्रतिवदेनमा वडादेखि केन्द्रसम्म निर्वाचित हुनुपर्ने, पार्टीको केन्द्रीय तहमा ४० वर्षमुनिका २० प्रतिशत युवा सहभागिता गराउने विषयलाई महत्व दिइएको छ । महाधिवेशन सफल बनाउन पार्टीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी गरेको छ । उक्त कमिटीअन्तर्गत अन्य १३ कमिटीले सम्बन्धित कार्यक्षेत्रका तयारी तीव्र रुपमा सञ्चालन गरेको जनाइएको छ ।

गण्डकीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा पूरक रिट दर्ता

 गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा पूरक रिट दर्ता गरेका छन् । मंगलबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट दर्ता गराएका हुन् । सर्वोच्चले नै सरकारलाई कामचलाउ भन्दै दीर्घकालीन प्रकृतिका कार्य नगर्न आदेश दिएको अवस्थामा कार्यकारी अधिकार प्रयोग गरि नियुक्ति गरिनु अदालतको अवहेलना पूर्व मुख्यन्यायधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले जनाएका छन् ।

गण्डकी सरकारविरुद्ध गत चैत २८ गते मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध परेको रिटमा वैशाख १० गतेलाई पेसी तोकेको छ । वैशाख ७ गते मुख्यमन्त्री नियुक्ति सम्बन्धि सक्कल फाइल उपस्थित गराउन पनि सर्वोच्चले प्रदेश प्रमुखको कार्यालयलाई आदेश दिएको छ । सर्वोच्चले दीर्घकालीन महत्वका निर्णयहरू नगर्नू भन्ने आदेश दिए पनि मुख्यमन्त्रीले महान्यायाधिवक्ता र योजना आयोगका उपाध्यक्ष नियुक्त गरेपछि अहिले मुद्धा सर्वोच्चमा पुगेको हो । उनले लमजुङका एमाले नेता कृष्ण अधिकारीलाई मुख्य न्यायाधिवक्ता तथा तनहुँका श्रीकान्त खतिवडालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका छन् ।

कोशी प्रदेश सरकारविरुद्ध गराएको सङ्कल्प प्रस्ताव असंवैधानिक रहेको भन्दै संसद् सचिवालयमा पत्र

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विपक्षी दलहरू एमाले र माओवादीले दर्ता गराएको सङ्कल्प प्रस्ताव असंवैधानिक रहेको भन्दै छलफल नगराउन संसद् सचिवालयमा पत्र पठाएका छन् ।
मुख्यमन्त्री काकीले बुधबार उक्त पत्र संसद सचिवालयमा पठाएका हुन् । मुख्यमन्त्री कार्कीले संसद सचिवालयमा पठाएको पत्रमा नेपालको संविधान २०७२ को धारा १९१, धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश तथा कोशी प्रदेशसभा नियमावली २०७४ को नियम ४८ (क) (ख), (ग) र (घ) विरुद्ध रहेको उल्लेख छ ।

‘पत्रसाथ संलग्न गरिएको प्रस्तावक मा.रेवती रमण भण्डारी तथा समर्थक मा. गणेशप्रसाद उप्रेती र मा. किशोरचन्द्र दुलाल भएको सङ्कल्प प्रस्ताव नेपालको संविधान २०७२ को धारा १९१, धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश तथा कोशी प्रदेशसभा नियमावली २०७४ को नियम ४८ (क), (ख) (ग) र (घ) विरुद्ध भई प्रस्तावका रुपमा पेस गर्न नसकिने अवस्था रहेको बेहोरा जानकारीका लागि सादर अनुरोध छ,’ मुख्यमन्त्रीले दर्ता गराएको पत्रमा उल्लेख छ ।

कोशी प्रदेश सरकार परिवर्तनका लागि बारम्बार विवादको अवस्था सिर्जना हुँदै आएको छ । अहिले कोशि प्रदेशमा मुख्यमन्त्री कार्कीले कोशीमा आफ्नै नेतृत्वमा सरकार चलाउने बताउँदै आएका छन् । यसअघि विपक्षी दुई दल एमाले र माओवादीले वैशाख ६ गते बिहीबारका लागि कोशी प्रदेश प्रदेशसभामा सङ्कल्प प्रस्ताव दर्ता गरेको थियो ।

जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई परराष्ट्र मन्त्रालयले पठायो कूटनीतिक पत्र

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई परारष्ट्र मन्त्रालयले पत्राचार गरेको छ । गृहमन्त्रालय स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियामा ‘कूटनीतिक नोट’ पठाएको हो । सहकारी प्रकरणका मुख्य नाइकेका रुपमा रहेका राईलाई अहिलेसम्म पक्राउ गर्न सकिएको छैन् । जीबि राईलाई पक्राउ गरेपछि सहकारीको सम्पूर्ण समस्या समाधान हुने सबैले आँकलन गरेका छन् ।

परराष्ट्र मन्त्रालयले मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरेर ‘सुपुर्दगी गर्न’ कूटनीतिक च्यानलबाट अनुरोध गरेको छ । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट उनीविरुद्ध रेड नोटिस जारी भएको छ । यसअघि माघ १३ मा उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।

पोखरास्थित सूर्यदर्शन सहकारीमा जम्मा गरेको बचत कर्ताको रकम हिनामिना भएको कुरा सार्वजनिक भएपछि राई पक्राउ पर्नबाट जोगिने उदेश्यले मलेसिया गएका हुन् । मलेसियाबाट पक्राउ गरेर नेपाल ल्याउन दुई देशका परराष्ट्र मन्त्रीहरूको बिचमा कुराकानी गर्ने र त्यसपछि नेपालबाटै प्रहरी पठाएर ल्याउने गरी तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।रेड नोटिस जारी गर्न आवश्यक कागजात प्रहरीले जिल्ला अदालत कास्कीबाट प्रमाणित गराएर इन्टरपोलमा पठाएको थियो ।

सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ घर भएका थान बहादुर बुढामगर, ओखलढुङ्गा घर भएका पूर्व अध्यक्ष भूपेन्द्र राई र पूर्व सदस्य शिव बहादुर गुरुङ विरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ । जीबीविरुद्ध सुप्रिम सहकारी ठगीमा पनि रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सहकारी प्रकरणमा मुख्य नाइकेका रुपमा चिनिएका जिबी राईका विषयमा गृहमन्त्री रबि लामिछाने मौन छन् ।

लागु औषध कारोबार गरेको आरोपमा एन्फाका उपाध्यक्ष लामा प्रहरीको नियन्त्रणमा

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले उनलाई लागु औषध खैरो हिरोइनको कारोबार गरेको आरोपमा काठमाडौँबाट पक्राउ गरेको जानकारी दिए ।

लागु औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागु औषधको कारोबार गरेको ठहर गरी उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पुनरावेदन अदालत पाटनको उक्त निणर्यविरुद्ध दावा पुनरावेदन लिएर सर्वोच्च अदालत नगएपछि सर्वोच्च अदालतले गत माघ १२ गते काठमाडौँ जिल्ला अदालतलाई लेखेको पत्रमा उच्च अदालत पाटनको फैसला अन्तिम भई बसेको र लामाले सर्वोच्चमा पुनरावेदनको निवेदन नदिएको उल्लेख गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *