खेलकुद

कजाकस्तानको लगातार दोस्रो जित, श्रीलंका ३-१ ले पराजित

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपमा कजाकस्तानले लगातार दोस्रो जित हात पारेको छ। कजस्तानले आफ्नो दोस्रो खेलमा श्रीलंकालाई तीन-एकले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कबर्डहलमा भएको खेलको पहिलो सेट कजाकस्तानले २५-१६ ले जित्यो । दोस्रो सेटमा श्रीलंकाले कजाकस्तानलाई कडा चुनौती दिएको थियो । यद्यपि निकै रोमाञ्चक बनेको दोस्रो सेटमा कजाकस्तान २८-२६ ले विजयी भयो । तेस्रो सेटमा श्रीलंकाले २५-१८ को जित दर्ता गरी खेलमा फर्किने संकेत गरेको थियो । चौथो सेट भने निकै प्रतिस्पर्धात्मक बनेको थियो । एक समय २४-२२ ले पछि परेको श्रीलंकाले लगातार तीन अंक जोड्दै २५-२४ को अग्रता लिएको थियो ।

तर त्यसपछिको लगातार दुई सर्भिस विफल भएपछि श्रीलंकालाई घाटा भयो । त्यसको फाइदा उठाउँदै कजाकस्तान, २९-२७ ले विजयी भयो । लागतार दोस्रो जितपछि कजाकस्तान सेमिफाइनलनजिक पुगेको छ । अब समूह ‘बी’ अन्तर्गत उज्वेकिस्तानले माल्दिभ्सलाई हराए, कजाकस्तान एक खेलअघि नै सेमिफाइनल प्रवेश गर्नेछ ।

यसअघि आजै भएको पहिलो खेलमा भारतले लगातार दोस्रो जित हात पारेको छ । भारतले किर्गिस्थानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *